भर्खरै :

भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – २

  • माघ २९, २०८२
  • सुरेश ढकाल, सञ्जीव पोखरेल
  • विचार
भक्तपुरमा आन्दोलन, राजनीति र रूपान्तरण – २

राजनीतिक प्रक्रिया र सफाइ अभियान
फोहर र/वा त्यसलाई मानव स्वास्थ्यसँग जोडी समाधान गर्नुपर्ने समस्या बनाउने प्रक्रिया भक्तपुरका केही कम्युनिस्ट युवाहरूको राजनीतिक चासोबाट जन्मेको देखिन्छ । २०१९ सालमा कामरेड नारायणमान बिजुक्छेँ (हाल नेमकिपा अध्यक्ष) भक्तपुर नगरपालिकाका सदस्य निर्वाचित हुनुभयो । पञ्चायत व्यवस्थाअन्तर्गत भएको स्थानीय तहको निर्वाचनबाट उहाँ नगरपालिका सदस्य बन्नुभएको थियो । कम्युनिस्ट शासन व्यवस्थाका दृढ पक्षपाती कामरेड बिजुक्छेँ युवा लीगका सदस्य हुनुहुन्थ्यो । यो तत्कालीन नेपाल कम्युनिस्ट पार्टीको युवा सङ्गठन थियो; जनताबिच साम्यवादी मूल्यमान्यताको प्रचार गर्ने जनवर्गीय सङ्गठन थियो । स्थानीय निर्वाचनमा प्राप्त विजयलाई कामरेड बिजुक्छेँले जनतालाई ‘तिनका वास्तविक अड्चन र सम्भावनाबारे जागरुक’ बनाउने अवसरको रूपमा हेर्नुभयो । अझ यो ‘जनताबिच पुग्ने र तिनलाई सङ्गठित गर्ने’ मौका थियो । बिजुक्छेँ र उहाँका कामरेडहरू लेनिनको उदात्त विचारबाट स्थानीय तहको निर्वाचनमा भाग लिन उत्साहित भएका थिए । लेनिनले भन्नुभएको थियो, “जनताको सेवा गर्न राज्यका प्रतिक्रियावादी सङ्घसंस्थालाई समेत उपयोग गर्नुपर्छ ।” (कामरेड बिजुक्छेँसँगको निजी कुराकानीबाट)
पञ्चायतको राजनीतिक वातावरणमा यस्तो काम गर्नु अप्ठ्यारो र जोखिमपूर्ण थियो । स्वेच्छाचारी पञ्चायती व्यवस्थाले सम्पूर्ण राजनीतिक दल र तिनका गतिविधिमा प्रतिबन्ध लगाएको थियो । पञ्चायती व्यवस्थाबारे प्रत्यक्ष–परोक्ष छलफल गर्ने र/वा त्यसको विरोध गर्ने कुनै पनि किसिमको राजनीतिक गतिविधिप्रति सरकार सहिष्णु थिएन । यस्ता क्रियाकलापमा संलग्न जोकोहीलाई कैद गर्न सकिन्थ्यो वा तिनले आफ्नो ज्यानै गुमाउनुपर्ने हुनसक्थ्यो । त्यसमाथि कामरेड बिजुक्छेँ पञ्चायती नगरपरिषद्को सदस्य भए पनि एक कम्युनिस्ट कार्यकर्ता हुनुहुन्छ भन्ने कुरा प्रशासनलाई थाहा थियो ।
यसकारण, केन्द्रीय सरकारसँग हुनसक्ने अनावश्यक झमेलालाई पन्छाउन कामरेड बिजुक्छेँले आफूलाई आफ्नो वडामा हुने सफाइ अभियान र विकासका गतिविधिमा होम्नुभयो । बाटोघाटो, ढल र सिँचाइ नहरलगायत संरचनाको निर्माण र मर्मतसम्भार, बालबालिका र प्रौढहरूको शिक्षा† स्वास्थ्य चौकी स्थापना र टोलछिमेकको सरसफाइजस्ता कार्यमा लाग्नुभयो । कामरेड बिजुक्छेँ र युवा लीगका उहाँका साथीहरूले यस्ता कार्यक्रममा स्थानीय जनताको बलियो समर्थन र सहभागिता हासिल गर्न खोजे । यो लक्ष्य प्राप्त गर्नका लागि कामरेड बिजुक्छेँ र युवा लीगका सदस्यहरूले प्रायजसो रातको समयमा स्थानीयहरूसँग बरोबर बैठक पनि बस्न थाले । स्थानीय जनताले पनि यस्ता कार्यक्रममा सहभागी हुन रुचि देखाए । उनीहरू आफ्नो समाजमा हुने विकासका गतिविधिबारे छलफल गर्न भेलामा आए ।
कामरेड बिजुक्छेँ र उहाँका दृढ समर्थकहरूले नियमित बैठक र भेला गरे† विकासका कार्यहरूमा मिलेर लागिपरे । यी गतिविधि खासगरी दुई तरिकाले महत्वपूर्ण रहे । पहिलो, यो जनसमूहबिच अझ सहज र प्रभावकारी ढङ्गले कम्युनिस्ट विचार प्रचार गर्ने अवसर थियो । राजनीतिक मुद्दा र विचारधारा (फर्गुसन, १९९४) बारे अब जनतासँग संवाद गर्न सकिने भयो । टोलको सरसफाइ, ढलको मर्मतसम्भारजस्ता कार्यमा जनता एक ठाउँमा भेला हुँदा त्यसबारे चर्चा गर्न सकिने भयो । दोस्रो, प्रशासनबाट हुने खतरा अब घटेर न्यून भयो । स्थानीय प्रशासनले यस्ता बैठक र क्रियाकलापमा हस्तक्षेप गर्न सक्दैनथ्यो । किनभने, त्यसलाई ‘विकासमा जनताको सहभागिता’ मान्नैपथ्र्यो । कम्युनिस्ट पार्टीका सदस्यहरूको यस्तो नीतिले भक्तपुरमा एउटा नयाँ खालको सार्वजनिक माहोलको विकास गरेको देखिन्छ । यो माहोल वा मञ्चमा जनताले जीवनका विविध पक्षसँग जोडिएका मुद्दाबारे विश्लेषण, छलफल र बहस गर्न सके ।
यी मुद्दाहरूमध्ये सरसफाइलाई सबैभन्दा महत्वपूर्ण मानियो । कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले भक्तपुरलाई सफा बनाउनुपर्छ र यसलाई भक्तपुरेहरू आफैले सफा गर्नुपर्छ भन्ने विचारको विकास गरे र यसलाई लोकप्रिय बनाए । त्यो बेलाको राजनीतिक परिदृश्यमा यो विचार एकदम सान्दर्भिक थियो । कम्युनिस्ट पार्टी कार्यकर्ताका लागि यो विचार निकै ठुलो राजनीतिक महत्वको विषय बन्यो । एकातिर, आफ्नो टोलछिमेकको सफाइमा जनताको स्वेच्छिक सहभागिताले जनताका आवश्यकताप्रति उदासीन रहने त्यसबेलाका सबैथरी सरकारलाई एउटा सन्देश दिन सक्थ्यो । अर्कोतर्फ, भक्तपुरको बेग्लै पहिचान बनाउनका निम्ति यो जनतालाई सङ्गठित गर्ने शक्तिशाली विधि थियो । कामरेड बिजुक्छेँ वि.सं. २०२० र ३० को दशकमा भूमिसुधार आन्दोलनपछि गरिब किसानहरूको जीवनस्तरमा आएको परिवर्तनका कारण भक्तपुरको यो नयाँ पहिचान निर्माण गर्न सम्भव भएको तर्क गर्नुहुन्छ ।

भूमिसुधार आन्दोलन र जनताको जीवनस्तरमा परिवर्तन
भूमिसुधार आन्दोलनलाई भक्तपुरका जनताको सामाजिक सम्बन्धको समग्र व्यवस्था नै बदल्ने सबैभन्दा अहम् आर्थिक रूपान्तरणको वाहक मान्नुपर्छ (हाछेथु, २००४) । २०२१ सालमा पञ्चायत सरकारले लागु गरेको भूमिसुधार ऐनले देशको भूमि वितरणको परम्परागत ढाँचामा थोरै मात्र छाप छोड्यो । यो ऐनले वास्तविक किसानलाई मोहियानी हक र खेतीयोग्य जमिन दिलाउने लक्ष्य लिएको थियो । यसरी वास्तविक मोहीलाई सबल बनाउने भनिए तापनि यसले आफ्नो लक्ष्य हासिल गर्न सकेन (मिश्र, १९८७) । तर, भक्तपुरका स्थानीय जनताको जीवनस्तरमा यस ऐनको प्रभाव एकदम सकारात्मक रह्यो (हाछेथु, २००४) । हाम्रो तर्क के भने भक्तपुरका कम्युनिस्ट कार्यकर्ताहरूले थालेको राजनीतिक प्रक्रियाले यस अर्थमा निकै निर्णायक भूमिका खेलेको छ ।
अन्य कम्युनिस्ट घटकहरूले भूमिसुधार ऐनलाई ‘शाही भूमिसुधार’ भन्दै ‘निरङ्कुश सत्तालाई बलियो बनाउने’ छलछाम गर्न ल्याइएको भनी आलोचना गरे । तिनीहरूभन्दा फरक भक्तपुरमा कामरेड रोहित र उहाँको समूहले ऐनलाई स्वागत ग¥यो । यो समूहले सीमान्तकृत किसानको पक्षमा सो अवसरलाई उपयोग गर्ने निधो ग¥यो । उनीहरूले भूमिसुधार आन्दोलनमा भाग लिए । उनीहरूले मोहीले पाउनुपर्ने मोहियानी हकको लागि औपचारिक दर्ता प्रक्रियामा जान स्थानीय किसानलाई सम्झाइबुझाइ गरे । यी तिनै किसान थिए, जो मोहियानी हकको अभावमा परम्परागत रूपमा शोषणको मारमा पिल्सिँदै आएका थिए ।
सफाइ अभियान र स्थानीय विकासका गतिविधिमा स्थानीय जनताको बढ्दो सहभागिताले यसअघि नै बलियो सार्वजनिक माहोल÷दायराको निर्माण र विकास गरिसकेको थियो । यसलाई अब सामाजिक र आर्थिक रूपान्तरणको प्रक्रियामा प्रभावकारी ढङ्गले उपयोग गर्न सकिन्थ्यो । यही परिवेशमा भूमिसुधारको घोषणा भयो । यसले भक्तपुरे जनतालाई आफ्नो जीवनस्तर उकास्ने अवसर दियो । कम्युनिस्ट पार्टीका सदस्यहरूको नेतृत्वकै कारण यो अवसरलाई यथार्थमा परिणत गरियो ।
(खेतीकिसानी गर्ने निम्न जातका नेवारहरू धेरै त भूमिहीन थिए र उच्च जातका स्थानीय जमिनदारले प्रायः तिनको शोषण गर्थे । कम्युनिस्ट कार्यकर्ताहरूको अगुवाइमा यी किसानले मोहीयानी हकका साथै जमिन पाए ।
(टिपोट १ : भक्तपुरमा ६० प्रतिशतभन्दा बढी जनता ज्यापू छन् (हाछेथु, २००४ः ३८) । भक्तपुरेहरू ‘ज्यापू’ शब्द उति रुचाउँदैनन् । यसको सट्टा उनीहरू ‘किसान’ शब्द प्रयोग गर्छन् । भक्तपुरको हकमा ‘कम्युनिस्ट सिद्धान्त ज्यापू जातीयता छोप्ने विचारधारा बन्न सक्छ’ भन्ने गेलनर (१९९७) को मत छ ।)
कतिपय पाको उमेरका ज्यापूहरू अझै पनि ०२१ सालमा भूमिसुधार ऐन आएपछि चलेको किसान आन्दोलनबारे फूर्तिफार्तीका साथ वर्णन गर्छन् । तिनका कथा उथलपुथलकारी छन् । किसानले कसरी जमिनदारहरूबाट आफ्नो हक लाग्ने बाली खोसे, कसरी किसानले जमिनदारहरूलाई तिनले लिएको कूतबापत भर्पाई रसिद दिन बाध्य पारे, जग्गा दर्ता गर्न नापी कर्मचारी आउँदा किसानले जमिनदारहरूलाई कसरी तिनका मोहीहरूको नाम दर्ता गर्न बाध्य पारे – पाका किसानहरू यस्ता अनेक किस्सा सुनाउँछन् । यी कथाबाट भक्तपुरको सामाजिक र आर्थिक परिदृश्यमा सामाजिक आन्दोलनले ठुलो छाप छोडेको सङ्केत मिल्छ । कामरेड नारायणमान बिजुक्छेँको शब्द सापटी लिएर भन्ने हो भने भक्तपुरको इतिहासमा किसान आन्दोलन विचित्रै थियो किनभने यसले अधिकारविहीन ज्यापू समुदायको आर्थिक स्तरमा निकै ठुलो सकारात्मक बदलाव ल्यायो (निजी वार्ता, २००४) ।
हाछेथु (२००४) तर्क गर्छन्, “२०२१ सालको भूमिसुधार ऐन भक्तपुरवासी र खासगरी ज्यापूहरूको आर्थिक अवस्थामा उल्लेख्य सुधार ल्याउने एउटा मोडबिन्दु थियो ।” उनी थप लेख्छन्, “९५ प्रतिशतजति किसान मोही थिए । त्यसैले भक्तपुरका बासिन्दाहरूको अवस्था सुधारमा भूमिसुधार ऐनको प्रभाव पर्नु स्वाभाविक थियो (हाछेथु, २००४) ।” ‘भक्तपुर’ जेँला टोलका ६० वर्षीय किसान कृष्णबहादुरले भूमिसुधार आन्दोलनका आफ्ना भोगाइ यसरी सम्झिए :
इतिहास सुनाउँछन् कृष्णबहादुर !
०२१ सालको भूमिसुधारपछिका दिनहरू म आज पनि झल्झली सम्झिन्छु । स्थानीय किसानहरूले आफ्ना घरमा छानो हाल्न थाले । तिनले फेरिफेरि नयाँ लुगा लगाउन थाले । धेरैले जुत्ता लगाउन थाले । स्कूलमा विद्यार्थी भर्ना बढ्यो । टोलछिमेकमा नयाँ पसलहरू खुले । त्यस्तै, किसानले उन्नत बीउबिजन, रासायनिक मल किन्न थाले । बढेको बालीनाली स्याहार्न थाले । यसले गर्दा साधारण किसानहरूको किन्ने क्षमता बढ्दै गयो । मेरो विचारमा भक्तपुरका कम्युनिस्टहरूले त्यो बेला किसान आन्दोलन नगरेको भए हामी त्यो कष्टकर जीवनबाट बाहिर निस्किन सक्ने थिएनौँ । बरु, हामी अझै पहिलेझैँ दास (भूदास) कै अवस्थामा हुने थियौँ । त्यो बेला म आफै पनि किसान आन्दोलनमा होमिएको थिएँ । २०२५ सालसम्म आइपुग्दा मेरो टोलका किसानहरूले रातमा बैठक बस्न थालिसकेका थिए । यसले गर्दा पछि लगालग (जमिनदारबाट कुत बुझाएको रसिद लिने) भर्पाइ आन्दोलन, मोहियानी हकको आन्दोलन, कुत घटाउने आन्दोलन, साँढे धपाउने आन्दोलनजस्ता अनेक आन्दोलन भए । यिनै आन्दोलनको बलमा हामीले ०२१ सालको भूमिसुधारले दिएको मोहियानी हक पाउन सकेका थियौँ । त्यसअघि हामी केवल हली (बँधुवा कृषि मजदुर) थियौँ । पछि हामीले उत्पादनको ठुलो हिस्सा आफै लिन सक्यौँ । उदाहरणको लागि, अघिअघि हामीले उब्जेको बालीमध्ये दुईतिहाइ धान र आधा गहुँ जग्गा धनीलाई बुझाउँथ्यौँ । किसानहरूले जमिनदारकहाँ ‘बिनाज्याला अनिवार्य’ श्रम गर्नुपथ्र्यो । पछि हामीले उनीहरूलाई प्रतिरोपनी २३ पाथी बाली (उत्पादन भएको दुई बालीमध्ये झन्डै आठ भागको एक भाग) बुझाउन थाल्यौँ । जमिनदारको जग्गा जोत्न नचाहे आफूले जोतभोग गर्दै आएको आधा जग्गामाथि हकदाबी गर्न पायौँ । आज तपाईँले मेरो जीवनस्तर जस्तो देख्नुभएको छ, भूमिसुधार नहुँदो हो त यो कहिल्यै सम्भव हुने थिएन ।
भक्तपुरमा भूमिसुधार आन्दोलनको सफलता स्थानीय जनताको सामाजिक र आर्थिक जीवनमा प्रभावकारी सिद्ध भयो । साथै, यो सफलताले अन्य स्थान (डनहाम, १९९९) मा जस्तै जनताबिच आफ्नो विचारधारा फैलाउन र सुदृढ बनाउन चाहेका कम्युनिस्ट कार्यकर्ताहरूको राजनीतिक इच्छाशक्ति पनि बढाइदियो । प्रायःयही दशक लामो आन्दोलनमार्फत भक्तपुरका कम्युनिस्ट कार्यकर्ताहरू स्थानीय जनतासँग घनिष्ट भए । आन्दोलनमा कम्युनिस्ट कार्यकर्ताहरूको सक्रिय सहभागितालाई भक्तपुरभित्र बहुमतमा रहेका किसान समुदायले सकारात्मक माने । यसैकारण, कम्युनिस्ट कार्यकर्ताहरू स्थानीय राजनीतिमा आफ्नो स्थान जमाउन सफल भए । उनीहरूले आफूलाई भक्तपुरको सामाजिक रूपान्तरणका गुरुका रूपमा स्थापित गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *