भर्खरै :

समाजवाद त्यसै आउँदैन

समाजवाद त्यसै आउँदैन

देशमा समाजवाद त्यसै आउँदैन । जनतालाई सचेत र सङ्गठित पार्दै उनीहरूकै साथ र सहयोगमा त्याग र बलिदानपूर्ण सङ्घर्षले ल्याउने हो । यसमा राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको कुरा पनि होला । वि.सं.२०३१ माघ १० गते स्थापना भएको नेपाल मजदुर किसान पार्टीले यो उद्देश्य प्राप्त गर्न पाँच दशकदेखि जनताको साथ र सहयोगमा निरन्तर अथक सङ्घर्ष गर्दै आएको छ ।
नेपाल मजदुर किसान पार्टीले सिद्धान्तअनुसार देश र जनतालाई केन्द्रमा राखेर सङ्घर्ष गर्दै आएको हो । लेनिनवादी नीतिअनुसार आफ्नो दलका नेता, कार्यकर्ताहरूले चुनावमा जितेको भक्तपुर नगरपालिका अर्थात् स्थानीय सरकारमार्फत टेस्टट्युवको रूपमा स्कूल, कलेज खोलेर, अस्पताल खोलेर, अक्सिजन सित्तैमा बाँडेर जनताको सेवा गरिरहेको छ । देश र जनताको सेवा गर्न उत्पादन श्रमसँग जोडिएको शिक्षा दिन, जनताका छोराछोरीलाई १५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालयको स्वीकृति माग गरिएको छ । ख्वप विश्वविद्यालय चलाउन स्थानीय सरकार भक्तपुर नगरपालिकालाई अनुमति नदिन विभिन्न बहाना बनाउनुको कारण, देशी विदेशी, शक्ति शिक्षा, स्वास्थ्य माफियाहरू रहेको अनुमान लगाउन गा¥हो भएन ।
त्यस्तै माओवादीले पनि रुखमा र काङ्ग्रेसले पनि हासिया हठौडा चिह्नमा भोट हाले । ठुला दलहरूले नेमकिपाका नेता, कार्यकता अनेक लोभलालच देखाएर चोरे, लगे । जनतालाई पनि उनीहरूले त्यस्तै बेइमानी गरे र विश्वासघात गरे । उनीहरू विचार, सिद्धान्त, व्यवहार र आचरणमा स्खलित भइरहेका छन् ।
फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै छ । हिजो निर्वाचनबाट जितेर गएका प्रधानमन्त्री, मन्त्रीहरूले देशमा विकास र समृद्धि ल्याउने वाचा गरेका थिए । उनीहरू पालैपालो सरकारमा गए । तर, गाउँ ठाउँका बहुसङ्ख्यक जनता गरिबको गरिब र बेरोजगारीको बेरोजगारी नै छन् । बरु, उनीहरूले गरिबका नाममा अकुत सम्पत्ति आर्जन गरे । उनीहरूले काठमाडौँमा घर, जग्गा, बङ्गाला जोडे । ३५ वर्ष भयो खोइ देशमा समृद्धि ? निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारीको बन्दोबस्त खोइ ? कालापानी, लिम्पियाधुराजस्ता नेपाली भूमि फिर्ता लिएको खोइ ? त्यसको विरुद्ध सदन र सडकमा बोलेको खोइ ? देशघाती एमसीसी किन पास गरियो ? देशमा मल कारखाना खोइ ?
देशको अर्थतन्त्र, कृषि, उद्योग, व्यापार, रोजगारी चौपट भयो । देशको राजनीति, अर्थनीति, कूटनीति, शिक्षा, स्वास्थ्य आदिमा विदेशी हस्तक्षेप बढ्यो । कृषिप्रधान देशले अन्नलगायत सबै विदेशबाट किन्नुपर्यो । उद्योग, कारखाना, रोजगारी प्रायः ठप्प भयो । मित्र देशहरूले आफ्नै खुट्टामा उभ्याउन उपहारस्वरूप बनाइदिएका उद्योग, कारखाना, यातायात सबै सिध्याइदिए । व्यापारघाटा बढ्दो छ । कर्मचारीलाई तलब खुवाउन ऋण लिनुपर्यो । ऋण तिर्नलाई ऋण लिनुप¥यो । देशमा रोजगारीको बन्दोबस्त नहुँदा युवाहरू बाध्यताले बिदेसिएका छन् । दलहरूको विचार, सिद्धान्त, आचरण र व्यवहार सङ्लो र देशभक्त भएन । जनता सचेत र सङ्गठित नभएसम्म, लोभलालचमा लागेसम्म पुँजीपतिहरू सत्तामा जाने नै भए । नेपाल मजदुर किसान पार्टी देश बनाउन र जोगाउन निरन्तर र अथकरूपमा लागेको लाग्यै छ ।
उत्तर कोरिया, चीन, क्युवा, भियतनामलगायत देशका समाजवाद यसका उदाहरण हुन् । यस्ता देशका जनता न कसैको अगाडि झुकेको छ न कसैको सामु लत्रेको छ । ती देशहरूले साम्राज्यवादी, उपनिवेशवादी, विस्तारवादी र पुँजीवादी देशहरूलाई ‘शान्ति भए शान्ति’, ‘युद्ध भए युद्ध’ भनेर हाँक दिँदै छन् । हामी शान्ति चाहन्छौँ , युद्ध चाहँदैनौँ । परिआएको खण्डमा कुनै पनि बेला देशको लागि, समाजवादको रक्षार्थ लड्न, भिड्न, बलिदान दिन उनीहरू सबै तयार छन् ।
जनता अनुशसित, सचेत र सङ्गठित सङ्घर्ष गरेर समाजवाद ल्याउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *