भर्खरै :

बाल विकासमा नेमकिपाको स्थापना दिवस

बाल विकासमा नेमकिपाको स्थापना दिवस

भक्तपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा बाल विकास सेकेन्डरी स्कूल लिबालीमा मङ्गलबार विचार गोष्ठी भयो ।
उक्त गोष्ठीमा नेमकिपाका केन्द्रीय तथा वाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले तत्कालीन समयको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो सिद्धान्त छोड्दै गएको र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको सही विश्लेषण गर्न नसकिरहेको अवस्थामा नेपालमा सच्चा कम्युनिस्ट पार्टीको बीउ जोगाउन नेमकिपा स्थापना भएको बताउनुभयो ।
कम्युनिस्ट पार्टीले मजदुर किसानको हित गर्ने चर्चा गर्दै उहाँले आफूलाई कम्युनिस्ट भन्न रुचाउने ठुला भनाउँदा पार्टीहरूले कम्युनिस्ट सिद्धान्त र विचारलाई त्यागेर साम्राज्यवाद र विस्तारवादको गोटी बनेको अवस्थामा नेमकिपा सिद्धान्तलाई व्यवहारमा उतार्ने सच्चा कम्युनिस्ट पार्टी भएको धारणा राख्नुभयो ।
उहाँले ‘शासक दलका नेताहरूमा दूरदृष्टिको अभाव भएका कारण देश झन्झन् पछि परेको दृष्टान्त प्रस्तुत गर्दै शिक्षक र प्राध्यापकहरू समाजमा चेतना विस्तार गर्न तत्पर हुनुपर्छ भन्नुभयो ।
पुँजीवादी देशहरू नाफाका लागि संसारमा विभिन्न प्राणघातक रोग फैलाउन उद्यत रहेको बताउँदै उहाँले अमेरिका बिनायुद्ध विश्वका कमजोर देशहरूलाई कब्जा गर्ने अभियानमा अग्रसर भइरहेको तर्फ सचेत गराउनुभयो ।
कार्यक्रममा शिक्षकहरू सूर्यबहादुर पञ्च, शङ्कर आचार्य र गङ्गालक्ष्मी वैद्यले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *