युद्ध र वार्ताजस्तै नाकाबन्दी पनि सफल हुनेछैन
- बैशाख ५, २०८३
गाजाको अमेरिकी–इजरायली नरसंहारी अराजकता र क्रूरता अब विश्वका अन्य भागहरूमा फैलिएको छ ।
हामी मानवताविरुद्धको युद्ध देखिरहेका छौँ । यो कसैलाई अतिरञ्जित लाग्न सक्छ, तर त्यस्तो होइन । विश्वभरि के भइरहेको छ त्यो पृथक घटना वा सङ्कटहरूको श्रृङ्खला होइन । यो मानवतालाई टिकाउने अन्तर्राष्ट्रिय प्रणालीहरूविरुद्ध क्रूर बल प्रयोग गरेर गरिएको समन्वित आक्रमण हो । यहाँ लक्ष्य भनेको एउटा त्यस्तो विश्व व्यवस्था हो जसले चुपचाप ‘शक्ति नै भक्ति’ भन्ने अभ्यास मात्र गर्दैन तर गर्वका साथ यसको घोषणा गर्दछ ।
तैपनि, हामी यस क्षणलाई यो नबुझी बुझ्न सक्दैनौँ कि प्यालेस्टिन – एक ठाउँ र सङ्घर्ष दुवैको रूपमा – यसको केन्द्रबिन्दुको रूपमा देखापरेको छ ।
गाजामा अक्टोबरमा भएको युद्धविरामले दैनिक कार्पेट बमबारी, गोलाबारी, ड्रोन हमला र लक्षित स्नाइपर फायरबाट केही राहत प्रदान गरे पनि, आकाशबाट प्यालेस्टिनीहरूमाथि घातक हिंसाको वर्षा जारी छ । सम्झौताको उल्लङ्घन गर्दै, इजरायली शासनले गाजापट्टीमा सहायता र खानाको प्रवेशमा पनि कडा प्रतिबन्ध लगाइरहेको छ ।
इजरायली सेनाले गाजालाई आधा भागमा तथाकथित पहेँलो रेखा उत्तरदेखि दक्षिणसम्म बनाएर विभाजित गरेको छ जसले गाजाको नरसंहार अघिको ५० प्रतिशतभन्दा बढी क्षेत्र ओगटेको छ । अस्थायी मानिएको यो रेखाले वास्तविकतामा स्थायी जनसाङ्ख्यिकीय पुनर्गठनको संयन्त्रको रूपमा काम गर्छ ।
यो दैनिक हिंसा युद्धविरामपछिको व्यवस्थासँग आकस्मिक होइन – यो यसको लागि संरचनात्मक छ । त्यसकारण, यो व्यवस्था के हो भन्नेबारेमा हामी सटीक हुन आवश्यक छ । यो नरसंहारको एक नयाँ चरण हो – जसले इजरायली शासनलाई दिशा बदल्न अनुमति दिन्छ र तेस्रो राज्यहरूलाई प्रगति दाबी गर्न सक्षम बनाउँछ, जबकि गाजामा प्यालेस्टिनीहरूको लागि मूल वास्तविकता धेरै हदसम्म अपरिवर्तित नै छ ।
निस्सन्देह, यो क्षण इजरायली शासनको ‘ग्रेटर इजरायल’ लाई अस्तित्वमा ल्याउने योजनाको शिखर हो – एउटा बाइबलीय परियोजना जसमा इजरायल जोर्डन, लेबनान, इराक र साउदी अरेबियाका केही भागहरूमा विस्तार गरिनेछ ।
गाजाको विनाश, पश्चिमी किनारको ठुलो भूभागको कब्जा, दक्षिणी लेबनानमा आक्रमण र अब इरानमाथिको बमबारीले त्यो योजनालाई साकार पार्ने बाटो खोल्छ । अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घनको बाबजुद थोरै परिणाम र थोरै प्रतिवादका सहित, इजरायली शासनले अब महसुस गरेको छ कि आफूले चाहेअनुसार काम गर्न र जे चाहन्छ त्यही गर्न उसले कल्पना गरेको भन्दा बढी स्वतन्त्रता छ ।
यद्यपि, यसमध्ये कुनै पनि कुरालाई यो सम्भव बनाएको कुराबाट अलग्गै बुझ्न सकिँदैन – संयुक्त राज्य अमेरिका र युरोपेली राज्यहरूबाट इजरायली शासनको लागि लगभग आठ दशकको अभूतपूर्व कूटनीतिक, आर्थिक र सैन्य कभरेज । इजरायली सरकारले विश्वव्यापी नियममा–आधारित व्यवस्थाको आवरणलाई धजिया बनाएको बेला पनि उसलाई जवाफदेही बनाउन अस्वीकार गरिएको छ ।
यस प्रत्रियाको सबैभन्दा स्पष्ट पुनरावृत्तिहरूमध्ये एक नोभेम्बरमा आयो जब संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्रस्ताव २८०३ पारित ग¥यो, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजाको लागि २० बुँदे योजनालाई समर्थन गर्दै, जसमा शान्ति बोर्डको स्थापना पनि समावेश छ ।
यो प्रस्ताव असाधारण स्तरको राजनीतिक दबाब र जबरजस्तीका साथ पारित गरियो । यसले गाजामा प्यालेस्टिनी जनसङ्ख्यामाथि विदेशी प्रशासनिक नियन्त्रणलाई अनिवार्य गर्दछ, नरसंहार वा युद्ध अपराध वा जवाफदेहिता संयन्त्रको कुनै सन्दर्भबिना । यो वास्तवमा बहुपक्षीयताको संयन्त्रमार्फत दण्डहीनतालाई शुद्धीकरण गर्ने प्रस्ताव हो ।
त्यसबेलादेखि, ट्रम्प प्रशासनले स्पष्ट पारेको छ कि यो शान्ति बोर्डलाई विश्वव्यापी परियोजना बनाउन चाहन्छ – जसले संयुक्त राष्ट्र सङ्घलाई विस्थापित गर्ने र बहुपक्षीय शासनलाई पूर्ण रूपमा वाशिङटनप्रति उत्तरदायी संरचनाले प्रतिस्थापन गर्ने प्रयास गर्दछ । ट्रम्पको लागि स्पष्ट छ, गाजा त्यो ठाउँ हो जहाँ यो परियोजना सुरु हुनेछ तर यो त्यो ठाउँ होइन जहाँ यो समाप्त हुनेछ ।
हामीले यसलाई फैलिएको पहिले नै देखेका छौँ : भेनेजुयलाको सार्वभौमिकतामाथिको गैरकानुनी आक्रमण र राष्ट्रपति मादुरोको अपहरण† क्युवामाथिको नाकाबन्दीको तीव्रता र यसको लाडिएको भोकमरी; इरानमाथिको अवैध अमेरिकी–इजरायली युद्ध, जसलाई अझै धेरै पश्चिमी राज्यहरूले कूटनीतिक आवरण दिएका छन्; लेबनानमा इजरायलको आक्रमण, उसको भूभागका केही भागहरू पुनः कब्जा गर्ने उद्देश्यले ।
यसका साथै, हामी गाजामा भएको नरसंहारमा संलग्न कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) कम्पनीहरूको उदय पनि देखिरहेका छौँ र जसको प्रविधि अब अध्यागमन र भन्सार प्रवर्तन (ICE) एजेन्सीले अमेरिकी सहरहरूका सडकमा तैनाथ गरेको छ । हामी निजी सुरक्षा क्षेत्र, निगरानी उद्योग (Surveillance Industry) र सैन्य–औद्योगिक संरचना (Military Industrial Complex) देखिरहेका छौँ – जसको नाफा नरसंहारको समयमा चरम सीमामा थियो र अहिले इरानविरुद्धको युद्धको समयमा पुनः उचाइमा छ – सबै द्वन्द्वको माध्यमबाट विस्तार हुँदै छन् । नयाँ बजार, नयाँ प्रयोगशालाहरू र परीक्षण गर्न नयाँ जनसङ्ख्या खोज्दै छन् ।
यो क्षेत्रको लागि मात्र नभई विश्वभरका लागि पनि गहन क्षण हो । स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले इरानमाथि आक्रमण गर्न अमेरिकालाई आफ्नो सैन्य आधार प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि ट्रम्पले स्पेनको बारेमा गरेको टिप्पणीले यही उत्कृष्टतालाई प्रदर्शन गर्छ । ट्रम्पले भनेका थिए, “स्पेनले वास्तवमा भनेको थियो कि हामी उनीहरूको सैन्य आधारहरू प्रयोग गर्न सक्दैनौँ र त्यो सबै ठीक छ । यदि हामीले चाह्यौँ भने उनीहरूको आधार प्रयोग गर्न सक्छौँ । हामी मनपरे उडेर भित्र पस्न सक्छौँ र यसलाई प्रयोग गर्न सक्छौँ ।” यसलाई ट्रम्पको बकवासको रूपमा खारेज गर्नु हुँदैन । यो सबै सार्वभौम राष्ट्रहरूको लागि चेतावनीको रूपमा लिनुपर्छ ।
बन्दरगाह र हवाई क्षेत्रमा पहुँच प्रदान गर्ने सम्झौताहरू र रक्षा सहयोग सन्धिहरूमा प्रकट हुने आत्मसमर्पण वा तुष्टीकरणले सार्वभौम राष्ट्रहरूलाई खतराबाट जोगाउने छैन – वास्तवमा, एकदम विपरीत हुनेछ । यस्ता उल्झनहरूले तिनीहरूलाई युद्धमा बाँध्छन् – अमेरिकी र इजरायली संयन्त्र बनाउँदै, सार्वभौमसत्तालाई सशर्त बनाउँदै ।
अब के स्पष्ट छ भने गाजामा सुरु भएको कुरा संसारका अन्यत्र पनि जारी छ । नरसंहारकारी अमेरिकी–इजरायली युद्ध संयन्त्र विस्तार हुँदै छ र त्यसो गरेर यसले मानवतामाथि नै युद्ध गरिरहेको छ ।
(लेखक प्यालेस्टिनी नीति नेटवर्क अल शबाकाका सह–निर्देशक हुनुहुन्छ ।)
Leave a Reply