दललाई सरकारी अनुदान सैद्धान्तिक र व्यवहारिक रूपमा गलत
- जेष्ठ १६, २०८३
यातायात, सञ्चार र जलविद्युत् देश विकासका महत्वपूर्ण आधारहरू हुन् । उत्पादित सामान देशभर सर्वसुलभ गराउन यातायातको विकासबिना सम्भव हुँदैन । यस अर्थमा यातायात नै देशको राष्ट्रिय अर्थतन्त्रको महत्वपूर्ण कडी हो । देशको बस्ती–बस्तीमा यातायातको सुगम व्यवस्था नहुँदा, सवारी साधन नपुग्दा कृषि र उद्योगको विकास भएन । देशमा उत्पादित वस्तु समयमा निर्धारित स्थानमा पु¥याउन पनि यातायातको खाँचो छ । यातायात सुगम नहुँदा धेरै दुर्घटना भएको, स्वास्थ्य केन्द्र र अस्पतालमा पु¥याउन नसकेर ज्यान गएका धेरै दृष्टान्तहरू छन् । सस्तोमा आवश्यक सामान पु¥याएर जनतालाई राहत पु¥याउन यातायात व्यवस्था नभई हुँदैन । यसका लागि भू बनोटअनुसार कहीँ रज्जुमार्ग त कहीँ केबुलकारको बन्दोबस्त गर्नुपर्ने हुन्छ । गाउँ र सहरको भेद हटाउन र आदर्श समाजको निर्माण गर्न गाउँ–गाउँसम्म यातायातको बन्दोबस्त गर्नुपर्छ ।
देशका विभिन्न भाषाभाषी, जनजातिलाई सचेत पार्ने, सङ्गठित गर्ने, न्याय र सत्यको पृष्ठपोषण गराउने, जनताको सांस्कृतिक, वैचारिक, सैद्धान्तिक स्तर उठाउने एउटा भरपर्दाे माध्यम सञ्चार पनि हो । विज्ञान र प्रविधिको यो युगमा सञ्चार जगत्ले ठाउँ पाएन भने, जनताको घर–आँगनमा पु¥याउन सकेन भने समाज धेरै पछि पर्छ । जनतालाई सचेत र सुसूचित पार्ने साधन सञ्चार क्षेत्र हो । रेडियो, टीभी, नेट, इमेल, छापा पत्रिका पनि प्रचारका आधारहरू हुन् । सञ्चारका यी क्षेत्रलाई सङ्गठनकर्ता या प्रचारको महत्वपूर्ण साधन मानिन्छ । जहाँ रवि पुग्दैनन् त्यहाँ कवि पुग्छन् भनेझैँ कवि र रवि नपुगेको ठाउँमा सूचना पु¥याउने काम सञ्चार क्षेत्रले गरेको छ । सरकारी सञ्चारका साधनहरू सबै जनताको निम्ति उपयोग हुनुपर्छ । सञ्चारका अन्य साधनलाई सरकारी नियन्त्रणबाट स्वतन्त्र गराइनुपर्छ ।
हरेक सञ्चार साधनको उद्देश्य आदर्शाेन्मुख समाज निर्माण गर्ने हुनुपर्छ । सञ्चार क्षेत्र र सञ्चार क्षेत्रमा काम गर्ने सञ्चारकर्मीहरू अश्लील समाचार, अश्लील गीत र नाचबाट मुक्त हुनुपर्छ । मनोरञ्जनको नाउँमा अश्लील गीत, नाच र सन्देश दिएर नयाँ पुस्तामाझ मन्द विष छर्ने काम ठीक होइन । देशको दुर्गम क्षेत्रमा आकाशवाणी, टेलिफोन, ग्रामीण दूरसञ्चार सेवा पु¥याउनुपर्छ । सञ्चार क्षेत्र भ्रष्टाचार, अनियमितता, कमिसनको विरोधमा प्रयोग हुनुपर्छ । शोषण, दमन, आक्रमण, अतिक्रमणको विरोधमा प्रयोग हुनुपर्छ । देश विदेशमा भइरहेका खबरको सत्यतथ्य जनतामाझ ल्याउने काममा उपयोग गर्नुपर्छ । वर्गीय समाजमा सञ्चार क्षेत्र पनि वर्गमा विभाजित भएको छ । एकथरीको सञ्चार क्षेत्रले सत्यतथ्यबारे प्रकाश पार्छ भने अर्काे थरीको सञ्चार क्षेत्रले सत्यतथ्यलाई ढाकछोप गरेर गलत सूचना प्रवाह गरिरहेको छ । यसकारण, सञ्चार क्षेत्र कुनै अल्पमतवर्गको भन्दा व्यापक जनताको हितमा प्रयोग हुनुपर्छ ।
नेपाल जलस्रोतमा धनी देश हो । यहाँ विद्युत्को प्रचुर सम्भावना छ । बिजुलीबाट चल्ने यातायातका साधन चले देशकोे धेरै रकम जोगिनेछ । पेट्रोलियम पदार्थमा हुने धेरै खर्च जोगिनेछ । वायु प्रदूषण धेरै घट्नेछ । जल यातायातका साधनको सम्भावनाबारे अध्ययन गर्न सकिन्छ । उपयुक्त स्थानमा उपयुक्त जलसाधन प्रयोग गरेर सामान ल्याउन लान उपयोग गर्न सकिन्छ । सम्भव भएका स्थानबाट विद्युत् आपूर्ति गरेर बिजुली देशव्यापी पु¥याउनुपर्छ । देशभर बिजुली पुगे यहाँ रहेका अनेक घरेलु तथा स–साना उद्योगहरू सञ्चालन गरेर हरेक क्षेत्रमा आत्मनिर्भर हुने काममा टेवा पु¥याउँछ । देशको लागि पर्याप्त बिजुली भएपछि मात्रै अन्य देशमा बिक्री गर्ने व्यवस्था मिलाउनुपर्छ । रासायनिक मल कारखाना खोल्नको लागि पनि जलविद्युत् उपयोग गर्न सकिन्छ । देशको जलस्रोत, खोला आदि विदेशीले लिनेतर्फ सरकार चनाखो हुनुपर्छ । अमेरिकाले अन्य देशमा तेल कब्जा गर्न अरु देशमा हस्तक्षेप गरेझैँ नेपालको पानी कब्जा गर्न पनि विदेशी शक्ति राष्ट्रहरूले आँखा गाड्नेतर्फ नेपाल र नेपाली जनता चनाखो हुनुपर्छ ।
Leave a Reply