भर्खरै :

सहिष्णु हिन्दू धर्म : भ्रम र यथार्थ – १

सहिष्णु हिन्दू धर्म : भ्रम र यथार्थ – १


प्रायः इसाई र मुस्लिमहरूभन्दा फरक हिन्दू धर्म सहिष्णु छ । यसले अन्य धर्मका व्यक्तिलाई धर्मान्तरण गर्दैन भनी चर्को स्वरमा दाबी गरिन्छ । हिन्दू दक्षिणपन्थीहरूले लगातार यो दाबीको प्रचार गर्दै आएका छन् । यसलाई मानिसहरूले सहजै पत्याउने गरेको पनि पाइन्छ । तर, यो दाबीका जराहरू भारतभन्दा बाहिर विदेशीका रचनामा खोज्नुपर्ने हुन्छ । अलबरुनी (सन् ९७३–१०४८) ले भारतवासीहरू विदेशीप्रति द्वेषभाव राख्छन् भनेर चर्चा गरे । उनले भारतीय विदेशीद्वेषबारे लेखेको झन्डै ५ सय वर्षपछि फ्रान्सेली डाक्टर फ्रान्सिस बर्नियरले हिन्दूहरू सहिष्णु छन् भन्ने महसुस गरे । उनले सन् १६६० को दशकमा भारतको भ्रमण गरेका थिए । यस्तो महसुस गर्ने उनी पहिला युरोपेलीहरूमध्ये एक थिए । उनले भने, “(भारतीयहरूले) आफ्नो नियम नै सर्वेसर्वा हो भनी दाबी गर्दैनन् ।” त्यस्तै, हर्डर (सन् १७४४–१८०३) भारतको रुमानी गरिमागान गर्नेमध्येका अग्रवर्ती युरोपेली थिए । उनले हिन्दूहरूलाई ‘नरम’, ‘सहिष्णु’ र ‘मानव जातिका भद्रतम् शाखा’ भने । इमानुयल कान्ट (सन् १७२४–१८०४) ले भने, “(तिनीहरूले) अरू धर्मावलम्बीलाई घृणा गर्दैनन् तर तिनीहरू आफूलाई सही पनि मान्छन् ।” यस्तै धारणा अन्य प्राच्यवादी (ओरियन्टालिस्ट) हरूको पनि थियो । जस्तो विलियम जोन्सले भने, “हिन्दूहरूले गोस्पेल (बाइबलको ‘देववाणी’) मा उल्लेख सत्यलाई तुरुन्तै स्वीकार गर्छन् तर उनीहरू यसलाई आफ्नो शास्त्रसम्मत छ पनि भन्छन् ।” १९ औँ शताब्दीका धर्म सुधारकहरूले हिन्दू सहिष्णुतामाथि जोड दिए । उदाहरणका लागि विवेकानन्द (सन् १८६३–१९०४) ले यस्तै विचार अघि सारे । यसलाई पुष्टि गर्न उनले ऋग्वेदको बहुचर्चित सूत्र ‘एकमसद् विप्रः बहुतदा वदन्ति’ उद्धृत गर्दै भने, “भारत नै एकमात्र सहिष्णुताको भूमि थियो र हो ।” तर, उनको यो विचार उनकै अर्को दाबीसँग मेल खाँदैन । उनले भनेका थिए, “सबै धर्म समान होलान् तर हिन्दू धर्म अरूभन्दा बढी समान थियो ।” हिन्दू धर्मबारे उनको चित्रण पनि यस्तै छ, “अन्य धर्मका धार्मिक र दार्शनिक तत्वका साथै तिनको इतिहासलाई (हिन्दूवाद) को मानकअनुसार मापन गर्न सकिन्छ ।” विवेकानन्दपछि ऋग्वेदको त्यो उद्वरणको रटान अचाक्ली भइसकेको छ । कतिसम्म भने आज यो एक रुढी बनिसकेको छ । तर, त्यो उद्वरण र विवेकानन्दकै विचारमा कुनै मेल देखिन्न ।
हिन्दू धर्मको कथित ‘सहिष्णु चरित्र’ २० औँ शताब्दीको प्राज्ञिक जगत्मा धेरै चर्चाको विषय बन्यो । उदाहरणको लागि पौल हेकरले भारतीय धर्ममा सहिष्णुता/असहिष्णुताबारे चर्चा गर्दै ‘समावेशी’ शब्दको प्रयोग गरे र यसलाई नितान्त भारतीय परिघटना माने । उनलाई धेरै विद्वानले समर्थन पनि गरे । यस्तै पछिल्ला समर्थक हुन् ब्रायन ह्याचर । कतिपय विद्वान्हरूले धार्मिक सहिष्णुता तथा स्वतन्त्रताको आधुनिक अवधारणा युरोपेली सभ्यताको देन मान्छन् । तर, ह्याचरले भने, “विभिन्न दर्शनलाई ग्रहण गर्नु भारतीय सांस्कृतिक परम्पराको अभिन्न अङ्ग हो ।” जेडब्ल्यु हावेर र कार्ल–हाइन्ज गोल्जियो जस्ता कैयन् विद्वान्ले ह्याचरको दाबीको खण्डन गरे । यसको लागि उनीहरूले द्वैत दार्शनिक माध्व (सन् ११९९–१२७८) को भनाइ अघि सारे । माध्वले वैष्णवहरूविरुद्ध जाने जोकोहीलाई राजाले दण्ड दिनुपर्ने बताएका थिए । भारतीय स्वतन्त्रता सङ्ग्रामको बेला धेरै भारतीय नेताले हिन्दू धर्मको समावेशी र सहिष्णु चरित्रको कल्पना गरे । बालगङ्गाधर तिलक (सन् १८५६–१९२०) उग्र हिन्दूवादका हिमायती थिए । तैपनि, धार्मिक सहिष्णुतामा जोड दिन उनले ऋग्वेदका सूत्रहरू उद्धृत गर्थे । मोहनदास करमचन्द गान्धी भारतमा धार्मिक सद्भाव कायम गर्न बाँचे र त्यसकै लागि मरे । तैपनि, उनले हिन्दू धर्मलाई आफूले बुझेका बाँकी सबै धर्मभन्दा बढी सहिष्णु पाए । हिन्दू समावेशितामा गर्व गर्दै उनले यसलाई विशेष बनाए । यस्तै विचार आधुनिक भारतका ठुला दार्शनिक एस राधाकृष्णननको पनि रह्यो । जवाहरलाल नेहरूलाई सही अर्थमा आधुनिक भारतमा धर्मनिरपेक्षताका वास्तुकार मानिन्छ । उनले जोड दिएर भने, “(हिन्दू धर्मको) मूल मर्म ‘बाँच र बाँच्न देऊ हो’ भन्ने लाग्छ ।” ‘हिन्दू सहिष्णुता’ बारे प्राज्ञिक जगतमा मतभेद देखियो । यो विवादको एकातर्फ दिवङ्गत निरद चौधरीजस्ता विचारक देखापरे । उनले धार्मिक सहिष्णुताको विचारलाई अस्वीकार गरे । उनले दृढतापूर्वक भने, “सहिष्णुता र मेलमिलाप जस्ता चल्तीका शब्द सत्य हुन् भने भारतमा बसोबास गर्ने विभिन्न जातिबिच किन यति गहिरो अविश्वास र शत्रुता छ त भन्ने प्रश्नको जवाफ दिन मुस्किल हुन जान्छ ।” विवादको अर्कोतर्फ हिन्दू धर्मको समावेशी चरित्रमाथि जोड दिने इतिहासकार र समाज वैज्ञानिकहरू छन् । हालैका वर्षमा उनीहरूले प्रभावशाली साहित्य रचेका छन् । जस्तो अमत्र्य सेनले प्राचीन भारतको धार्मिक सहिष्णुता र समावेशिताको महिमागान गरेका छन् ।
प्राचीन भारतमा, अझ खासगरी मध्ययुगको आरम्भमा एक हदसम्म पारस्परिक सद्भाव थियो । यो तथ्य दर्साउन कैयन् उदाहरण दिन सकिन्छ । प्रायः पुराणहरू मध्यकालको आरम्भ र त्यसपछि लेखिएका थिए । पुराणहरूमा एक विधर्मी धर्मका संस्थापक बुद्धलाई विष्णुको अवतार मानियो । यो इशाको छैटौँ शताब्दीको कुरा हो । यो कुरा धेरै पुराणमा मात्र होइन, अन्य कैयन् धर्मग्रन्थमा पनि पाइन्छ । क्षेमेन्द्रकृत दशावतार चरित, जयदेवकृत गीतगोविन्द, कतिपय अभिलेख र अलबरुनीको किताब अल–हिन्दमा पनि यो तथ्यको उल्लेख पाइन्छ । त्यस्तै, अर्को शास्त्रविरोधी जैन धर्मका प्रथम तीर्थङ्कर आदिनाथ (ऋषभ) लाई भागवत पुराणमा विष्णुको अवतार मानिएको थियो । रूपवान बन्न रहर गर्नेहरूले बुद्धसामु बलि चढाउनुपर्ने सिफारिस गरिएको थियो (रूपकामों याजेद बुद्धम, वराहपुराण) । यसरी ब्राह्मण पुजारीहरूका लागि बौद्ध मन्दिरहरूमा पूजा गर्ने ढोका खोलिएको थियो । यति हुँदाहुँदै पनि शिवले बुद्धको अवतारसँग लड्नका लागि शङ्करको रूपमा धर्तीमा पाइला टेकेका हुने भन्ने विचारलाई विस्मृतिमा पारिन्छ । नारायणाचार्यले आफ्नो रचना मणिमन्जरीमा शङ्करलाई अवैध सन्तान भनेको कुरा पनि लुकाइन्छ । त्यस्तै, ऋषभनाथलाई विष्णुको अवतारको रूपमा स्वीकार गर्नु जैन देवतालाई वैष्णव बनाउने र ‘दुई प्रतिस्पर्धी धर्मलाई एकाकार गर्ने’ असफल प्रयास थियो । त्यस्तै, वेदान्ती दार्शनिक माधव आचार्य (१४ औँ शताब्दी) ले आफ्नो पुस्तक ‘सर्वदर्शनसङ्ग्रह’ मा विरोधी विचारहरूप्रति उदाहरणीय सहिष्णुता देखाएको प्रायः बताइन्छ । यो पुस्तकको सुरुमा चार्वाक दर्शनको चर्चा र आलोचना छ भने अन्त्यमा शङ्करको ‘अद्वैत’ लाई निष्कर्षका रूपमा प्रस्तुत गरिएको छ । अद्वैत दर्शनलाई ‘सम्पूर्ण दर्शनको शिरोमणि’ भनिएको छ । तर, ‘सहिष्णुता’ को दाबी गर्दै गर्दा ‘सर्वदर्शनसङ्ग्रह’ भारतीय परम्पराअनुसार रचिएको तथ्यलाई हेक्का राखिन्न । त्यसबेला खण्डन गर्नुपर्ने विरोधी विचारलाई सुरुमा प्रस्तुत गर्ने (पूर्वपक्ष) चलन थियो । यस्तै, उदाहरण त्यसपछिको अवधिमा पनि पाइन्छ । जस्तो, इमामशाही एउटा मुसलमान सम्प्रदाय थियो । त्यसका अनुयायीहरूले इमामलाई विष्णुको दसौँ अवतार र कुरानलाई अथर्ववेदको अङ्ग मान्थे । कहिलेकाही यशु क्राइस्टलाई विष्णु मानिन्थ्यो भने कहिले बेलायतकी महारानी भिक्टोरियालाई हिन्दू देवी मानिन्थ्यो । भिक्टोरियाको मूर्तिलाई केही उपध्य्राहाले अपमानित गरेको केही दिनमै मुम्बई सहरमा हैजा फैलिएपछि स्थानीयहरूले भिक्टोरियालाई नै हिन्दू देवी भन्ठानेका थिए । यी घटनामा एउटा महत्वपूर्ण कुरा लुकाइन्छ । इमान, क्राइस्ट र भिक्टोरियामध्ये कसैले पनि ब्राह्मणवादी व्यवस्थामा महत्वपूर्ण स्थान पाएका थिएनन् ।

माथिका घटनाहरूलाई ब्राह्मणवादले अन्य धर्मलाई स्थान दिएको प्रमाण मान्ने हो भने पनि ‘भारत धार्मिक सहिष्णुताको भूमि थियो’ र ‘हिन्दूधर्मको छातामुनि रहेका अनेकन सम्प्रदायहरू अहिंसात्मक थिए’ भन्ने दाबीमाथि प्रश्न उठाउन मिल्ने ऐतिहासिक तथ्याङ्क र ठोस कारण पनि प्रशस्त पाइन्छ । जाति प्रथा र छुवाछूत हिन्दू धर्मका विशेषता हुन् । त्यसैले जन्मजात नै यो धर्म सहिष्णुतालाई मलजल गर्न असमर्थ छ । यो तथ्यलाई एकातिर राख्ने हो भने पनि ग्रन्थहरूले विभिन्न ब्राह्मणवादी सम्प्रदायहरूबिच कडा शत्रुता रहेको देखाउँछन् । त्यस्तै, वेदलाई सर्वोपरी मान्ने ब्राह्मणवाद र अन्य गैरब्राह्मणवादी धाराहरूबिच चर्को वैमनस्य थियो । यसरी नै ऋग्वेददेखि विभिन्न ब्राह्मण साहित्य (तैत्तिरीय, शतपथ, ऐतरेय र गोपथ ब्राह्मण) हुँदै महाभारत र पछि पुराणहरू (भागवत, कूर्म र देवी–भागवत पुराण) सम्म आइपुगेको दक्षको मिथकलाई लिन सकिन्छ । यो मिथक मध्यकालको आरम्भ र त्यसपछिको समयसँग सम्बन्धित छ । यसलाई विद्वान्हरूले वैष्णव र शैवहरूबिच चलेको सङ्घर्षको गाथाका रूपमा व्याख्या गरेका छन् । यो मिथकलाई हरिद्वारनजिकै पर्ने कनखल नामक तीर्थस्थलको लागि यी दुई सम्प्रदायबिच चलेको झगडाको प्रमाणको रूपमा पनि हेरिन्छ । महाभारतमा यो तीर्थस्थलको चर्चा छ । कुम्भमेलाको बेला सोही स्थान हुँदै गङ्गा नदीसम्म पुग्नुलाई भक्तजनले निकै ठुलो महत्व दिन्थे ।
खासमा पुराण तथा अन्य प्राचीन भारतीय ग्रन्थमा शैव र वैष्णवहरूबिच शत्रुताको आभाष पाइन्छ । विष्णुपुराणले ब्रह्मा र शिवभन्दा विष्णु श्रेष्ठ हुन् भन्ने दाबी गर्छ । कुर्मपुराणले संसारलाई डुबानमा पारेको भन्दै भैरव, कापालिक र वामाजस्ता शैव सम्प्रदायको निन्दा गर्छ । यसैगरी वराहपुराणका दुई अध्यायमा पाशुपत शैव सम्प्रदायको नकारात्मक चित्रण गरिएको छ । पद्मपुराणले वैष्णव नबने ब्राह्मणहरूलाई पाखण्डी भन्छ (अवैष्णवा तू यो विप्रः सा पाखण्डाः प्रकृतिताः) । यो निषेधवादी विचारलाई मध्यकालीन विधिशास्त्र वृद्धहरिताले पनि समर्थन गरेको छ । वृद्धहरितअनुसार गैरवैष्णव गुरुबाट लिएको मन्त्र वाचन गर्ने वैष्णवलाई सयौँ योनीसम्म नर्कमा जलाउनुपर्छ । शङ्कर दिग्विजयमा माधव र शङ्करबिच भेटघाट भएको चर्चा छ । साथै, त्यसबेला उनीहरूसँग राजा सुधनवन र कापालिकहरू थिए । भैरवको पूजा नगरेको हुनाले कापालिक गुरुले दार्शनिक माधवको भत्र्सना गरे । यसले गर्दा राजा सुधनवन र कापालिकहरूबिच युद्ध सुरु भयो । त्यो युद्धमा सबै कापालिकहरू मारिए । मध्यकालको आरम्भमा केही विधि निर्माताहरूले शैवलाई छुनेहरू र शैव वा बौद्ध मन्दिरमा प्रवेश गर्नेहरूलाई शुद्ध बनाउन केही कर्मकाण्ड बनाए । शैवहरूप्रति वैष्णवहरूको घृणा केबाट पनि स्पष्ट हुन्छ भने एक ‘असल’ वैष्णवले ‘सिव’ (सिलाइ) शब्दको प्रयोग कहिल्यै गर्दैन किनभने यो ‘शिव’ सँग मिल्दोजुल्दो हुन्छ । आज पनि वैष्णवहरूबिच यो प्रथा जीवित छ ।
लाग्छ शैवहरूले पनि जवाफमा वैष्णवहरूप्रति उत्तिकै घृणा फर्काएका छन् । उनीहरूले यदाकदा विष्णुलाई चटके मान्थे । सौरपुराणमा शिवलाई श्रेष्ठ सिद्ध गर्ने प्रयास गरिएको छ । त्यसमा शिवले नै विष्णुलाई सुदर्शनचक्र दिएको उल्लेख छ । पद्मपुराणमा एक ठाउँमा वासुदेवको पूजाको प्रशंसा गरिएको छ । तर, सोही पुराणको अर्को स्थानमा त्यो पूजा गर्न निरुत्साहित गरिएको छ किनभने विष्णुको नाम कहिल्यै उच्चारण गर्न हुँदैन । शङ्करका अनुयायीहरूले वैष्णव दार्शनिक मधु÷माध्वलाई ‘गाली र सास्ती’ दिएका थिए । सौरपुराणका दुई अध्यायमा माध्वको घोर निन्दा पाइन्छ । उक्त पुराणमा उनलाई ‘शिवलाई निन्दा गर्ने सबैभन्दा घृणित र छद्म प्रचारक र एक चार्वाक’ भनियो भने उनका अनुयायीहरूलाई ‘दुष्ट, म्लेच्छ र शुद्र’ भनियो ।
शैवहरूको असहिष्णुता र धार्मिक कट्टरताको महत्वपूर्ण प्रमाण चोल शासक कुलोत्तुङ्ग द्वितीयको रवैयामा पाइन्छ । उनले चिदम्बरम मन्दिरको आँगनबाट विष्णुको मूर्ति हटाउन लगाएका थिए । त्यस्तै, यो कटुता २० शैव पुजारीहरूको कथामा पनि पाइन्छ । चिदम्बरम मन्दिरमा कुनै बेला वैष्णव प्रतीक चिन्ह्हरू राखेकोमा २० शैव पुजारीहरूले आत्महत्या गरेका थिए । यही वैरभाव रामानुज (सन् १०१७–११३७) को अत्याचारको कथामा पनि पाइन्छ । गाथाअनुसार सन् १०९८ मा श्रीरङ्गम (तमिलनाडु) लाई केन्द्र बनाएर धर्मप्रचार गरिरहेका रामानुजलाई झन्डै २५ वर्षका लागि मैसुर (कर्नाटक) जान बाध्य पारिएको थियो । त्यस्तै, एक ‘पापी’ चोल राजाले रामानुजका एक शिष्यका आँखा निकाल्ने आदेश दिएका थिए ।
वैष्णवहरूप्रति शैवहरूको तिक्तता सन् ११६० को एक अभिलेखबाट स्पष्ट हुन्छ । तिरुकड्डयुरको एक महासभामा इतर सम्प्रदायका मान्छेसँग सामाजिक सम्पर्कमा गएको आरोपमा एक शैवको सारा सम्पत्ति जफत गरी स्थानीय मन्दिरलाई दान दिने सजाय सुनाइएको थियो । शत्रुता कति गहिरो थियो भने एक अनुश्रुतिअनुसार एक वैष्णव नागाले कम्तीमा एकजना शैव पुजारीको हत्या नगरी भोजन नगर्ने कसम खाएका थिए । जवाफमा एक शैवले एक वैष्णवलाई नकाटेसम्म कहिल्यै खाना नखाने किरिया खाए । अर्को एक अनुश्रुतिअनुसार दुई गोसाइँ नेताहरूले खाना चाख्नुभन्दा अगाडि दैनिक दुईजना वैरागीहरूको हत्या गर्ने व्रत लिएका थिए । धार्मिक असहिष्णुताको सबैभन्दा सपाट उदाहरण वीरशैव सन्त चरितहरूमा पाइन्छ । एक यस्तै पुस्तकमा बिज्जल दरबारको चर्चा छ । दरबारमा बासवले एक वेदान्तीलाई अपमान गरेका थिए भने लिङ्गायतीहरूले कुकुरहरूलाई वेद पाठ गर्न लगाएर एक वैदिक विद्वानको उपहास गरेका थिए ।
शैव–वैष्णव वैरभाव समाजको माथिल्लो तप्कामा मात्र सीमित थिएन । समाजको तल्लो तहमा पनि यो वैमनस्य फैलिएको थियो । अठारौँ शताब्दीको एक तमिल पुस्तकमा यसको एउटा उदाहरण पाइन्छ । तल्लो जातिका शैव र वैष्णव पत्नीहरूबिच झगडा हुँदा एकअर्काका देवताहरूलाई होच्याउँदै भड्किला गाली गर्ने गर्थे । १९ औँ शताब्दीका फ्रान्सेली पदरी जेए दुबोइले भारतमा झन्डै ३० वर्ष बिताए । उनले अनेक धार्मिक भिक्षु र घुमक्कड साधुहरूका जत्थाको चर्चा गरेका छन् । ‘ती समूहहरू सधैँ अरूका नाइकेहरूलाई भद्दा गाली गर्थे ।’ ती ‘भिक्षु र घुमक्कड साधुहरू’ मा माथिल्ला र तल्ला जाति दुवैका मानिस हुन्थे र यसरी शैव–वैष्णव झगडामा समाजका विभिन्न वर्गका मानिस सामेल हुन्थे भन्नु गलत नहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *