भर्खरै :

नगरवासीको हित र सुरक्षामा केन्द्रित भई काम गर्न नगर प्रमुखको आग्रह

नगरवासीको हित र सुरक्षामा केन्द्रित भई काम गर्न नगर प्रमुखको आग्रह

भक्तपुर, २ चैत । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सोमबार नगर प्रहरी, वडा निरीक्षक र बजार व्यवस्थापकहरूसँग बैठक बस्यो । बैठकमा नगरको फोहोर, ढल, सडक, पार्किङ, तरकारी बजार व्यवस्थापन, अनियमित निर्माण, सामुदायिक पशुपक्षी नियन्त्रण, निर्माण सामग्री व्यवस्थापन, मर्मत सम्भार, उच्छृङ्खल गतिविधि, पर्ती र सार्वजनिक जग्गा संरक्षण तथा हकर्स नियन्त्रण आदि विषयमा छलफल भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले भक्तपुर ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक महत्वको दृष्टिले देशकै महत्वपूर्ण नगर भएको बताउँदै भक्तपुर नगरपालिकाले यहाँका मूर्त तथा अमूर्त कला र संस्कृति तथा सम्पदाहरूलाई जीवन्तता दिने काम गरिरहेको बताउनुभयो ।
नगरपालिकाको नीति, योजना र कार्यक्रम जनतासमक्ष लैजाने काम कर्मचारीहरूबाट हुने उल्लेख गर्दै उहाँले कर्मचारीहरू ज्ञान, सीप र क्षमताका हिसाबले अब्बल हुने हुँदा आफ्नो राम्रो बोली, व्यवहार र आचरण प्रस्तुत गरेर काम गर्नुपर्ने बताउनुभयो ।
नगरवासीको हित र सुरक्षामा केन्द्रित भई काम गर्न आग्रह गर्दै उहाँले नगर प्रहरी, वडा निरीक्षकले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो ।
जनतालाई सास्ती हुने कुनै पनि काम गर्न नहुने बताउँदै उहाँले कर्मचारीहरू व्यक्तिगत फाइदाको लागि काम गर्न नहुने र जनताको अपेक्षाअनुसार परिचालित हुनु जरुरी रहेको बताउनुभयो ।
उक्त बैठकमा नगरपालिकाका प्रशासकीय अधिकृत दामोदर सुवालले कर्मचारीहरूमा नागरिकहरूमा भन्दा बढी नागरिक भावना हुनुपर्ने बताउँदै जनताले नगरपालिका र कर्मचारीहरूको काम नजिकबाट सूक्ष्म ढङ्ग नियालिरहेको हुने हुँदा सचेत र विवेकशील ढङ्गले काम गर्नुपर्ने बताउनुभयो ।
बैठकमा उपस्थित कर्मचारीहरूले नगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *