भर्खरै :

माक्र्सका दुई महत्वपूर्ण सिद्धान्तहरू

  • फाल्गुन २९, २०८२
  • फ्रेडरिक एङ्गेल्स
  • विचार
माक्र्सका दुई महत्वपूर्ण सिद्धान्तहरू

सन्दर्भ : कार्ल माक्र्स स्मृति दिवस (मार्च १४)
विज्ञानको इतिहासमा माक्र्सले महत्वपूर्ण कुरा पत्ता लगाउनुभयो, आफ्नो नाम अमर बनाउनुभयो, ती महत्वपूर्ण कुराहरूमध्ये हामी यहाँ दुईवटा कुराबारे चर्चा गरौँ ः
पहिलो, विश्व इतिहासको सम्पूर्ण अवधारणा नै त्यो क्रान्ति हो, जुन माक्र्सले पूरा गर्नुभयो । सबै प्रकारका ऐतिहासिक परिवर्तनको मूल कारण मानव जातिको परिवर्तनशील विचारमा फेला पर्छ भन्ने धारणामा इतिहासको पुरानो दृष्टिकोण आधारित थियो । सबै प्रकारका ऐतिहासिक परिवर्तनहरूमध्ये राजनीतिक परिवर्तन सबैभन्दा महत्वपूर्ण हुन्छ र इतिहासमा त्यसको सर्वत्र प्रभुत्व हुन्छ ।
तर, मानिसका दिमागमा यी विचारहरू कहाँबाट आउँछन् ? राजनीतिक परिवर्तनका चालक शक्तिहरू के –के हुन् भन्ने लगायतका अहम् प्रश्नहरू मानिसहरूले सोधेनन् । फ्रेन्च र केही अङ्ग्रेजी इतिहासकारहरूको नयाँ शाखामा मात्र यो विश्वास दृढताका साथ प्रवेश भएको थियो कि, कम्तीमा मध्य युगदेखि नै सामाजिक र राजनैतिक प्रभुत्वको लागि युरोपको इतिहासमा सामन्ती कुलीनवर्गसँग पुँजीवादीवर्गको सङ्घर्ष नै त्यसको प्रेरक शक्ति थियो ।
माक्र्सले प्रमाणित गर्नुभयो कि अहिलेसम्मको सबै इतिहास वर्गसङ्घर्षको इतिहास हो । अहिलेसम्म भएका सबै विविध र जटिल राजनीतिक सङ्घर्षहरूका जडमा सामाजिक वर्गहरूको राजनीतिक र सामाजिक शासन चलेको हो । पुराना वर्गहरूले आफ्नो प्रभुत्व बनाइराख्ने र नयाँ उदीयमान वर्गहरूले आफ्नो प्रभुत्व कब्जा गर्ने समस्या कायमै छ । तर, यी वर्गहरूको जन्म र निरन्तरताका कारणहरू के हुन् ? तिनको कारण शुद्ध भौतिक अथवा गोचर परिस्थिति हो । त्यसअन्तर्गत समाजले कुनै पनि युगमा आफ्नो निर्वाहका साधनहरूको उत्पादन र विनिमय गर्दछ । मध्ययुगको सामन्ती शासनको आधार साना किसान समुदायहरूको स्वावलम्बी अर्थतन्त्र थियो । आफूलाई आवश्यक पर्ने सबै चीजहरू उनीहरू आफैँ उत्पादन गर्थे । त्यहाँ प्रायः विनिमयको पूर्ण अभाव थियो । सशस्त्रधारी सामन्ती शासकहरूले उनीहरूलाई जातीय वा कम्तीमा राजनीतिक एकता दिँदै बाह्य आक्रमणहरूबाट जोगाउँथे । सहरहरूको उदयसँगै विभिन्न हस्तकला र आपसी व्यापारको विकास भयो । त्यो सुरुमा आन्तरिक क्षेत्रमा सीमित थियो र पछि अन्तर्राष्ट्रिय रूपमा विकास भयो । योसँगै सहरमा पुँजीपतिवर्गको विकास भयो र मध्यमवर्गमा नै सामन्ती शासकहरूसँग लड्दै सामन्ती व्यवस्थाभित्र विशेषाधिकार प्राप्त वर्गको रूपमा पुँजीपतिले आफ्नो स्थान बनायो ।
तर, १५ औँ शताब्दीको मध्यदेखि युरोप बाहिरको संसारमा यो पुँजीपतिवर्गले आफ्नो व्यापारका लागि धेरै फराकिलो क्षेत्र फेला पारेको थियो । यसले उनीहरूको उद्योगलाई नयाँ गति दिन मद्दत ग¥यो । प्रमुख शाखाहरूमा हस्तकलाद्वारा उत्पादन प्रतिस्थापन गरी अब कारखानाको स्तरमा स्थापित भयो । त्यसपछि यो ठाउँ ठुला उद्योगद्वारा प्रतिस्थापित गरिए । जुन पछिल्लो शताब्दीको आविष्कार, त्यसमा पनि विशेषगरी वाष्प इन्जिनद्वारा सम्भव भएको थियो । ठुला उद्योगको व्यापारले यस्तो प्रभाव पारेको थियो कि पिछडिएका देशहरूमा मान्छे र हातले गर्ने कतिपय काम ठप्प भए । विकसित देशहरूमा सञ्चारका आधुनिक नयाँ साधनहरू–वाफबाट चल्ने पानीजहाज, रेल तथा बिजुलीका तारहरूको उत्पादन भयो । यसरी पुँजीपतिवर्गले सामाजिक सम्पत्ति र सामाजिक शक्ति दुवैलाई आफ्नो हातमा बढी केन्द्रित गर्न थाल्यो । यद्यपि लामो समयसम्म सामन्ती शासकहरूको हातमा रहेको राजनीतिक सत्ता र उनीहरूद्वारा समर्थित राजतन्त्रबाट भने पुँजीपतिवर्ग बञ्चित थियो । तर, विकासको एक यस्तो चरण आयो–गौरवशाली फ्रान्सेली क्रान्तिपछि पुँजीपतिवर्गले राजनीतिक शक्ति पनि कब्जा गर्यो । त्यसपछि तिनीहरू सर्वहारा र साना किसानहरूमाथि शासन गर्ने वर्गका रूपमा रहे ।
समाजको विशेष आर्थिक अवस्थाको यथोचित ज्ञान भएपछि मात्रै ऐतिहासिक घटनाहरूलाई राम्ररी व्याख्या गर्न सकिन्छ । यद्यपि सोे ज्ञान हाम्रा व्यावसायिक इतिहासकारहरूसँग एकदमै कम छ । त्यसैगरी, प्रत्येक ऐतिहासिक युगको अवधारणा र विचारलाई त्यस युगको आर्थिक जीवन अवस्था र सामाजिक तथा राजनीतिक सम्बन्धका (यी सम्बन्धहरू पनि आर्थिक अवस्थाले नै निर्धारण हुन्छन्) आधारमा सजिलै व्याख्या गर्न सकिन्छ । यसरी, इतिहासले पहिलोपटक आफ्नो वास्तविक आधार भेट्टायो ।
यो आधार अति स्पष्ट सत्य हो, जसलाई पहिले पहिले पटक्कै ध्यान दिइएको थिइएन । सबैले जानेकै कुरा हो कि मानवलाई सबैभन्दा पहिले गाँस, बास र कपास चाहिन्छ । त्यसो हुँदा उनीहरूले पहिले त काम गर्नैपर्छ । त्यसपछि मात्र उनीहरू प्रभुत्वका लागि एकअर्कासँग लड्न सक्छन् र त्यसपछि मात्रै राजनीति, धर्म र दर्शन आदिका लागि आफ्नो समय छुट्याउन सक्छन् । अन्ततः यो सच्चाइको पुष्टि भयो । यसले ऐतिहासिक अधिकार प्राप्त ग¥यो ।
इतिहासको यो नयाँ धारणा समाजवादी दृष्टिकोणको लागि सबैभन्दा महत्वपूर्ण थियो । यसले देखाउँछ कि विगतको सम्पूर्ण इतिहास वर्गीय द्वन्द्व र वर्गसङ्घर्षको बिचमा रहेको छ । शासक र शासित, शोषक र शोषित वर्गहरू समान रूपमा अस्तित्वमा छन् र बहुसङ्ख्यक मानव जातिले आफ्ना लागि सङ्घर्ष गरिरहेका छन् । थोरै मान्छेहरूले आनन्दभोग गरिरहेका छन् । यस्तो किन हुन्छ ? किन धेरै परिश्रम गर्नेहरूका भागमा कम आनन्द छ ?
किनभने, मानव जातिको विकासका अघिल्ला सबै चरणहरूमा उत्पादनको विकास यति न्यून भएको थियो कि ऐतिहासिक विकास यही अन्तरविरोधी रूपमा मात्र हुनसक्थ्यो । ऐतिहासिक प्रगतिलाई लगभग एक विशेषाधिकार प्राप्त अल्पसङ्ख्यक समुदाय (धनी तथा शोषक वर्ग) को सम्पूर्ण क्रियाकलापकै विषय बनाइयो । बहुसङ्ख्यकका भागमा जीवन निर्वाहका थोरै साधन तर विशेषाधिकार प्राप्त समुदायका लागि भने अत्यन्तै धेरै साधनहरू उपलब्ध गराइयो । तर, इतिहासको अनुसन्धानले हामीलाई पुरानो वर्गीय शासनको स्वाभाविक र तर्कसङ्गत व्याख्या दिन्छ (अन्यथा हामीले मानव प्रकृतिको दुष्टताद्वारा मात्र त्यसको व्याख्या गर्न सक्छौँ) साथै हामीलाई यो महसुस गराउँछ कि वर्तमान युगमा उत्पादक शक्तिहरूको तीव्र विकासका कारण मानव जातिलाई शासक र शासित, शोषक र शोषितहरूमा विभाजित गर्ने अन्तिम बहाना पनि कमसेकम अति विकसित देशहरूमा मेटिएको छ । अर्थात्, ठुला पुँजीपति शासकहरूले आफ्नो ऐतिहासिक भूमिका समाप्त गरिसकेका छन् ।
आज विश्वभरको व्यापारिक सङ्कट र विशेषगरी सबै देशहरूको पछिल्लो भयानक आर्थिक मन्दीका घटनाले यो प्रमाणित भइसकेको छ कि यिनीहरू समाजको नेतृत्व गर्न सक्षम छैनन् । उल्टै, यिनीहरू उत्पादनको विकासमै बाधक बनेका छन् । आज ऐतिहासिक नेतृत्व सर्वहारावर्गको हातमा गएको छ । समाजमा आफ्नो समग्र स्थितिका कारणले पूर्ण वर्गीय शासन, पूर्ण दासत्व र पूर्ण शोषणको अन्त्य गरेर मात्र आफूलाई मुक्त गर्न सक्ने वर्गको हातमा नेतृत्व पुगेको छ ।
आज सामाजिक उत्पादक शक्तिहरू यति विकसित भइसकेका छन् कि तिनीहरू पुँजीपतिवर्गको नियन्त्रणभन्दा बाहिर छन् । एकताबद्ध सर्वहारावर्गले आफ्नो हातमा सामाजिक उत्पादक शक्ति लिनुपर्ने अवस्था आएको छ । त्यसो हुँदा समाजका प्रत्येक सदस्य सामाजिक सम्पत्तिको उत्पादनमा मात्रै होइन, वितरण र व्यवस्थापनमा पनि सहभागी हुन पाउनेछन् । त्यो चरण जसले सम्पूर्ण उत्पादनको योजनाबद्ध सञ्चालनद्वारा सामाजिक उत्पादक शक्तिहरू र तिनीहरूको उपजलाई यस हदसम्म बढाउनेछन् कि प्रत्येक व्यक्तिको सबै उचित आवश्यकताहरूको पूर्ति सुनिश्चित हुनेछ ।
माक्र्सले पत्ता लगाएको दोस्रो महत्वपूर्ण कुरा पुँजी र श्रमबिचको सम्बन्धको निश्चित व्याख्या हो । अर्को शब्दमा भन्नुपर्दा उहाँले वर्तमान समाजमा र विद्यमान पुँजीवादी उत्पादन प्रणालीमा पुँजीपतिले श्रमिकलाई कसरी शोषण गर्छ भन्ने कुरा हो । यो सवाल राजनीतिक अर्थशास्त्रले श्रम नै सबै सम्पत्ति र सबै मूल्यको आधारभूत स्रोत हो भनी प्रस्ताव गरेको थियो, तबदेखि हामीले यो तथ्यलाई कसरी मिलाउने भनेर उठेको छ । ज्यालादारी मजदुरले आफ्नो श्रमबाट प्राप्त हुने मूल्यको सम्पूर्ण अंश पाउँदैन, तर त्यसको केही अंश पुँजीपतिलाई दिनुपर्छ ।
पुँजीवादी र समाजवादी दुवैखाले अर्थशास्त्रीहरूले यस प्रश्नको तार्किक र वैज्ञानिक उत्तर दिन खोजे तर उनीहरू असफल भए । अन्त्यमा माक्र्सले नै सही जवाफ दिनुभयो । त्यसको जवाफ यसप्रकार छः वर्तमान पुँजीवादी उत्पादन प्रणालीमा दुई वर्ग छन्– एकातिर पुँजीपति वर्ग छ, जसको हातमा उत्पादन र निर्वाहका साधनहरू छन् भने अर्कोतर्फ सर्वहारावर्ग छ । उनीहरूसँग कुनै साधन छैन तर एउटै वस्तु छ । त्यो हो आफ्नो श्रम–शक्ति । त्यसैले जीविकोपार्जनका साधनहरू प्राप्त गर्न यो वर्ग श्रम–शक्ति बेच्न बाध्य छ । तर, कुनै वस्तुको मूल्य त्यस वस्तुको उत्पादन र त्यसको पुनरुत्पादनमा लागेको सामाजिक श्रमको मात्राबाट निर्धारण गरिन्छ । यसरी एक औसत मानिसको श्रमशक्तिको मूल्य एक दिन, एक महिना वा एक वर्षको लागि सो श्रम–शक्तिलाई दिन, एक महिना वा एक वर्षको लागि टिकाउन आवश्यक निर्वाहका साधनहरूमा संलग्न श्रमको मात्राले पनि निर्धारण गरिन्छ÷हुन्छ ।
मानौँ, एक दिनको निर्वाहका साधनहरू उत्पादन गर्न कामदारलाई ६ घण्टाको श्रम चाहिन्छ वा त्यसमा लगाइएको श्रम ६ घण्टाको श्रमको परिमाण बराबर हुन्छ भने श्रमशक्तिको एक दिनको मूल्य यस्तो रकममा व्यक्त हुन्छ जसमा ६ घण्टाको श्रम लागेको हुन्छ ।
अब यो पनि मान्नुहोस् कि कामदारलाई काममा लगाउने पुँजीपतिले उसलाई बदलामा यो रकम दिन्छ र त्यसैले उसलाई उसको श्रम–शक्तिको पूरा मूल्य दिन्छ । अब कामदारले पुँजीपतिको लागि दिनको छ घण्टा काम गरेमा उसले पुँजीपतिको पूरा खर्च तिर्छ– ६ घण्टाको श्रमको मूल्य बराबर छ घण्टा श्रम दिन्छ । तर, यस्तो अवस्थामा पुँजीपतिका लागि त केही पनि रहँदैन, त्यसैले उसले यसलाई पूर्णतया फरक तरिकाले डिल गर्छ ।
पुँजीपति भन्छ, “मैले यो मजदुरको श्रमशक्ति ६ घण्टाको लागि होइन, दिनभरको लागि किनेको छु ।” त्यसैले उसले मजदुरबाट ८, १०, १२, १४ वा त्योभन्दा बढी घण्टाको कठिन श्रम गराउँछ । यस्तो श्रम जसको भुक्तानी दिइँदैन तर उत्पादन गरिन्छ । त्यो सिधै पुँजीपतिको खल्तीमा जान्छ । यसरी पुँजीपतिद्वारा रोजगारीमा लगाइएका श्रमिकले आफूले पाएको श्रमशक्तिको मूल्य मात्र पुनः उत्पादन गर्दैनन्, थप मूल्य पनि उत्पादन गर्छ, जुन पहिले पुँजीपतिले कब्जा गर्छ र पछि निश्चित आर्थिक कानुनअनुसार सम्पूर्ण पुँजीपतिमा बाँडिन्छ ।
यो अतिरिक्त मूल्य त्यो आधारभूत कोष हो, जसबाट भाडा, नाफा र पुँजी सञ्चित हुन्छ । छोटकरीमा भन्दा त्यो सबै सम्पत्ति जसको गैर–श्रमिक वर्गले उपभोग गर्ने वा जम्मा गर्ने गर्दछ । यसबाट आजका पुँजीपतिहरूले सम्पत्ति जम्मा गर्नु भनेको श्रमिकको अतिरिक्त श्रमको मूल्य कब्जा गर्नु हो भनेर प्रमाणित हुन्छ, जसरी दास–मालिक वा भूदासको शोषण गर्ने सामन्तहरूले सम्पत्ति जम्मा गर्ने गर्दछन् । शोषणका यी सबै रूपहरूमा अतिरिक्त श्रमको मूल्य कब्जाको तरिका र ढङ्गमा मात्रै फरक छ ।
यसबाट यो तथ्य प्रमाणित हुन्छ कि वर्तमान पुँजीवादी समाज आफ्ना पूर्ववर्ती समाजहरूझैँ र कुनै पनि हिसाबले उनीहरूभन्दा कम वा फरक छैनन् । यसको अर्थ अल्पसङ्ख्यकले बहुसङ्ख्यकमाथि शोषण गर्ने अर्को विशाल संस्था हो पुँजीवादी समाज ।

कार्ल माक्र्सको समाधिस्थलमा एङ्गेल्सको भाषण
१४ मार्चको दिउँसो पौने तीन बजे, संसारका एक महान् विचारकको चिन्तन–क्रिया रोकियो । उहाँलाई मुस्किलले २ मिनेटका लागि एक्लै छोडिएको थियो होला । तर, जब हामीहरू फर्किएर आयौँ, हामीले देख्यौँ कि उहाँ आराम गर्ने कुर्सीमा शान्तिले सुत्नुभएको थियो सधैँको लागि । उहाँको मृत्युले युरोप र अमेरिकाका जुझारु, सर्वहारावर्ग र ऐतिहासिक विज्ञानका लागि अपार क्षति भएको छ । यो ओजस्वी आत्माको महा–प्रस्थानले पैदा भएको अभाव मानिसहरूले छिट्टै नै अनुभव गर्नेछन् ।
जीव प्रकृतिको क्षेत्रमा जसरी डार्विनले ‘विकास अथवा अग्र्यानिक प्रकृतिको सिद्धान्त’ पत्ता लगाउनुभएको थियो, उसैगरी मानव इतिहासमा माक्र्सले विकासको नियम पत्ता लगाउनुभएको थियो । त्यतिञ्जेलसम्म, विचारधाराको अतिवृद्धिले यसरी छोपेको थियो कि राजनीति, विज्ञान, कला, धर्म आदिमा लाग्नुपूर्व मानव जातिलाई गाँस, बास र कपास चाहिन्छ भन्ने अवधारणा थियो ।
त्यसैले जीविकाका लागि निर्माण गरिने तत्कालीन भौतिक साधनहरूको उत्पादनकै आधारमा राजकीय संस्था, कानुनी संस्था, कला र धर्मसम्बन्धी धारणाहरू पनि विकसित भएका थिए । यसको अर्थ कुनै युगमा अथवा कुनै जातिले हासिल गरेको आर्थिक विकासको मात्राले राजकीय संस्था, धर्म, कला, राजनीति आदि अवधारणा बन्थ्यो । माक्र्सले गतिको त्यस विशेष नियमको खोजी गर्नुभयो, जसले उत्पादनको वर्तमान पुँजीवादी प्रणाली र यस प्रणालीले उत्पन्न गराएका बुर्जुवा समाज दुवै नै नियन्त्रित छन् । अतिरिक्त मूल्यको आविष्कारले एकपटक त्यो उत्पादनको त्यस समस्याबारे प्रकाश पा¥यो । सो विषयको जटिलता हल गर्ने कोसिसमा यसअघिका अन्वेषणहरू खेर गएका थिए । पुँजीवादी अर्थशास्त्रीहरूले गरेका प्रयास हुन् या समाजवादी समीक्षकहरूले, ती सबै अन्धअन्वेषण साबित भएका थिए ।
दुईवटा आविष्कार मात्रै पनि एउटा जीवन सार्थक हुन्छ । त्यो मानिस भाग्यशाली हो, जसलाई यस प्रकारको आविष्कार गर्ने सौभाग्य प्राप्त हुन्छ । तर जुनजुन क्षेत्रमा माक्र्सले खोजी गर्नुभयो, ती खोजीमध्ये कुनै पनि क्षेत्रको खोजी सतही थिएन । माक्र्सले गणितमा समेत स्वतन्त्र रूपमा अध्ययन गर्नुभयो । त्यस्ता वैज्ञानिक थिए माक्र्स । तर, उहाँको वैज्ञानिक रूप उहाँको जीवनको आधा अंश पनि थिएन । माक्र्सको लागि विज्ञान ऐतिहासिक रूपले एक गतिशील र क्रान्तिकारी शक्ति थियो ।
वैज्ञानिक सिद्धान्तहरूमा, कुनै नयाँ खोजको व्यवहारिक प्रयोगबारे अनुमान लगाउन तत्कालै सम्भवै नभए पनि उहाँ नयाँ खोजीहरूमा आनन्द मान्नुहुन्थ्यो । तर, त्यस्ता खोजहरूमा माक्र्स सा¥है खुसी हुने गर्नुहुन्थ्यो, जसको आविष्कारका कारण समाजमै तत्कालै प्रभावहरू देखिन्थे खासगरी ऐतिहासिक विकासका कुरामा ¤ त्यस्ता अवस्थामा भने उहाँलाई बिल्कुलै फरक खालको प्रसन्नताको अनुभव हुन्थ्यो । उदाहरणको लागि बिजुलीका क्षेत्रमा भएका आविष्कारको विकास क्रम र खासगरी त्यतिखेरसम्म मर्सेल देप्रेले गरेको आविष्कारबारे माक्र्सले निकै गहिरोसँग अध्ययन गर्नुभएको थियो ।
माक्र्स क्रान्तिकारी हुनुहुन्थ्यो । जीवनमा उहाँको खास उद्देश्य कुनै न कुनै किसिमले पुँजीवादी समाज र त्यसबाट पैदा हुने राजकीय संस्थाको ध्वंस गर्नमै थियो । आधुनिक सर्वहारावर्गलाई स्वतन्त्र गर्नमा उहाँको योगदान थियो । सर्वहाराहरूलाई सबैभन्दा पहिले माक्र्सले नै आफ्नो स्थिति र आवश्यकताप्रति सचेत गर्दै बताउनुभएको थियो कि, किन र कुन अवस्थामा उनीहरूको मुक्ति हुनसक्छ ? सङ्घर्ष गर्नु माक्र्सको स्वाभाविक गुण थियो । उहाँले त्यस्तो जोस, लगन र यस्तो सफलताका साथ सङ्घर्ष गर्नुभयो, जसको कुनै प्रतिद्वन्द्वी नै छैन ।
सबैभन्दा पहिले उहाँले सन् १८४२ मा पेरिसको राइनिस जाइटुङ, १८४४ मा पेरिसको वोरवाटर्स, १८४७ मा डायचे ब्रसलेर जाइटुङ, १८४८–१८५१ मा न्यु राइनिस जाइटुङ र १८५२–१८६१ मा न्युवर्क डेली ट्रव्युनमा गर्नुभएको काम र तीसँगै अनेकौँ जोशिला पुस्तकको रचना तथा पेरिस, ब्रेसेल्स र लण्डनका सङ्गठनहरूमा उहाँको काम लोभलाग्दो थियो । अन्ततः उहाँको चरम उपलब्धिको रूपमा ‘महान् अन्तर्राष्ट्रिय मजदुर सङ्घ’ को स्थापना हुनपुग्यो । यो आफैँमा यति ठुलो उपलब्धि थियो कि यस सङ्गठनका संस्थापकले अरु केही पनि कामै नगरेको भए पनि यो विषयमा त्यति धेरै गर्व गर्न सकिन्थ्यो । यो सबको फलस्वरूप माक्र्स आफ्नो युगका सबैभन्दा बढी विद्वेष र लाञ्छनाहरूका शिकार पनि हुनुभएको थियो ।
निरङ्कुशतावादी र जनतन्त्रवादी दुबैतर्फका सरकारहरूबाट उहाँलाई राज्य निकाला गरियो । रुढिवादी हुन् या घोरजनवादी बुर्जुवाहरू, ती सबैले माक्र्सलाई बदनाम गर्नमा एक अर्कासित प्रतिस्पर्धा गर्दथे । तर, माक्र्स यी सबैलाई बेवास्ता गर्दै आफू आफ्नै कार्य गरिरहनुहुन्थ्यो । अति आवश्यकता परेको अवस्थामा मात्रै उहाँ तिनीहरूको उत्तर दिनुहुन्थ्यो ।
ती महान् पुरुष अब यस संसारमा रहनुभएन । साइबेरियाका खानीदेखि लिएर क्यालिर्फाेनियासम्म, युरोप र अमेरिकाका सबै क्षेत्रमा उहाँका लाखौँ क्रान्तिकारी मजदुर साथीहरू जो माक्र्सलाई माया गर्थे, उहाँप्रति श्रद्धा राख्थे, आज उहाँको निधनमा आँसु बगाइरहेका छन् । म यतिसम्म भन्न सक्छु कि उहाँका धेरै विरोधीहरू भए पनि व्यक्तिगत शत्रु विरलै थियो होला ।
उहाँको नाम युगौँयुगसम्म अमर रहनेछ, त्यसरी नै उहाँको काम पनि अमर रहनेछ ।
(एङ्गेल्सले हाइगेट समाधिस्थल, लण्डनमा १७ मार्च १८८३ मा अङ्ग्रेजीमा गरेको भाषण ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *