भर्खरै :

‘जनताको पक्षमा काम गर्न हामी चुनावमा भाग लिन्छौँ’

‘जनताको पक्षमा काम गर्न हामी चुनावमा भाग लिन्छौँ’

भक्तपुर, १४ माघ । “राजनीतिमा उमेरभन्दा पनि सङ्घर्षको अनुभव र सेवा गर्ने भावना महत्वपूर्ण हुन्छ । विदेशको होइन देशको सेवा गर्ने उद्देश्य महत्वपूर्ण हो ।”
उक्त विचार नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले बुधबार आयोजित एक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
नेमकिपाको ५२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यकर्ता भेलामा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जनताको इमानदारीपूर्वक सेवा गर्दै आएकोले हामीमा पटक्कै पछुतो छैन । जनताको पक्षमा काम गर्न हामी चुनावमा भाग लिन्छौँ र जितेर गएका प्रतिनिधिहरूले अरू कसैले भन्दा इमानदारीपूर्वक सङ्घर्ष गर्छन् । हाम्रो यही नै परिचय हो ।”
उहाँले अगाडि भन्नुभयो, “नेमकिपाका प्रतिनिधिहरूले मन्त्रीहरूसँग कहिल्यै लेनदेन गरेनन्, प्राडो–पजेरोको लोभमा लागेनन्, सहुलियत सुविधा लिएर राज्यलाई भार हुने काम गरेनन् । बरू, उदाहरणीय ढङ्गले काम गरे ।”
अध्यक्ष बिजुक्छेँले हरेक पार्टी सङ्गठनको जिम्मेवारी भनेको समाजको निःस्वार्थपूर्वक सेवा गर्नु र त्यसको निम्ति योग्य नयाँ पुस्ता तयार गर्नु हो भन्दै जनतालाई सही राजनीतिक विचार दिन नसकेरै देशमा विध्वंस मच्चिरहेको प्रस्ट पार्नुभयो ।
विदेशीहरूले बनाएका गैरसरकारी संस्थाहरूले स्वार्थ देखाउँदै नेपाली बुद्धिजीवी र विभिन्न क्षेत्रका मानिसहरूलाई आफ्नो प्रभावमा पारेका दृष्टान्तहरू दिँदै उहाँले चुनावमा उठाउने र जिताउनेसम्मको खेलमा ती निर्णायक बन्दा देशले ठुलो नोक्सानी व्यहोरेको स्पष्ट पार्नुभयो ।
कार्यकर्ताहरूलाई अध्यक्ष बिजुक्छेँले निर्देशन दिँदै भन्नुभयो, “जनतालाई चित्त दुख्ने काम–व्यवहार हामीबाट हुनुहुँदैन । हामीबाट गल्ती भनेकै नहोस् । गल्ती भए जनतासँग माफी माग्न पछि नपरौँ । बेइमानी भनेको गर्दै नगरौँ । चुनावमा जिते पनि हारे पनि गलत काम नगरौँ ।”
नेमकिपा भक्तपुरका जिल्ला अध्यक्ष सुरेन्द्रराज गोसाईले प्रविधिसँगै हुर्केका नयाँ पुस्तालाई राजनीतिक विचार, सङ्घर्षको इतिहासबारे शिक्षित गर्न नसके व्यक्तिवादी प्रवृत्ति हावी हुने चर्चा गर्नुभयो ।
राजनीतिमा गम्भीरताभन्दा पनि प्रचारमुखी प्रवृत्ति बढ्दै जानु चिन्ताको विषय भएको धारणा राख्दै उहाँले विदेशी प्रभाव तथा हस्तक्षेपविरूद्धको सङ्घर्षको सिलसिलाको रूपमा निर्वाचनको उपयोग गर्न आवश्यक छ भन्नुभयो ।
एमसीसी र एसपीपीका पक्षधरहरू देशको निम्ति झन् बढी खतरनाक हुने उहाँको भनाइ थियो ।
कार्यकर्ता भेलामा नेमकिपा भक्तपुर नगरपालिका ८ वडा एकाइका अध्यक्ष एलएन दुवाल र सदस्य जितेन्द्र खायमलीले पनि बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *