नयाँ सरकारले के भारतीय सेना फर्काउला ?
- फाल्गुन २५, २०८२
बीसौँ शताब्दीदेखि अमेरिकी शासक वर्ग विश्व शान्ति र स्थिरताका लागि खतराको रूपमा देखापरेको थियो । दोस्रो विश्वयुद्धयता त कस्ता मानिस अमेरिकी राष्ट्रपति बन्ने हुन् र विश्वका कुन देश ध्वस्त बनाइदिने हुने भन्ने त्रास हरदम विश्व जगतमा रह्यो । यस्तैमा २०१७ र २०२५ मा डोनाल्ड ट्रम्पले नेतृत्व गरेको गिरोह अमेरिकाको सत्तामा पुग्यो । त्यसो त धेरै र थोरै सबै अमेरिकी राष्ट्रपतिहरूले आफ्नो देश संरा अमेरिका सामेल भएका र नभएका युद्धहरू चर्काउन भूमिका खेले तर तिनीहरूले लिने निर्णय अनुमानयोग्य हुन्थे । आज ट्रम्प यस्ता राष्ट्रपति देखिएका छन् जसले लिने निर्णयको कुनै सैद्धान्तिक र राजनीतिक आधार भेटिन्न । अमेरिकाभित्रै कतिपयले उनलाई सन्काहा राष्ट्रपति भन्ने गर्छन् त कतिपयले ‘कम्प्रोमाइज्ड’ राष्ट्रपति । अर्थात्, ट्रम्प र उनको गिरोहले अमेरिकी हतियार उद्योगका मालिक र इजरायली शासकहरूको अगाडि आत्मसमर्पण गरेको मानिन्छ । आफू इजरायलको सत्तामा रहिरहन बेन्जामिन नेतन्याहु र नरसंहारकारी गुट युद्धउन्मत्त भइरहेको र अमेरिकामा व्यभिचारसित जोडिएको इप्स्टिन फाइलमा ट्रम्प र उनका गिरोहका सदस्यहरूको संलग्नतालाई ढाकछोप गर्न पनि अनाहक युद्ध थालिएको विश्लेषण छ ।
पश्चिम एसियाली मुलुक इरानसित ट्रम्पका प्रतिनिधिहरूको अप्रत्यक्ष वार्ता चल्दाचल्दै शनिबार अचानक इजरायली सेनाले इरानको राजधानी तेहरानलगायत विभिन्न सहरमा सरकारी कार्यालय लक्षित व्यापक हवाई मिसाइल हमला ग¥यो । त्यसलाई रोक्न कोसिस गर्नु त कता हो कता ट्रम्पले इजरायली कदमलाई समर्थन गर्दै अमेरिकी सेना सामेल गराए । प्रतिकारमा इरानले पनि इजरायली र अमेरिकी सेनाका ठेगानाहरू लक्षित अनेक मिसाइलहरू प्रहार ग¥यो । तेहरानमा शनिबार भएको हमलामा इरानका सर्वोच्च नेता आयतोल्लाह अलि खामेनीलगायत केही उच्चपदस्थ नागरिक र सैनिक नेताहरू गुमायो । खामेनीको हत्याको असर विश्वभर देखियो । विभिन्न देशका मुस्लिम र युद्धविरोधी जनता इरानमाथिको अमेरिकी र इजरायली हमलाको विरोधमा सडकमा उत्रेका छन् । पाकिस्तान, इराक, इन्डोनेसियालगायत देशमा अमेरिकी राजदूतावास र महावाणिज्यदूतावासहरूमाथि जनआक्रोश समेत बर्सिएको छ । त्यहाँका सरकारहरूलाई जनआक्रोश मत्थर पार्न हम्मेहम्मे भइरहेको छ । पाकिस्तानको कराँचीमा अमेरिकी सुरक्षाकर्मीहरूले चलाएको गोली लागी एक दर्जनभन्दा बढी प्रदर्शनकारीको मृत्यु भएका समाचार आएको छ भने भारत नियन्त्रित काश्मिरको श्रीनगर, राजधानी नयाँ दिल्ली, लखनऊ, पटना, कोलकातालगायत सहरमा जनआक्रोश देखिएको छ ।
संरा अमेरिका, बेल्जियम, सिउल, मानागुवा, काराकसलगायतका सहरहरूमा पनि युद्धविरोधी प्रदर्शन भएका छन् ।
शताब्दीऔँदेखि विश्वका आम जनता शान्ति, समृद्धि र आ–आफ्ना सभ्यता, संस्कृति र पहिचानलाई जोगाएर राख्न चाहन्छन् । तर नरसंहारकारी यूरोपेली तथा अमेरिकी साम्राज्यवादी शक्तिले एसिया, अफ्रिका र दक्षिण अमेरिकी महाद्वीपहरूमाथि आक्रमण गरेर आ–आफ्ना उपनिवेशहरू बनाए र यी गोरा यूरोपेली मुलुकहरूले उपनिवेश बनाएर त्यहाँका जनताका सभ्यता, संस्कृति र स्वतन्त्रतालाई ध्वस्त पारे । जुन जुन मुलुकका साम्राज्यवादी शासकहरूले जहाँ जहाँ अधिकार जमाए त्यहाँ त्यहाँ आ–आफ्ना भाषा, संस्कृति, नीति नियमहरू जबरजस्ती थोपरे । त्यहाको स्रोतसाधन, मानव स्रोतहरूको लुटपाट र चरम दोहन गरी आफू समृद्ध भए । आज भेनेजुयला र इरानमाथि भइरहेको आक्रमण र हिजो इराक, सिरिया, लिवियालगायत देशमा भएका आक्रमण र कब्जा त्यहाँको विशाल पेट्रोलियम भण्डार कब्जा गर्नका लागि भइरहेकोमा कुनै शङ्का रहेन ।
सन् १९९१ मा शीतयुद्धको समाप्तिले आणविक युद्धको अन्त्य भएको भ्रम छरिए तापनि युद्धहरू निरन्तररूपले विभिन्न मुलुकहरूमा अमेरिकी साम्राज्यवादले चलाइरहेको छ । शीतयुद्धपछि पनि अमेरिकाले दुई सय एकाउन्न स्थानमा सैन्य हस्तक्षेप गरेको छ । युद्धपिपासु अमेरिकी साम्राज्यवाद र मतियार यूरोपेली नाटो सम्बद्ध मुलुकहरूले इराक, अफगानिस्तान, लिविया, प्यालेस्टिन, लेवनान, सिरिया आदि मुलुकहरूलाई ध्वस्त पारेर त्यहाँका जनतालाई गरिबीमा डुबाएर असीम कष्ट पु¥याइरहेछन् । तर, पनि इराकमा अकन्टक रूपले शासनसत्ता चलाउन सकेको छैन भने अफगानिस्तानमा लज्जाजनक रूपले परास्त भएर भागेको थियो ।
कुनै बेला प्रजातन्त्र रक्षाको नाममा कोरियालाई विभाजन गरेर स्वतन्त्रताप्रेमी कोरियाली जनताविरूद्ध त कुनै बेला स्वधीनताप्रेमी भियतनामी जनताविरूद्ध युद्ध छेडेको अमेरिकी साम्राज्यवाद आज मानव सभ्यताको एक केन्द्र रहेको एसियाली देश इरानमाथि विध्वंसक हमला गरिरहेको छ । एकातिर विश्व शान्तिको निम्ति आफूले गरेको पहलका लागि आफूलाई नोवेल शान्ति पुरस्कार दिइनुपर्छ भनी दाबी गरेर नथाक्ने बदनाम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको गिरोह अर्कोतिर जताततै विध्वंसकारी हमला गरेर तेस्रो विश्वयुद्ध निम्त्याउन उद्यत छन् । उनीहरूको वास्तविक लक्ष्य भेनेजुयला र इरानको पेट्रोलियम खानी हुन् कथित लागु पदार्थको तस्कर र आणविक अस्त्र विकास बहानामात्र हुन् ।
Leave a Reply