भर्खरै :

लेनिनको शिक्षा

– सरोजराज गोसाई
आज हामी लेनिनको १४८ औं जन्म दिवस २२ अप्रिलको सन्दर्भमा ‘विचार गोष्ठी’ गरिरहेका छौं । लेनिनको जीवन दर्शन र सङ्घर्षबाट सिक्नु नै यसको मुख्य उद्देश्य हो ।
लेनिनबारे स्तालिनले भनेका छन्, ‘कुनै नेता सिद्धान्तमा प्रखर हुन्छन् । सही हुन्छन् । तर उनीहरू व्यवहारमा निकै कमजोर । असफल । फेरि अर्काखाले नेता यस्ता हुन्छन् जो व्यवहारमा धेरै कुशल हुन्छन् । सक्षम हुन्छन् । तर सिद्धान्तमा निकै कमजोर । तर लेनिन यस्ता नेता थिए जो सिद्धान्त र व्यवहार दुवैमा दक्ष थिए । कुशल थिए ।’
स्तालिनले भनेझैं लेनिन ज्वारभाटाको विरूद्धमा पनि जान सक्ने नेता हुन् । उनले सन् १९१७ को फेव्रुअरीको पुँजीवादी क्रान्तिलाई अक्टोबर क्रान्तिमा फेर्ने महान सफलता प्राप्त गरे । पुँजीवादी क्रान्तिपछि एक वर्षभित्रै समाजवादी क्रान्ति सम्पन्न गर्ने सफलता प्राप्त हुनुमा लेनिनको कुशल नेतृत्व क्षमता मुख्य कारण हो ।
साथीहरू, सुरूमा म लेनिनको शिक्षाबारे मेरा केही टिपोटहरू प्रस्तुत गर्ने अनुमति चाहन्छु ।
अक्टोबर क्रान्ति लेनिनको नेतृत्वमा सम्पन्न भएको थियो । क्रान्तिपछि लेनिन धेरै वर्ष जीवित रहेनन् । सन् १९२४ जनवरी महिनामा उनको निधन भएको थियो । यद्यपि समाजवादको जग निर्माण गर्न उनी सफल थिए ।
रूसी अक्टोबर क्रान्ति माक्र्सवादको पहिलो सफल प्रयोग थियो भने लेनिनवादको सुरूवात थियो । सन् १८७१ मा फ्रान्सको पेरिसमा मजदुरहरूले विद्रोह गरे र आफ्नो सत्ता स्थापना गरे । तर त्यो सत्तामात्र ७२ दिन चल्यो । क्रान्ति असफल भयो । तर अक्टोबर क्रान्तिमा मजदुर वर्गले व्यवस्थित, सचेत र सङ्गठित क्रान्ति गरे । अक्टोबर क्रान्तिको पछाडि क्रान्तिकारी दर्शन थियो, विचारधारा थियो, कार्यक्रम थियो, युद्ध नीति थियो र एक नयाँ समाज निर्माण गर्ने योजना थियो ।
लेनिनको सिद्धान्तलाई लेनिनवाद भन्छौं । पुँजीवादी देशहरू युद्ध लडिरहेको बेला अक्टोबर क्रान्ति गरिएको थियो । पुँजीवादी देशहरूको युद्धको कारण थियो, आफ्नो बजार विस्तार गर्नु र दोस्रो देशको प्राकृतिक स्रोत र साधनमाथि आधिपत्य जमाउनु । प्रतिक्रियावादी वर्गबीच लडाईँ भइरहेको बेला रूसी जनताले बन्दुक आफ्नै देशको प्रतिक्रियावादी शक्तितर्फ फर्काए । यसरी लेनिनवाद पुँजीवाद साम्राज्यवादमा विकासको बेला जन्म भएको सिद्धान्त हो । लेनिनले भने, ‘साम्राज्यवाद पुँजीवादको उच्चतम रूप हो ।’
लेनिनले पार्टी सङ्गठनात्मक क्षेत्रमा प्रतिपादन गरेको प्रजातान्त्रिक केन्द्रीयताको सिद्धान्तलाई संसारका कम्युनिस्ट पार्टीले स्वीकारेका छन् । अल्पमत, बहुमतको अधिनस्थ हुने, तल्लो समिति माथिल्लो समितिको अधिनस्थ हुने, केन्द्रीय समिति महाधिवेशनको र महाधिवेशन पार्टी सदस्यको अधिनस्थ हुने भन्ने लेनिनको विचार एउटा कम्युनिष्ट पार्टीको सङ्गठन सञ्चालनको विधि हुनेगर्छ ।
लेनिनले क्रान्तिको निम्ति एउटा क्रान्तिकारी पार्टी चाहिन्छ भने । क्रान्तिकारी पार्टी भन्नुको अर्थ सङ्घर्षको आगोमा इस्पात बनेको पार्टी हो, पुँजीवादी सत्ताविरूद्ध लड्न सक्ने पार्टी हो । बोल्सेभिक पार्टी नभएको भए तत्कालीन परिस्थितिमा क्रान्ति सम्भव थिएन । लेनिनले भने, ‘क्रान्तिको निम्ति भित्री र बाह्य परिस्थिति तयार हुनुपर्छ । क्रान्तिको निम्ति अन्तर्राष्ट्रिय परिस्थितिको साथै देशका जनता क्रान्तिको निम्ति तयार हुुनुपर्छ । जनतालाई तयार गर्ने काम क्रान्तिकारी पार्टीको हो । यसले क्रान्ति छिटो हुन्छ ।’ क्रान्ति कसरी हुन्छ भन्नेबारे लेनिनको यो विचार नै सबभन्दा सरल व्याख्या हुनसक्छ ।
लेनिनले कहिल्यै पनि सिद्धान्तमा सम्झौता गरेनन् । लेनिनले पुँजीवादी संसदको चुनावमा भाग लिए तर सत्ता बलपूर्वकमात्र पल्टाउनुपर्छ र सकिन्छ भन्नेमा लेनिन दृढ थिए । प्रतिक्रियावादी वर्गलाई सम्झाई बुझाई वा बहुमत–अल्पमतको खेलमा रूमल्लिई सत्ता हातमा लिन सकिन्छ भन्ने उनले कहिल्यै सोचेनन् । यसको निम्ति लेनिनले विचारधारात्मक सङ्घर्ष सदा कायम राखे ।
अक्टोबर क्रान्तिले क्रान्ति मुठ्ठीभर समझदार र बहादुर क्रान्तिकारीले गर्ने होइन, बरू व्यापक श्रमजीवी जनताले गर्दछ भन्ने पाठ सिकाउँछ । अराजकतावादी सिद्धान्तले सर्वहारा क्रान्तिको नेतृत्व गर्नसक्दैन । यहाँनिर नेकपा माओवादीले जनयुद्धको नाममा अराजकतावादी सिद्धान्त बोकी सशस्त्र युद्ध गरेको स्मरणीय छ । नेकपा माओवादीले अन्तमा हतियार छोडेर पुँजीवादी संसदीय भासमा आफूलाई पूर्णतः डुबाएको तथ्यबाट उनीहरू सच्चा माक्र्सवादी एवम् लेनिनवादी होइनन् भन्ने प्रस्ट हुन्छ ।
लेनिनको अर्को महत्वपूर्ण कुरा शिक्षामा क्रान्तिपछि पनि वर्ग सङ्घर्ष एवम् सर्वहारा अधिनायकत्व कायम राख्नुपर्छ भन्ने हो । लेनिनले अक्टोबर क्रान्तिको निचोड निकाल्दै कैयौं पटक स्पष्ट पर्नु भएको छ, वर्ग सङ्घषर््ा एवम् सर्वहारा अधिनायकत्व कहिल्यै भुल्नुहुन्न । वर्गसङ्घर्षलाई भुल्नुको अर्थ हो, पूँजीवादी प्रजातन्त्र र शान्तिपूर्ण सङ्क्रमणको भ्रमजालमा फस्नु र क्रान्तिको बाटो भुल्नु हो ।
लेनिनको विचार थियो, विचार र सिद्धान्तविहीन पार्टीले क्रान्ति गर्न सक्तैन । लेनिनले पार्टी कार्यकर्ता भूमिगत वा अर्धभूमिगत भएर क्रान्तिमा खेल्ने भूमिकाको अभ्यास पहिलो पटक गरे । भूमिगत कार्यशैली लेनिनबाट सिक्ने अर्को महत्वपूर्ण शिक्षा हो । साथीहरू, अब म अक्टोबर क्रान्तिको उपादेयताबारे थोरै चर्चा गर्छु । यसमा शिक्षा क्षेत्रमा सोभियत सङ्घले प्रस्तुत गरेको नमुनाबारे बढी केन्द्रित हुने प्रयास गर्छु ।
अक्टोवर क्रान्तिलगत्तै युरोपका औद्योगिक मुलुकहरू रूसी क्रान्तिविरूद्ध खनिए । साम्राज्यवादी देशहरूले ‘निप इन द बड’ अर्थात् भर्खर पलाएको समाजवादको मुनालाई सानोमै सिध्याउने नीति लिएका थिए । किनभने बोल्सेभिक क्रान्तिले जमिन, उद्योग र बैड्ढ राज्यको नियन्त्रणमा लिएको थियो । जमिनदार, पूँजीपति र निजी बैड्ढबिनाको एक नयाँअर्थतन्त्र चलाउन थालिएको थियो । सरकारी बैड्ढको कारण ऋण दिने साहुहरूको आवश्यकता नै रहेन । जमिनदारले कूत उठाउने व्यवस्थाको अन्त गरिएको थियो । उद्योग तथा कारखाना मजदुरहरूकै नेतृत्वमा सञ्चालनको नयाँ विधि अपनाइयो । ज्यालामा शोषणको अन्त भयो । मजदुरलाई खाना, स्वास्थ्य, शिक्षा, खेलकुद, सार्वजनिक तवरमा उपलब्ध गराइन थालियो । त्यस्तै रहनको लागि आवास दिइयो । मजदुर वर्गले स्वाभीमानसाथ जिउने अवसर पाएका थिए । पहिलो पटक मजदुर वर्गले स्वतन्त्रताको अनुभव गरेका थिए । के यो कुरा पूँजीपति वर्गको निम्ति स्वीकार्य थियो ? थिएन । के यो उथलपुथलमा पँुजीवादी मुलुकका सरकार र निजी उद्योगी तथा व्यापारीहरू चैनले सुतेर बसे ? बसेनन् । त्यसैले सोभियत सरकार ध्वंस पार्न पुँजीवादी देशहरू लागिपरे । जारशाही सेनाका जर्नेलहरूको फौजलाई सघाउन १४ देशले आफ्ना सेना पठाए । तर सोभियत समाजवादलाई पराजित गर्न गरिएको साम्राज्यवादी हस्तक्षेपविरूद्ध युरोप र अमेरिकाका कामदार वर्गले ऐक्यबद्धता जनाए । ती देशमा ठूल्ठूलो जुलुस प्रदर्शन र हड्ताल हुन थाले । लेनिनको नेतृत्वमा क्रान्तिको रक्षा भयो ।
इतिहासकार सिमोन मोन्टेफियोरको ‘ह्वाट इफ दी रसियन रेभ्युलुसन ह्याड नेभर ह्यापेन्ड’ (रूसी क्रान्ति कहिल्यै नभएको भए के हुन्थ्यो ? ) नामक आलेखमा लेखिएको छ, ‘यदि रूसी क्रान्ति नभएको भए धेरै कुरा हुँदैनथे । आजको चीन, भियतनाम, उत्तर कोरिया, लाओस, कम्बोडिया, क्युवा, अंगोला हुने थिएनन् । अहिलेका ल्याटिन अमेरिकी मुलुकहरू खासगरी भेनेजुयला, बोलिभिया र सान्डानिस्टाको निकारागुवा हुने थिएन ।’
सन् १९१७ मा अक्टोबर क्रान्ति भएसँगै विश्वमा कम्युनिस्ट पार्टीहरू तीव्र रूपमा निर्माण भए । सन् १९१८ मा जर्मन कम्युनिस्ट पार्टी, १९२१ मा चिनियाँ कम्युनिस्ट पार्टी र १९२० मा भारतीय कम्युनिस्ट पार्टीको स्थापना भए । नेपालमा सन् १९४९ मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । अक्टोबर क्रान्ति भएको ३२ वर्षपछि नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । अक्टोबर क्रान्तिले साम्राज्यवादीको लूट र दमनको शिकार एसिया, अफ्रिका, ल्याटिन अमेरिकाका जनतालाई मुक्तिको युद्ध लड्न उद्घोष ग¥यो । अक्टोबर क्रान्तिको तोपको आवाजले विश्वभरका मजदुर वर्गलाई बिउँझाइदियो । माक्र्सवाद र लेनिनवादलाई विश्वको कुनाकाप्चा पु¥याई दियो ।
अक्टोबर क्रान्तिको उपलब्धिमध्ये शिक्षामा भएको आमूल परिवर्तन मुख्य र नमुना मान्न सकिन्छ । क्रान्तिपछि शिक्षाको बन्दोबस्तको सम्पूर्ण जिम्मेवारी सरकारले लियो । निःशुल्क र अनिवार्य शिक्षा लागू गर्ने पहिलो देश नै सोभियत रूस थियो । शिक्षालाई उत्पादन श्रमसँग जोड्ने प्रणाली सोभियत सङ्घले नै स्थापना ग¥यो । समाजवादी शिक्षा व्यवस्थाले देशको उत्पादकत्व वृद्धिमा महत्वपूर्ण भूमिका खेल्यो । सम्पूर्ण नागरिकलाई साक्षरमात्र बनाएन देशकै शैक्षिकस्तर कुनै पनि पश्चिमा देशभन्दा कम थिएन । क्रान्ति पूर्व ३८ प्रतिशत पुरूष र १३ प्रतिशत महिलामात्र साक्षर भएको यहाँ उल्लेखनीय छ । १९६० सम्ममा देशलाई पूर्ण साक्षर घोषणा गर्नु क्रान्तिको सर्वाधिक महत्वपूर्ण पक्ष मानिन्छ । क्रान्तिको उपलब्धिस्वरूप करोडौं सोभियत जनताले मात्रै होइन विश्वका हजारौं जनताले सोभियत सङ्घमा निःशुल्क उच्च शिक्षा हासिल गरे ।
क्रान्तिपछि व्यावसायिक शिक्षामा जोड दिइयो । समाजवादी शिक्षा व्यवस्था लागू गर्न लेनिनका जहान क्रुप्स्कायाको उल्लेख्य भूमिका रह्यो । स्कूलको पाठ्यक्रममै प्रकृति, कला, सङ्गीत, सामाजिक, विज्ञान र गणित विषयहरू समावेश गरिएको थियो । स्थानीय स्रोत–साधनको परिचालन र प्रबद्र्धन गर्ने शिक्षा नीति बन्यो । विज्ञान, प्रविधि र अनुसन्धानको क्षेत्रमा सोभियत शिक्षाले विश्वलाई चकित बनायो ।
लेनिनले युवाहरूलाई शारीरिक श्रम गर्न उत्साहित गरे । शिक्षालाई देशको आर्थिक विकाससँग जोडियो । सोभियत सरकारले बालबालिकाहरूको प्रतिभा तथा योग्यता विकास गर्न प्रशस्त पैसा खर्च गरेको थियो । पत्रपत्रिका, किताब, रेडियो सर्वसुलभ गरियो । सार्वजनिक पुस्तकालयहरू खुले । १ सय ११ विभिन्न भाषामा पुस्तकहरू छापिन थाले । मस्कोमा देशको विशालतम पुस्तकालय लेनिन पुस्तकालय विस्तार गरियो । सोभियत लेखकहरूले युद्ध तथा श्रममा सोभियत जनताको वीरतापूर्ण क्रियाकलापको परिचय दिने उत्कृष्ट कृतिहरूको रचना गरे । मजदुर तथा किसानको नयाँ संस्कृतिको निर्माण भयो ।
दोस्रो विश्वयुद्धको क्रममा नाजी आक्रमणको कारण १ करोड ५० लाख बच्चाले अध्ययन गर्ने ८२ हजार स्कूलहरू ध्वस्त भए । ३ सय ३४ उच्च शिक्षण संस्था र हजारौं पुस्तकालय समेत ध्वस्त पार्ने, जलाउने काम भयो । तर समाजवादी सरकारले शिक्षा र सांस्कृतिक क्षेत्रको पुनर्निर्माणको कामलाई महत्व दियो । १९७० सम्म आई पुग्दा रूसले उच्च विकसित कहलिएका पुँजीवादी राष्ट्रभन्दा धेरै माथि आर्थिक, सामाजिक, शैक्षिक आणविक विकास ग¥यो । आज सोभियत सङ्घ विघटन भएको छ । समाजवादले अस्थायी हार व्यहोरेको छ । तर इतिहासमा अनेक क्रान्तिलाई दबाइएको छ । दास विद्रोह ७–८ सय वर्षसम्म दबिएकै हो । सामन्त वर्ग समाप्त पार्न पुँजीपति वर्गलाई ४ सय वर्ष लागेको थियो । हामी निराश हुनुपर्ने कुनै कारण छैन ।
अक्टोबर क्रान्तिको महत्व र शिक्षालाई हृदयमा राखी नेपाली माटो सुहाउँदो क्रान्तिको दिशा पत्ता लगाउने जिम्मा हामी युवा पुस्तामै छ । लेनिन दिवसको क्रममा उनको नेतृत्वमा सम्पन्न अक्टोबर क्रान्तिजस्तो मानव समाजको इतिहासकै एक युगान्तकारी घटनाको स्मरण गर्नुको अर्थ यही हो । नेपाली जनतामाथिको अन्याय र अत्याचारको चिरफार गरी क्रान्तिको स्वरूप एवम् मार्ग पहिल्याउन आजको कार्यक्रमले सहयोग गर्ने आशा गर्दछु ।
(शनिबार नेमकिपाले आयोजना गरेको विचार गोष्ठीमा व्यक्त मन्तव्य –सम्पादक)
२०७५ वैशाख ८, शनिबार
 

Leave a Reply

Your email address will not be published. Required fields are marked *