भर्खरै :

तिलागापाको डोङ्ग्रीमा कार्यकर्ता प्रशिक्षण

तिलागापाको डोङ्ग्रीमा कार्यकर्ता प्रशिक्षण

जुम्ला, २ फागुन । नेपाल मजदुर किसान पार्टी तिला गाउँपालिका समितिको आयोजनामा डोङ्ग्री गाउँमा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले नेमकिपाले स्थापनाकालदेखि समाजवाद र साम्यवादको दीर्घकालीन लक्ष्य राखेर राजनीतिलाई देश र जनताको निःस्वार्थ सेवा गर्ने नीतिको रूपमा लिएको तर पटक–पटक सरकारमा गएका शासक दलहरूले नेता, गुट र कार्यकर्ताको स्वार्थमा केन्द्रित राजनीति गर्दा देशमा आजको जटिल अवस्था निम्तिएको हो भन्नुभयो ।
प्रधानमन्त्री र मन्त्री बनेकाहरूले कमिसन खाएर सम्पत्ति कमाउनेमा मात्र ध्यान केन्द्रित गर्दा देशमा भ्रष्टाचार, अनियमितता, नातावाद कृपावादजस्ता अनेक विकृति विसङ्गति मौलाएको चर्चा गर्दै उहाँले भ्रष्टाचारीहरूको सम्पत्ति
राष्ट्रियकरण गर्ने, ठुलठुला भ्रष्टाचारीहरूलाई ज्यान सजायसमेत गर्ने र व्यक्तिगत सम्पत्तिको सीमाङ्कन गर्ने बन्दोबस्त नगरेसम्म भ्रष्टाचार अन्त्य नहुने र वास्तविक परिवर्तन नआउने प्रस्ट पार्नुभयो ।
उहाँले भ्रष्टाचार र अनियमितताविरूद्धको सङ्घर्षलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले देशको नदीनाला सबै भारत र विदेशी कम्पनीहरूको हातमा सुम्पेका र कमिसन कुम्ल्याएका शासक दलहरूबाट कुनै जनताले कुनै आशा राख्न नसकिने स्पष्ट पार्नुभयो ।
उहाँले शासक दलहरूको झूटा आश्वासनमा नपरी नेमकिपाको मादल चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो ।
नेमकिपा तिला गाउँ समितिका अध्यक्ष शेरबहादुर राउतको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा जुम्ला जिल्ला समितिका सदस्य एवं समानुपातिक उम्मेदवार गौरीकला भण्डारी, नेपाल क्रानितकारी किसान सङ्घका केन्द्रीय सदस्य कालीबहादुर बुढा, स्थानीय सूर्यबहादुर रावत र रवीन्द्र रावतले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *