भर्खरै :

“भक्तपुरमा शिक्षा विकासको नमुना प्रयोग भइरहेको छ”

“भक्तपुरमा शिक्षा विकासको नमुना प्रयोग भइरहेको छ”

भक्तपुर, १८ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुरलाई विकासको नमुनाको रूपमा प्रयोग गरिरहेको बताउनुभएको छ । सोमबार टौमढीमा भएको एक जनसभामा उहाँले उक्त विचार व्यक्त गर्नुभएको हो ।
पार्टीले विगतमा महिला र किसानहरूलाई रात्री कक्षा सञ्चालन गरी राजनीतिक चेतना जगाउन गरेको काम आवश्यक भए अहिले पनि त्यसलाई निरन्तरता दिन सुझाव दिँदै उहाँले स्थानीय विकास निर्माण र सरसफाइ स्थानीय जनताकै भरमा गरे त्यो दिगो हुने बताउनुभयो ।
चोरी चकारी गरी शैक्षिक योग्यता बढाउने काम समाजकै लागि घातक हुने विचार व्यक्त गर्दै अध्यक्ष बिजुक्छेँले शिक्षकहरूले विद्यार्थीलाई आफ्नै सन्तान ठानेर पढाउनुपर्ने र शिक्षक अनुशासित भए विद्यार्थी पनि अनुशासित हुने भाव व्यक्त गर्नुभयो ।
उहाँले विगतमा गरेको आलोचनाको परिणाम अहिले भक्तपुरको शिक्षा गौरव गर्नलायक भएको चर्चा गर्दै भक्तपुरलाई सरकारले विगतमा नेपाली भाषाको एक जना शिक्षकसम्म नदिएको पनि स्मरण गर्नुभयो ।
विदेशको डलरमा बिक्ने बुद्धिजीवी र नेताहरूलाई कुकुरको संज्ञा दिँदै उहाँले आम जनता देशभक्त र इमानदार भए देश कसैले बिगार्न नसक्ने ठोकुवा गर्नुभयो ।
वैदेशिक रोजगारीको नाममा नेपाली युवालाई विदेश पठाएर कमिशन खाने शासक दलहरूको आलोचना गर्दै उहाँले त्यसरी कमिसन खानेहरू विदेशका दलाल हुन् भन्नुभयो ।
नेपालका प्राकृतिक स्रोत (जलविद्युत्, चुन ढुङ्गा) सस्तोमा भारतलाई दिएर त्यसको प्रशोधित बिजुली, औषधि आदि महँगोमा किन्ने नेपाली शासकहरूको बुद्धि कस्तो भन्दै उहाँले रासायनिक मल कारखाना खोल्न आवश्यक कागजपत्रसहित सरकारलाई दिँदा पनि देशमा कारखाना नखोलेको पनि बताउनुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका लक्ष्मीभक्त लासिवाको सभापतित्वमा भएको उक्त कार्यक्रममा पार्टीका सचिव प्रेम सुवाल, पार्टी केन्द्रीय सदस्यद्वय सुरेन्द्रराज गोसाई र सिर्जना सैंजूका साथै विद्यार्थीहरू सुजी ह्यंगो र सगुन धन्छाले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *