क्युवा : अमेरिकी विमान खसालिनुको रहस्य
- जेष्ठ १६, २०८३
(हालसालै अमेरिकाको न्याय मन्त्रालयले बालयौन दुराचारी, मानव तस्कर, वित्तपति र साम्राज्यवादी राजनीतिको भूमिगत खेलाडी एप्सटिनसँग सम्बन्धित ३० लाख दस्ताबेज सार्वजनिक ग¥यो ।
यी दस्ताबेजमा संसारका विभिन्न चर्चित व्यक्तिहरूको नाम परेको छ । यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, पूर्वराष्ट्रपति बिल क्लिन्टन, धनाढ्य इलन मस्क, बिल क्लिन्टन, भारतीय प्रम नरेन्द्र मोदी, अम्बानी दाजुभाइ, तिब्बती धर्मगुरु दलाई लामा, आध्यात्मिक गुरु दीपक चोपडा, विज्ञान लेखक रिचर्ड डकिन्स, लरेन्स क्राउस, फिल्मकार वुडी एलन आदिसँगै साम्राज्यवादविरोधी भाषाविद् नोम चोम्स्कीको पनि नाम परेको छ ।
एप्सटिनमाथि बाल यौन दुराचारको मुद्दा लागेपछि चोम्स्कीले उनलाई मिडियाको आलोचनाबाट जोगिने उपाय सुझाएर पत्र लेखेका थिए । नोम चोम्स्कीकी पत्नी भालेरियाले ज्योफ्री एप्सटिनसँगको आफूहरूको सम्बन्धलाई लिएर सार्वजनिक माफी मागेकी छिन् । उनले आफूहरूको ‘लापरबाही’ का कारण ‘गम्भीर गल्ती’ भएको स्वीकार गरेकी छिन् । उनले आफूहरू एप्सटिनले बोलाएका शैक्षिक कार्यक्रममा गएको तर उनको (बालिका बलात्कार गर्ने र तिनको मासु खाने) कुख्यात ‘टापु’ मा कहिल्यै नगएको बताएकी छिन् । उनले एप्सटिनले २ लाख ९० हजार डलर प्राप्त गर्न सहयोग गरेको पनि उल्लेख गरेकी छिन् । यी सबै सहयोग चोम्स्कीलाई आफ्नो प्रभावमा पार्न गरिएको भालेरियाको जिरह छ ।
हामी यहाँ नोम चोम्स्कीलाई नजिकबाट चिन्ने प्रबुद्ध पत्रकार क्रिस हेजेजको टिप्पणी प्रकाशित गर्दै छौँ । उनी १५ वर्षसम्म ‘द न्युयोर्क टाइम्स’ का विदेश संवाददाता थिए । उनका विभिन्न चर्चित पुस्तकका लेखक पनि हुन् । उनले अमेरिकाका विभिन्न विश्वविद्यालयमा अध्यापन गरिसकेका छन् ।)
राजनीतिक नेता, कर्पोरेट धनाढ्य, प्रतिष्ठित विश्वविद्यालयका कुलपति, अर्बपति समाजसेवी, सेलिब्रिटी, राजपरिवार वा कुलीनहरूबाट म धेरै अपेक्षा गर्दिनँ । तिनीहरू आत्मपूजा र नैतिक पतनमा डुबेका आत्मकेन्द्रित र भोगविलासी फोकाभित्र बस्छन् । तर, म नोम चोम्स्कीजस्ता बौद्धिकहरूबाट धेरैथोक अपेक्षा गर्छु ।
सन् २०२३ जूनमा हृदयघात भएपछि नोम अहिले सिकिस्त छन् । ज्योफ्री एप्सटिनसँग आफूहरूको सम्बन्धबारे नोमकी पत्नी भालेरियाको बयान आएको छ । उनको भनाइ एप्सटिनका इमेल र दस्ताबेजहरूमा नाम आएका अन्य व्यक्तिकै जस्तो झारा टार्ने शैलीको छ । भालेरियाले आफू र नोम दुवैजना ‘अरूलाई पत्याइहाल्ने खालको’ हुनाले ‘गलत निर्णय’ मा पुगेको बताइन् । उनले लेखेअनुसार एप्सटिनको महलमा हुने विशिष्ट व्यक्तिहरू सम्मिलित भोजभतेर, उसको निजी विमान लोलिता एक्सप्रेसको उडान, बच्चीहरूको यौन शोषणबारे साहित्यिक चर्चा (नोमले चिन्नुपर्ने थियो), वित्तीय सहायता, एप्सटिनको कृषि फर्ममा भ्रमण र न्युयोर्कस्थित उसको अपार्टमेन्टको प्रयोग आदिबाट उनी र नोम जालमा फसेका थिए । एप्सटिन फाइलमा नाम परेका अरूले जस्तै भालेरिया र नोमले ‘एप्सटिन वा अरू कोहीकसैबाट कहिल्यै अनुचित व्यवहार भएको देखेनन्’ रे ।
नोम चोम्स्कीले एप्सटिनका लागि सिफारिस पत्र लेखेको र उसको अपराधका सन्दर्भमा उसलाई कसरी प्रेसको सामना गर्ने भनी सल्लाह दिएको विषयमा पनि भालेरियाले लेखेकी छिन् । एप्सटिनले ‘आफूलाई पीडित देखाउनका लागि ‘निषेधको संस्कृति’ विरुद्ध नोमले गरेको सार्वजनिक आलोचनाबाट फाइदा’ उठाएको हुनाले यी पत्र लेखिएको भालेरियाको तर्क छ । सन् २०१९ मा एप्सटिन दोस्रोपल्ट पक्राउ परेपछि आफू र नोमले ‘उसको पृष्ठभूमिबारे मसिनो गरी नजाँच्ने लापरबाही’ गरेको उनले बताइन् । पत्रको पुछारमा भालेरियाले ‘पीडितहरूप्रति असीम ऐक्यबद्धता’ व्यक्त गरेकी छिन् । उनको पत्रमा एप्सटिन फाइलमा नाम परेका सबैले अपनाएकै सूत्र दोहो¥याइएको छ । म नोमलाई चिन्छु र लामो समयदेखि मैले उनको प्रशंसा गर्दै आएको छु । उनी निश्चय नै हाम्रा महानतम् र सबैभन्दा सिद्धान्तनिष्ठ बुद्धिजीवी हुन् । म पाठकहरूलाई आश्वस्त पार्न सक्छु – उनकी पत्नीले भने जस्तो नोम निस्क्रिय वा सजिलै धोका खाने सोझो व्यक्ति होइनन् ।
एप्सटिनले बाल दुराचार गर्ने गरेको नोमलाई थाहा थियो । (एप्सटिन फाइलमा परेका) सबैलाई थाहा थियो । एप्सटिनको घेरामा रहेका अरूले जस्तै नोमले पनि त्यसलाई बेवास्ता गरे । एप्सटिन र भालेरियाबिच भएको इमेल पत्राचारबाट खासगरी उनले एप्सटिनको घेरामा रहँदा पाइने विशेष सेवासुविधाबाट लाभ लिएको देखिन्छ । तर, यसो भन्दैमा मौन समर्थन गर्ने नोमको दोष कम हुँदैन । शासक वर्गको शिकारी स्वभाव र पुँजीपतिहरूको क्रूरताबारे नोमलाई अरूलाई भन्दा राम्ररी थाहा छ । तिनीहरूको निर्मम संसारमा खासगरी महिला र किशोरीजस्ता कमजोरहरूलाई उपयोग र शोषण गर्नका लागि वस्तुमा परिणत गरिन्छ । नोमलाई थाहा थियो ।
नोमलाई एप्सटिनले झुक्याएन बरु लोभ्यायो । एप्सटिनसँगको उनको सम्बन्ध भयानक छ । धेरैले यसलाई अक्षम्य दाग मानेका छन् । यसले उनको बौद्धिक विरासतमा नमेटिने कलङ्क लागेको छ । यसबाट पाठ सिक्नुपर्छ । त्यो पाठ के भने शासकवर्गले सित्तैमा केही पनि दिन्न । उसले बदलामा केही खोज्छ । यी नरभक्षीहरूको जति नजिक गयो त्यति तपाईँ यिनको दास बन्नुहुन्छ । हाम्रो जिम्मेवारी तिनीहरूसँग हेलमेल बढाउनु होइन बरु तिनलाई नष्ट गर्नु हो ।
स्रोत : शिरपोस्ट
अनुवाद : सम्यक
Leave a Reply