भर्खरै :

माक्र्सवादले अझै पनि बदल्न सक्छ संसार

  • चैत्र ८, २०८२
  • डेभिड हार्भी
  • विचार
माक्र्सवादले अझै पनि बदल्न सक्छ संसार

सन् २००८ को नोभेम्बरमा विश्व वित्तीय मन्दीको चपेटामा प¥यो । बेलायतकी महारानी एलिजावेथले ‘लन्डन स्कुल अफ इकोनोमिक्स’ को भ्रमण गरिन् । भ्रमणको क्रममा उनले त्यहाँ जम्मा भएका अर्थविद्हरूसँग ‘तपार्इँहरूले आउँदै गरेको वित्तीय सङ्कटको सुइँको किन पाउनुभएन’ भनी सोधिन् । अर्थविद्हरूसँग कुनै उत्तर थिएन । उनीहरूले सरसल्लाह गरे र यो विषयमा सेमिनारहरू चलाए । ६ महिनापछि उनीहरूले महारानीलाई एउटा सामूहिक पत्र लेखे । पत्रमा उनीहरूले अहङ्कार र प्रणालीगत जोखिमको सामना गर्न नसक्दा नै आफूहरूले मन्दीको पूर्वानुमान गर्न नसकेको लेखे । प्रणालीगत जोखिमलाई बेवास्ता गरेको तर्क गम्भीर छ । खासमा प्रणालीगत जोखिम छ–छैन भनी नजाँचेको जहाजमा हामीमध्ये कोही पनि चढ्न नमान्ला ।
हालै मेरो नयाँ पुस्तक छापियो – पुँजीको कथा (The Story of Capital) । यसमा पुँजीजन्य उत्पादन प्रणालीले ल्याउने प्रणालीगत जोखिम र आन्तरिक विकृतिबारे चर्चा छ । कार्ल माक्र्सले पुँजीको राजनीतिक अर्थशास्त्रबारे गहिराइमा गएर लेख्नुभयो । तिनै सैद्धान्तिक साधनलाई प्रयोग गरेर मैले वर्तमान पुँजीवादका प्रणालीगत जोखिम र आन्तरिक विकृतिको चिरफार गर्ने प्रयास गरेको छु । माक्र्सको जगतप्रसिद्ध भनाइ नै छ – हाम्रो उद्देश्य संसार बुझ्ने भन्दा पनि त्यसलाई बदल्ने हुनुपर्छ । उहाँले यसलाई बुझ्नमा धेरै समय र पसिना खर्चिनुभयो किनभने उहाँ यसलाई बदल्न चाहनुहुन्थ्यो । वास्तवमा उहाँको अनुभवबाट के भन्न सकिन्छ भने संसार बदल्न छ भने पुँजीलाई बुझ्नु एकदम आवश्यक छ । यसमा उहाँ पूर्ण विश्वस्त हुनुहुन्थ्यो ।
यहाँ हामी माक्र्सको रचना ‘ग्रुन्ड्रिजे’ बाट केही उद्धरण लिएर अघि बढ्छौँ । माक्र्सले लेख्नुभयो, “पुँजीको अवधारणाको सटिक विकासक्रम बुझ्न आवश्यक छ । किनभने, यो नै आधुनिक अर्थशास्त्रको आधारभूत अवधारणा हो । जसरी पुँजी नै पुँजीवादी समाजको जग हो । (पुँजीमा आधारित) सम्बन्धका मूलभूत विशेषताको सटिक बुझाइले पुँजीवादी उत्पादनका सम्पूर्ण अन्तर्विरोध केलाउनुपर्छ र यसले कसरी आफूलाई आफ्नो सीमाभन्दा पनि बाहिर ठेल्छ भनी समेट्नुपर्छ ।” यहाँ माक्र्सले प्रयोग गर्नुभएको ‘अन्तर्विरोध’ शब्दको अर्थ बुझ्नुपर्छ । उहाँ ‘पुँजीभित्र अन्तर्विरोध’ छ भनी जोड दिनुहुन्छ र ‘यसलाई पूरा विकास गर्ने’ लक्ष्य लिनुपर्ने उहाँ बताउनुहुन्छ । ‘अन्तर्विरोध’ शब्द नवशास्त्रीय, रिकार्डेली वा किन्सेली अर्थशास्त्रमा पाइँदैन । तर, माक्र्सले अघि सार्नुभएको पुँजीको अवधारणामा यो शब्द आधारभूत हो । यो शब्द किन यति महत्वपूर्ण छ ?
कुनै पनि धाराको पुँजीवादी राजनीतिक अर्थशास्त्र दुई भागमा बाँडिएको हुन्छ । एउटा सुक्ष्म अर्थशास्त्र (Microeconomics) र स्थुल अर्थशास्त्र (Macroeconomics) । पहिलोले फर्मविशेषको सिद्धान्त दिन्छ भने दोस्रोले राष्ट्रिय र विश्वव्यापी अर्थशास्त्रको सिद्धान्त दिन्छ । जतिसुकै प्रयास गर्दा पनि सुक्ष्मबाट स्थुल अर्थशास्त्रका सिद्धान्त निकाल्न सकिएको छैन न त स्थुलबाट सुक्ष्म अर्थशास्त्र नै निकाल्न सकिएको छ । यो प्रयास असम्भव साबित भएको छ । माक्र्सको नजरमा यो अन्तर्विरोध बुझाइका लागि बाधक होइन, बरु सिद्धान्त निर्माणको मूल आधार हो । व्यक्तिगत तहमा पुँजीपतिहरू प्रतिस्पर्धाको जङ्गली नियमले चलायमान हुन्छन् । उनीहरू आफूले काम लिने श्रमशक्तिको उत्पादकत्व बढाउन नयाँ नयाँ प्रविधि प्रयोग गर्ने होडमा हुन्छन् ।
तर, माक्र्सको सिद्धान्त अलग छ । यसले श्रमलाई सारा मूल्यको स्रोत मान्छ । श्रमको उत्पादकत्व बढाउँदा श्रमिकहरूको सङ्ख्या घट्न पुग्छ । यसले गर्दा कम मूल्य उत्पादन हुन्छ । (अरू कुरालाई यथावत राखेर हेर्दा) परिणाम – सङ्कट आउँछ, पुँजीले दिने नाफा खस्किन थाल्छ । सुक्ष्म र स्थुल आवश्यकताहरूको अन्तर्विरोधबाट यो सैद्धान्तिक बुझाइ निस्किन्छ । अर्को शब्दमा भन्नुपर्दा आफूले लगाएको पुँजीबाट आउने मुनाफाको दर अधिकतम बनाउन व्यक्तिगत तहमा पुँजीपतिहरूले गर्ने क्रियाकलापको कूल परिणाम उल्टो निस्किन्छ† यो क्रियाशीलता पुँजी सञ्चयको झन्झन् प्रतिकूल बन्दै जान्छ । यसपछि अर्को समस्या थपिन्छ – पुँजीलाई अब पुँजीपतिहरूको तर्कपूर्ण तर ध्वंसात्मक व्यवहारबाट कसले जोगाउने ? खुला बजार प्रतिस्पर्धाको जङ्गली नियमबाट शासित पुँजीपतिहरूबाट पुँजीलाई कसले बचाउने ?
सबैखाले अनुसन्धान विषयहरू (अर्थशास्त्र आदि) र नीति संस्थानहरू (जस्तो आर्थिक मामिला संस्थान र अन्तर्राष्ट्रिय मुद्राकोष आदि) यिनै प्रश्नका अन्तिम जवाफ खोज्न बनाइएका हुन् । समस्या भएपछि तिनका समाधान पनि हुन्छन् । अन्तर्विरोधको पनि हल छ । अन्तर्विरोधका बिन्दुहरूमा सदैव तनाव भइरहेको हुन्छ । यी बिन्दु जुन प्रणालीसँग टाँसिएका छन्, त्यहीँबाट मात्र यिनको व्यवस्थापन गर्न सकिन्छ । यी अन्तर्विरोधहरू त्यति बेला मात्र हट्छन् जतिबेला पूरै प्रणाली हराएर जान्छ । एउटा उदाहरण दिन्छु । मेरो पेशेवर जीवनका आवश्यकता अनि व्यक्तिगत रहर र जिम्मेवारीबिच अन्तर्विरोधहरू छन् । यिनलाई म निरन्तर व्यवस्थापन गरिरहेको हुन्छु । प्रायःजसो यो अन्तर्विरोध छद्म वा अल्पगोचर हुन्छ । तर, (हङ्गेरीको केन्द्रीय युरोपेली विश्वविद्यालयजस्तै) कुनै तानाशाहले मेरो विश्वविद्यालय बन्द गरायो भने यो अन्तर्विरोध मेरो व्यक्तिगत सङ्कटको केन्द्र बन्छ ।
तसर्थ, राजनीतिक अर्थशास्त्रीको समस्या पुँजीका मूलभूत अन्तर्विरोधहरू चिन्नु र पहिल्याउनु हो† पुँजीको गतिका नियमहरूको व्याख्या गर्नु हो । (जस्तो, पुँजी र श्रमबिचको द्वन्द्वात्मक सम्बन्ध पुँजीका मूलभूत अन्तर्विरोधमा पर्छ ।) बजारको विनिमय प्रणाली जति सामान्य र व्यवस्थित बन्दै जान्छ, सहभागीहरू ‘उति वस्तुगत निर्भरता सम्बन्धमा बाँधिन्छन् र यो व्यक्तिगत निर्भरताको ठिक विपरीत हो’ जुन पहिले चल्तीमा थियो । माक्र्सले लेख्नुभयो, “मानिसहरू पहिले एकअर्कामा निर्भर हुन्थे अहिले उनीहरूलाई ‘अमूर्त’ ले शासन गर्छ । यो ‘अमूर्त’ वा विचार अरू केही नभई भौतिक सम्बन्धकै सैद्धान्तिक अभिव्यक्ति हो । भौतिक सम्बन्ध नै मानिसहरूलाई शासन गर्ने मालिक र प्रभु हुन् ।” शासक विचार वास्तवमा शासक वर्गका विचार हुन् । जोसँग राज्यसत्ता हुन्छ तिनकै विचारले शासित हुन्छन् मानिसहरू । (अहिलेसम्म अमेरिका नै विश्वको वर्चस्वशाली राज्यसत्ता थियो ।) माक्र्स थप लेख्नुहुन्छ, “(यी) सम्बन्धहरूलाई निश्चय पनि विचारका रूपमा मात्र अभिव्यक्त गर्न सकिन्छ । त्यसैले दार्शनिकहरूले विचारमार्फत गरिने शासनलाई नयाँ युगको विशेषता बताएका छन्† स्वतन्त्र व्यक्तिको रचनालाई यो शासनको वैचारिक विघटनसँग जोड्ने गरेका छन् । (उनीहरूलाई) यो भ्रम सजिलै भयो किनभने मानिसहरूको चेतनामा यो शासन विचारको शासन जस्तो देखिन्छ । किनभने, यी (शासक) विचार स्थायी छन् भन्ने बुझाइ (अर्थात्, वस्तुगत निर्भरता सम्बन्ध) लाई निःसन्देह शासक वर्गले सबै उपाय लगाएर रोप्छ, मलजल गर्छ ।”
यही काम सन् १९८० को दशकमा अर्थविद् हायक, मिल्टन फ्रिडमेन, किथ जोसेफ, आर्थिक मामिला संस्थान र मार्गरेट थ्याचर मिलेर गरेका थिए । विश्वमा नवउदारवादी अर्थनीति थोपर्न उनीहरूले एकदम सफाइका साथ यो काम फत्ते गरेका थिए । थ्याचरले घोषणा गरेका थिए, “अर्को विकल्प छैन ।” धेरै जनाले यो नारालाई देववाणीजस्तै स्वीकारेका थिए । यसरी, मानव इतिहासमा विचारले ‘भौतिक शक्ति’ को रूप लिन्छ । यी शासक विचारबारे हामी वैचारिक तहमा सचेत हुन्छौँ र तिनीहरूविरुद्ध वैचारिक सङ्घर्षमार्फत लड्छौँ । सन् १९८० को दशकमा भर्खरै प्रायोजन गरिएका नवउदारवादी थिङ्कट्याङ्क वा बुद्धिजीवी समूहहरू फस्टाउन थाले । त्यो बेला (कल्याणकारी राज्यका पक्षधर) किन्सेली अर्थविद्हरूलाई किनार लगाइयो† अर्बपतिहरूको गुट मौलाउँदै गयो† श्रमजीवी वर्गका संस्थानहरू विफल हुन थाले र माक्र्सलाई खिसीट्युरी गर्दै गुमनाम पारियो ।
माक्र्सको विषयमा मैले लेखेका पुस्तकहरूको शृङ्खलामा ‘पुँजीको कथा’ मेरो पछिल्लो र सके अन्तिम पुस्तक हो । पछि फर्केर हेर्दा यो मेरो ‘माक्र्स अभियान’ थियो । सुरुमा मैले यस्तो होला भनेर कल्पना नै गरेको थिइनँ । के हो त यो ‘माक्र्स अभियान’ ? माक्र्सको सिद्धान्तलाई सक्रियतापूर्वक अपनाउने त परको कुरा भयो, त्यसलाई राम्ररी बुझिएको पनि छैन भन्ने कुरा धेरै पहिले महसुस गरिएको थियो । त्यसैले उहाँको सिद्धान्तलाई अझ सुलभ बनाउन धेरै मिहिनेत गर्न जरुरी थियो । माक्र्सको विचार आयो कि कुरा पन्छ्याउने वा दक्षिणपन्थीहरूले जस्तो उहाँको विचारलाई तोडमोड गर्ने चलनले गर्दा उहाँबारे एकखालको अज्ञानता व्याप्त थियो । त्यस्तै, विभिन्न गुट–उपगुटमा लागेका वामपन्थीहरूले माक्र्सका विचारलाई जड मन्त्र बनाउने अर्को चलन थियो । यिनै दुई कारणले गर्दा पनि माक्र्सको सिद्धान्तलाई सुलभ बनाउन धेरै जरुरी थियो ।
माक्र्सवाद आफैमा जटिल सिद्धान्त हो । तर, प्राज्ञिक जगतले यसलाई झन् जटिल बनाउने काम गरेको देखियो । यसमा मैले पनि केही योगदान गरेँ, ‘पुँजीका सीमाहरू’ पुस्तक लेखेर । (यो पुस्तक सन् १९८२ मा छापिएको थियो । यसबारे एक समीक्षकले लेखे – भूगोलमा उपलब्धि तर स्नातक तहमा पढिरहेका विद्यार्थीको लागि अर्को बोझ ।) मसँग एउटा सम्भावना थियो । सन् १९७१ पछि मैले प्रतिवर्ष कम्तीका एकपल्ट विद्यार्थीलाई माक्र्सले लेख्नुभएको ‘पुँजी’ को पहिलो खण्ड पठाउनुपर्ने थियो । म यही अनुभवलाई उपयोग गर्न सक्थेँ । सन् १९७० को दशकमा मैले यो किताबलाई धेरैचोटि क्याम्पसभित्र र बाहिर पढाएँ । (विश्वविद्यालयमा पढाउँदा मैले सम्झौतामा उल्लेख भए अनुसार पढाएँ । तसर्थ, कसैले पनि मैले पढाएर राजनीति गरेको र प्राज्ञिक कर्मलाई बेवास्ता गरेको भनी दाबी गर्न सक्दैन ¤)
त्यसक्रममा मैले माक्र्सका तर्कहरूलाई जटिल वा सजिलो नबनाई प्रस्ट पार्ने काम गरेँ । मैले माक्र्सलाई यसरी नै पढ्नुपर्छ भनेर आफ्नो बुझाइ थोपर्ने प्रयास गरिनँ । तर, पढाउने मान्छेले आफ्नो बुझाइ नराखी पढाउन सम्भव छैन । (मैले पनि त पढेरै बुझ्नुपर्ने हुन्छ ।) मैले माक्र्सको चिन्तनसम्म पुग्ने ढोका खोल्न चाहेँ । पाठकहरूले त्यो ढोकाबाट पसेर माक्र्सलाई आफैले बुझून भनेर मैले यो काम गरेँ । यही भावनाका साथ मैले माक्र्सका दुई रचना ‘पुँजी’ र ‘ग्रुन्ड्रिजे’ का विषयमा शृङ्खलाबद्ध भिडियो र पुस्तक लेखेँ ।
तर, मैले अर्को आवश्यकता पनि महसुस गरिरहेँ । आजको राजनीतिमा समेत माक्र्सको शिक्षा उत्तिकै सान्दर्भिक छ भनी पुष्टि गर्नुपर्ने देखेँ मैले । यसका लागि हामीले माक्र्सबाट के सिक्न सक्छौँ भनेर खुट्याउनुपर्ने थियो । साथमा, उहाँले अधुरा छोडेका कार्य र कताकती गरेका गल्ती छुट्याउनुपर्ने थियो । (गल्तीका सन्दर्भमा माक्र्स माफीका हकदार हुनुहुन्छ ¤) उहाँको सिद्धान्तमा म्याद नाघेका र म्यान ननाघेका कुरा पनि चिन्नुपर्ने थियो । मेरो दिनमा सधैँ घुमिरहने प्रश्न थिए – आजका दिनमा माक्र्सले हामीलाई के सिकाउन सक्नुहुन्छ ? आफूवरिपरिको संसार बुझ्न हामी आफैले चाहिँ के गर्नुपर्छ ?
मैले माक्र्सले अपनाउनुभएको विधिको उपयोगिता र ठोस सिद्धान्त निर्माणको व्याख्या गर्न कम्मर कसेँ । यसका लागि मैले ती साधनलाई प्रयोग गरेर आजका घटना र मुद्दाहरूको विश्लेषण गर्न थालेँ । धेरै पछि मात्र मैले माक्र्सका दुई महत्वपूर्ण कृतिबिच पुल बनाउने काम गरिरहेको थिएँ भन्ने महसुस गरेँ । ‘माक्र्स अभियान’ का क्रममा लेखिएका पछिल्ला पुस्तकहरूमध्ये एक हो – ‘सात अन्तर्विरोध र पुँजीवादको अन्त्य’ । यो पुस्तकमा मैले पुँजीवादको विरोधले हामीलाई कहाँ लैजान सक्छ भनी व्याख्या गरेको छु । पुस्तकमा मैले आजको सन्दर्भमा पुँजीवादविरोधी हुनुका सुसङ्गत कारणहरू दिएको छु । साथै, अर्को पुस्तक ‘माक्र्स, पुँजी र आर्थिक तर्कको पागलपन’ मा मैले पुँजीको समकालीन सङ्कट व्याख्या गर्न माक्र्सका रचनाहरूलाई व्यवस्थित पारेको छु । मेरा प्रत्येक पुस्तकले कुनै निश्चित विषयमा माक्र्सले गरेको विश्लेषणको विशेष पक्ष उजागर गरेका छन् । यी सबैले माक्र्सका कृतिको सावधान र व्यवहारिक अध्ययन गर्न उत्साहित गर्ने मैले आशा लिएको छु ।
‘पुँजीको कथा’ साधारण मानिसलाई पुँजीको कथा भन्ने अर्को एउटा प्रयास हो । आशा छ, यसलाई पाठकले निजी र राजनीतिक दुवै तवरले बुझ्न र प्रयोग गर्न सक्नेछन् । समूहमा मिलेर हामीले यो संसार साँच्चै बदल्न सक्छौँ । तर, माक्र्सले जोड दिएझैँ हामीले रोजेको परिस्थिति अनुसार यो परिवर्तन हुनेछैन । परिवर्तनका निम्ति परिस्थितिको सैद्धान्तिक चिरफार गर्नु पहिलो महत्वपूर्ण पाइला हो । यसर्थ, अझ मानवीय र पर्यावरणमैत्री विकल्पको निर्माण गर्न मैले ‘पुँजीको कथा’ पुस्तक लेखेको हुँ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *