भर्खरै :

संशोधनवाद के हो ?

  • फाल्गुन ३०, २०८२
  • नारायणमान बिजुक्छेँ (रोहित)
  • विचार विशेष
संशोधनवाद के हो ?

समाजवादी देशमा पनि संशोधनवादी विचार देखिन थालेको र देखिने भएकोले ‘घोषणापत्र’ अगाडि भन्छ, “सत्ताबाट वञ्चित पुँजीपतिवर्ग फेरि सत्तामा आउने कोसिस गर्छ । पुँजीपतिवर्ग, अर्ध–पुँजीवादी, मध्यमवर्ग र तिनीहरूका बुद्धिजीवीहरूको प्रभाव अहिले पनि समाजमा धेरै छ । पुँजीवादी प्रभावको अस्तित्व संशोधनवादको भित्री–स्रोत हो र साम्राज्यवादको दबाबमा घुँडा टेक्नु त्यसको बाहिरी स्रोत हो ।”
मजदुरवर्गको आन्दोलनमा माक्र्सवाद अरू विचारधाराभन्दा अगाडि बढ्दै गयो । माक्र्सको मृत्युपछि मजदुर आन्दोलनको निर्देशन एङ्गेल्सले गर्नुभयो ।
एङ्गेल्सले मजदुर आन्दोलनभित्र देखापरेका अनेक माक्र्सवादविरोधी विचारहरूसँग सङ्घर्ष गर्नुभयो, त्यसकारण पनि एङ्गेल्सको शिक्षालाई माक्र्सवाद भनिन्छ ।
एकचोटि बर्नस्टिन एक कट्टर माक्र्सवादी थियो । तर, एङ्गेल्सको मृत्युपछि उसले माक्र्सवादलाई हेरफेर गर्ने कुरोलाई चर्कायो । सशस्त्र क्रान्तिबाट सर्वहारावर्गले राज्यसत्ता कब्जा गर्नु र सर्वहारावर्गको हुकुम चलाएर पुँजीवादीवर्गलाई दबाएर समाजवादको निर्माण गर्नु नै माक्र्सवादको सार हो । बर्नस्टिनले यसैलाई हेरफेर गर्ने विचार अगाडि सा¥यो । बर्नस्टिनले भन्यो कि पुँजीवाद शान्तिपूर्ण तरिकाले नै ‘समाजवादमा विकास’ हुन्छ । पुँजीवादी राज्य व्यवस्थालाई ‘ध्वस्त पार्नुपर्दैन बरु बढी विकास गर्नुपर्दछ ।’ ‘चुनाव, जुलुस र यस्तै प्रकारको दबाब’ ले पनि सुधार गर्न सकिन्छ । पहिले रगत बगाउनुपर्ने कुरामा पनि अब शान्तिपूर्वक नै हुनसक्छ । ‘बल प्रयोग’, ‘सत्ता हातमा लिने’ र ‘हुकुम’ को कुरा गर्नु आवश्यक छैन । बर्नस्टिनले यहाँसम्म भन्यो कि ‘आन्दोलन नै सबै कुरा हो । अन्तिम लक्ष्य केही पनि होइन ।’
बर्नस्टिनजस्तै काउत्स्कीले पनि पहिले माक्र्सवादलाई हेरफेर गर्ने कुरा अगाडि ल्यायो । उसले पनि ‘वर्गसङ्घर्ष’ गर्न सशस्त्र सङ्घर्ष गर्नुपर्दैन र हिंसात्मक उपायले ‘पुँजीवादी राज्यसत्ता पल्टाउने कुरा राम्रो होइन’ भनेर भन्यो । उसले ‘संसद्मा बहुमत प्राप्त गरेरै’ राज्यसत्तामा विजय पाउने कुरा ग¥यो ।
तिनीहरूका यी सबै कुरा सरासरै माक्र्सवादविरोधी जालझेल थिए । लेनिनले यस्ता बेइमानी र विश्वासघाती विचारहरूलाई काट्नुभयो र तिनीहरूलाई उदाङ्याइदिनुभयो । तिनीहरूको उद्देश्यबारे ‘माक्र्सवाद र संशोधनवाद’ भन्ने आफ्नो लेखमा लेनिनले प्रस्ट्याइदिनुभयो, “राजनैतिक क्षेत्रमा संशोधनवादीहरूले माक्र्सवादको मुख्य जग अथवा वर्गसङ्घर्षको सिद्धान्तलाई हेरफेर गर्ने साँचो प्रयत्न गरेका थिए ।”
लेनिनले अगाडि भन्नुभयो, “हरेक नयाँ परिस्थितिअनुसार आफ्नो–व्यवहार बनाउनु, आफूलाई आफैले त्यसबेलाका घटनाहरू र राजनैतिक हावापानीअनुसार फेरिदिनु सारा पुँजीवादी व्यवस्था र सारा पुँजीवादी विकासलाई बिर्सिदिनु, सर्वहारावर्गको मुख्य–मुख्य हितहरूलाई वास्तविक र झूटो अस्थायी फाइदाको निम्ति मुख्य–मुख्य फाइदाहरूलाई बलिको बोका बनाइदिनु नै संशोधनवादको नीति हो ।’
