क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
(खड्काजी र थापाजी फरक पालिकाका भए पनि दुवै एउटै कलेजमा पढ्छन् । कलेजको चिया पसलमा दुई जनाबिच फागुन २१ गतेको चुनावबारे छलफल हुन्छ ।)
खड्काजी : सशस्त्र द्वन्द्वको दस वर्ष नेतृत्व दाबी गरी सार्वजनिक भएको पुष्पकमल दाहालले आफ्नो नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीका आधा केन्द्रीय सदस्यले विपक्षी पार्टी रास्वपालाई मत दिएको बताए, यो के हो त ?
थापाजी : शासक दलहरू सिद्धान्तनिष्ठ भएका भए भदौ २३ गतेको हत्या र भदौ २४ गतेको देशभरिको सार्वजनिक सम्पत्तिमा आगजनी हुने नै थिएन । शासक दलहरू चुनाव जित्न र सरकार सञ्चालन गर्न साम्राज्यवाद र विस्तारवादको भर पर्दै आएको पुरानो विषय हो । शासक दलहरूका केन्द्रीय सदस्य एकतिहाइ साम्राज्यवाद र विस्तारवादको दोहोरो तलब खाने हुनसक्ने विषय पनि अगाडि नै सार्वजनिक भएको हो ।
खड्काजी : पार्टी परिवर्तन गरेर चुनाव जितेका सांसद र मन्त्रीहरूबाट देश र जनताको हित होला ?
थापाजी : सबै शासक दलहरू एउटै ड्याङका मुलाजस्तै भएको पुनः पुष्टि भयो । यी शासक दलहरूमा पार्टी परिवर्तन सामान्यजस्तै भइरहेको पनि पुरानै हो । सिद्धान्त र समर्पण भएको भए ती पार्टीमा तिहुन चाखुवाहरूको हालीमुहाली हुने थिएनन् ।
खड्काजी : दुईतिहाइको सरकार गठन भएको पनि चर्चा छ नि ?
थापाजी : सिक्किममा भारतीय शासकवर्गको सहयोगमा झन्डै शतप्रतिशत सांसद लेण्डुपको पार्टीले जितेको थियो । त्यही सरकारले सिक्किम देशलाई भारतमा विलय गरायो । नेपालमा यो खतराबारे चर्चा चलिरहेको धेरै भयो ।
खड्काजी : निर्वाचनमा मत सर्वेक्षण गर्न नपाउने आचारसंहिता बनाइएको होइन र ?
थापाजी : जनतालाई भ्रमित पार्न आफ्नो पक्षमा मत सर्वेक्षण बढी पारेर सामाजिक सञ्जालमा राख्ने पार्टीका उम्मेदवारलाई निर्वाचन आयोगले तत्कालै उम्मेदवारी खारेजीको कारबाही गर्नुपर्ने थियो । यसरी निर्वाचन आयोगसमेत निष्पक्ष नभएको पुष्टि भयो ।
खड्काजी : नेमकिपाले भक्तपुरबाट स्थानीय र संसद्मा प्रतिनिधित्व गरी देश र जनताको निः स्वार्थ सेवा गर्दै आएको होइन र ?
थापाजी : यो यथार्थ देशका सबै जनतालाई थाहा भएको विषय हो । कुहिएको आलुले पूरै बोराका आलु कुहाउँछ भनेजस्तै स्वार्थीहरूले नेपालका लेण्डुपहरूको पक्ष लिएको सार्वजनिक भइरहेको छ । नेमकिपा सत्यको बाटो हिँडिरहेको छ । अन्ततः नेपाली जनता नेमकिपाको यो सत्यको बाटोमा आएर देशको विकास गर्नुपर्ने अवस्था छ ।
२०८२ चैत १५ गते ।
Leave a Reply