भर्खरै :

नेका महाधिवेशनमा फरक मत : पदको होडबाजी

नेका महाधिवेशनमा फरक मत : पदको होडबाजी

नेपाली काङ्ग्रेसको आन्तरिक विवादका कारण हुन लागेको नेकाको महाधिवेशन यतिबेला चर्चाको विषय बनेको छ । विशेष महाधिवेशन गर्ने या नियमित अधिवेशन गर्ने सम्बन्धमा दलका नेताहरूबिच मत नमिलेपछि विवाद उत्कर्षमा पुगेको हो । एकातिर पार्टीका महामन्त्रीले पुस २७ र २८ गते विशेष महाधिवेशनको आह्वान गरेका छन् भने अर्कोतिर संस्थापन पक्षले व्यक्ति विशेषको भेलामा सहभागी नहुन केन्द्रीय कार्यालयले अपिल गरेको छ । मुलुकमा राजनीतिक सङ्कटको बेला पार्टी नेतृत्वमा पुग्ने होडले नेका विभाजनको स्थितिमा पुगेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन् । हुन त नेकाका नेताहरू कसैले चाहेर पनि पार्टी फुट्दैन, बरू पार्टीलाई एक ढिक्का राख्न र ऊर्जा भर्न दृढ छौँ भन्न पनि पछि परेनन् ।
नेकाका महामन्त्री र संस्थापन पक्षको भिन्न मत सार्वजनिक भएपछि पुस २४ गते प्रकाशित विभिन्न पत्रपत्रिकामा नेकाको महाधिवेशनबारे अनेक चर्चा र टिप्पणी भयो । ‘काङ्ग्रेस महामन्त्रीद्वय थापा र शर्माले बोलाए विशेष महाधिवेशन’, ‘काङ्ग्रेस अर्को कठिन मोडमा’, विभाजनको डिलमा काङ्ग्रेस’, ‘काङ्ग्रेस फुटको डिलमा, विशेष अधिवेशन आह्वान’, ‘महामन्त्रीद्वय जसरी पनि विशेष महाधिवेशनको अडानमा, संस्थापन रोक्ने दाउमा’ आदि शीर्षकमा समाचारहरू छापिए । महामन्त्री गगन थापाले भने, “पार्टी फुट्दैन, कसैले चाहेर पनि फुट्दैन, अप्ठ्यारो अवस्था आयो भने म आफै विष पिएर भए पनि एकता जोगाउने प्रयासमा लाग्नेछु ।” पार्टीका प्रवक्ता प्रकाशशरण महतले भने, “महामन्त्रीको अधिकार क्षेत्र कार्य समितिले गरेका निर्णय सभापतिको निर्देशनअनुसार कार्यान्वयन गर्ने हो, आफूखुसी विशेष बोलाउने निर्णय वैधानिक हुन्न ।” पूर्वसांसद राधेश्याम अधिकारले भने, “४० प्रतिशतले विशेष अधिवेशन माग गरिसकेपछि अनिवार्य बोलाउनुपर्छ, महामन्त्रीले नभए कुनै सदस्यले बोलाए पनि आधिकारिकता हुनेछ ।”
देशकै पुरानो दल, प्रजातान्त्रिक अभ्यास भएको दल नेकामा पार्टीको महाधिवेशन गर्नमा यतिको किचलो किन भयो ? पार्टीको विधान कार्यान्वयन गर्न कसले बाधा दियो ? पार्टीका महामन्त्रीद्वय र संस्थापन पक्षको विवाद खास केको निम्ति हो भन्ने प्रश्न उठाइएको छ । महामन्त्रीद्वय थापा र शर्माले बोलाएको महाधिवेशन सफल होला या नहोला, केन्द्रीय समितिले मान्ला या नमान्ला भन्नेतर्फ नेकाका नेता तथा कार्यकर्ताहरू अन्योलमा परेका छन् । दुई भिन्न मत सार्वजनिक भइसकेको यो घडीमा दुवै पक्षलाई इज्जतको सवाल भएको छ । विशेष महाधिवेशन विधानविपरीत भएको हुँदा कोही सहभागी नहुनु भन्ने संस्थापन पक्षको माग र पार्टीको विधानअनुसारै विशेष महाधिवेशन हुन लागेको हुँदा अधिवेशनमा सहभागी हुन गरिएको सूचनाले नेकाका नेता र कार्यकर्ताहरू अन्योलमा पर्नु स्वाभाविक हो । अधिवेशनको आह्वान पार्टीको केन्द्रीय कार्य समितिले गर्ने कि महामन्त्रीद्वयले भन्ने प्रश्न पनि नेकाकै नेताहरूबिच उठेको पाइएको छ । के विवाद महाधिवेशन सुरू हुनुभन्दा अघि नै सुल्झिएला भन्ने प्रश्न पनि उठेको छ ।
महाधिवेशनमा पार्टीका सभापति, उपसभापति तथा संस्थापन पक्षका प्रतिनिधिहरू सहभागी नभए के हुन्छ ? सहभागी भए के हुन्छ भन्ने प्रश्न पनि ठडेको छ । यी दुई पक्षमध्ये कसको कुरा ठीक र बेठीक कसले छुट्याउने ? निवेदन दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन सम्पन्न गर्नुपर्ने एकथरीको मत र अधिवेशन वा विशेष अधिवेशन बोलाउने अधिकार व्यक्तिगतरूपमा कुनै पदाधिकारी वा सदस्यलाई नहुने अर्काे थरीको मत सार्वजनिक भएको अभिव्यक्तिले पार्टी चलाउने जिम्मेवार नेताहरू नै स्पष्ट नभएको थाहा हुन्छ । पार्टीबारे नेताहरूको दुई मत कसरी आयो ?
महाधिवेशन विवादको कारण नेका फुटे पनि जुटे पनि त्यो आन्तरिक कुरा हो । जसको नेतृत्वमा नेकाको नयाँ कार्य समिति गठन भए पनि त्यो पुँजीवादी पार्टी हो । पुँजीपतिवर्गको प्रतिनिधित्व गर्ने दलले श्रमजीवी जनताको सेवा गर्दैन, गरेको छैन । नेकाका महामन्त्री गगन थापाले त एक समयमा नेका गरिबहरूको पार्टी होइन, श्रमजीवीवर्गका जनताको पार्टी होइन भनेका थिए । देशमा आर्थिक सङ्कट जोहो गर्न उनले सरकारी उद्योग तथा सङ्घ संस्थाहरू बिक्री गरेको बताएका थिए । उनीहरूको अभिव्यक्ति हेर्दा दुवै पक्ष आ–आफ्नो अडानमा रहने देखिएको छ । कुनै मध्यमार्गी पक्षधर नेताहरू विवाद मिलाउनेतर्फ लागेको पनि चर्चा छ ।
फरक मत दिएका नेताहरू आ–आफ्नो अडानमा रहेको स्थिति हेर्दा पार्टीको नेतृत्वमा जानकै लागि उनीहरू लागिपरेको देखिन्छ । भन्ने बेलामा सभापति बन्नका लागि होइन भने पनि पार्टीको नेतृत्व गर्नेतर्फ नै उनीहरू उन्मुख भएको देखिन्छ । पार्टी सभापति बन्ने होड नभएको भए उनीहरू सहमतिमा आउनुपर्ने हो । पार्टीको महाधिवेशनलाई नियमित अधिवेशन र महाधिवेशन भनेर विवादमा फस्नुपर्ने होइन । नियमित महाधिवेशन र विशेष महाधिवेशन भने पनि त्यो आखिर नेकाकै महाधिवेशन हो; महाधिवेशनबारे दलका नेताहरू आफू आफू डम्फु बजाएर हिंड्नुपर्ने होइन । ठुला दलका नेताहरूमा पदको निम्ति होडबाजी गर्ने काम यो पहिलो पटक होइन । यसअघि पनि नेकाभित्र मात्र होइन अरू ठुला दलका नेताहरूमा पनि यस्तो चरित्र देखिएकै हो । देश र जनताको सेवामा प्रतिस्पर्धा गर्नुपर्ने नेताहरू पद र पैसामा केन्द्रित भएकै कारण देशको राजनीतिमा समस्या आएको हो; देशको अनुहार फेर्न नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *