देशको बजेटले दल सञ्चालन गर्ने होइन
- जेष्ठ १५, २०८३
देश सपार्ने या बिगार्ने, देशलाई आत्मनिर्भर बनाउने या परनिर्भर बनाउने भन्ने कुरा सरकारको नेतृत्व गर्ने राजनीतिक दलहरूको हातमा हुन्छ । देशलाई राम्ररी हाँक्ने दलहरूको नेतृत्वमा सरकार नभएसम्म देशको स्थिति अन्योल नै भइरहनेमा शङ्का छैन । देशमा राजनीतिक अस्थिरता निम्तिनु या सरकारको नेतृत्व हेरफेर भइरहनुको कारण सत्तारुढ दलका नेताहरूको अदूरदर्शिता हो; ती दलहरू दलगत र व्यक्तिगत स्वार्थमा फस्नु हो । राजनीतिक दलहरूको वर्गीय दृष्टिकोण स्पष्ट भएन भने, सिद्धान्त र विचारको आधारमा राजनीति गरिएन भने युवाहरूमा जस्तोसुकै जोश जाँगर भए पनि त्यसले सही दिशा निर्देश गर्दैन । सत्तारुढ दलको स्थिति अहिलेको जस्तो सङ्कटमा पर्ने थिएन । पुरानो दललाई बिदा दिएर नयाँ दलको बखान गर्ने दलका युवा नेताहरू कहाँबाट सञ्चालित छन् भन्ने कुरा जनताले राम्ररी पर्गेल्नुपर्छ । फागुन २१ गते हुने निर्वाचनमा मतदाताले कसैको लहैलहैमा, दबाब र प्रलोभनमा मतदान गर्नु हुँदैन । विगतमा जिल्ला जिल्लाका अधिकांश जनताले पैसा र लोभमा फसेर मतदान गरेका थिए ।
पैसा र प्रलोभनमा फसेर मतदान गरेकै कारण सत्तारुढ दलका नेताहरू सत्तामा पुगे पनि देश र जनताप्रति जिम्मेवार भएनन्; उनीहरूले जनताको माग सम्बोधन गरेनन् । शासक दलका नेताहरूप्रति व्यापक जनताको विरोध त्यसै भएको होइन । सरकारले राजनीतिक स्थिरता दिन सकेन† भ्रष्टाचारमुक्त देश बनाउन सकेन । शासक दलका नेताहरूको गैरजिम्मेवारीले गर्दा जेन–जी आन्दोलन भयो । तर पनि सत्तारुढ दलका नेताहरू सुध्रिएनन् । धेरैपटक हन्डर खाएर पनि उनीहरूले शिक्षा लिएनन् र उनीहरू सच्चिएनन् । विगतका शासक दलहरूको यस्तै हविगतले सरकारको नेतृत्वमा हेरफेर भयो । निर्वाचन प्रयोजनको निम्ति देशमा धेरै नयाँ दलहरू देखिए । नयाँ दल खोल्ने बित्तिकै उसले सही राजनीति गर्छ भन्ने होइन । पुरानो होस् या नयाँ हरेक दलको मार्गचित्र हुनुपर्छ; सिद्धान्त र विचार हुनुपर्छ । कुनै दलका नेताहरूले आकर्षक र मिठा कुरा फलाक्दैमा, ठुलठुलो स्वरमा चिच्याउँदैमा दलले सही राजनीति गर्छ; त्यस्तो दल ठीक हुन्छ भन्ने कुरामा नेपाली जनतामा भ्रममा पर्नु हुँदैन ।
अबको निर्वाचनमा सही सिद्धान्त र विचार बुझेर, बहुमत जनताको पक्षमा आवाज उठाउने, सत्य र न्यायको निम्ति लड्ने दल र दलका उम्मेदवारलाई जनताले चिन्नुपर्छ; छान्नुपर्छ । यो सङ्क्रमणकालीन अवस्थामा राजनीतिक दल र जनता सचेत भएनन् भने देशको राजनीति गलत दिशामा जान सक्छ । यही मौकामा विदेशी हस्तक्षेप बढ्न सक्छ । विदेशी चलखेल बढेर देशको स्वाधीनता र सार्वभौमिकतामा नराम्रो असर पर्न सक्छ । सरकारको नेतृत्व हेरफेर नै परिवर्तन होइन । नयाँ दलको नेतृत्वमा सरकार बनेपछि परिवर्तन हुन्छ भन्ने होइन । देशको व्यवस्था पुँजीवादी व्यवस्था हो । पुँजीवादी व्यवस्थामा जुन दलको सरकारले नेतृत्व गरे पनि आखिर त्यो पुँजीवादी व्यवस्था नै हुन्छ । त्यो व्यवस्थामा श्रमजीवी जनताको हित हुँदैन† उनीहरूको पक्षमा ऐन कानुन बन्दैन । अतः सरकारको नेतृत्व हेरफेर हुनु नै सबथोक होइन । यो बेला देशले रूपान्तरण खोजेको हो; आर्थिक समुन्नति खोजेको हो† सन्तुलित विकास गरेर युवाहरूले काम–माम खोजेका हुन् । अब चर्काचर्का कुरा होइन देश र जनताको हित हुने काम गर्नुपर्छ† उपलब्धि या परिणाम देख्ने गरी काम गर्नुपर्छ ।
नयाँ दल खोलेका नेताहरू परिवर्तनको कुरा खोकेर परिवर्तनकै निम्ति सङ्घर्ष गर्ने नेताहरूकै विरोध गर्छन् । परिवर्तन सरकारको नेतृत्व गर्दैमा हुँदैन । वर्गीय सङ्घर्ष नगरी परिवर्तन सम्भव छैन । देशमा मौलिक परिवर्तन चाहने नेताहरूले माक्र्स, लेनिन, माओ त्सेतुङ, स्तालिनहरूको विरोध गर्दैनन् । उनीहरूको सिद्धान्त, विचार र दर्शनलाई नेपाली माटो सुहाउँदो उपयोग गर्ने हो । विदेशीले नेपाली माटो बुझ्दैन भनेर के वैज्ञानिकहरूले प्रतिपादन गरेका सिद्धान्त र आविष्कारको पनि हामीले विरोध गर्ने ? सिद्धान्तलाई व्यवहारमा लागु गर्नुपर्छ भन्ने शिक्षा के हामीले लिनु हुँदैन ? के बुद्धका उपदेश र शिक्षा अरु देशका जनताले लिनु हुँदैन ? विभिन्न देशका नेता, दार्शनिक, वैज्ञानिक र राजनीतिज्ञबाट पाठ नसिकेका भए के अन्य देशहरूले आफ्नो देशको विकास गर्न सक्छन् ? विदेशीहरूको दर्शन, सिद्धान्त र विचार नेपालको निम्ति काम लाग्दैन भनी गलत भाष्य निर्माण गर्ने नयाँ दलका नेताहरूदेखि जनता सचेत हुनुपर्छ । विदेशी भनेर आफ्नो देशमा नभएको सामान के नेपालले लिनु हुँदैन ? उपयोग गर्नु हुँदैन ? नेपाल आत्मनिर्भर नभएसम्म देश र जनताका लागि आवश्यक आधारभूत आवश्यकता पूर्ति गरिरहनुपर्ने हुन्छ ।
Leave a Reply