भर्खरै :

विद्यार्थीहरूलाई अध्ययनसँगसँगै नैतिकताको पाठ पनि सिकाउनुपर्ने आजको आवश्यकता

विद्यार्थीहरूलाई अध्ययनसँगसँगै नैतिकताको पाठ पनि सिकाउनुपर्ने आजको आवश्यकता

भक्तपुर, १९ माघ । नवीन आधारभूत विद्यालयको ४५ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सोमबार एक कार्यक्रमबिच सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरूलाई अध्ययनसँगसँगै नैतिकताको पाठ पनि सिकाउनुपर्ने आजको आवश्यकता हो भन्नुभयो ।
अनुशासनले सभ्य समाज निर्माण गर्न सहयोग गर्ने उल्लेख गर्दै उहाँले अनुशासित विद्यार्थी, शिक्षक र अभिभावकको संयुक्त सहकार्यबाट विद्यार्थीको सफलता निर्धारण हुने बताउनुभयो ।
शिक्षकहरू योग्य र सक्षम भयो भने विद्यार्थीहरूको आकर्षण बढ्ने विचार व्यक्त गर्दै उहाँले विद्यालयले आफ्नो छुट्टै पहिचान कायम गरी अगाडि बढ्नुपर्छ भन्नुभयो ।
भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र, सरसफाइ र सम्पदा संरक्षित नगरको रूपमा विकास गर्दै भक्तपुर नगरपालिकाले आफ्नो छुट्टै पहिचान बनाएको बताउँदै उहाँले भक्तपुरका सामुदायिक विद्यालयलाई व्यवस्थित पार्ने प्रयास नपाले गरिरहेको बताउनुभयो ।
आधारभूत विद्यालयहरू राम्रो हुनु भनेको विद्यार्थीहरूको शैक्षिक जग मजबुत हुनु हो भन्दै उहाँले नवीन स्कूलको थप प्रगतिको लागि शुभकामना दिनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नवीन आधारभूत विद्यालयप्रति स्थानीय जनताको अपनत्व रहेको हुँदा विद्यालयका शैक्षिक विकासमा अझ मेहेनत गरी अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
नवीन आधारभूत विद्यालयका प्रधानाध्यापक प्रकाश गोसाईले विद्यालयको शैक्षिक र भौतिक विकासमा भक्तपुर नपाको साथ र सहयोगप्रति आभार व्यक्त गर्दै विद्यालयमा विद्यार्थीहरूको आकर्षण क्रमशः बढ्दै गएको र विद्यालयको पूर्वाधारहरू स्तरोन्नति गर्दै मावि तहसम्मको कक्षा सञ्चालन गर्ने भावी योजना रहेको बताउनुभयो ।
आधारभूत विद्यालय समितिका अध्यक्ष सूर्यबहादुर फोँजुले नवीन आधारभूत विद्यालयलाई मावि सञ्चालन गर्ने उद्देश्य पूरा गर्न विद्यालयले अझ मेहनत गर्नुपर्ने बताउँदै देशको लागि योग्य नागरिक तयार गर्ने उद्देश्य विद्यालयहरूको हुनुपर्ने बताउनुभयो ।
विद्यालयका शिक्षक नारायणप्रसाद मचामसीले नवीन स्कूल स्थापनामा भक्तपुरका अग्रजहरूको मेहेनत सराहनीय भएको बताउँदै लगनशील र मेहनती शिक्षकहरूको साथ र सहयोगबाट विद्यालयमा विभिन्न गतिविधि अगाडि बढिरहेको बताउनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक सुमिन महर्जन, शिक्षिकाद्वय कृतिका श्रेष्ठ र करुणा सुवालले पनि बोल्नुभएको थियो । साथै वार्षिकोत्सवकै अवसर पारेर विद्यालयको आयोजनामा भएको अतिरिक्त गतिविधिका विजेताहरूलाई पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *