भर्खरै :

‘तिब्बत विद्रोह’ होइन प्रतिक्रान्तिको दुस्प्रयास हो

‘तिब्बत विद्रोह’ होइन प्रतिक्रान्तिको दुस्प्रयास हो

तिब्बत चीनको अभिन्न अङ्ग र स्वशासित क्षेत्र हो । यो इतिहासबाट पुष्टि भएको यथार्थ हो । तिब्बती जनताको चीनका अरु जातिहरू विशेषगरी हान जातिसँगको सम्बन्ध इतिहासझँै पुरानो छ । सन् १२५३ देखि अविछिन्न रूपले तिब्बत चीनको एक अभिन्न अङ्ग रहँदै आएको छ । सन् १९७२ मा भएको चीन र नेपालको सन्धिबाट पनि तिब्बत चीनकै प्रदेश रहेको स्पष्ट देखिन्छ । सन् १९५१ मा तिब्बत र चीनबिच १७ दफाको सम्झौता भयो । सो सम्झौतामा तिब्बती जनता मातृभूमि चीनको विशाल परिवारमा फर्कने र संयुक्त भई तिब्बतबाट साम्राज्यवादीहरूलाई निकाल्ने निर्णय थियो । त्यसबेला यो सम्झौतालाई तिब्बतका दलाई लामाले पनि स्वीकार गरी अध्यक्ष माओ त्सेतुङलाई सन्देश पठाएका थिए ।
अमेरिकी र बेलायती साम्राज्यवादीहरू चिनियाँ क्रान्तिपछि तिब्बतबाट सामन्तवादको अन्त्य र भू–दास मुक्तिलाई विरोध गर्दै तिब्बत चीनबाट अलग राख्न चाहन्छन् । सन् १९५० देखि १९६० को बिचमा अमेरिकाले तिव्बतमा ‘सशस्त्र विद्रोह’ गराउन आर्थिक सहयोग गर्यो । संरा अमेरिका र बेलायतले सन् १९५९ को तिब्बतको असफल विद्रोहपछि दलाई लामालाई भारत भगाउन मद्दत गरे । त्यसबेलादेखि दलाई लामाले अमेरिकी आर्थिक सहयोगमा चीनबाट तिब्बतलाई अलग्याउन बारम्बार दुस्प्रयास गर्दै छन् ।
दलाई लामाको नेतृत्वमा राज्य स्थापना गर्ने लक्ष्यसहित ‘तिब्बतको प्रवासको संविधान’ र ‘तिब्बतको भविष्यको संविधान’ तयार गरी प्रवासी सरकारको नाममा गृह, परराष्ट्र र सञ्चार, धर्म तथा संस्कृति, शिक्षा, अर्थ, स्वास्थ्य र रक्षा गरी सात मन्त्रालयको बन्दोबस्त गरियो । त्यस्तै ‘तिब्बती राष्ट्रिय झन्डा’ र ‘तिब्बती राष्ट्रिय गान’ पनि बनाइयो । प्रवासी तिब्बतीहरूको विद्यालयमा झन्डोत्तोलन र राष्ट्रिय गान गाउनु अनिवार्य गरियो । यसले दलाई लामा सामान्य भिक्षु होइन देश विखण्डनकारीको रूपमा प्रस्तुत भएको स्पष्ट हुन्छ ।
गएको चैतमा दलाई लामाका समर्थकहरूले ‘तिब्बतको स्वतन्त्रता आन्दोलन’ को नाममा उपद्रव र हुलदङ्गा गरे । हुलदङ्गा गर्नेहरूले व्यापारिक केन्द्रको लुटपाट र आगजनी गरे । तर, पश्चिमी सञ्चारमाध्यम सीएनएन, वासिङटन पोस्ट र बीबीसीले ‘तिब्बती देशभक्त’ हरू चिनियाँ दमनविरुद्ध उठे जस्ता झूटा समाचार प्रसार गरे ।
चैतको महिना चिनियाँ कम्युनिस्ट पार्टीको सत्रौँ महाधिवेशन थियो । ओलम्पिक खेल सन् २००८ मा चीनमा हुने भएकोले पनि तिब्बतमा उपद्रव मच्चाइएको हो । यसअगाडि भारतका लागि अमेरिकी राजदूत डेभिड मलफोर्डले दलाई लामालाई भारतको धर्मशालामा भेटेका थिए । यसरी अमेरिकाको निर्देशनमा तिब्बतमा उपद्रव भएको पुष्टि हुन्छ ।
संरा अमेरिकाले सन् १९५६ मा हंगेरीमा, सन् १९८९ मा गोर्वाचोभको मद्दतले सोभियत सङ्घमा प्रतिक्रान्ति गराएको थियो । पूर्वी जर्मनी र युगोस्लाभियामा समाजवादी सरकार ढाल्ने काम गरियो । अहिले तिब्बतबारे आइरहेका सबै समाचारहरूमा चीन समर्थक एकजना पनि तिब्बतीसँग अन्तर्वार्ता लिइएको छैन । समाजवादी देश क्युवा र कोरियाविरुद्ध पनि अमेरिकाले शत्रुतापूर्ण नीति लिदै नाकाबन्दी र युद्धको धम्की दिइरहेको छ ।
हाल दलाई लामाले तिब्बतको स्वतन्त्रता होइन स्वायत्तता मागेको बताएको छ । तर उनको स्वायत्ततामा तिब्बतबाट चिनियाँ सेना हट्नुपर्ने उल्लेख छ । यो देश विखण्डनतिर उन्मुख छ । संरा अमेरिका र बेलायत ‘तिब्बतमा विद्रोह’ को नाममा चीनमा हमला गर्ने अवसर खोज्दै छन् र समाजवाद ध्वस्त गर्न चाहन्छन् । सारा न्यायप्रेमी जनताले यसको निन्दा, विरोध र भत्र्सना गर्नु आवश्यक छ ।
(‘श्रमिक’ साप्ताहिक ७ जेठ, २०६५)
स्रोत – तिब्बत : उपद्रव र यथार्थ

Leave a Reply

Your email address will not be published. Required fields are marked *