भर्खरै :

दस अर्ब मानिसलाई कसरी खुवाउने ?

  • माघ २०, २०८२
  • युर्डी यास्मी
  • विचार
दस अर्ब मानिसलाई कसरी खुवाउने ?

अहिले विश्व खाद्यान्नसँग सम्बन्धित विभिन्न समस्यासँग जुधिरहेको छ । आज संसार आठ अर्ब मानिसलाई खुवाउन निकै सङ्घर्ष गरिरहेको छ । यस्तो परिस्थितिमा सन् २०५० सम्ममा हामी कसरी दस अर्ब मानिसलाई खुवाउन सक्छौँ ? बढ्दो जनसङ्ख्याको पोषण आवश्यकता पूरा गर्न खाद्य उत्पादनमा आमूल वृद्धि मात्र होइन, अझ समतामूलक वितरण पनि आवश्यक छ ।
तर, यो एकदमै कठिन कुरा हो । हालको खाद्य प्रणाली पहिले नै कमजोर हुँदै गइरहेको छ । विश्वमा लगभग ६७ करोड ३० लाख मानिस हरेक रात भोकै सुत्छन् र २०२५ मा हामीले गाजा र सुडानमा दुई अनिकाल देखेका छौँ । द्वन्द्व, जलवायु परिवर्तन र बढ्दो खाद्यान्नको मूल्यका कारण अनिकाल भएको हो । साथै, १.६६ अर्ब हेक्टर भूभाग (जसमध्ये ६० प्रतिशत कृषि भूमि छ) हामीले संसारलाई खुवाउन भर परेका अभ्यासले गर्दा नै विनाश भएको हो ।
विश्वव्यापी भोकमरी पर्याप्त खाद्य उत्पादन गर्ने क्षमताको अभावबाट उत्पन्न हुँदैन, बरु आंशिक रूपमा कुशलतापूर्वक उत्पादन र समान रूपमा वितरण नगर्ने हाम्रो असफलताबाट उत्पन्न हुन्छ । २० वटा देश तथा क्षेत्रमा भोकमरीको प्रमुख कारण द्वन्द्व र असुरक्षा हुन्, जसका कारण लगभग १४ करोड मानिसले तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् । विगत ३३ वर्षमा विपत्तिले विश्वव्यापी रूपमा अनुमानित ३.२६ ट्रिलियन डलर मूल्य बराबरको कृषि उत्पादनमा क्षति पु¥याएको छ । यो वार्षिक औसत ४९९ अर्ब वा विश्वव्यापी कृषि उत्पादनको लगभग चार प्रतिशत हो । हालैको आपूर्ति–सञ्चालित खाद्य–मूल्यवृद्धिले दसौँ लाख मानिसलाई लगभग रातारात भोकमरीमा धकेलेको छ । अझ नराम्रो कुरा यी एकपटकको झट्का होइन, बारम्बार दोहोरिने नियति हो ।
दशकौँदेखि कृषि क्षेत्रले बढ्दो मागलाई सम्बोधन गर्दै उच्च उत्पादन दिने बालीहरू विकास गरेर धेरैभन्दा धेरै मल, कीटनाशक औषधि र बढी पानी प्रयोग गर्दै आएको छ । तैपनि, यो प्रवृत्तिले अनावश्यक फोहोर उत्पादन गरेको छ, नदीनाला प्रदूषित गरेको छ, माटोलाई उर्वरशक्तिमा ¥हास ल्याएको र हरितगृह ग्यास बढाएको छ । हामीले राम्रो बाटो खोज्नु आवश्यक छ र विज्ञानले हामीलाई मार्ग देखाउन सक्छ । हामीले प्रयोग गर्ने कुरालाई अनुकूलन गर्ने र हामीले उब्जाउने खाद्यान्न विविधीकरण गर्ने ज्ञान र उपकरण हामीसँग पहिले नै छन् ।
एउटा प्राथमिकता भनेको दक्षता सुधार गर्नु हो । सन् १९९० र २०२० को बिचमा मलको प्रयोग ४६ प्रतिशतले बढ्यो र कीटनाशक औषधिको प्रयोग दोब्बर भयो । तर, मलमा पाइने पोषक तत्वको ३०–६० प्रतिशत र कीटनाशक औषधिको २०–७० प्रतिशत मात्र प्रभावकारी रूपमा अवशोषित हुन्छन् । बाँकी नदीहरूमा बग्छ, माटोलाई बिगार्छ वा हरितगृह ग्यासमा मिसिन्छ । सौभाग्यवश, अनुसन्धानले देखाउँछ कि नाइट्रोजनको प्रयोगलाई अनुकूलन गर्नाले उत्पादन १९ प्रतिशतसम्म बढाउन सकिन्छ र गोबर मलको प्रयोग १५–१९ प्रतिशतले घटाउन सकिन्छ । सटिक ‘स्प्रेइङ’, जैविक कीटनाशक र अवशेष अनुगमनमार्फत सुधारिएको कीटनाशक व्यवस्थापनले जैविक विविधताको सुरक्षा गर्दै रासायनिक फोहोर घटाउँछ । कृषि पारिस्थितिक अभ्यासहरू (जस्तैः अन्तरबाली र रुखलाई कृषि प्रणालीमा एकीकृत गर्ने) ले माटोको स्वास्थ्यलाई अझ बढाउँछ र दीर्घकालीन लचिलोपनलाई बलियो बनाउँछ ।
अर्को प्राथमिकता खाद्य प्रणालीलाई विविधीकरण गर्नु हो । दशकौँको उत्पादकत्व वृद्धिले केवल तीन बालीमा खतरनाक निर्भरतालाई बढावा दिएको छ । गहुँ, धान र मकैले अब विश्वको अधिकांश क्यालोरी प्रदान गर्छ । एकल खेतीमा यस्तो निर्भरताले कीरा, रोग र जलवायु परिवर्तनको गहिरो जोखिम सिर्जना गर्छ । समाधान हामीले सीमान्तकृत गरेका बालीहरूमा निहित छ । परम्परागत र कम प्रयोग गरिएका प्रजातिहरू कोदो, पोषक तत्वले भरिपूर्ण गेडागुडी, स्वदेशी फलफूल, तरुलले जलवायु लचिलोपनजस्ता अन्य फाइदाका साथै पर्याप्त पोषण प्रदान गर्छ । फ्युचर स्मार्ट फुड (एसियामा) र १०० क्रप फर अफ्रिकाजस्ता संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनका पहलले यी ‘बिर्सिएका’ बालीले कसरी एकै साथ आहार विस्तार गर्न, कृषि आम्दानी बढाउन र क्षय भएको माटोलाई पुनस्र्थापित गर्न सक्छन् भनेर देखाउँछन् ।
अन्तमा, हामीले प्रभावकारी प्रविधि बढाउनुपर्छ । डेटा विश्लेषण र सटिक–कृषि उपकरणले पहिले नै कृषिलाई पुनः आकार दिइरहेका छन् । ड्रोनहरूले बीउ रोप्न सक्छन् र सटिकताका साथ त्यसबाट नतिजा ल्याउँछन् । एआई प्लेटफर्मले अनुकूलित ‘इमेजरी प्रयोग’ गर्न सक्छन् । डिजिटल माटो परीक्षण र मौसम स्टेसनहरूले बाली उत्पादनमा वृद्धि गर्न सक्छन् । ब्लकचेन प्रणालीले साना किसानलाई पारदर्शी र निश्चित बजारमा जोड्न सक्छन् ।
यी उपकरणको विस्तार गर्न कृषि विस्तार सेवा (उत्तम अभ्यासलाई प्रवद्र्धन गर्न), विज्ञानमा आधारित प्रमुख नीति परिवर्तन र किसानलाई नतिजा अनुकूलनका लागि मद्दत गर्ने साझेदारी प्लेटफर्ममा पर्याप्त लगानी आवश्यक पर्छ । त्यसैगरी, चलिरहेको नवप्रवर्तनलाई स्थानीय अभ्यासमा समावेश गर्नुपर्छ, जसले सरकार, लगानीकर्ता, निजी क्षेत्र र किसानबिचको ठुलो सहकार्यको आवश्यकता पर्छ ।
उद्देश्य स्पष्ट छ, कृषिले कम लगानीमा बढी उत्पादन गर्नुपर्छ । यसका लागि सबै औद्योगिक प्याकेजलाई स्थानीय माटो, पानी व्यवस्था, बाली र हावापानीसँग मिल्दोजुल्दो लचिलो, सन्दर्भ–विशिष्ट प्रणालीहरूले प्रतिस्थापन गर्न आवश्यक छ । सार्वजनिकरूपमा वित्त पोषित अनुसन्धानले बजारहरू कम भएका ठाउँहरूमा नेतृत्व गर्नुपर्छ, जहाँ परिशुद्धता कृषिमा समान पहुँच सुनिश्चित गर्न सकिन्छ भने निजी नवप्रवर्तनले काम गर्ने कुरालाई बढावा दिन जारी राख्छ ।
बारम्बारको द्वन्द्व, खडेरी र बजार अराजकताको सामना गर्दा पनि स्थिर उत्पादन र किफायती मूल्य सम्भव छन् । लचिलो माटो, विविध बालीनाली र सटिक व्यवस्थापनले मुख्य भूमिका खेल्छ । किसान समृद्ध हुने, माटो पुनरुत्थान हुने, पानी सफा हुने, जैविक विविधता पुनः प्राप्त हुने र कृषि खाद्य प्रणालीले न्यूनतम हरितगृह ग्यास उत्सर्जन गर्ने संसार काल्पनिक होइन । पुरानो मोडेल ध्वस्त हुनुअघि फरक कृषि मोडेललाई अँगाल्नु वास्तविक क्षतिपूर्ति हो ।
एउटै मात्र प्रश्न यो हो कि हामी पहिले नै हातमा भएको ज्ञान, विज्ञान र प्रमाणित उपकरण प्रयोग गर्छौँ कि गर्दैनौँ ? भावी पुस्ताले समाधानका तरिका अस्तित्वमा थिए कि थिएनन् भनेर सोध्नेछैनन् । उनीहरूले त्यसलाई कार्यान्वयन गर्न हामीलाई यति लामो समय किन लाग्यो भनेर सोध्नेछन् । छनोट हाम्रो हो र यो विज्ञानलाई वास्तविक अभ्यासमा परिणत गर्नबाट सुरु हुन्छ ।
(संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठनमा वृक्ष उत्पादन तथा संरक्षण विभागका निर्देशक यास्मीको आलेखलाई प्रोजेक्ट सिन्डिकेटबाट सुभाष शर्माले अनुवाद गरेका हुन् ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *