भर्खरै :

इरान युद्ध कसरी टुङ्गिएला ?

इरान युद्ध कसरी टुङ्गिएला ?

इरानविरुद्ध अमेरिका र इजरायलले युद्ध थालेका छन् । उनीहरू इरानलाई अस्थिर बनाउन चाहन्छन् । यो कुरा उनीहरूले लुकाएका पनि छैनन् । इरानलाई अस्थिर बनाउने र सरकारलाई सत्ताच्यूत गर्ने लक्ष्य उनीहरूले औपचारिकरूपमै घोषणा गरेका छन् । लडाइँ भर्खर सुरु भएको छ । तर, इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको हत्या भइसकेको छ । साथमा इरानका कैयन उच्च सैन्य अधिकारीहरू पनि मारिएका छन् । यसलाई अमेरिका र इजरायलको प्रतीकात्मक विजयको रूपमा अथ्र्याउन पनि सकिएला । तर, यो वास्तविक विजय भने होइन । इरानमा पहिल्यै कसलाई उत्तराधिकारी बनाउने भनी तय भइसकेको थियो । यो युद्धको सम्भावित अन्त्य तीन दृश्यबाट हुन सक्छ । तर, ती तीनवटै दृश्यमा इरानले अमेरिका र इजरायललाई परास्त नगर्ने देखिन्छ ।
इजरायल र अमेरिकाले वास्तवमै चाहे भने आणविक मिसाइल हानेर तिनले इरानलाई धुलोपिठो पनि पार्न सक्छन् । तर, अहिले तिनीहरूको सोच त्यो छैन । इरानको प्रतिकूल सरकारलाई ढलाउनु र त्यसको ठाउँमा आफ्नो कठपुतली सरकार स्थापित गर्नु नै तिनको चाहना छ । यसरी इरानलाई पहिलेजस्तै मध्यपूर्वको आफ्नो सबैभन्दा ठुलो साझेदार बनाउने उनीहरूले सोचेका छन् । बढी भए इरानले ध्वस्त हुनुभन्दा अगाडि इजरायल, खाडीका अधिराज्यहरू र/वा अमेरिकी सैन्य अखडाका सैनिकहरूलाई धेरैभन्दा क्षति पु¥याउन सक्छ । अब सम्भावित तीन दृश्यबारे चर्चा गरौँ ।

१. इस्लामी गणतन्त्र विध्वंसपछि पनि बाँचिरहनेछ
यो दृश्यमा इरानले इजरायल, खाडीका अधिराज्यहरू र/वा अमेरिकाका क्षेत्रीय सेनालाई सानोतिनो चोट पु¥याउन सक्छ । तर, उसले तिनीहरूलाई अस्वीकार्य हुने गरी ठुलो चोट नपु¥याउन सक्छ । किनभने, ठुलो चोट लागेका खण्डमा इजरायल र अमेरिकाले उक्साहटमा आएर इरानलाई धुलोपिठो पार्न सक्छन् । यसरी इरानले सानोतिनो मात्र चोट पारेछ भने दुवै पक्षले विजयको श्रेय लिन सक्नेछन् । (यस्तै दृश्य गएको गर्मीयाममा भएको द्वन्द्वमा देखिएको थियो ।) यसरी ज्यादै कमजोर भएको इरानले त्यसपछिका दिनमा सैन्य, आणविक कार्यक्रम, ऊर्जा उद्योग र/वा खनिजको क्षेत्रमा अमेरिकासँग सम्झौता गरेर आफूलाई अमेरिकाको तखतमा राख्न सक्छ । यो बाटो लिएन भने ऊ मध्यपूर्वका अन्य देशसँग सम्बन्ध तोडेर एक्लै बस्न सक्छ ।

२. इरानले भेनेजुयलाको बाटो लिनेछ
गएको जनवरी महिनाको आधाआधीतिर ‘अमेरिकाले इरानमा भेनेजुयला मोडल अपनाउन चाहन्छ’ भन्ने खबर बाहिर आयो । यसलाई ‘सत्तासुधार’ भनिएको छ । यसमा अमेरिकाप्रति नरम सदस्यहरूलाई सत्तामा राख्ने र तिनले अमेरिकालाई अप्रत्यक्ष रूपमा देशको स्रोतसाधनमा पहुँच दिने काम हुन्छ । (साथमा, चीनलाई ती स्रोतसाधनबाट वञ्चित गरिन्छ ।) यसको लागि इरानमा ‘इस्लामी क्रान्तिकारी गार्ड कोर’ (आईआरजिसी) का सदस्यबाट सत्तापलट गराउन सकिन्छ । यो नै सबैभन्दा यथार्थपरक विकल्प हुन सक्छ । यसरी इरान मध्यपूर्वमा अमेरिकाको उच्च साझेदार बन्ने बाटो खुल्नेछ । त्यो स्थितिमा उसले टर्कीसँग हात मिलाउन सक्छ र रुससँग मिलेर दक्षिण ककेसस र मध्य एसिया क्षेत्रमा रुसलाई चुनौती दिन सक्छ ।

३. ‘बाल्कनकरण’ वा विखण्डन सुरु हुनेछ
स्थिति सबैभन्दा बिग्रेको अवस्थामा इरानको विखण्डन सुरु हुन सक्छ । यसको लागि देशका दुर्गम इलाकामा पृथकतावादी आन्दोलन चलाएर सहर वा नगर कब्जा गर्ने हुन सक्छ । ती पृथकतावादीहरूलाई विदेशीहरूले हतियार र तालिम दिने हुन सक्छ । इरानलाई टुक्र्याउने अर्को तरिका पनि हुन सक्छ । जस्तो कुनै छिमेकीले ठाडो हस्तक्षेप गर्न सक्छ । खासगरी टर्कीको आडमा अजरबैजानले त्यस्तो हस्तक्षेप गर्न सक्छ ।
पाकिस्तान पनि यो काममा संलग्न हुन सक्छ । आतङ्ककारी भनिएका बलोच पृथकतावादीहरूसँग लड्ने निहुँमा पाकिस्तान इरानमा पस्न सक्छ । धेरै अघि तय भइसकेको पाकिस्तानी प्रधानमन्त्रीको रुस भ्रमण रद्द हुनुलाई यो सन्दर्भमा राखेर पनि हेर्न सकिन्छ ।
यी तीन सम्भावनामध्ये जे पनि हुन सक्छ । यो घटनाक्रममा निर्भर हुने विषय हो । तर, स्थिति जता मोडिए पनि इरानले अमेरिका र इजरायललाई परास्त गर्न भने सक्ने छैन । इरानी ब्यालेस्टिक मिसाइलहरूले इजरायललाई ठुलै क्षति पु¥याउन सक्लान् । इरानी युद्धपोतले मध्यपूर्वमा अमेरिकाले राखेका जलबेडालाई समुद्रमा डुबाउन पनि सक्लान् । तर, त्यो स्थितिमा ती दुवै देश भड्किन सक्छन् । (उनीहरू भड्के भने तिनले इरानलाई धुलोपिठो पार्ने गरी आणविक अस्त्र पनि प्रयोग गर्न सक्छन् ।)
इरानको कोणबाट हेर्ने हो भने उसले अमेरिका र इजरायलले छिट्टै गर्न चाहेको कामलाई ढिलो पार्न सक्छ । यसरी तिनको मनसुबालाई ढिलो पार्दा इरान समयक्रममा लडाइँको क्षतिबाट बाहिर निस्किन सक्छ । यति नै बेला उसले ‘लक्ष्मणरेखा’ पनि नाघ्नुहुँदैन । त्यो स्थितिमा अमेरिका र इजरायलले उसलाई नष्ट गर्ने खतरा रहन्छ । यसरी अघि बढ्नका लागि धेरै ठुलो धैर्य चाहिन्छ । कतिपय जनतामा यस्तो धैर्य नहुन पनि सक्छ । तर, यो बाटोमा अघि बढे एउटा जोखिम भने हुन्छ । इरानको मिसाइल क्षमता प्रयोग नगरी निस्क्रिय हुन सक्छ । जुन आकारमा त्यसको प्रयोग हुनुपर्ने हो त्यो नहुन सक्छ । तर, यो बाटोबाट अघि बढे इरानले आधा नै सही विजयको दाबी भने गर्न सक्छ ।

स्रोत : ग्लोबल रिसर्च
अनुवाद : सम्यक

Leave a Reply

Your email address will not be published. Required fields are marked *