(पाठक साथीहरू, हामी यहाँ ‘संशोधनवाद’ शब्दलाई हिन्दी भाषाबाट जस्ताको तस्तै लिँदै छौँ । ‘संशोधन’ को नेपाली अर्थ ‘हेरफेर’ ‘काँटछाँट’ र ‘परिवर्तन’ आदि हुन्छ । माक्र्सवादलाई काँटछाँट र हेरफेर गर्ने सिद्धान्तलाई नै यहाँ संशोधनवाद शब्द प्रयोग गरिएको हो । माक्र्सवादमा हेरफेर र काटकुट गर्ने विचार मान्नेहरूलाई नै ‘संशोधनवादी’ शब्द प्रयोग गरिएको छ । त्यस्तै अवसरवाद शब्द पनि हिन्दी भाषाबाटै लिइएको हो । ‘अवसर’ को नेपाली अर्थ ‘मौका’ हो । बेला र मौका हेरी अस्थायी फाइदाको निम्ति मुख्य हितलाई त्यागिदिने र कुनै एक बलियो सिद्धान्तमा नअड्ने विचारलाई नै ‘अवसरवाद’ शब्द प्रयोग गरिएको हो ।)
सर्वहारावर्गभित्र पनि संशोधनवादी विचारधाराहरू किन उम्रन्छन् ? यसको उत्तर लेनिनको उक्त लेखमा पाउँछौँ – हरेक पुँजीवादी देशमा सर्वहारावर्गसँगै सधैँ स–साना पुँजीपतिहरू, स–साना मालिकहरूको पनि धेरै ठुलो सङ््ख्या हुन्छ । पुँजीवादको उदय स–साना आकारको उत्पादनबाट भएको हो र यही सानो आकारको उत्पादनबाट लगातार पुँजीवादको विकास भएको हो । पुँजीवादले निश्चितरूपबाटै समाजमा धेरै नयाँ–नयाँ ‘मध्यमवर्ग’ लाई जन्माउँछ । यी नयाँ–नयाँ स–साना उत्पादनहरू पनि त्यस्तै सर्वहारावर्गको माझमा आएर मिसिन्छन् । यो एकदमै स्वाभाविक छ कि मजदुरहरूको जनव्यापी पार्टीहरूको बिचमा बरोबर विश्वको बारेमा स–साना पुँजीपतिवर्गको दृष्टिकोण माथि उत्रिएर आउँछ ।
पुँजीवादी र साम्राज्यवादी देशहरूमा संशोधनवादको उदयको मुख्य कारणलाई उदाङ्याउनु हुँदै ‘दोस्रो अन्तर्राष्ट्रियको ध्वंस’ भन्ने रचनामा लेनिनले भन्नुभयो, ‘विशेषाधिकार प्राप्त श्रमिकहरूको एक तहले–तुलनात्मकरूपले धेरै शान्तिपूर्ण र सुसंस्कृत जीवन बिताउँथे । त्यसले तिनीहरूलाई ‘पुँजीवादी’ बनाइदियो । तिनीहरूलाई आफ्नै राष्ट्रिय पुँजीको नाफाबाट एक टुक्रा दिलाइयो र तिनीहरूलाई बर्बाद भएको र गरिबीले जनताको दुःख–कष्ट र क्रान्तिकारी भावनाबाट अलग गराइदियो ।
संशोधनवाद कसरी चर्केर आउँछ ? जब–जब सर्वहारा आन्दोलन बढ्दै जान्छ र शक्तिशाली हुँदै जान्छ, पुँजीवादी शक्ति झन्झन् नयाँ–नयाँ दाउपेच लगाउँछन् र मजदुर आन्दोलनलाई फुट पारेर निर्बलियो बनाउन खोज्छन् । लेनिनले यस कुरालाई “युरोपको श्रमिक आन्दोलनमा मतभेद’ भन्ने रचनामा प्रस्ट शब्दमा भन्नुभएको छ, “पुँजीवादी काम कारबाहीका यी दाउपेचहरू श्रमिक आन्दोलनभित्र संशोधनवादलाई बढावा दिन्छन् र श्रमिक आन्दोलनभित्र मतभेदलाई कहिलेकाहीँ आन्दोलनमा सीधै फाटो पार्नेसम्म चर्काइदिन्छन् ।”
यी कुरा लेनिनले ५० वर्षअगाडि भन्नुभएको थियो । तर, आज पनि त्यत्तिकै सत्य छ र झन् महत्वपूर्ण भएको छ । झन्झन् सङ्कटमा पर्दै गएको पुँजीवाद आफ्नो आयु बढाउन अनेक जालझेल रच्छ । समाजवादी देशमा यसलाई झन् चर्काउन खोज्छन् र वर्गसङ्घर्ष झन् चर्काे र जेलिएको हुन्छ । पुँजीवादी समाजमा राष्ट्रिय पुँजीको नाफाको एक टुक्रा भाग र सहुलियत पाएका श्रमिक नेताहरू ‘पुँजीवादी’ भएजस्तै समाजवादी समाजका ‘विशेष सहुलियत पाएका’ नेताहरू ‘संशोधनवादी’ हुन पुग्छन् । छोटोमा, संशोधनवाद भनेको मजदुर आन्दोलनभित्र देखापर्ने पुँजीवादी विचारधारा हो । यस कुरालाई संसारका सबै माक्र्सवादी–लेनिनवादीहरू मान्दछन् । सन् १९५७ मा मस्कोमा समाजवादी देशहरूका कम्युनिस्ट र मजदुर पार्टीहरूको एक बैठक भएको थियो । त्यस बैठकको घोषणापत्रमा भनिएको थियो, “अहिलेको समयमा सबभन्दा ठुलो खतरा संशोधनवाद अथवा अर्काे भाषामा, दक्षिणपन्थी अवसरवाद हो, जो पुँजीवादी विचारधाराबाट जन्मेर मजदुरवर्गको क्रान्तिकारी शक्तिलाई बुच्चो बनाउँछ र पुँजीवादलाई सुरक्षित राख्न या फेरि स्थापना गर्न माग गर्छ ।”
समाजवादी देशमा पनि संशोधनवादी विचार देखिन थालेको र देखिने भएकोले ‘घोषणापत्र’ अगाडि भन्छ– “सत्ताबाट वञ्चित पुँजीपतिवर्ग फेरि सत्तामा आउने कोसिस गर्छ । पुँजीपति वर्ग, अर्ध–पुँजीवादी, मध्यमवर्ग र तिनीहरूका बुद्धिजीवीहरूको प्रभाव अहिले पनि समाजमा धेरै छ । पुँजीवादी प्रभावको अस्तित्व संशोधनवादको भित्री–स्रोत हो र साम्राज्यवादको दबाबमा घुँडा टेक्नु त्यसको बाहिरी स्रोत हो ।”
सन् १९५७ को मस्को घोषणापत्रलाई वास्तै नगरी युगोस्लाभियाली कम्युनिस्ट लिगको नेतृत्व गुट आफ्नै संशोधनवादी बाटोमा लागिरह्यो । सन् १९६० मा मस्कोमा फेरि ८१ वटा कम्युनिस्ट र मजदुर पार्टीहरूको बैठक भयो । त्यस बैठकले युगोस्लाभियाली संशोधनवादी ‘सिद्धान्त’ लाई निन्दा ग¥यो । त्यस बैठकको वक्तव्यमा भनिएको थियो– “कम्युनिस्ट पार्टीहरूले एकै स्वरले अन्तर्राष्ट्रिय अवसरवादको युगोस्लाभियाली रूपलाई निन्दा गरेका छन्, जो नयाँ संशोधनवादी ‘सिद्धान्त’ हरूको खारिएको मार्का हो ।”
अन्तर्राष्ट्रिय कम्युनिस्ट र मजदुर पार्टीहरूको निर्णयको विरोधमा खु्रश्चेभ र रुसी नेतृत्व गुटले तुरुन्तै त्यस युगोस्लाभियाली धोकेबाज गुटसँग मेलमिलाप गरेर संशोधनवादको नाङ्गो रूप देखाइदिए । लेनिनले आफ्नो रचना ‘माक्र्सवाद र संशोधनवाद’ मा सही भन्नुभएको छ, “संशोधनवाद एक अन्तर्राष्ट्रिय घटना हो ।”
माथिका यी सबै कुराले प्रस्ट गर्छ कि रूसी नेताहरू नयाँ संशोधनवाद हुन् । बर्नस्टिन र काउत्स्की पुराना संशोधनवादी धोकेबाजहरू हुन् । तिनीहरू युगोस्लाभियाली धोकेबाज गुटसँग मिलेर रूस र अरू ठाउँमा पनि नयाँ संशोधनवाद लागु गर्न चाहन्थे । समाजवादी देशहरूमा फेरि पुँजीवादी व्यवस्था ल्याउन चाहन्थे । ती संशोधनवादीहरू समाजवादी देशमा पुँजीवाद फेरि स्थापना हुनसक्दैन र पुँजीवादको ऐतिहासिक अवधि नाघिसकेको छ भनेर आफ्नो कालो कर्तुतमा पर्दा हाल्न खोज्थे ।
स्रोतः रुसी संशोधनवाद सामाजिक साम्राज्यवादमा पतन

Leave a Reply

Your email address will not be published. Required fields are marked *