भर्खरै :

मध्यपूर्वमा ट्रम्पको ठुलो जुवा

मध्यपूर्वमा ट्रम्पको ठुलो जुवा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध ‘विशाल र निरन्तर’ सैन्य अभियानको घोषणा गरेका छन् । घोषणाका क्रममा ट्रम्पले इरानी नागरिकलाई त्यहाँको दमनकारी शासकलाई हटाउन आह्वानसमेत गरे । तर, यस गम्भीर भूराजनीतिक जोखिम निम्त्याउन सक्ने कदम चालेर ट्रम्पले आफ्नो दोस्रो कार्यकाललाई गहिरो अनिश्चिततातर्फ धकेलेका छन् ।
इरानमाथिको आक्रमण पुष्टि गर्दै शनिबार आफ्नो ट्रुथ सोसल एकाउन्टमा आठ मिनेट लामो भिडियो रेकर्डिङ हाल्दै ट्रम्पले यस सैन्य अभियानमा अमेरिकीको पनि ज्यान जान सक्ने स्विकारेका छन् । सोही भिडियोमा इरानमाथिको अभियानको उद्देश्य स्पष्ट गर्ने क्रममा ट्रम्पले अमेरिकाले इरानको सत्ता सफलतापूर्वक परिवर्तन गरिछाड्ने बताएका छन् । उसो त हवाई आक्रमणले मात्र सत्ता ढलेको इतिहास खासै नभए पनि वर्तमान खामेनी शासन ढलिहाल्यो भने त्यसको स्थानमा कस्तो व्यवस्था हुनेछ भन्नेबारे ट्रम्पले केही खुलाएका छैनन् ।
“उनीहरूले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न दिइएको अवसरलाई अस्वीकार गरे । हामी थप सहन सक्दैनौँ,” ट्रम्पले यसअघि नै बताएका थिए । एक अमेरिकी अधिकारीका अनुसार ट्रम्पले मार–ए–लागोस्थित निजी निवासबाट आक्रमणबारे निरन्तर अपडेट लिइरहेको बताएका छन् । गत सातासम्म यो विषय सल्ट्याउन घनीभूत वार्ता चलिरहेको थियो । ट्रम्पले यस सम्बन्धमा खटाएका व्यक्तिगत दूतहरूले इरानलाई आफ्नो हातमाथि पर्ने कूटनीतिक सम्झौतामा ल्याउने प्रयास गरेका थिए । तर, ती प्रयास असफल भएपछि राष्ट्रपति ट्रम्प सैन्य अभियानको निर्णयमा पुगे ।
अमेरिकी सेनाले धेरै दिनदेखि आक्रमणको योजना बनाइरहेको थियो । र, अमेरिकी आक्रमणलगत्तै इरानले मध्यपूर्वभर छरिएका अमरिकी आधारमाथि मिसाइल प्रहारले तेहरान पनि तयारीमा रहेछ भन्ने बुझिन्छ । ट्रम्पले युद्ध यति छिट्टै हुन सक्ने कुनै सङ्केत सार्वजनिक गरेका थिएनन् । यहासम्म कि मङ्गलबार अमेरिकी राष्ट्रपतिले बर्सेनि संसद्को संयुक्त बैठकमा गर्ने ‘स्टेट अफ द युनियन’ सम्बोधनमा समेत उनी युद्धबारे बोलेनन् । हुन पनि ट्रम्पका समर्थक विदेशमा अमेरिकी युद्धको विरोध गर्छन् । उनले चुनावी अभियानमा अमेरिका संलग्न भइसकेका युद्धबाट समेत बाहिरिने वाचा गरेका थिए । तर, शनिबार ट्रम्पले आफ्नो आधारलाई निराश बनाउने गरी लामो चल्न सक्ने युद्ध सुरु गरेका छन् ।
“इरानी शासक हत्यारा हो । साहसी अमेरिकी नायकले जीवन गुमाउन सक्छन् र हाम्रो पक्षमा पनि हताहत हुन सक्छ, जुन प्रायः युद्धमा हुने गर्छ । तर, हामीले यो अभियान वर्तमानलाई सोचेर होइन, भविष्यका लागि गरिरहेका छौँ । यो एक महान् अभियान हो,” ट्रम्पले भने । तथापि, आक्रमणअघि अमेरिकाले मध्यपूर्वमा तैनाथ अमेरिकी कर्मचारीमाथिको जोखिम कम गर्न सम्भावित सबै कदम चालेको पनि ट्रम्पले बताए ।
ट्रम्पका निकट सहयोगीले इरानमाथिको सैन्य कारबाही लामो समयदेखि अपरिहार्य देखेका थिए । वर्षको सुरुमा इरानमा ठुलो प्रदर्शन उठेको समयमा ट्रम्पले त्यहाँका प्रदर्शनलाई सम्बोधन गर्दै आफू उनीहरूको सहयोगमा आउने बताएका थिए । त्यतिबेला पनि उनले ‘अमेरिका इरानी शासकमाथि आक्रमण गर्न पूर्णतः तयार रहेको चेतावनी दिएका थिए । तर, पछि उनी आफ्नै वाचाबाट पछाडि हटे । “पहिले हामी बमबारी गर्छौं । हाम्रो काम सकिसकेपछि तपाईंहरू आफ्नो सरकार आफ्नो हातमा लिनुहोस् । यो तपाईंहरूसामु पुस्तौँमा एकपटकमा आउने अवसर हुनेछ,” शनिबारको भिडियो सन्देशमा ट्रम्पले इरानी जनतालाई इङ्गित गर्दै भनेका थिए, “धेरै वर्षदेखि, तपाईंले अमेरिकाको सहयोग खोज्नुभयो, तर कहिल्यै पाउनुभएन । म अहिले जे गर्दै छु, त्यस्तो कदम उठाउन कुनै राष्ट्रपति इच्छुक भएनन् । तपाईंलाई चाहेको कुरा मैले दिएको छु, अब हेरौँ तपाईंहरूले कसरी प्रतिक्रिया दिनुहुनेछ ।”
ट्रम्प सत्तामा फर्किएपछिको यो इरानमाथिको दोस्रो आक्रमण हो । आक्रमणको कारणमा सुरुमा प्रदर्शनकारीको जीवनरक्षा भनिएको थियो । पछि इरानको आणविक महत्वाकाङ्क्षालाई रोक्ने भनियो । अहिले इरानी सत्ता बदल्ने भनिएको छ । इरानको क्षेप्यास्त्र क्षमता र क्षेत्रीय प्रोक्सी समूहको सहयोग कटौतीलाई पनि उद्देश्यमा राखिएको छ । सैन्य अभियानमा अमेरिकालाई इजरायलको साथ छ ।
पछिल्ला केही सातामा वासिङ्टनमा भएका बैठकमा, ट्रम्प र वरिष्ठ अधिकारी अझ विशेषतः शीर्ष सैन्य अधिकारीले सबै विकल्पमाथि विमर्श गरेका थिए । तथापि, तिनको सफलताको सम्भावना प्रायः अनिर्णीत थिए । त्यसबिच ट्रम्पले कूटनीति पनि अघि बढाए । तथापि, वार्तामा इरानी पक्ष आफ्नो अडानबाट हलचल नगरेको वरिष्ठ अधिकारीले बताएका थिए । ट्रम्पका कूटनीतिक दूत स्टिव विट्कफ र जेर्ड कुसनर (जो ट्रम्पका ज्वाइँ पनि हुन्) ले इरानी अधिकारीसँग तीन चरणको अप्रत्यक्ष वार्ता पनि गरे । तर, प्रगति नभएपछि अधीर बनेका ट्रम्पले हतारिएर आक्रमणको निर्णय लिए ।
अहिलेको सैन्य अप्रेसनले राष्ट्रपति ट्रम्पको कार्यकालमाथि नै ठुलो राजनीतिक जोखिम खडा गर्छ । विशेषतः उनका मताधार रुष्ट हुनेछन् । उनको मुख्य मताधार विदेशी भूमिमा अमेरिकाले युद्ध गर्न हुँदैन भन्नेमा विश्वास गर्छ । त्यसमाथि यो सैन्य अप्रेसन कति लामो चल्छ र यसमा खर्च लाग्न सक्छ भन्ने कुनै टुङ्गो छैन । धेरै पैसा खर्च हुन सक्छ र धेरै मारिन सक्छन् । ट्रम्प आफैँले पनि शुक्रबार द्वन्द्व लामो हुन सक्ने जोखिम स्विकार्दै पत्रकारसँग भनेका थिए, “युद्ध लम्बिने जोखिम सधैँ हुन्छ । तपाईंहरूलाई थाहै छ, जब युद्ध हुन्छ, चाहे त्यो राम्रो होस् वा नराम्रो, जोखिम धेरै प्रकारको हुन्छ ।” यस हिसाबमा मध्यपूर्वमा ट्रम्पले ठुलो जुवा खेलेका छन् ।
(वरिष्ठ पत्रकार लिपट्याक अमेरिकाको विदेश तथा घरेलु नीतिबारे लेख्छन्)

– ‘सिएनएन’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *