्जखाङकी नाची
- फाल्गुन १४, २०८२
पार्टीका श्रद्धेय अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भन्नुभएको छ, “देश र जनताको सेवाबाहेक हाम्रो कुनै स्वार्थ छैन । हामी अन्तिम दमसम्म इमानदारीपूर्वक देशको निम्ति लड्छौँ ।” यो केबल भनाइ होइन पार्टीको व्यवहार र आदर्श हो । नेमकिपाको इतिहास सेवाको इतिहास, सङ्घर्षको इतिहास र समर्पणको इतिहास हो । औपचारिक रूपमा स्थापनाको ५२ वर्ष भयो । यहाँ २०१५ सालदेखि किसान सङ्घर्ष अघि बढ्यो । किसानहरूको राजनीतिक स्तर उकास्न, शैक्षिक स्तर उठाउन र जीवनस्तर उठाउन भएका प्रयासहरू पार्टी स्थापनाका पृष्ठभूमि थिए । नेमकिपाले भ्रष्टाचारी र सहकारी ठगहरूलाई उहिल्यै पाटा कसेको थियो । सुस्तामा भारतले सीमा अतिक्रमण गर्दा पहिलोपटक भारतीय विस्तारवादको आवाज उठाउने पार्टी नेमकिपामात्र थियो । आज पनि दक्षिणी सिमानामा अतिक्रमण उस्तै छ । देशको अर्थतन्त्र, सम्पत्ति, खोलानाला, कलकारखाना भारतलाई सुम्पने शासक दलसँग पनि हामीले लामो सङ्घर्ष ग¥यौँ । नेमकिपाको इतिहास दक्षिण एसियामा भारतीय एकाधिकार पुँजीविरोधी सङ्घर्षको इतिहास हो । भारतीय विस्तारवादविरोधी सङ्घर्षको इतिहास जारी छ ।
संरा अमेरिकी साम्राज्यवाद भन्ने कुनै पार्टी नेपालमा छ भने त्यो नेमकिपा हो । हामी जान्दछौँ साम्राज्यवाद क्रूर हुन्छ । स–साना देश सिध्याउँछु भन्दै छन् ट्रम्प । हिजो भियतनाम दुख्दा हामीलाई दुख्यो, आज भेनेजुयला दुख्दा हामीलाई पनि दुखिरहेको छ । संसारको कुनै पनि कुनामा साम्राज्यवादी युद्ध हामीलाई मञ्जुर भएन र हुँदैन । यसर्थ, नेमकिपाको इतिहास साम्राज्यवादविरोधी सङ्घर्षको इतिहास पनि हो । आज साम्राज्यवादी शक्तिले नेपालमा पनि उपद्रो गर्दै छ । हामीले एमसीसीको विरोध त्यसै गरेका थिएनौँ । एसपीपी चाहिँदैन त्यसै भनेका थिएनौँँ । भदौ २३ र २४ गतेको उपद्रो, ध्वंश वा विध्वंश त्यसैको परिणाम थियो भन्ने पुष्टि हुँदै छ । लामो समयदेखि अमेरिकी संस्था NED/IRI मार्फत नयाँ पुस्तालाई प्रयोग गरी त्यसको तयारी गरेको रहेछ भन्ने खुलासा भयो । देशको झन्डालाई नकान बनाई देश जलाएको क्षम्य हुँदैन । त्यो अपराध हो । सरल भाषामा आजभोलि नयाँ भन्दै साम्राज्यवादका एजेन्ट आउँदै छन् । साम्राज्यवादी शक्तिले पुरानो घोडा थाकेपछि नयाँ घोडा फरेको छ ।
हामीलाई नेमकिपाले विदेशको मात्र कुरा गर्छ भन्ने आरोप लाग्ने गर्छ । अरुको घरमा चोर पस्दा बोलेनौँ भने हाम्रो घरमा चोर पस्दा कसले बोल्ने ? नेमकिपा संसारको कुनै पनि कुनामा भएको अन्याय, युद्ध र हमलाको विरोध गर्छ । नेपाललाई नेपाली लेण्डुप दोर्जे र जेलेन्स्कीहरूबाट जोगाउन लडिरहने पार्टी नै नेमकिपा हो ।
नेमकिपाको परिचय सिद्धान्त निष्ठता, राजनीतिक संस्कार, राजनीतिक नैतिकता, देशभक्ति भावना र इमानदारी हो । त्यसकारण, सत्ताको भागबन्डामा कहिल्यै अल्मलिएन; हल्ला गरी जनता झुक्याएन, बेइमानी गरेन, अपराध गरेन, पैसा बाँडेर चुनाव जितेन र विदेशी नुन खाएन । विद्रोही रामले लेख्नुभयो,
“यदि हल्लाको हैन सिद्धान्तको राजनीति हुन्छ भने साँच्चै
भक्तपुर यस्तो उज्यालो हो जहाँ सत्ता आउँछ जान्छ
तर इमानको ढुङ्गा हल्लिँदैन ।”
नेमकिपाको राजनीति विचारको राजनीति, सेवाको राजनीति र कामदार वर्गीय जनताको उत्थानको राजनीति हो । भक्तपुर माक्र्सवादी विचारको मौलिक प्रयोग भएको ठाउँ या टेस्टट्युब हो । आज यहाँ विकासको मौलिक मोडल हेर्न, सुशासन हेर्न देशैभरिका मानिस आउँछन् । ‘जनताप्रधान’ विकासको मोडल भनी प्रशंसा गर्छन् विज्ञहरू । यहाँ हजारौँ वर्ष पुरानो सभ्यता छ, त्यो सभ्यताको पुनर्जागरण छ । सयौँ वर्ष पुराना कला र सम्पदा छन् । त्यसको सुरक्षा छ, निर्माण तथा पुनर्निर्माण छ । सभ्यताको त्यो पुनर्जागरण नयाँ विचार हो । त्यो पुनः निर्माण नयाँ विचार हो । इतिहासका वैभवको सुरक्षा नयाँ विचार हो । देशको सम्पत्ति जलाउने, इतिहास जलाउनेहरू नयाँ हुनसक्दैनन् । यहाँको हकमा ङातापोल्हँ, पचपन्नझ्याले दरबार हरेक पुस्ताका लागि नयाँ हुन् । कामदारवर्गलाई उठाउने विचार हरेक युगमा नयाँ हो ।
आज भक्तपुर एसियाकै सफा सहरमध्ये एक हो । पर्यटकहरू यही भन्छन् । हिजो यस्तो थिएन । ‘उपत्यकाको शौचालय’ भनिन्थ्यो । यो ठाउँ मानिस बस्नलायक नभई धेरैले ठाउँ नै छोडेको कथा पनि छ । आज यति सफा किन छ ? नेमकिपाको सफाइ आन्दोलनको परिणाम ¤ यहाँ अग्रज पुस्ताका जनप्रतिनिधि, वडाध्यक्षहरूसमेत टोल–टोल, गल्ली–गल्लीमा सरसफाइमा जुटेको इतिहास छ । गाउँ ठाउँमात्र होइन धुलो कसिङ्गर लागेको नेपालको कम्युनिस्ट आन्दोलनमा पनि नेमकिपाले विचारको कुचो चलायो ।
आज भक्तपुर देशकै शैक्षिक गन्तव्यको रूपमा परिचित छ । ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास हुँदै छ । शिक्षाको गुणस्तर निकै कमसल थियो । पार्टीका अग्रजहरूले प्रौढ कक्षा, रात्रि कक्षा चलाउनुभयो र विद्यालय खोल्नुभयो । शैक्षिक जागरण ल्याउनुभयो । ‘एक घर एक स्नातक’ को अभियान चलाइयो । छोरीहरूलाई बढी पढाउनुपर्छ भनी चेतना दिइयो । शिक्षाले आफ्नो खुट्टामा उभिने बनाउँछ । आज हाम्रो नर्सिङ कलेजबाट दीक्षित ७००–८०० नर्सहरू देशका विभिन्न ठाउँमा सेवा गर्दै छन् । ८–९ हजार दक्ष इन्जिनियर तयार भए । ख्वप स्कूल र कलेजबाट १० औँ हजार विद्यार्थीले शिक्षा पाए । यहाँ आज अब्बल स्कूलहरू छन् । ७७ जिल्लाकै विद्यार्थी अध्ययन गर्छन् । नेमकिपाको विचारले आज भक्तपुरले शिक्षा क्षेत्रमा देशकै सेवा ग¥यो । विश्वविद्यालयको सपना भक्तपुरका जनताको हो ।
एउटा आदर्श समाज निर्माणको निम्ति काम गरिरहेको छ । अहिले त स्वदेशमै राम्रो रोजगारीको बन्दोबस्त हुने व्यक्तित्व विकासमा समान अवसर, योग्यताअनुसार काम र कामअनुसार ज्याला, उत्पादनका साधनहरू सामाजिकीकरण हुने समाज निर्माण हुँदै छ । कामदारवर्गलाई नहेर्ने यो व्यवस्था बदल्न जुटिरहेको छ ।
(उक्त विचार नेमकिपाका केन्द्रीय सदस्य सृजना सैंजूले नेमकिपा भनपा वडा नं. १० द्वारा माघ २४ गते आयोजित पार्टीको ५२ औँ स्थापना दिवसको अवसरमा प्रगतिशील गीत प्रतियोगितामा व्यक्त गर्नुभएको मन्तव्यको सार)
Leave a Reply