भर्खरै :

क्यान्टन विद्रोह

क्यान्टन विद्रोह

११ डिसेम्बर १९२७ को दिन भएको क्यान्टन (क्वानचाउ) विद्रोह कम्युनिस्ट पार्टीका सदस्यहरू कामरेड चाङ ताई ले, येह तिङ र येह चिन इङको अगुवाइमा भएको थियो । कामरेड चाउ ऐन–लाइ, चू तेह, हो लुङ, येह तिङ र ल्यु पो चेङको अगुवाइमा भएको १ अगस्ट १९२७ को नानचाङ विद्रोह, कामरेड माओ त्सेतुङको अगुवाइमा भएको ९ सेप्टेम्बरको शरद् बाली काट्ने विद्रोह र क्यान्टन विद्रोहले चिनियाँ कम्युनिस्ट पार्टीको क्रान्तिकारी लडाइँ र जनसेना निर्माण गर्ने स्वतन्त्र नेतृत्वको सुरुवातलाई जनाउँछ ।
१९२६ मा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा साम्राज्यवादीहरूबाट समर्थित उत्तरी युद्ध सर्दारको विरोधमा गरिएको क्रान्तिकारी युद्धले एकपछि अर्को विजय पायो । क्रान्ति विजयपूर्वक अगाडि बढ्दै गइरहँदा साम्राज्यवादका पिछलग्गू च्याङ काइ–सेक र वाङ चिङ वईले क्रान्तिलाई १९२७ को अप्रिल र जुलाईमा अचानक धोखा दिँदै गए । फलस्वरूप असङ्ख्य कम्युनिस्टहरू र क्रान्तिकारी जनता हत्या गरिए र ठुलठुला विजय पाइसकेको महान क्रान्ति असफलतामा टुङ्गियो ।
यस्तो सङ्कटको अवस्थामा चिनियाँ कम्युनिस्ट पार्टीले सशस्त्र प्रतिक्रान्तिको विरोधमा सशस्त्र क्रान्ति चलाउने निर्णय गर्यो । क्यान्टन विद्रोह १९२७ देखि १९२९ बिच भएको एक सत्न्दा बढी विद्रोहहरूमध्ये एक हो ।
सशस्त्र सेनाहरूले भाग लिएका विद्रोहहरूमा अफिसरहरूको तालिमे सेना, नयाँ सङ्गठित रक्षा रेजिमेन्ट र सशस्त्र पुलिसको एक भाग थियो । कामरेड येह चिन–इङको मातहतमा रहेको अफिसरहरूको तालिमे सेना हाम्रो पार्टीको नियन्त्रणमा रहेको सशस्त्र शक्ति थियो । च्याङ काई सेक र वाङ चिङ वईले क्रान्तिलाई धोखा दिएपछि त्यो सेना उहानबाट क्यान्टन गयो । रक्षा रेजिमेन्टले पनि क्रान्तिसँग सहानुभूति राख्यो ।
त्यसबेला प्रतिक्रियावादी शक्तिहरूको शासनमा रहेको क्यान्टन एक अराजक अवस्थामा थियो । सत्ता र व्यक्तिगत फाइदाको निम्ति कोमिनताङ प्रतिक्रियावादीहरू आपसमा लुछाचुँडी गर्दै नसुल्झने झगडामा फस्दै थिए र तिनीहरूका सबै शक्तिहरू लडाइँको मैदानको निम्ति क्यान्टन छोडिसकेका थिए । त्यो युद्ध सरदारहरूको बिचमा लगातार लडाइँ भइरहेको अवस्था थियो ।
यसले सशस्त्र विद्रोहको एक राम्रो मौका दिएको थियो । २८ नोभेम्बर १९२७ मा पार्टी केन्द्रीय समितिको निर्देशनअनुसार क्वाङतुङ प्रान्तीय पार्टी समितिले क्यान्टनमा मजदुर, किसान र सिपाहीहरूको सशस्त्र विद्रोह सुरु गर्ने निर्णय लियो । कामरेड चाङ ताइले सर्वोच्च सेनानायक (कमान्डर इन चिफ) को रूपमा एक सङ्घर्ष समिति र एक केन्द्र स्थापना गरे । त्यसमा धेरै मजदुर सङ्गठनहरू एक भएर मजदुरहरूको लालरक्षकहरूमा सङ्गठित भए र गुप्त रूपले आफूलाई सशस्त्र पारे । लालरक्षकहरू ७ वटा मिलेर बनेका दलहरू थिए र कामरेड स्यु स्याङ–चेन ६ वटा संयुक्त दलहरूको कमान्डर थियो । पार्टीको कोसिसबाट सैनिक कार्यकर्ताहरूको एक ठुलो सङ्ख्या र क्यान्टन र हङकङका हडताली मजदुर रक्षा रेजिमेन्टलाई हाम्रो पार्टीको नियन्त्रणमा राख्न गुप्त रूपले पठाइए ।
