इरान–अमेरिका वार्ता निष्कर्षविहीन
- चैत्र २९, २०८२
जेनेभा, १३ चैत (एएफपी) । अमेरिकी–इजरायली आक्रमणको पहिलो दिन इरानको एक विद्यालयमा भएको घातक मिसाइल आक्रमणले युद्धका निर्दोष पीडितहरूको पीडा पुनः उजागर गरिरहँदा संयुक्त राष्ट्रसङ्घले घटनाको निष्पक्ष छानबिन र न्याय सुनिश्चित गर्न कडा आग्रह गरेको छ । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर टर्कले उक्त आक्रमणलाई ‘भित्री आतङ्क’ सिर्जना गर्ने घटना भन्दै दोषीमाथि जवाफदेहिता आवश्यक रहेको बताउनुभयो ।
संयुक्त राष्ट्र मानव अधिकार परिषद्मा शुक्रबार सुरु भएको आकस्मिक बहसमा बोल्दै उहाँले युद्धका मतभेदहरू समाधान गर्ने नाममा बालबालिकामाथि आक्रमण हुनु अस्वीकार्य रहेको स्पष्ट पार्नुभयो । मध्यपूर्व युद्धको पहिलो दिन, फेब्रुअरी २८ मा इरानको मिनाबस्थित एक प्राथमिक विद्यालयमा भएको बम विस्फोटले ठुलो मानवीय क्षति निम्त्याएको थियो ।
टर्कका अनुसार बम प्रहारले विद्यालयका कक्षाकोठा ध्वस्त बनाएको मात्र नभई, अभिभावकहरूलाई शोकमा डुबाएको छ । उहाँका अनुसार यस्ता घटनामा युद्धको सबैभन्दा ठुलो पीडा निर्दोष सर्वसाधारण नागरिकहरूले नै भोग्नुपर्छ । त्यस्ता सर्वसाधारण नागरिकहरू जसको द्वन्द्वसँग कुनै निर्णयात्मक सम्बन्ध हुँदैन । उक्त घटनामा १६८ जना विद्यार्थी, शिक्षक, विद्यालय कर्मचारी तथा उनीहरूका परिवारजन प्रभावित भएको जानकारी दिइएको छ ।
अमेरिकी सञ्चारमाध्यम द न्युयोर्क टाइम्सले सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धान अनुसार लक्षित गल्तीका कारण अमेरिकी टोमहाक क्रुज मिसाइल विद्यालयमा ठोक्किएको थियो । यसै सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले आक्रमणमा संलग्न पक्षले तत्काल, निष्पक्ष र पारदर्शी अनुसन्धान गर्नुपर्ने दायित्व रहेको दोहो¥याएको छ ।
टर्कले अमेरिकी अधिकारीहरूले अनुसन्धान भइरहेको जनाएको उल्लेख गर्दै उक्त प्रक्रिया छिटो सम्पन्न गरी निष्कर्ष सार्वजनिक गर्न आग्रह गर्नुभयो । उहाँले ‘भयानक क्षतिका लागि न्याय हुनुपर्छ’ भन्ने स्पष्ट सन्देश दिनुभयो ।
यो बहस इरान, चीन र क्युवाको पहलमा आयोजना गरिएको हो । यस हप्ता परिषद्मा मध्यपूर्व युद्धसम्बन्धी दोस्रो आकस्मिक छलफल हो । यसअघि बुधबार खाडी सहयोग परिषद् र जोर्डनका तर्फबाट बहराइनले उठाएको प्रस्तावमा इरानद्वारा खाडी राष्ट्रहरूमा गरिएको आक्रमण र त्यसको नागरिक प्रभावबारे छलफल भएको थियो ।
उक्त बहसपछि ४७ सदस्यीय मानव अधिकार परिषद्ले इरानका आक्रमणहरूको निन्दा गर्दै पीडितहरूलाई शीघ्र क्षतिपूर्ति दिन आह्वान गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । यद्यपि, शुक्रबारको करिब दुई घण्टा लामो छलफलमा कुनै नयाँ प्रस्तावमाथि मतदानको कार्यसूची समावेश गरिएको थिएन ।
यसैबिच मध्यपूर्वमा युद्धसँगै कूटनीतिक प्रयास चलिरहे पनि तनाव कम हुने सङ्केत देखिएको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजसम्बन्धी समयसीमा बढाएको केही समयमै इरानको रिभोलुसनरी गाड्र्सले क्षेत्रका सर्वसाधारणलाई अमेरिकी सैन्य उपस्थिति भएका स्थानबाट टाढा रहन कडा चेतावनी दिएका छन् ।
ट्रम्पले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न आग्रह गर्दै ऊर्जा पूर्वाधारमाथि सम्भावित आक्रमणको चेतावनी दिँदै आएको समयसीमालाई अप्रिल ६ सम्म सार्ने निर्णय गरेका थिए ।
तर इरानले भने आफ्ना सर्तमा मात्र युद्ध अन्त्य गर्ने सङ्केत दिँदै प्रतिशोधात्मक आक्रमणलाई निरन्तरता दिएको छ । यहीबिच रिभोलुसनरी गाड्र्सले ‘अमेरिकी–जियोनिस्ट शक्तिहरूले मानव ढाल प्रयोग गरेको’ आरोप लगाउँदै नागरिकलाई तत्काल सुरक्षित स्थानतर्फ सर्न आग्रह गरेका छन् । उनीहरूले अमेरिकी सेना तैनाथ रहेका क्षेत्रहरू, विशेषगरी होटलजस्ता स्थानहरू सम्भावित निशाना बन्न सक्ने चेतावनी दिएका छन् ।
यस चेतावनीअघि कुवेतले आफ्नो मुख्य व्यापारिक बन्दरगाहमा ड्रोन आक्रमणबाट क्षति पुगेको जनाएको थियो । इरानी गाड्र्सले स्ट्रेट अफ होर्मुज शत्रु राष्ट्रका जहाजहरूका लागि बन्द गरिएको दाबी गर्दै पार गर्न खोजेका तीनवटा कन्टेनर जहाजलाई फर्काइएको जानकारी दिएका छन् । उनीहरूले अमेरिकी पक्षले स्ट्रेट अफ होर्मुज खुला भएको दाबीलाई ‘झूट’ भनेका छन् ।
तेल बजार र विश्व अर्थतन्त्रमा यस तनावको प्रभाव देखिन थालेको छ । होर्मुजमार्फत ऊर्जा आपूर्ति अवरुद्ध हुने जोखिमले मूल्य अस्थिर बनेको छ । जापानले ऊर्जा सङ्कटको सम्भावना देख्दै कोइलाबाट चल्ने विद्युत् उत्पादनमा अस्थायी रूपमा प्रतिबन्ध हटाउने तयारी गरेको छ भने भियतनामले इन्धन कर अस्थायी रूपमा हटाएको छ ।
यसबिच, अमेरिका–इरानबिच अप्रत्यक्ष वार्ताको प्रक्रिया पनि अघि बढिरहेको छ । १५ बुँदे अमेरिकी प्रस्ताव पाकिस्तानमार्फत तेहरानसम्म पुगेको र इरानले त्यसमा प्रतिक्रिया दिइसकेको जनाइएको छ । इरानले युद्ध क्षतिपूर्ति र स्ट्रेट अफ होर्मुजमा आफ्नो सार्वभौमिकताको सम्मान गर्नुपर्ने माग अघि सारेको बताइएको छ । उसले अमेरिका र इजरायलका आक्रमणहरू अन्त्य गर्नुपर्ने सर्त पनि राखेको छ ।
युद्धले सांस्कृतिक सम्पदामा पनि असर पारेको छ । तेहरानका एक वरिष्ठ अधिकारीका अनुसार अमेरिका र इजरायली आक्रमणबाट देशभर कम्तीमा १२० वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएका छन्, जसमा युनेस्को सूचीमा रहेको गोलेस्तान दरबार पनि समावेश छ ।
यसैबिच, इजरायलले इरानका विभिन्न क्षेत्रमा नयाँ आक्रमण तीव्र पारेको छ । तेहरान, कोम र उर्मियामा आक्रमण भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । इजरायलभित्रै भने युद्धको रणनीतिमाथि प्रश्न उठ्न थालेका छन् । विपक्षी नेता यायर लापिडले सेना धेरै मोर्चामा फैलिँदा क्षति बढिरहेको बताउनुभयो ।
दक्षिणी लेबनानमा हिज्बुल्लाहसँगको लडाइँका कारण इजरायली सेनाले थप सैनिक आवश्यक रहेको जनाएको छ । लेबनानको बेरुत क्षेत्रमा पनि नयाँ हवाई आक्रमण भएको रिपोर्ट आएको छ भने हिज्बुल्लाहले उत्तरी इजरायलतर्फ रकेट प्रहार गरेको जनाएको छ ।
Leave a Reply