युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
मलाई केही भन्नु छ । म आफ्नी आमाकी छोरी हुँ, त्यसैले पनि आफ्ना काँधहरू सिधा पारेर म यो कुरा राख्न चाहन्छु । यो एउटा यस्तो युद्धको बारेमा सानो वक्तव्य हो, जसले अब सारा विश्वलाई नै निल्नेवाला छ । मलाई थाहा छ, हामी यहाँ ‘मदर मेरी’ को आगमनका बारेमा चर्चा गर्न भेला भएका छौँ । तर अहिले आगोको लप्का दन्किरहेका ती सुन्दर सहरहरू तेहरान, इस्फाहान र बेरुतहरूका बारेमा कुरा नगरी यो दिनको अन्त्य कसरी हुन सक्छ र ?
मदर मेरीको त्यो स्पष्टवादिता र ‘अशिष्ट’ स्वभावलाई आत्मसात् गर्दै, म यो मञ्चको प्रयोग संयुक्त राज्य अमेरिका र इजरायलले इरानमाथि गरेको उक्साहटविहीन र अवैध आक्रमणको विरुद्धमा केही भन्नका लागि गर्न चाहन्छु । यो वास्तवमा गाजामा चलिरहेको अमेरिकी–इजरायली नरसंहारकै निरन्तरता हो । त्यही पुरानो नरसंहार र त्यही पुरानो दाउपेच– महिला र बालबालिकाको हत्या गर्ने, अस्पतालहरूमा बम बर्साउने, सहरहरूलाई ध्वस्त पार्ने र अन्त्यमा आफैँ पीडित भएको स्वाङ पार्ने । तर इरान गाजा होइन । यो नयाँ युद्धको रङ्गमञ्चले सारा विश्वलाई नै आफ्नो चपेटामा पार्न सक्छ । हामी अहिले आणविक विपत्ति र आर्थिक पतनको सङ्घारमा उभिएका छौँ । जसले हिरोशिमा र नागासाकीमा बम खसाल्यो, त्यही देश आज विश्वकै सबैभन्दा प्राचीन सभ्यताहरूमध्ये एकलाई ध्वस्त पार्न तम्तयार देखिन्छ । यस विषयमा विस्तारमा कुरा गर्ने अन्य अवसरहरू आउलान्, तर अहिलेलाई म यति मात्र भन्छु कि म निःसन्देह इरानको पक्षमा उभिएकी छु ।
कुनै पनि सत्ता परिवर्तन हुनुपर्छ भने, चाहे त्यो अमेरिका होस्, इजरायल होस् वा हाम्रो आफ्नै देश– त्यो त्यहाँका जनताद्वारा हुनुपर्छ । सारा संसारलाई धम्क्याएर आफ्नो मातहन राख्न खोजिरहेका कुनै फुर्किएका, झुट बोल्ने, ठगी गर्ने, लोभी, प्राकृतिक स्रोत लुट्ने र बम बर्साउने साम्राज्यवादी शक्ति र तिनका मतियारहरूद्वारा होइन । भारत डराइरहेको बेला इरानले उनीहरूको डटेर सामना गरिरहेको छ । हाम्रो सरकार यति काँतर र मेरुदण्डविहीन भएको देख्दा मलाई लाज लाग्छ । धेरै पहिले, हामी गरिब जनता बस्ने एउटा गरिब देश थियौँ, तर हामीसँग आत्मसम्मान थियो, मर्यादा थियो । आज हामी एउटा धनी देश त भयौँ, तर यहाँका गरिब र बेरोजगार जनतालाई वास्तविक खानाको सट्टा घृणा, विष र झुटको खुराक खुवाइँदै छ । हामीले आफ्नो गर्व र मर्यादा गुमाएका छौँ । चलचित्रका पर्दामा बाहेक हामीले आफ्नो साहस पनि गुमाइसकेका छौँ ।
हामी कस्ता मानिस हौँ, जसले चुनेको सरकारले अर्को देशको राष्ट्रप्रमुखलाई अपहरण र हत्या गर्दा अमेरिकाको निन्दासम्म गर्न सक्दैन ? के हामीलाई आफूमाथि यस्तो भएको स्वीकार्य हुन्थ्यो ? हाम्रा प्रधानमन्त्री इजरायल भ्रमणमा गएर बेन्जामिन नेतन्याहुलाई अङ्कमाल गर्छन्, र त्यसको केही दिनमै नेतन्याहुले इरानमाथि आक्रमण गर्छन् । यसको अर्थ के हो ? अमेरिकी सर्वोच्च अदालतले ट्रम्पको भन्सार शुल्कलाई अवैध घोषणा गर्नुभन्दा केही दिनअघि मात्रै हाम्रो सरकारले अमेरिकासँग एउटा लम्पसारवादी व्यापार सम्झौता गर्छ, जसले हाम्रा किसान र कपडा उद्योगलाई बिचधारमै अलपत्र पारिदिन्छ । अहिले हामीलाई रुसबाट तेल किन्न ‘अनुमति’ दिइएको छ रे ! यसको अर्थ के हो ? अब हामीलाई अरू के के का लागि अनुमति चाहिन्छ ? शौचालय जान, कामबाट एक दिन बिदा लिन वा आफ्नी आमालाई भेट्न जान पनि ? डोनाल्ड ट्रम्पलगायत अमेरिकी राजनीतिज्ञहरूले हरेक दिन सार्वजनिक रूपमा हाम्रो खिल्ली उडाउँछन्, अपमान गर्छन्; तर हाम्रा प्रधानमन्त्री भने आफ्नो त्यही प्रसिद्ध र अर्थहीन हाँसो हाँस्दै उनीहरूलाई अङ्कमाल गरिरहन्छन् ।
गाजामा नरसंहार चरम उत्कर्षमा पुगेका बेला भारत सरकारले हजारौँ गरिब भारतीय कामदारहरूलाई इजरायल पठायो, ताकि त्यहाँबाट निकालिएका प्यालेस्टिनी कामदारहरूको ठाउँ ओगट्न सकियोस् । आज इजरायलीहरू बङ्करमा शरण लिइरहँदा ती भारतीय कामदारहरूलाई भने ती सुरक्षित ठाउँहरूमा पस्न अनुमति दिइएको छैन भन्ने सुनिँदै छ । आखिर यो सब के भइरहेको छ ? हामीलाई विश्वको यो अत्यन्तै अपमानजनक, निर्लज्ज र घिनलाग्दो अवस्थामा कसले पु¥यायो ? कतिपयलाई याद होला, हामी पहिले त्यो अतिरञ्जित चिनियाँ कम्युनिष्ट शब्द ‘साम्राज्यवादको पाल्तु कुकुर’ (Running dog of imperialism) भन्दै ठट्टा गथ्र्यौँ। तर अहिले म भन्छु, यो शब्दले हाम्रो अवस्थाको ठ्याक्कै चित्रण गर्छ– हाम्रा ती विकृत र विषालु चलचित्रहरूमा बाहेक, जहाँ हाम्रा नायकहरू एउटा काल्पनिक युद्धपछि अर्को युद्ध जित्दै हिँड्छन् । बुद्धि नभएका, केवल मांसपेसी मात्र भएका ती पात्रहरूले अनावश्यक हिंसा र ‘गोबर’ भरिएको दिमाग प्रदर्शन गर्दै हाम्रो रगतको तिर्खालाई अझ बढावा दिइरहेका छन् ।
– द वायर ‘Iran is Not Gaza’ को नेपाली अनुवाद
Leave a Reply