७ डिसेम्बरको दिन गुप्त रूपले सङ्घर्ष समितिको बैठक बस्यो र १३ डिसेम्बरको दिन विद्रोह सुरु गर्ने निधो गर्यो । क्यान्टनमा मजदुरहरूको उँचो क्रान्तिकारी भावनाले सा¥है डराएर साम्राज्यवादीहरू र कोमिनताङले अफिसरहरूको तालिमे दललाई निःशस्त्र पार्न, लालरक्षकहरूलाई विघटन गर्न र मजदुर सङ्घहरूलाई लुटपाट गर्ने उद्देश्यले कारबाही गर्न सुरु गरे । क्यान्टनभन्दा धेरै टाढा राखिएका प्रतिक्रियावादी सेना नगरतिर बढ्न थाल्यो । यी परिस्थितिहरूमा सङ्घर्ष समितिले १३ डिसेम्बरको सट्टामा ११ डिसेम्बरकै दिन विद्रोह सुरु गर्ने निधो गर्यो ।
११ डिसेम्बरको बिहान सबेरै कामरेड येह चिन इङको मातहतमा अफिसरहरूको तालिमे सेनाका तालिमेहरूले शत्रुको एक दलाल, मुख्य अफिसर (चिफ अफ स्टाफ) र अरु थुप्रै प्रतिक्रियावादी अफिसरहरूलाई गोली हाने । अनि तिनीहरूले एक पवित्र प्रतिज्ञा गरे र कार्यक्रमअनुसार विद्रोहलाई चालु राखे । उत्साहपूर्वक खुसी हुँदै र क्रान्तिकारी रातो झन्डालाई माथि उचाल्दै लडाइँमा भाग लिन तिनीहरू सहरको केन्द्रमा बढ्न थाले । त्यही समयमा मजदुरहरूको लालरक्षकहरूले नगरका विभिन्न भागहरूमा योजना गरिएको तारोहरूमा हमला गर्न थाले । प्रतिक्रियावादी अफिसरहरू र सिपाहीहरूको एक भागलाई निःशस्त्र पारिसकेपछि रक्षा रेजिमेन्टले पनि विद्रोहमा भाग लिए । एक घण्टापछि विद्रोही सेनाहरूले प्रतिक्रियावादीहरूको सबभन्दा बलियो गढ जनसुरक्षा ब्युरोलाई कब्जा गरे तथा त्यहाँ सोभियत सरकार (कम्युनिस्ट सरकार–अ.) स्थापना गरे ।
अफिसरहरूको तालिमे सेनाका शक्तिहरूको एक भागले नजिकैको शत्रु सेनामाथि हमला गर्यो र निःशस्त्र पार्यो । त्यसैबेला अरु विद्रोही सेनाहरूले नगरको विभिन्न जिल्लाहरूको कोमिनताङ पार्टी र सरकारी सङ्गठनहरू कब्जा गरे । २ घण्टाभन्दा अलि बढी समयमै यसरी नगरको ठुलो भाग कब्जा गरियो । ‘क्रान्तिविरोधी कोमिनताङ – मुर्दावाद’ जस्ता नाराहरू लेखिएको रातो कपडाका पताकाहरू सबै सडकहरूमा झुण्ड्याइए ।
क्यान्टन विद्रोहले देशभित्र र बाहिरका दुवै ठाउँमा प्रतिक्रियावादीहरू तर्सिन थाले । तुरुन्तै तिनीहरू क्यान्टनमाथि धावा बोल्न जम्मा हुन थाले । बेलायती र संयुक्त राज्य अमेरिकी साम्राज्यवादीहरूले जहाजमा बमवर्षा गर्न आफ्ना तोपे डुङ्गाहरू पठाए र धावा बोल्न तिनीहरूमा पानीभित्र चल्ने जहाजहरू बिसाउन थाले । साम्राज्यवादी युद्धपोतहरूको मद्दतले नगरमा बाँकी रहेका क्रान्तिविरोधी सेनाले भयङ्कर जवाफी हमला गर्यो । विद्रोही सेनाले बहादुरीपूर्वक सङ्घर्ष गर्यो तर धेरै बलियो शत्रु सेनाको अगाडि तिनीहरूले १३ डिसेम्बरको दिन नगरको मुख्य ठाउँलाई खाली गर्नुपर्यो ।
क्यान्टन विद्रोह असफल भए पनि क्रान्तिको सङ्कटको घडीमा निर्दयी क्रान्तिविरोधी शक्तिहरूको विरोधमा यसले क्रान्तिकारी जनताको एक सक्रिय र वीरतापूर्ण प्रत्याक्रमणलाई प्रदर्शन गर्यो । क्यान्टनबाट पछि हटेका विद्रोही सेनाको केही भाग क्वाङतुङ र क्याङसीको गाउँले इलाकाको किसान सशस्त्र शक्तिहरूसँग मिल्यो । तिनीहरूले क्रान्तिकारी सङ्घर्ष चलाइराख्न क्रान्तिको बीउलाई व्यापक गाउँले इलाकामा छरिदिए ।
पेचिङ रिभ्यू,
१२ अगस्ट १९७७, नं. ३३

Leave a Reply

Your email address will not be published. Required fields are marked *