भर्खरै :

मृत्यु शैय्यामा छट्पटाइरहेको पूँजीवादको मृत्यु निश्चित छ

-सुरेन्द्रराज गोसाई
विश्वका कामदार जनता अत्यन्त उत्साहका साथ, संघर्षशील भावनाका साथ यसरीनै गतिविधि गर्दैछन् । हामी ती प्रगतिशील तथा क्रान्तिकारी जनताप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्दछौं । साथै सम्र्पूण नेपाली मजदुर–किसान तथा दाजुभाइ– दिदीबहिनीहरुमा मई दिवसको भावना आत्मसात् गर्दै नयाँ संघर्षको तयारीमा जुटौं भन्ने अपिल गर्दछु ।
रुसी अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकी विश्वभर अनेकौं गतिविधिका साथ उल्लासमय वातावरणमा हालै मात्र सम्पन्न भयो । विश्वका श्रमजीवी जनताले खुशी मनाए, समाजवादका पक्षधर या समर्थक, चिन्तक तथा बौद्धिकहरुले वहस, छलफल एवं चर्चा–परिचर्चा गरे र समाजवादको महत्व उजिल्याए । विश्व मजदुर आन्दोलनले नयाँ ऊर्जा हासिल ग¥यो, साम्राज्यवादविरोधी संघर्षले थप तागत प्राप्त ग¥यो र न्यायप्रेमी तथा शान्तिकामी जनताले नयाँ बिहानीको किरण भेटाए । विश्व समाजवादी आन्दोलन नयाँ नयाँ उपलब्धि चुम्दै, सफलता हासिल गर्दै अगाडि बढिरहेको र रक्षात्मक स्थितिबाट माथि उठ्ने सत्प्रयाश गरिरहेको अनुभव गरिइँदैछ । विश्वको मजदुर वर्गीय आन्दोलन नागबेली बाटो हुँदै अगाडि बढिरहेको वास्तविकता हो र यो अब रोकेर रोकिन्न ।
यो वर्ष विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको जन्मको दुई शताब्दीको वर्ष हो । विश्वका परिवर्तनवादी, मुक्तिकामी, प्रगतिशील समुदाय, क्रान्तिकारी जनता तथा कामदार वर्ग कार्ल माक्र्सप्रति असीम श्रद्धा ब्यक्त गर्दैछन् र माक्र्सवादको अजेय हतियारलाई अझ धारिलो बनाउँदै आमूल परिवर्तनको निम्ति झन सशक्त आन्दोलन उठाउने तयारीमा जुट्दैछन्, क्रान्तिको लागि अनुकूल परिस्थिति निर्माण गर्दैछन् ।
आजभन्दा १३५ वर्ष अगाडि कार्ल माक्र्सको देहावसान भएसँगै वर्नस्टिन र उनका आधुनिक संस्करणहरुले माक्र्सवादलाई असान्दर्भिक सिद्ध गर्ने र असफल बनाउने कयौं कुचेष्टा गरे, बारम्बार हमला गरे । तर समयले तिनीहरुलाई धोकेबाज ठह¥याउँदैछ, गलत सावित गर्दैछ ।
आज विश्व पूँजीवाद चरम् संकटबीच गुज्रिइँदैछ । पूँजीवाद पाइला–पाइलामा ठक्कर खाँदैछ, पल पलमा हार बेहोर्दैछ । पूँजीवाद अफ्रिका, एशिया, ल्याटिन अमेरिकामा असफल सावित भइरहेको छ । युरोप स्वय्म अशान्त एवं अस्थीर छ । संरा अमेरिका आज आफै आतंकित छ र त्यहाँका जनता आफ्नै शासक देखेर लज्जित छन् र तिनको कार्यशैलीप्रति असन्तुष्ट छन्, तिनको विग्रंदो छविका कारण हिनताबोधले ग्रस्त छन् र जनताबीच निराशा ब्यापक छाएको छ । यसको विपरित समाजवादी देशहरु विश्व मानव समुदायको हितलाई लक्षित गर्दै पाइला चाल्दैछन् र हरेक हिसावले परिपक्वता देखाउँदैछन् । विश्व पूँजीवाद खोक्रो बन्दै गइरहेको, जीर्ण हुँदै गइरहेको जति यथार्थ हो समाजवादले समृद्धिको यात्रा तय गरिसकेको, साझा उद्देश्य हासिल गर्ने संकल्पकासाथ लम्किसकेको त्यति नै साँचो हो । पूँजीवादले जन्मँदै बोकेर ल्याएका खराबीका कारण त्यसप्रतिको घृणा उत्कर्षमा पुग्दैछ र समाजवादको अवश्यंभाव्यताप्रति जनताको विश्वास बढ्दो छ । साम्राज्यवादको कुरुपता, निर्ममता, अमानवीयता, दानवीय चरित्र र नरसंहारकारी युद्धका कारण विश्वका न्यायप्रेमी तथा शान्तिकामी जनता हैरान भइसकेका छन् । तिनीहरुको आक्रोश बढ्दो छ र बदला लिन तम्सिसकेका छन् । साम्राज्यवादीहरु आफ्नै घरभित्र आफ्नै जनताबाट घेरिइँदैछन्, चर्को दबाब झेल्दैछन् । र अन्तर्राष्ट्रिय दबुमा वद्नामी कामाउँदैछन् । अन्तर्राष्ट्रिय परिस्थिति समाजवादको पक्षमा तयार हुँदैछ भन्नेमा अब कुनै शंका छैन । समाजवादको यो लहर समाजवादको यो उभारलाई अब विश्वको कुनैपनि तागतले रोकेर रोक्न सक्ने छैन । माक्र्सवादको मृत्युको उत्सव मनाउन हतारिएकाहरु, समाजवादको शवदहन भएको घोषणा गरी हाँसेकाहरु कति मूर्ख थिए, कति झुठा थिए आज विश्व अनुभव गर्दैछ । तिनीहरुको त्यो पागलपनप्रति आज विश्व हाँस्दैछ । आफ्नो अपराधको कर्म आज तिनीहरु भोग्दैछन् । यो माक्र्स र माक्र्सको विचार तथा सिद्धान्तको विजय हो ।
नेपाल मजदुर किसान पार्टी माक्र्सवादी लेनिनवादी विचारअनुसार समाजवादी व्यवस्था यो नेपाली भूमिमा स्थापना गर्ने उद्देश्यका साथ संघर्षरत छ । एमाले, माओवादीजस्ता नक्कली कम्युनिष्ट, संशोधनवादी तथा अवसरवादीहरुविरुद्ध वैचारिक तथा सैद्धान्तिक संघर्ष निरन्तर चालू छ । ती क्रान्तिविरोधीहरुलाई छ्यास्नु र उदाँग्याउनु स्वय्म क्रान्तिको सेवा हो र माक्र्सवादको प्रतिरक्षा हो । तिनीहरुप्रति उदार हुनु, नरम हुनु स्वय्म आत्मसर्पणवाद हो । ती हरियो घाँसभित्र लुकेका सर्पलाई पाल्नु, पोस्नु भनेको क्रान्तिप्रतिको बेइमानी हो । माक्र्सवाद, लेनिनवाद र तथाकथित ‘माओवाद’ को झण्डा बोकेर पूँजीपति वर्गको सेवा गर्नु र विश्व साम्राज्यवादअघि लम्पसार पर्नु अक्षम्य अपराध हो । त्यसविरुद्धको संघर्षलाई अझ तेज एवं तीब्र बनाउनु हाम्रो जिम्मेवारी हो । निश्चय पनि यो संघर्ष सरल हुन असंभव छ ।
क्रान्तिविरोधीहरुसँग सैद्धान्तिक संघर्ष गरिरहँदा हामीमाथि पनि हमला हुनु आश्चर्य होइन । पूँजीवादी व्यवस्थालाई चर्को ढङ्गमा छ्यासिरहँदा, नाफाखोर तथा दलाल पूँजीपतिहरुलाई उदाङ्ग्याइरहँदा र तिनीहरुका सारा अश्त्र–शस्त्र हामीविरुद्ध पनि सोझिनु स्वाभाविक छ । भारतीय एकाधिकार पूँजी र त्यसका दलालहरुविरुद्ध निर्भिकतापूर्वक संघर्ष गरिरहँदा हामीमाथि अनेकौं जालझेल हुनु कुनै अनौठो होइन । संरा अमेरिकी साम्राज्यवादविरुद्ध अदम्य साहसका साथ अविचलितरुपमा प्रस्तुत भइरहँदा हामीप्रति कोही किन नरम बनून्, किन सहलान् तिनका भक्तहरु, सेवकहरुले ? आस्था, विचार अनि नैतिकतामा अडिग भइरहँदा अवसरवादीहरु किन आतंकित नबन्लान् ?
तर हामी विचल्लित हुँदैनौं, धैर्य भुल्दैनौं र संघर्ष त्याग्दैनौं । एक्लैले भएपनि सिद्धान्तको रातो झण्डा फहराइरहनेछौं, विचारको बलियो मुठ्ठी कस्सिरहनेछौं, मुक्तिको गीत गाइरहनेछौं र समाजवादको विराट् पथमा लम्किरहनेछौं । बदला स्वरुप सारा प्रतिक्रियावादीहरु मिलेर हामीलाई दुई–चार निर्वाचनमा हराउलान्, राष्ट्रिय मान्यता नदिने तयारी फैसला सुनाउलान्, जेल–नेलको यातना फेरि दिने तयारी गर्लान् तर हाम्रो विचार मर्ने छैन । हाम्रो आन्दोलन कदापि हार्नेछैन । अन्तिम विजय जनताको हो, अन्तिम जीत हाम्रै हो । मृत्यु शैय्यामा छट्पटाइरहेको पूँजीवादको मृत्यु निश्चित छ ।
नेपाल क्रान्तिकारी मजदुर संघको दोस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा व्यक्त मन्तव्य

Leave a Reply

Your email address will not be published. Required fields are marked *