भर्खरै :

अरूको पैसा तिर्नु पर्ला भनेर भागेर हिँड्ने हो ?

अरूको पैसा तिर्नु पर्ला भनेर भागेर हिँड्ने हो ?

वडाध्यक्षको डायरीबाट

समयमै बिहानको खाना खाई वडा कार्यालयमा जान तयारी गर्दै थिएँ । घरमै दुई जना मानिस टुप्लुक्क आइपुगे । उनीहरू श्रीमान् श्रीमती थिए । पारिवारिक रूपमा नाता पनि पर्दथ्यो । अरू समयमा पनि घरमा धेरैपटक आइसकेको हुँदा उनीहरू सिधै मेरो अध्ययन कक्षमा आइपुगे । मैले श्रीमान् श्रीमती दुवैलाई बस्न अनुरोध गरेँ । नाताले उनीहरू एक जना बहिनी ज्वाइँ र साली नाता पर्दथ्यो । पारिवारिक नाता भएकोले समय–समयमा घरमा आउनु स्वाभाविक थियो । मेरी श्रीमती उनीहरूसँग पारिवारिक कुराकानी गर्न थालिन् । त्यही भएर पनि मेरो ध्यान उनीहरूतर्फ गएन । केही बेरपछि म वडा कार्यालयमा जान तल लाग्दा साली बहिनीले भिनाजुलाई नै विशेष काम भएर भेट्न आएको बताइन् । श्रीमतीले पनि बहिनीको समस्या भएकोले एकछिन बसेर सुनिदिन आग्रह गरिन् । त्यसपछि मैले भनेँ, “के समस्या भयो साली नानीलाई ? ज्वाइँ साहेब पनि आउनुभयो ? मैले के गर्नुप¥यो भन्नुस् ? भन्नुस् न के भयो ? दुवैको अनुहार पनि अँध्यारो देख्छु ।”
बहिनी ज्वाइँको नाम श्याम अवाल (परिवर्तित) थियो । बहिनी ज्वाइँले भन्न थाल्नुभयो, “भिनाजु तपाईँको वडामा एक जना साथीसँग मेरो मित्रता थियो । त्यस साथीको नाम कृष्णराम पहिजु (परिवर्तित) हो । त्यसपछि व्यापारिक कारोबार पनि भयो । दुवै जना मिलेर व्यापारिक कारोबार गरेका थियौँ । तर, उसले मेरो दसौँ लाख रूपैयाँ नदिइकन बसेको छ । मैले करिब साढे एक वर्षसम्म ताकेता गरेँ । दिन्छु दिन्छु भन्छ तर पैसा दिने कुरा गर्दै गर्दैन । बिचमा अलि अलि त लिएँ तर पूरै पैसा लिन सकिएन । घर यही तपाईँको टोलमा पर्दछ । मैले धेरै प्रयास गर्दा नि भएन । तपाईँको वडाको साथी भएकोले तपार्इँले भनेर लिन सकिन्छ कि भनेर आशमा आएका हौँ । मेरो निजी काममा तपाईँलाई दुःख दिने मन त थिएन । तर, पनि सा¥है गा¥हो भएकोले गर्दा भनेको हुँ । तपाईँले एकचोटि केही गरिदिनुप¥यो ।”
त्यसपछि साली नानीले भन्न थालिन्, “कम्पनीबाट सामान ल्याएर उसको पसलमा दिएको हुँदा कम्पनीले श्रीमान्लाई तिरायो । हामीले गहना र तलब जम्मा गरेको रकमबाट कम्पनीलाई सबै चुक्ता ग¥यौँ । तर, त्यो मान्छेले हामीलाई पैसा दिने कुरा नै गर्दैन । घरमा ससुराले गहना फिर्ता माग्दै छ । अब कसरी गहना दिने होला ? गहना बेचेको थाहा नै दिएको छैन । त्यही भएर भिनाजुले एकपटक प्रयास गरिदिनुस् । भिनाजु वडाध्यक्ष भएकोले केही कुरा मान्ला कि अनि फेरि तपाईँकै वडाको मान्छे रहेछ ।”
मैले तुरुन्तै त्यो मान्छेको नाम र नम्बर नोट गरिहालेँ र फोन गरेँ । मैले आफू वडाध्यक्ष भएको र भेट्न चाहेको बताएँ । उसले भेट्न खोजेको कारण सोध्नुभयो । मैले तपाईँको नाममा लेनदेनको एक मौखिक उजुरी आएको र त्यहीँ भएर भेट्न खोजेको बताएँ । त्यसपछि त्यस मान्छे तत्काल घरमै भेट्न आउँछु भनी फोन राखिदिनुभयो ।
केहीबेरमा कृष्णराम पहिजु घरमै आउनुभयो । त्यसबेलासम्ममा श्रीमती र साली नानी अफिस गइसकेका थिए । घरमा कृष्णराम, म र ज्वाइँ साहेबमात्र बाँकी भयौँ । मैले घरमा कृष्णराम भाइलाई बस्न अनुरोध गरेँ । त्यसपछि मैले ज्वाइँ साहेबको पैसा फिर्ता नदिनुको कारण नम्र भाषामा सोधेँ । भाइले जवाफ फर्काउँदै भन्नुभयो, “मैले पैसा दिन नसकेको हो सर । मेरो व्यापार कोराना महामारीका कारण चल्न सकेन । यो कुरा श्यामजीलाई थाहा भएकै कुरा हो । मेरो पचासौँ लाख कोरोनाको कारणले गर्दा डुब्यो । त्यही भएर मैले पैसा दिन नसकेको हुँ । अरू धेरै जनालाई पनि पैसा दिनु छ । परिस्थिति र बाध्यताले गर्दा यस्तो अवस्था आयो । तर, म श्यामजीको पैसा जरूर फिर्ता गर्छु । घरको सगोलको खेत बेच्न लागिरहेको छ । तर, देशमा मन्दीको अवस्थाले गर्दा खेत किन्ने मान्छे पनि नभेटिएको अवस्था छ सर । त्यहीँ भएर केही समय कुर्नु पर्ला । खेत बेच्ने बित्तिकै म तपाईँहरूको पैसा फिर्ता गर्छु ।”
मैले कृष्णराम भाइलाई भनेँ, “तपाईँको आफ्नै समस्या होला । कोरोनाले गर्दा समस्या भयो होला । तर, श्यामजीको पनि त केही समस्या होला । कमसेकम तपाईँले पैसा दिन नसकेपछि त्यसको खबर त गर्नुपर्छ नि ! मोबाइल नै अफ गरेर बस्ने अनि भागेर हिँड्ने पनि हुन्छ र ? तपाईँको नैतिकता कता गयो, इमानदारिता कता गयो ? ठीक छ व्यापार त कोरोनाले खायो रे । नैतिकता र इमानदारिता पनि कोरोनाले नै खायो ? तपाईँको व्यवहार र बोली बचन राम्रो हुनुपर्ने होइन र ? अरुको पैसा तिर्नु पर्ला भनेर भागेर हिँड्ने हो ? तपाईँले मेरो मान र वचन राखेर भए पनि यो हप्तामा दुई लाख फिर्ता गर्नुहोला । बाँकी त्यसपछि किस्ताबन्दीमा फिर्ता गर्नुस् ।” त्यसपछि कृष्णरामले यो हप्ता दुई लाख फिर्ता दिने सहमति व्यक्त गर्नुभयो भने मैले पैसा फिर्ता नगरेमा कानुनी उपायमा जानुपर्ने र यसको जिम्मेवार हामी नहुने भनी जानकारी गराएँ । त्यसपछि हामी तिनै जना घरबाट निस्क्यौँ ।
त्यसपछि महिनौँसम्म ज्वाइँ, साली बहिनी र कृष्णरामसँग मेरो सम्पर्क भएन । कृष्णरामले सबै पैसा फिर्ता ग¥यो होला भन्ने सोचमा थिएँ । मैले पनि दुवै जनालाई कुनै सोधखोज गरिनँ । मेरो आफ्नै कार्य व्यस्तताले गर्दा मैले यस विषयमा ध्यान दिन सकिनँ । तर, एक दिन साली नानी र ज्वाइँ बेलुका घरमै आउनुभयो । उनीहरूको अनुहार निकै अँध्यारो थियो । अनुहारबाटै पैसा फिर्ता नपाएको थाहा पाएँ । मैले ज्वाइँ साहेबलाई सोधेँ, “किन ? कृष्णरामले पैसा दिएको छैन र ?” प्रतिउत्तरमा उहाँले भन्नुभयो, “अस्ति तपाईँसँग भेट भएपछि एकपटक पैसठी हजार र पछि पचास हजार जति तपाईँको मान राखेर दियो । त्यसपछि फोन नै स्वीच अफ गरेर बसेको छ । आज एकचोटि घरमै तपाईँसँग जानु पर्ला भनी आएका हौँ । राति घरमा पक्कै सुत्न त आउनुपर्ने हो ।” त्यसपछि हामी चार जना कृष्णरामको घरमा गयौँ । ऊसँग घरमै भेट भयो । हामीले घर परिवारका मानिस र कृष्णरामलाई पैसा दिन अनुरोध ग¥यौँ । तर, उहाँले खेत बेच्न नसकिएकोले पैसा दिन नसकेको बताउनुभयो । उसको घरमा बिरामी बाजे र बजे पनि रहेकोले त्यहाँ बसेर लामो कुराकानी गर्न उचित नठानी हामी त्यहाँबाट फक्र्यौँ ।
त्यसपछिका दिन कृष्णराम भाइले मोबाइल नै स्वीच अफ गरी बस्न थाले । घरमा फेरि हामी कुर्न गयौँ । खेतको घरमा होला भनी त्यहाँ पनि गयौँ । त्यहाँ पनि उनी थिएनन् । एक दिन परिचित साथीले कृष्णरामलाई पुलिस चौकीमा समातेर राखेको खबर दिनुभयो । त्यसपछि हामी पनि पुलिस चौकीमा गयौँ । उनी चेक बाउन्जको केसमा थुनिएको रहेछ । त्यसपछि हामीले पनि चेक बाउन्जको केस हाल्न तयारी थाल्यौँ । त्यसको लागि तयारी गर्दागर्दै वकिलले समयमै जाहेरी तयारी नगरकोले उनी पैसा तिरेर छुटेको खबर पाएँ । हामीले पनि जाहेरी तयार गरी कृष्णरामलाई पक्राउ गर्न जाहेरी दर्ता ग¥यौँ । त्यसै दिन कृष्णरामले आफ्नै वडाको सहकारीमा धितो राखेको जग्गा फुकुवा गर्न खोजेको खबर पाएँ । त्यो खबर पाउने बित्तिकै रोक्का फुकुवा नगर्नको लागि मैले वडाबाट पत्र पठाएँ । त्यसपछि बल्ल कृष्णरामले हामीलाई मोबाइलमा सम्पर्क गरी भेट्न चाहेको खबर पायौँ र मैले ज्वाइँलाई भेट्न जान अनुरोध गरेँ । बल्ल कृष्णरामले पैसा फिर्ता पूरै गर्ने कुरा गर्न थाल्यो । मैले ज्वाइँलाई उसको कुरा विश्वास नगर्न, जाहेरी र धितो फुकुवा कुनै पनि हालतमा फिर्ता नहुने जानकारी दिएँ । जबसम्म पैसा हामीलाई हातमा ल्याएर फिर्ता दिँदैन तबसम्म फुकुवा र जाहेरी फिर्ता नहुने बताएँ । त्यसपछि कृष्णरामले वडा कार्यालयमा आएर पैसा पूरै फिर्ता गरिदिनुभयो । हामीले पनि धन्यवाद दिई बिदावारि ग¥यौँ । जिल्ला प्रशासन कार्यालयमा पेस गरेको उजुरी फिर्ता गर्न भोलिपल्ट कार्यालयमा मिलापत्रको कागजसहित उपस्थित भयौँ र उजुरी फिर्ता लियौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *