वाग्मती प्रदेश मुख्यमन्त्री बानियाँ भक्तपुर भ्रमणमा
- बैशाख ४, २०८३
भक्तपुर, ३० फागुन । गणेश माध्यमिक विद्यालय छालिङको ४५ औँ वार्षिकोत्सव समारोह, अभिभावक दिवस, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले विद्यार्थीहरूलाई पाठ्यक्रमभित्र पर्ने नेपालका र विदेशका भाषा सँगसँगै नेपाल र विदेशका थप भाषा पनि सिकाउनु जरुरी छ भन्नुभयो ।
रुसमा दुई सय वर्षअगाडि नै १५ वर्ष उमेरका नयाँ पुस्तालाई ५ देखि ८ भाषामा पोख्त बनाइएको दस्ताबेज उपलब्ध भएको उहाँले बताउनुभयो ।
विद्यार्थीहरूलाई खेलकुद प्रशिक्षण जिम्नास्टिकबाट सुरु गर्नुपर्ने र ठुलालाई सम्मान र सानालाई माया गर्नुपर्ने संस्कार सिकाउनु उपयुक्त हुने विज्ञहरूको मत रहेको उल्लेख गर्दै सचिव सुवालले भन्नुभयो, “शिक्षण पेसा नयाँ पुस्ता तयार गर्ने बीउजस्तै हो । योग्य शिक्षक शिक्षिकाहरूबाटै योग्य नयाँ पुस्ता तयार हुने हो, देशभरि नै विज्ञान, गणित र अङ्ग्रेजी विषयका शिक्षक अभाव भएको धेरै भयो । सरकारले योग्यहरूलाई पनि वैदेशिक रोजगारीमा पठाएको हुँदा थप समस्या भयो । विद्यालय व्यवस्थापन समितिले भएका शिक्षकहरूलाई तालिम र थप अध्ययनमा पठाएर समयअनुसार योग्य बनाउनु आवश्यक छ । विद्यार्थीहरूले मोबाइल, ल्यापटप, कम्प्युटरलगायत सूचना–प्रविधिका उपकरणहरूबाट पाठ्यपुस्तकलाई मद्दत पुग्ने विषय अध्ययन गर्नु जरुरी छ ।”
उहाँले भन्नुभयो, “संरा अमेरिकी सरकारले सन् १९४५ मा जापानमा अणु बम खसालेर संसारभर डर पैदा ग¥यो । सन् १९६१ सम्म पुग्दा सोभियत सङ्घले पहिलो पटक भूउपग्रहबाट मानिसलाई अन्तरिक्ष यात्रा गरायो । सन् १९७३ मा अमेरिकाले मानिससहित चन्द्रमामा भूउपग्रह पु¥याएर फर्कायो । यी सबै विज्ञान र गणितको चमत्कार हो । नेपालमा शासकहरू फेरिन्छन् तर सरकारले सियो पनि बनाउन सकेको छैन ।”
“चाँगुनारायण मन्दिर रहेको डाँडो वरिपरि बालुवा र माटो उत्खनन् भइरहँदा हाम्रो सांस्कृतिक धरोहर चाँगुनारायण पहिरोको खतरामा रहेकोले यो विषय हामीले सडक र संसद्मा उठाएका थियौँ तर सरकारहरूले ध्यान दिएनन्, अब बन्ने सरकारले पनि ध्यान नदिए जनताले सडक सङ्घर्ष गर्नुपर्ने हुन्छ”, सचिव सुवालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति ट्रम्पले इरानमाथि आक्रमण गर्दा नेपालमा पनि खाद्यान्न र इन्धनको अभाव बढ्यो ।
यतिबेला आधा भरिएको ग्यासको सिलिन्डर किन्न लाइन बस्नुपर्ने भयो ।”
नेमकिपाले विश्वमा भइरहेको हतियार र युद्ध निर्यातको विरोध गर्दै आएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “पार्टीको यो आवाजलाई नबुझेकाहरूले विदेशीको कुरा किन भनी भ्रम फैलाउँदै छन् । बाँकी संसारमा शान्ति कायम नभएसम्म नेपालमा मात्र शान्ति कायम नहुनेबारे हामी प्रस्ट हुनु जरुरी छ ।”
उहाँले भन्नुभयो, “नेमकिपाको एउटै लक्ष्य देश र जनताको निःस्वार्थ सेवा हो । निर्वाचनमा नेमकिपाले आचारसंहिता पालना ग¥यो । सरकार र निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेकाहरूलाई कारबाही गरेनन् । निर्वाचनको परिणामबाट हामीले देश र जनताको थप सेवा गर्ने पाठ लिनेछौँ ।”
उहाँले थप्नुभयोे, “देश र जनताको सेवा नगर्नेहरूको सरकारबाट उपलब्धि हुनेछैन । अघिल्ला संसद्मा रातो राहदानी बेच्ने, कुर्सी तोडफोड गर्ने, प्रमुख जिल्ला अधिकारीलाई चड्कन हान्ने जस्ता अनेक अनैतिक र भ्रष्टाचारका घटना भए । त्यतिबेला जनताले ‘सिंहदरबारमा बाँदर पसेको’ गुनासो गरे । अहिलेका शासकहरू सचेत नभए हिजोजस्तै भ्रष्टाचार बढ्नेछ ।”
वाग्मती प्रदेश सांसद गीता काफ्लेले संविधानमा प्रत्याभूत गरिएको शिक्षा र स्वास्थ्य निःशुल्क र अनिवार्य हुनुपर्ने प्रावधानअनुरुप सरकारले कार्य गर्न नसकेको बताउनुभयो ।
सार्वजनिक विद्यालय संयुक्त परीक्षा समितिका प्रतिनिधि चक्रबहादुर चाकतुले संयुक्त परीक्षा समिति सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको शैक्षिक गुणस्तर विकास र शिक्षण गतिविधिलाई समय सापेक्ष आकर्षक र परिमार्जनको लागि विभिन्न गतिविधिहरू सञ्चालन भइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति न्हुछेभक्त फोजुले विद्यालय विकासमा भएको आरोह अवरोहको विषयमा चर्चा गर्नुभयो ।
चाँगुनारायण नपा ५ का वडा सदस्य प्रभुराम थापा, विद्यार्थी सिम्रन नगरकोटी, भूतपूर्व विद्यार्थी कृतिका सुवालले शुभकामना मन्तव्य राख्नुभयो ।
विद्यालयका प्रधानाध्यापक इन्द्रबहादुर फोजुले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक रामकृष्ण त्यातले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालय निर्माणको क्रममा २०३८ सालमा सहयोग गर्ने २४ जना सहयोगी श्रमदाताहरूलाई सम्मान, अनिवार्य अवकाशप्राप्त कृष्णकुमार दुवाललाई सम्मान र बिदाइ, अध्यापनरत २० जना शिक्षकहरूको सम्मान, कर्मचारी सम्मान र विद्यालयको आन्तरिक र बाह्य कार्यक्रममा पहिलो, दोस्रो र तेस्रो हुन सफल २२२ जना विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो ।
Leave a Reply