भर्खरै :

अमेरिकी नाकाबन्दीबिच क्युवामा तेल पठाउँदै रुस

  • फाल्गुन २, २०८२
  • एड न्युमेन
  • विचार
अमेरिकी नाकाबन्दीबिच क्युवामा तेल पठाउँदै रुस

रुसले क्युवालाई तेल र पेट्रोलियम पदार्थ बोकेका जहाज पठाउने भएको छ । गत बिहीबार यससम्बन्धी वार्ता टुङ्गो लागेको क्रेमलिनले जनाएको छ । आधा शताब्दीभन्दा बढी समयदेखि संरा अमेरिकाले क्युवामाथि नाकाबन्दी लगाउँदै आएको छ । उक्त नाकाबन्दी झन्झन् कसिलो बनिरहेको पृष्ठभूमिमै रुसले यो सहयोग गर्ने भएको हो ।
धेरै कुरा नखुलाए पनि रुसी राष्ट्रपतिका प्रवक्ता दिमित्री पेस्कोभले क्युवाले ऊर्जाका लागि विभिन्न विकल्पबारे सोचिरहेको बताए ।
उनले भने, “हामी क्युवाली साथीहरूसँग लगातार सम्पर्कमा थियौँ र उनीहरूलाई कसरी सहयोग गर्न सकिएला भनेर छलफल गरिरहेका थियौँ ।”
उनले हवानासँगको ऊर्जा सहकार्य ऐतिहासिक सम्बन्धकै सिलसिला भएकोमा जोड दिए । उनले क्युवाप्रति रुसको सम्बन्ध ऐक्यबद्धतापूर्ण रहेको जनाए ।
क्युवास्थित रुसी दूतावासले तेल र प्रशोधित सामग्री बोकेर आइरहेको जहाजबारे यसअघि नै घोषणा गरिसकेको थियो । यी सामग्रीलाई मानवीय सहायता भनिएको छ । क्युवाले भोगिरहेको चरम ऊर्जा सङ्कटमा राहत पुग्ने गरी यी सामग्री पठाइएको हो ।
क्युवाको स्थिति सङ्कटपूर्ण छ । अमेरिकी नाकाबन्दीका कारण क्युवा अन्तर्राष्ट्रिय इन्धन बजारबाट अलग्गिएको स्थितिमा छ । यसले गर्दा लामो समय लोडसेडिङमा बिताउनुपर्दा लाखौँ नागरिकहरूको दैनिक जीवन कष्टप्रद छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो धम्कीले स्थिति झन् नाजुक बनेको छ । उनले क्युवालाई हाइड्रोकार्बन पठाउने देशमाथि थप भन्सार कर लगाउने धम्की दिएका छन् । यो क्युवाविरुद्ध अमेरिकाको पछिल्लो हत्कण्डा हो ।
क्युवालाई सहायता पठाउँदैमा रुस अमेरिकाविरुद्ध आमनेसामनेको स्थितिमा नजाने पेस्कोभले स्पष्ट पारे ।
अमेरिकी प्रतिबन्धहरूका कारण रुस–अमेरिका सम्बन्ध झन्डै ठप्पको स्थितिमा रहेको उनले बताए । उनले भने, “हामी कुनै प्रकारको चर्काचर्की चाहँदैनौँ । बरु अहिले अमेरिकासँग हाम्रो कुनै व्यापार नभइरहेको स्थिति हो ।” यति हुँदाहुँदै पनि मस्को मतभेदहरू सल्टाउन ‘रचनात्मक संवाद’ प्रति कटिबद्ध रहेकोमा पेस्कोभले जोड दिए ।
क्युवाविरुद्ध अमेरिकी ‘ऊर्जाबन्दी’ को विषयमा बरु रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जखारोभा बढी जोडदार देखिइन् ।
जखारोभाको भनाइमा अमेरिकी नीति क्युवाको घाँटी थिच्न र क्युवाली जनतालाई दण्डित गर्न लालायित छ । अमेरिकाको यो रणनीतिले अन्तर्राष्ट्रिय कानुन र सार्वभौमसत्ताको आधारभूत सिद्धान्त मिचेको जखारोभाले तर्क गरिन् ।
मस्कोको यो घोषणा क्युवाप्रति अर्को अन्तर्राष्ट्रिय समर्थनको रूपमा आएको छ । अमेरिकी आक्रामकता बढेसँगै हालैका महिनाहरूमा चीन र भेनेजुयलाजस्ता देशले क्युवाप्रति यसरी नै साथ–समर्थन प्रकट गरेका छन् ।
रुसको ऊर्जा सहयोग हवानाका लागि तत्कालीन राहत मात्र होइन । यो सहयोग क्युवाको स्वतन्त्र विदेश नीति र रणनीतिक साझेदारीको पुनर्पुष्टि पनि हो ।
रुसको सहयोगप्रति संरा अमेरिकाले कस्तो प्रतिक्रिया दिने हो भन्ने अनुत्तरित छ । उसले क्युवाली ऊर्जा क्षेत्रमा सहयोग गर्ने देशलाई प्रतिबन्ध लगाउने घोषणा गरिसकेको छ । वासिङ्टन र मस्कोबिच कुनै व्यापारिक सम्बन्ध नहुनाले रुसलाई प्रत्यक्ष दबाब पर्ने सम्भावना कम छ । यसले गर्दा रुसी जहाज सजिलै क्युवा जाने माहोल बनेको छ ।
क्युवाले चरम सङ्कटको सामना गरिरहेको स्थितिमा क्रेमलिनले रुसी ऐक्यबद्धता प्रकट गर्दै छ । यसले क्युवाप्रति अमेरिकाको घाँटी थिच्ने नीतिको प्रभाव मत्थर हुने अपेक्षा छ ।
(स्रोत : टेलिसुर)

Leave a Reply

Your email address will not be published. Required fields are marked *