क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
सन्दर्भ : पेरिस कम्युन स्थापना दिवस (मार्च १८)
कम्युनले गरेका कार्यहरू
कम्युनले पुरानो प्रशासनको ठाउँमा नयाँ प्रशासनिक व्यवस्था लागु गर्यो; पहिलो अप्रिलको दिन कर्मचारीहरूको तलब मजदुरहरूको ज्यालासरह गरिदियो । कुनै पनि कर्मचारीको तलब ६ हजार फ्रान्कभन्दा बढी नरहने नयाँ तलब दर लागू गरियो । कम्युनका सदस्य अर्थात् प्रतिनिधिसभाका सदस्य र मन्त्रीहरूको तलब पनि साधारण ज्यामीको सरह गरियो । त्यो रकम बेलायतको एक स्कूल सेक्रेटरीको सबभन्दा तल्लो तलब दरको पाँच भागको एक भाग थियो । त्यसबेला स्कूल, पाठशाला या शिक्षण संस्थाहरू धार्मिक चर्चको पञ्जामा थियो । त्यसले विज्ञान र विवेकलाई थिचिराखेको थियो । ८ अप्रिलको दिन शिक्षण संस्थाहरूलाई चर्चबाट अलग्ग गर्ने ऐन पारित गरिदियो । चर्चलाई राज्यबाट अलग्ग गरिदियो । धर्म मानिसको व्यक्तिगत विश्वासको रूपमा तल झारियो । धार्मिक कामको निम्ति सरकारले दिने गरेको रकम बन्द गरियो । जन्म–मृत्यु र विवाह दर्ता पनि कम्युन आफैले गर्ने निधो ग¥यो । स्कूलमा धार्मिक ऐनहरू पढाउन बन्द गरियो । धेरै चर्च र मठहरूलाई जनताको सभा भवन बनाइदियो । कम्युनले स्कूलबाट सबै धार्मिक तस्बिर र चिह्नहरू, उपदेश र प्रार्थना आदि सबै चित्रहरू झिकिदियो । जनतामा निःशुल्क र अनिवार्य शिक्षा लागू गरियो । नयाँ नयाँ स्कूलहरू खोलिए, जनविरोधी पदाधिकारीहरू गिरफ्तार गरिए । युगौँदेखिको धार्मिक शोषणको सिक्रीलाई चुँडाली दियो । विज्ञानलाई चर्चको सिक्रीबाट छुटकारा दिइयो ।
कम्युनले बदनाम भएका पुराना पुलिस र सेनालाई भङ्ग गरेर वार्ड वार्डको आधारमा जनतामा स्वयंसेवक संस्थाको स्थापना गर्यो । त्यसका अफिसरहरू आफूमध्येबाट चुनिए । पुरानो अनिवार्य सैनिक भर्ती प्रथा खारेज गरेर हतियार बोक्न सक्ने सबै लोग्ने र स्वास्नीमानिस राष्ट्रिय गार्डमा सामेल हुनसक्ने नियम बनाइयो । यो नियम सेनामा लागू गरिनु प्रजातान्त्रिक पद्धतिको एक उदाहरण थियो ।
कम्युनले सार्वजनिक क्षेत्रमा केन्द्रीय सरकारका अधिकारहरू स्थापना गर्यो । नगरपालिका र अड्डा अदालतका सबै काम कम्युनले आफ्नो हातमा लियो र न्यायपालिकाका सदस्यहरू जनताबाट चुन्ने व्यवस्था गर्यो । न्यायको त्यस व्यवस्थाले भ्रष्टाचार, चोरी, डकैतीको जगजगी भएको पेरिस राति पनि ताला लगाउन नपर्ने पेरिसमा फेरियो ।
पेरिसबाट भागेका मालिकहरूको कारखाना मजदुरहरूलाई नै जिम्मा दिइयो । श्रम समितिले उत्पादन कार्यलाई अगाडि बढायो र बेकारी समस्यालाई सुल्झायो । मालिकहरू बाँकी भएका कारखानाहरूमा ज्याला कम्युनले नै तोकिदियो । कारखाना मालिकहरूले मजदुरलाई सजाय गर्न नपाउने आदेश दिए । बन्धक राखिएका पसलहरू गरिब जनतालाई नै फर्काइदियो । अक्टोबर १८७० देखि १८७१ अप्रिलसम्मको घरको बहाल माफी गरिदियो र दिइएको रकमलाई पेस्की मानियो । मध्यमवर्गको ऋण ३ वर्षभित्र बिनाब्याजले किस्ताबन्दीको रूपमा तिर्ने बन्दोबस्त गरियो । त्यस्तो बन्दोबस्तले पसले, कालिगड, व्यापारी र मध्यमवर्ग कम्युनको पक्षमा गए । बन्धक लिने संस्थालाई शोषणको संस्था भनेर बन्द गरियो । अँध्यारो, ओसिलो छिँडी र पानी चुहिने छानामुनि बसेका मजदुरहरूलाई पेरिसबाट भागेका धनी र पुँजीपतिवर्गको घरमा डेरा सारियो । कामको समयमा मजदुरहरूको स–साना नानीहरू राख्ने शिशुशाला र बालोद्यानको बन्दोबस्त गरियो ।
मजदुर र महिलाहरूको नयाँ नयाँ वर्गीय र राजनैतिक सङ्गठनहरू खुल्न थाल्यो । कामदार जनताले ठुलो उत्साहपूर्वक कम्युनलाई सहयोग र समर्थन गर्न लागे । कम्युनले १ लाख प्रति पर्चाहरू छापेर किसानहरूलाई एक हुन आह्वान गर्यो । पर्चामा लेखिएको थियो, ‘पेरिस जग्गालाई जोताहा किसानहरूकै गर्न चाहन्छ । काम गर्ने ज्यावलहरू सबै जनताको निम्ति मजदुरहरूको गर्न चाहन्छ’, तल ‘पेरिसका कम्युनहरू’ भनेर लेखिएको थियो । त्यसबेला पुँजीपतिहरू र क्याथोलिक चर्चका धर्माधिकारीहरू गाउँ गाउँमा गएर किसानहरूलाई मजदुरविरोधी प्रचारहरू गरिरहेका थिए । मजदुरहरूले ती पर्चाहरू बेलुनमा बाँधेर गाउँ गाउँमा छर्न लगाए ।
कम्युनमा विदेशी मजदुर पनि निर्वाचित हुनसक्ने ऐन पास भयो । कम्युनले विदेशी क्रान्तिकारीहरूलाई कम्युनको मुख्य–मुख्य पदमा बसेर सेवा गर्ने मौका दियो । त्यो मौका विदेशी क्रान्तिकारीहरूलाई महान् उद्देश्यको निम्ति गरेको बलिदानको सम्मानमा प्रदान गरिएको थियो । कम्युन एक अन्तर्राष्ट्रिय सरकार हो । कम्युनको झन्डामा लेखियो, ‘कम्युनको झन्डा संसारको प्रजातन्त्रको प्रतीक हो ।’
१८ मार्च १८७१ को क्रान्तिको रात प्रसियाको प्रधानमन्त्री विस्मार्कलाई निद्रा लागेन । पेरिसको क्रान्ति जर्मनीको सीमासम्म पुग्ला भनेर उनी सा¥है डराएका थिए । उनी आफैँ छिटो सम्झौता गर्ने पक्षमा थिए । त्यसकारण, थियरलाई शान्ति सम्झौताका सर्तहरू निश्चित गर्न दूतहरू पठाउने आदेशको सन्देश पठाए । थियरले दुई जना दूतहरू प्रसियाको राजधानी फ्रैङ्कफर्ट पठाए । दूतहरूमध्ये एकजना जुलेस फाब्रे थिए । उनी थियरको परराष्ट्रमन्त्री थिए । अर्को अगष्ट पौयर क्युर्टिएर थिए । उनी थियरका अर्थमन्त्री थिए । क्युर्टिएर स्वयं एक कारखाना मालिक र राजतन्त्रवादी थिए ।
बिस्मार्कले तिनीहरूलाई साम्राज्यको पुनः स्थापना वा शान्ति सम्झौताका सर्तहरूमध्ये एक रोज्न भने । सर्तमा हर्जाना तिर्ने समय घटाउने र फ्रान्सको स्थिति सन्तोषजनक नभएसम्म पेरिसको किल्लामा प्रसियाको सेना राखी छाड्ने कुरो पनि थियो । पेरिस कम्युनलाई खतम गर्न बन्दी बनाइएको बोनापार्टको सेनालाई पनि छोड्ने कुरा गरे । त्यसलाई मद्दत गर्न प्रसियाको सम्राट विल्हेमले सेनापति दिने आश्वासन दिए । हर्जानाको पहिलो रकम पेरिस ‘शान्त भएपछि लिने’ कुरा गरे ।
उसका शान्ति सम्झौताका सर्तहरू भर्सेलिजको सरकारले नमानेको खण्डमा साम्राज्यको पुनः स्थापनालाई मान्नुपर्ने थियो । साम्राज्यको पुनः स्थापनाको अर्थ त्यो सम्झौतालाई स्वीकार गर्ने सरकार स्थापना गर्नु नै थियो । थियरले आफ्नो सत्ता पनि छोड्नुपर्ने थियो । त्यसकारण, उनका दूतहरूले पुनः स्थापनाभन्दा शान्ति सम्झौताका सर्तहरूलाई स्वीकार गरे । वास्तवमा त्यो एक लज्जाजनक घुँडा टेकुवा सम्झौता थियो ।
१० मे १८७१ को दिन थियर सरकारले त्यस सम्झौतामा हस्ताक्षर ग¥यो; अलसास र लोरेन प्रान्त जर्मनीको हातमा सुम्पिदियो । ५ अर्ब फ्राङ्क रकम बराबरको सुन तिर्न मञ्जुर ग¥यो । १८ मे को दिन भर्सेलिजको राष्ट्रिय सभाले त्यसलाई स्वीकृति दियो । प्रसियाले लडाइँमा बन्दी बनाएका १ लाख फ्रान्सेली सेनालाई पेरिस कम्युन दबाउन फिर्ता दियो । शान्ति सम्झौतामा हारेको पक्षले सेना बढाउन दिँदैनथ्यो । तर, विस्मार्कले कम्युनलाई दबाउन भर्सेलिजको सरकारलाई सेना बढाउन दियो । पेरिसको उत्तरमा प्रसियाको ठुलो सेना थियो । प्रसियाले भर्सेलिजका सेनालाई त्यहाँबाट पेरिसमाथि हमला गर्ने बाटो छोडिदियो । पेरिस कम्युनका सल्लाहकारहरूले उत्तरतिरबाट भर्सेलिजको सेनाले हमला गर्न आउँछ भनेर चिताएकै थिएनन् ।
२० मेको दिन भर्सेलिजका शत्रुले पेरिसमाथि धावा बोल्यो । २१ मे को दिन शत्रु नगरभित्र पस्यो तर मजदुरहरूले शत्रुहरूलाई चारैतिर रोकिराखे । पेरिस सहरको चारैतिर सडकमा पर्खाल बनाएर मोर्चा बनाएका थिए । केटाकेटी र आइमाईसमेत लडिरहेका थिए । कम्युनका समर्थक कम्युनार्डहरू हरेक टोल र हरेक घरमा एक एक इञ्च जग्गाको निम्ति ज्यान दिएर लडिरहे । १० हजारभन्दा बढी मजदुरहरू मोर्चामा लडिरहेका थिए । पेरिसका मजदुरहरूले सहरलाई एक हप्तासम्म रक्षा गरिरहे ।
सबभन्दा पहिलो गढ पेरिसको ‘पिरे लाचेस सेमेट्री’ भन्ने चिहान थियो । २१ मे को दिनसम्म त्यहाँ २ सय मजदुरहरू लडिरहेका थिए । आखिरमा भर्सेलिजका पल्टनले त्यसको मुख्य ढोकालाई तोपले फोड्यो र पल्टनभित्र पस्यो । कम्युनार्डहरू अन्तिम गोली भएसम्म लड्दै गए । बाँकी भएका कम्युनार्डहरूलाई पर्खालको कुनामा गोली हानेर मारे । अन्तिम बन्दुक भएसम्म पेरिसमा रातो झन्डा फहरिरहेको थियो ।
२८ मे १८७१ को दिन पेरिस कम्युनको अन्तिम मोर्चा पनि हा¥यो, प्रतिक्रान्तिको जीत भयो ।
२० मे देखि २८ मेसम्मको त्यस हप्तालाई ‘रगत बगेको मेको हप्ता’ भनिन्छ । पेरिसमा भर्सेलिजको पल्टनको कब्जा हुनासाथै अत्याचारको नाङ्गो नाच चल्यो । थियर सरकारले शङ्का लाग्ने सबै मानिसहरूलाई गोली हानेर मा¥यो† कम्युनका नेताहरूलाई बडो यातना दिएर मा¥यो । कम्युनार्डहरूलाई मद्दत गरेको शङ्कामा थुप्रै आईमाई र केटाकेटी पक्रिए र मारिए । ६५० केटाकेटी पक्रिएका थिए । ३० हजार कम्युनहरूलाई मुद्दै नचलाई ४० हजारभन्दा बढी जेलमा थुनिए वा अपराधीको रूपमा उपनिवेशहरूमा काम गर्न पठाइए । त्यो एक प्रकारको कालापानीको सजाय थियो । तिनीहरू त्यहाँ धेरै काम गर्दा गर्दै मरे अथवा आर्थिक कठिनाइ र बिरामी भएर मरे ।
२७ मे को दिन हरेक वर्ष ‘पिरे लाचेस सेमेट्री’ मा मजदुरहरू एक सम्झना सभा गर्ने गर्छन् । पेरिसका कम्युनार्डहरूको सम्झनामा त्यस ठाउँलाई ‘कम्युनार्डहरूको पर्खाल’ नाउँ राखियो । त्यो दिन हरेक वर्ष सहिद भएका मजदुरहरूका विधवाहरू त्यहाँ जान्थे । आफ्ना छोरा–छोरीहरूलाई भन्थे, “यही ठाउँमा तिम्रो बालाई पुँजीपतिवर्गले मारेको थियो । त्यसको बदला तिमीले लिनुपर्छ ।” त्यो सम्झना दिवस आज पनि हरेक वर्ष त्यहाँ मनाइन्छ । इतिहासमा कहिले नभएको जस्तो वीरतापूर्वक लडेर सहिद भएका मजदुरवर्गका महान् अग्रदूतहरूलाई उनीहरू सलाम गर्छन् । सहिद हुने बेलामा ती वीरहरूले नारा लगाएका थिए ‘कम्युन जिन्दावाद !’
पेरिस कम्युनको असफलताका कारणहरू
पेरिस कम्युनका मजदुरहरूले इतिहासमा नदेखिएको बहादुरी देखाएर लडे । असीम वीरतापूर्वक कम्युनको झन्डालाई ३ महिनासम्म माथि उठाइराखे । तर, त्यसका केही राजनीतिक र रणनीतिक गल्तीहरूले गर्दा पेरिस कम्युनले ठुलठुला हारहरू भोग्नुप¥यो ।
कम्युनका रणनीतिक (लडाइँसम्बन्धी व्यवहारिक) भूलहरू
(१) १८ मार्चको दिन, पेरिस कम्युन घोषणा गरिसकेपछि विरोधी सेनालाई निःशस्त्र गरिएन । तिनीहरूलाई भर्सेलिजमा जान दिइयो । तिनीहरूलाई बन्दी बनाइएन । विरोधीहरूलाई पेरिसका किल्लाहरूमा भेला हुन दिइयो । तिनीहरूलाई आवतजावत गर्न दिइयो । त्यस्ता छुटहरू दिँदा शत्रुहरूले पेरिसका सबै सैनिक गतिविधि र सैनिक कमजोरीहरू पत्ता लगाए । त्यहाँसम्म कि शत्रुले कम्युनको बारूद खानामा आगो लगाइदियो र हेडक्वाटर (प्रधानकार्यालय) मा नेताहरूमाथि आक्रमण गर्न सफल भयो ।
(२) फ्रान्सको बैङ्कलाई तुरन्त कब्जा गरिएन । बैङ्क कब्जा गरिएको भए फ्रान्सेली पुँजीपतिहरूको भर्सेलिज सरकारलाई सम्झौता गर्न दबाब पर्दथ्यो । फेरि बैङ्क पुँजीपतिवर्गको स्नायु केन्द्र हो । एक बैङ्क दस हजार सेनाको बराबर थियो । बैङ्कको पैसा भर्सेलिज सरकारलाई दिइयो । त्यस पैसाले युद्धको तयारी गर्यो । नयाँ नयाँ सेना भर्ना गरेर शत्रुलाई तरबार दिने भूल ग¥यो ।
(३) पेरिस भर्सेलिजको सेना र प्रसियाको सेनाबाट घेरिएको थियो । त्यस्तो निस्सासिंदो परिस्थितिबाट छिट्टै छुटकारा पाउनु आवश्यक थियो । त्यसको निम्ति भर्सेलिजमा तुरुन्तै धावा बोल्नु पर्दथ्यो । त्यसबेला थियरले सेना जम्मा गर्न सकेको थिएन । जम्मा गर्ने फुर्सद पनि पाउने थिएन ।
(४) पुँजीपतिवर्गलाई पेरिसबाट बाहिर जान दिइयो । ती पुँजीपतिहरूलाई बन्दी बनाइनु पर्दथ्यो । त्यसो गरेको खण्डमा धेरै काम आउँथ्यो अथवा भर्सेलिजको सरकार सम्झौता गर्न आउनुपर्दथ्यो । कम्युनले पादरीहरूलाई मात्रै बन्दी बनायो । मजदुर नेताहरूलाई भर्सेलिज सरकारले बन्दी बनाएको थियो । यदि पुँजीपतिहरूलाई बन्दी बनाएको भए बन्दीहरूको आदानप्रदानको सम्भावना थियो अथवा पुँजीपतिहरू मर्ने डरले पेरिसमा गोलाबारी गर्न डराउँथे ।
(५) विरोधी मानिसहरूलाई आवतजावत गर्न दिँदा तिनीहरूले सबै प्रकारको सूचनाको आदानप्रदान गर्ने । त्यसले पेरिस कम्युनभित्र भ्रष्टाचार फैलाउने, आपसमा फुटाउने र जुधाउनेजस्ता षड्यन्त्रहरू गर्ने मौका पाए ।
पेरिस कम्युनले गरेका केही राजनैतिक भूलहरू
(१) १८ मार्चको दिन पेरिस कम्युनको घोषणा गर्नासाथै भर्सेलिजमाथि धावा बोलेर राष्ट्रिय सभालाई भङ्ग गर्नुपर्दथ्यो । थियरको सरकारलाई गिरफ्तार गर्नुपर्दथ्यो, यसबारे पेरिसमा शरण लिएर बसेका पोल्यान्डका क्रान्तिकारी जारोस्लाव डोम्ब्रोवस्कीले भनेका थिए । उनी एक खानदानी कुलका थिए र कम्युनले उनलाई पेरिसको मिल्ल भन्ने इलाकाको सुरक्षा कमान्डरमा नियुक्त गरेको थियो । उनले भर्सेलिजमा धावा बोल्ने र गिरफ्तार गर्ने प्रस्ताव राखेका थिए । उनले त्यसबेला भनेका थिए, “तपाईँहरू पछिको कुरा देख्नुहुन्न । तपाईँहरू दुई पाइलाभन्दा बढी सोच्न सक्नु हुन्न । ढिलो वा चाँडो तपाईँहरूले लडाइँ लड्नै पर्छ । तर, त्यसबेला धेरै अबेर भइसकेको हुन्छ । यदि तपाईँहरूले अहिले भर्सेलिजमा हमला गर्नुभयो भने परिस्थिति तपाईँको हातमा हुनेछ अथवा तपाईँको हात माथि हुनेछ ।” समयले देखाइदियो डोम्ब्रोवस्कीको भनाइ ठीक थियो ।
(२) २६ मार्चमा चुनावमा विरोधी पार्टीहरूलाई पनि उठ्न दिइयो । त्यसले उनीहरूलाई आफ्नो शक्ति अनुमान गर्ने मौका दियो ।
(३) त्यसबेला फ्रान्सको जनसङ्ख्याको ठुलो भाग किसान, कालिगड र पसलेहरूजस्ता स–साना पुँजीपतिवर्गको थियो । सर्वहारावर्गले मात्रै सत्तालाई कब्जा गरिराख्न सकिँदैनथ्यो । किसानहरूको सङ्गठन र सहयोग थिएन । पेरिस कम्युन गाउँमा पस्न सकेन । यसकारण, प्रतिक्रियावादीहरू गाउँमा गएर मजदुरविरोधी प्रचार गर्ने मौका पाए । थियरले थुप्रै किसानहरूबाट सेना बनायो । यसले गर्दा पेरिस एक्लियो ।
(४) फ्रान्समा त्यसबेला कुनै एक क्रान्तिकारी मजदुर पार्टी थिएन । मजदुर विभिन्न दलहरूमा विभाजित थिए । तिनीहरू एउटा क्रान्तिकारी सिद्धान्तमा एक थिएनन् । मजदुरवर्गको बहुमत भागले आफ्नो राजनीतिक कार्यहरू बुझेका थिएनन् । क्रान्तिकारी सिद्धान्त बोकेको बलियो मजदुरवर्गको एक राजनैतिक पार्टीबिना राज्यसत्ता कब्जा गर्ने क्रान्तिलाई नेतृत्व गर्न सक्दैनथ्यो ।
पेरिस कम्युनको शिक्षा
मजदुरवर्गको हरेक जीत र हारबाट नयाँ नयाँ शिक्षाहरू मजदुरहरूले सिक्ने गर्छन् । रगत बगाएर सिकेको शिक्षा बिर्सन्न । बलिदान खेर जान्न । सर्वहारावर्गको प्रजातन्त्र (कम्युन) पुँजीवादी प्रजातन्त्रभन्दा धेरै उँचो र पूर्ण प्रजातान्त्रिक व्यवस्था साबित भयो ।
पेरिस कम्युनले वर्गीय दमनको मुख्य शक्ति सेना र पुलिसको शक्तिलाई ध्वस्त पारेको थियो । पुरानो सेनाको ठाउँमा ‘राष्ट्रिय गार्ड’ को नयाँ सेना र मजदुरहरूको सशस्त्र शक्तिले रक्षाको काम सम्हालेको थियो । पेरिस कम्युन सर्वहारावर्गको पहिलो राज्यसत्ता थियो । सर्वहारा क्रान्तिमा त्यसले ऐतिहासिक महत्व राख्छ । यसको हार–जीतले तलका शिक्षाहरू लिन सकिन्छ ।
१) वर्गशत्रुको सैनिक शक्तिलाई ध्वस्त गरेर सर्वहारावर्गको नयाँ सैनिक शक्ति कायम गर्नुपर्छ ।
२) शोषक वर्गमाथि उदारता देखाउनुहुन्न । तिनीहरूमाथि सर्वहारावर्गको हुकुम चलाउनुपर्छ । सत्ताबाट फालिएको पुँजीपतिवर्ग विदेशी पुँजीपतिवर्गको मद्दतले पहिलेको भन्दा झन् बलियो भएर झम्टन आउँछ ।
३) पुरानो तयारी राज्य मेसिनरी (प्रशासन) ले सर्वहारावर्गलाई काम दिँदैन । सर्वहारावर्गको आफ्नै प्रशासन तुरुन्तै लागु हुनुपर्छ । नत्र, पुराना कर्मचारीहरूले विरोध गर्ने, हडताल गर्ने र धोका दिनेछन् अथवा तिनीहरूको बिचमा सर्वहारावर्गको सङ्गठन हुनुपर्छ ।
(४) समाजवादको विजयको निम्ति किसान र मजदुरवर्गको सहयोग अत्यावश्यक छ । एकता गर्न सकिने स–साना पुँजीपतिवर्गलाई पनि एक गर्नुपर्छ । शत्रुलाई सकेसम्म एक्लो पार्नुपर्छ ।
(५) पेरिस कम्युनको क्रान्तिको बेलामा कार्ल माक्र्स बेलायतमा हुनुहुन्थ्यो । पेरिसको खबर सुनेर उहाँले भन्नुभयो, “शत्रु दैलोमा उभिएको छ, विद्रोह हारमा फेरिने छ ।” तर, क्रान्ति भयो । माक्र्सले आफ्नो सारा शक्ति लगाएर त्यसलाई समर्थन गर्नुभयो । संसारका सबै मजदुरवर्गलाई पेरिस कम्युनलाई समर्थन गर्न आह्वान गर्नुभयो । त्यसबेला पेरिस कम्युनमा माक्र्सवादीहरू अल्पमतमा थिए । मजदुरवर्गको एक सिङ्गो राजनैतिक पार्टी थिएन । भर्सेलिजमा आक्रमण गर्नुपर्ने कुरो महसुस गरिएन । पेरिस कम्युनले सुरुमा लडाइँ नगर्ने र शान्तिसित काम लिने खुकुलो वा उदारताको नीति लियो । त्यसकारण, वर्गशत्रुमाथि जाइलाग्ने माक्र्सवादजस्तो क्रान्तिकारी सिद्धान्त बोकेको राजनैतिक पार्टीको नेतृत्वमा मात्रै क्रान्ति सफलतापूर्वक अगाडि लैजान सकिने प्रस्ट भयो ।
६) मजदुरवर्गले आफ्नो अधिकार माग्दा र शासन सत्ता हातमा लिँदा पुँजीपतिवर्ग बहुला कुकुरझैँ झम्टन आउनेछ । तिनीहरूको त्यो पशु स्वभाव फेरिन्न । त्यसकारण, मजदुरवर्गले सत्ता हातमा लिनुभन्दा पहिले र लिइसकेपछि झन् सतर्क र होशियार हुनुपर्छ । कुनै प्रकारको ढिलाइ र नरमी देखाउनुहुन्न ।
कार्लमाक्र्सले भन्नुभयो, “आफ्नो कम्युनसँगै मजदुरवर्गले पेरिसलाई सबै नयाँ समाजको गौरवपूर्ण अग्रदूतको रूपमा सम्झिनेछ । यसका सहिदहरू मजदुरवर्गको विशाल हृदयमा रहिरहनेछन् । यसलाई सत्यानाश गर्नेहरूलाई इतिहासले सधैँको निम्ति अपराधीलाई उभ्याउने कोठामा राखिसकेको छ । तिनीहरूका गुरु पुरोहितहरूको सबै प्रार्थनाबाट पनि तिनीहरूलाई मुक्त गर्न सक्नेछैनन् ।”
‘कम्युन अमर होस् ।’
समाप्त
स्रोत : विश्वका प्रसिद्ध मजदुर आन्दोलनहरू
Leave a Reply