युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
सन् २००३ मा मेजर जनरल मोहम्मद अली जाफरीले अमेरिकी सेनाले सद्दाम हुसेनको केन्द्रीकृत सैन्य संरचनालाई मात्र तीन हप्तामा ध्वस्त पारेको नजिकबाट नियाले । त्यसपछिका चार वर्ष उनले आईआरजीसी (IRGC) रणनीतिक अध्ययन केन्द्रमा बिताए, जहाँ उनले कहिल्यै ‘शिरच्छेदन’ (Decapitate) गर्न नसकिने खालको सैन्य वास्तुकलाको रूपरेखा तयार गरे । सन् २००७ सेप्टेम्बरमा आईआरजीसी कमान्डर नियुक्त भएलगत्तै उनले इरानको सम्पूर्ण सेनालाई ३१ वटा स्वायत्त प्रान्तीय कमान्डहरूमा पुनर्गठित गरे । प्रत्येक प्रान्तको आफ्नै स्वतन्त्र मुख्यालय, कमान्ड र नियन्त्रण प्रणाली, मिसाइल र ड्रोन भण्डार, द्रुत–आक्रमण डुङ्गा दस्ता, एकीकृत बासिज मिलिसिया र पूर्व–नियोजित सैन्य परिचालनको अधिकार थियो । यसको एउटै उद्देश्य थियो – सर्वोच्च नेताको मृत्युपछिको परिस्थिति सम्हाल्नु ।
त्यो परिस्थिति २८ फेब्रुअरी २०२६ मा आइलाग्यो । सैन्य सिद्धान्त केही घण्टामै सक्रिय भयो र त्यसबेलादेखि यो निरन्तर चलिरहेको छ । अब कसैले नसोधेको प्रश्न यो हो कि के इस्लामिक गणतन्त्रभित्र कसैले यसलाई रोक्न वा बन्द गर्न सक्छ ? सक्दैन । यसको कारण संवैधानिक छ ।
इरानको १९७९ को संविधानको धारा ११० ले सबै सशस्त्र बलहरूको एकमात्र कमान्ड अधिकार सर्वोच्च नेतामा निहित गरेको छ । उनी मात्र कमान्डर–इन–चिफ हुन् । सैन्य नेतृत्व नियुक्त गर्ने वा बर्खास्त गर्ने एकल अधिकार उनकै मात्र हो । राष्ट्रपति, संसद्, गार्डियन काउन्सिल वा न्यायपालिका – कसैसँग पनि सैन्य आदेश जारी गर्ने वा सर्वोच्च नेताका निर्देशनहरू रद्ध गर्ने संवैधानिक शक्ति छैन ।
अली खामेनीले यी पूर्व–प्रत्यायोजित (Pre-delegated) आदेशहरू जारी गरेका थिए, तर अहिले अली खामेनी जीवित छैनन् । ८ मार्चमा उत्तराधिकारी नियुक्त मोज्तबा खामेनीले यसबारे बोलेका छैनन्, कतै देखिएका छैनन् र उनले कुनै पनि प्रमाणित आदेश जारी गरेका छैनन् । उनी हवाई आक्रमणमा घाइते भएका थिए र उनले आफ्नो जीवनमा कहिल्यै राष्ट्रका नाममा सम्बोधन गरेका छैनन् । ती ३१ वटा स्वायत्त कमान्डहरूलाई खारेज गर्न सक्ने एकमात्र संवैधानिक अधिकार यस्तो व्यक्तिको हातमा छ, जो सायद त्यो प्रयोग गर्न सक्षम नै छैनन् ।
कालिबाफ (इरानको संसद्का सभामुख) ले युद्धविराम अस्वीकार गर्न सक्छन्, तर उनले आईआरजीसीलाई रोकिन आदेश दिन सक्दैनन् । राष्ट्रपति पेजेस्कियानले विज्ञप्ति जारी गर्न सक्छन्, तर उनले बुशेरमा ट्याङ्करमा एन्टी–शिप मिसाइल प्रहार गरिरहेका प्रान्तीय कमान्डरलाई रोक्न सक्दैनन् । गार्डियन काउन्सिलले कानुनको जाँच गर्नसक्छ तर उसले मृत कमान्डर–इन–चिफद्वारा जारी गरिएको फायरिङ अधिकार फिर्ता लिन सक्दैन । ती आदेशहरू कानुनी रूपमा तबसम्म बाध्यकारी रहन्छन् जबसम्म कुनै जीवित कमान्डरले स्पष्ट रूपमा तिनलाई खारेज गर्दैन । अहिलेसम्म कुनै जीवित कमान्डरले त्यसो गरेको छैन ।
ती ३१ कमान्डहरूले आज्ञा उल्लङ्घन गरिरहेका छैनन्, बरू उनीहरू त आज्ञा पालन गरिरहेका छन् । अन्तिम आदेश थियो : “स्वतन्त्र रूपमा लड्नुहोस्, आफूसँग जे छ त्यसैले लड्नुहोस्, जति समय लाग्छ लड्नुहोस् र त्यस्ता निर्देशनहरूको प्रतीक्षा नगर्नुहोस् जुन सायद कहिल्यै आउने छैनन् ।” ती आदेशहरू जारी गर्ने मान्छेको मृत्युपछि पनि बाँच्ने गरी बनाइएका थिए । जाफरीको बीसवर्षे परियोजनाको सम्पूर्ण उद्देश्य नै यही थियो ।
बीमा कम्पनीहरूका लागि : कुनै पनि पक्षले ३१ स्वतन्त्र पात्रहरूमा युद्ध रोकिने ग्यारेन्टी दिन सक्दैन ।
कूटनीतिज्ञहरूका लागि : कुनै पनि हस्ताक्षरकर्ताले ती कमान्डहरूलाई बाँध्न सक्दैन जुन उनीहरूको नियन्त्रणमै छैन ।
सैन्य योजनाकारहरूका लागि : त्यस्तो कुनै एउटै मुख्यालय छैन जसलाई नष्ट गर्दा यो अभियान समाप्त होस् ।
खाडी मुलुकहरूका लागि : प्रत्येकले छिमेकी इरानी प्रान्तका द्रुत–आक्रमण डुङ्गा, ड्रोन र तटीय मिसाइलहरूबाट स्थानीय स्तरमै हैरानी खेप्नुपर्नेछ, जसलाई रोक्न वा वार्ता गर्न कुनै केन्द्रीय संयन्त्र छैन ।
बजारका लागि : तेल ढुवानीसम्बन्धी बीमा गर्ने सातवटा ‘पी एन्ड आई’ क्लवहरूले सबै ३१ कमान्डहरूले एकैसाथ कुनै सम्झौता पालना गर्ने सम्भावनाको अध्ययन गरे र निष्कर्ष निकाले– शून्यको नजिक । त्यो गणना बदलिएको छैन, किनकि आदेश पालना गराउन सक्ने संवैधानिक संयन्त्र नै कार्यात्मक रूपमा अस्तित्वमा छैन ।
यो सैन्य सिद्धान्त जित्नका लागि बनाइएको थिएन । यो हार्न असम्भव बनाउनका लागि बनाइएको थियो । जाफरीले केन्द्रीकृत सेनाहरू कसरी ढल्छन् भन्ने अध्ययन गरे र एउटा यस्तो सेना बनाए जुन कहिल्यै ढल्न सक्दैन ।
मेसिन चालकबिना चलिरहेको छ । चालक मृत छ । संविधान भन्छ– केवल चालकले मात्र यसलाई बन्द गर्नसक्छ ।
(शानका एन्स्लेम परेरा श्रीलङ्काली राजनीतिक चिन्तक र लेखक हुन्, जसले विशेष गरी दक्षिण एसियाली राजनीति, राष्ट्रवाद र राज्य निर्माणका सिद्धान्तहरूमा केन्द्रित रहेर विश्लेषण गर्छन् । उनी आफ्ना लेखहरूमा ऐतिहासिक सन्दर्भ र दार्शनिक भाषाको प्रयोग गर्दै समकालीन शक्ति राजनीतिको आलोचनात्मक व्याख्या गर्ने गर्छन् ।)
Leave a Reply