भर्खरै :

क्युवाद्वारा अमेरिकासँग वार्ता सुरु भएको जानकारी

  • चैत्र १, २०८२
  • पाब्लो मेरिगेट
  • विचार
क्युवाद्वारा अमेरिकासँग वार्ता सुरु भएको जानकारी

हवाना । क्युवाका राष्ट्रपति मिगुएल डियाज–कानेलले एक पत्रकार सम्मेलन गर्दै आफ्नो सरकार र अमेरिका सरकारका अधिकारीहरूबिच हाल वार्ता भइरहेको जानकारी दिनुभएको छ । राष्ट्रपतिका अनुसार यी वार्ताहरूलाई अन्तर्राष्ट्रिय सहजकर्ताहरूले सहयोग गरिरहेका छन् । यद्यपि, उहाँले ती सहजकर्ताहरूको नाम भने खुलाउनु भएन ।
उहाँले यस वार्ताका तीनवटा आधारभूत उद्देश्यहरू पनि उल्लेख गर्नुभएको छ :
– कुन–कुन द्विपक्षीय मुद्दाहरू समाधान गर्न आवश्यक छ भन्ने कुराको पहिचान गर्ने ।
– ती मुद्दाहरू समाधानका लागि सम्भावित बाटाहरू तय गर्ने ।
– दुवै देशका जनताको हितका लागि ठोस कदम चाल्ने इच्छाशक्ति छ वा छैन भन्ने कुराको निक्र्योल गर्ने । जसमा साझा खतराहरू सम्बोधन गर्न र दुवै देशको सुरक्षा र शान्ति सुनिश्चित गर्न सहयोगका क्षेत्रहरू पहिचान गर्ने कार्य समावेश छ ।
यसका साथै, अर्को एक सम्बोधनका क्रममा डियाज–कानेलले आगामी दिनहरूमा अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (FBI) को ‘सम्भावित भ्रमण’ हुन सक्ने बताउनुभयो । यो भ्रमण सशस्त्र चालक दलका सदस्यहरू बोकेको डुङ्गा क्युवाली जलक्षेत्रमा प्रवेश गरेको र क्युवाको सशस्त्र बलले त्यसलाई धपाएको घटनाको बारेमा अनुसन्धान हुन लागेको हो ।
क्युवाली राष्ट्रपतिले उक्त घुसपैठलाई ‘अमेरिकी क्षेत्रबाटै वित्त पोषित र सङ्गठित आतङ्कवादी उद्देश्यका लागि गरिएको सशस्त्र घुसपैठ’ को संज्ञा दिनुभयो । यद्यपि, उहाँले अनुसन्धानमा एफबिआईको सहभागिताप्रति खुलापन व्यक्त गर्नुभयो । उहाँले भने, “यस घटनासम्बन्धी जानकारी तत्कालै हाम्रो अमेरिकी समकक्षलाई उपलब्ध गराइएको थियो, जसले कूटनीतिक र कन्सुलर च्यानलहरूमार्फत तथ्यहरू स्पष्ट पार्न संयुक्तरूपमा सहभागी हुने इच्छा व्यक्त गरेको छ ।”
यसैबिच, ‘भ्याटिकनको मध्यस्थता’ मा ५१ जना बन्दीहरूलाई रिहा गर्ने हवानाको घोषणा पनि यसमा थपिएको छ । डियाज–कानेलका अनुसार, “ती सबैले आफ्नो सजायको ठुलो हिस्सा भुक्तान गरिसकेका छन् र जेलमा रहँदा राम्रो आचरण कायम राखेका थिए ।”
यस प्रकार, यो स्पष्ट हुन्छ कि क्युवा र अमेरिकी सरकारहरूबिच कुनै न कुनै रूपमा सञ्चार र वार्ताका निश्चित माध्यमहरू पुनः स्थापित भएका छन् । यसले हाल क्युवामा व्याप्त गम्भीर ऊर्जा सङ्कटलाई कम गर्ने मार्गप्रशस्त गर्न सक्ने देखिन्छ ।
अमेरिकी नाकाबन्दी र क्युवालाई तेल बेच्ने कुनै पनि देशमाथि १० प्रतिशत महसुल बढाउने ट्रम्प प्रशासनको हालैको चेतावनीका कारण क्युवा अहिले इतिहासकै सबैभन्दा खराब ऊर्जा सङ्कटको सामना गरिरहेको छ । क्युवाको विद्युतीय, औद्योगिक र व्यावसायिक प्रणालीहरू इन्धनमा आधारित हुनाले अमेरिकी नाकाबन्दीका कारण प्रत्यक्ष रूपमा अस्पताल, विद्यालय, घर, पसल र अन्य क्षेत्रहरूलाई प्रभावित पारेको छ ।
केही विज्ञहरूले यस स्थितिलाई हवानाको क्रान्तिकारी सरकार ढाल्ने वासिङ्टनको चाहनाद्वारा सिर्जित ‘मानव–निर्मित मानवीय सङ्कट’ भनेका छन् । संयुक्त राष्ट्र सङ्घका अनुसार, ट्रम्प प्रशासनको निर्णयले देशका विभिन्न क्षेत्रहरूमा समस्या निम्त्याइरहेको छ । अत्यावश्यक सेवाहरूमा भारी कटौती गरिएको छ, गम्भीर बिरामीहरूको उपचार हुन सकेको छैन, गर्भवती महिलाहरूले उचित हेरचाह पाइरहेका छैनन् र खानेपानी आपूर्ति ट्याङ्करमा निर्भर हुनाले करिब १० प्रतिशत जनसङ्ख्याले नियमित रूपमा पानी पाउन सकेका छैनन् ।
केही हप्ता अघि, ट्रम्पले क्युवालाई इन्धन निर्यात गर्ने एकमात्र देश अमेरिका रहने सर्तमा तेल बेच्न सुरु गर्ने घोषणा गरेका थिए । यद्यपि, राष्ट्रपति डियाज–कानेलले पछिल्लो तीन महिनामा इन्धन बोकेको एउटा जहाज पनि क्युवाली टापुमा नपुगेको जानकारी दिनुभयो । संयुक्त राष्ट्र सङ्घका अनुसार, हालै “सर्वोच्च अदालतको एक फैसलाले यस सन्दर्भमा संयुक्त राज्य अमेरिकाले आपत्कालीन आर्थिक कानुन प्रयोग गर्नु गैरकानुनी ठह¥याए तापनि” यो अवस्था कायमै छ ।
वासिङ्टनका मागहरू के हुनेछन् र क्युवाको क्रान्तिकारी सरकारले कतिसम्म सम्झौता गर्नेछ भन्ने कुरा अझै निश्चित भइसकेको छैन । वास्तविकता के हो भने, ट्रम्प प्रशासनले सन् १९५९ मा सुरु भएको क्रान्तिकारी प्रक्रियालाई ध्वस्त पार्ने आफ्नो इच्छा लुकाएको छैन । आधुनिक इतिहासकै सबैभन्दा लामो आर्थिक र व्यावसायिक नाकाबन्दी, वासिङ्टनद्वारा पोषित आक्रमण र सैन्य कारबाहीहरू वा हालको ऊर्जा सङ्कटमार्फत क्युवालाई भित्रैदेखि कमजोर बनाउने प्रयास जुनसुकै माध्यमबाट भए पनि अमेरिकाले यस क्यारिबियन राष्ट्रप्रति आक्रामक र शत्रुतापूर्ण परराष्ट्र नीति अपनाउँदै आएको छ ।
स्रोत : पिपुल्स डिस्प्याच

Leave a Reply

Your email address will not be published. Required fields are marked *