भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
-रङ्गनायकम्मा
माक्र्सले ‘पूँजीवाद’ को विषयमा ‘पूँजी’ लेखेजस्तो ‘जात’ को विषयमा विशेष रचना लेख्नुभएको छैन । तैपनि आफ्ना रचनाहरूमा उहाँले भारतको जातिप्रथा र जातहरूसित मिल्दाजुल्दा रीतिथितिको अध्ययन गर्नुभएको थियो । यी अध्ययनको मद्दतबाट हामीले जातको अवधारणा र यस विषयमा उहाँले औँल्याएका समाधान बुझ्न सक्छौँ ।
जानेर, नजानेर वा अधकल्चो ज्ञानका कारण विश्वका कतिपय मानिसजस्तै माक्र्सको सिद्धान्तको खेदो खन्नेहरू भारतमा पनि छन् । यस्ता भारतीय विरोधीहरूले माक्र्सको सिद्धान्तबारे खासगरी दुईथरी धारणा राख्छन् । १) माक्र्सको सिद्धान्त १९ औँ शताब्दीको युरोपमा सान्दर्भिक थियो तर अन्य देशमा असान्दर्भिक छ । २) माक्र्सको सिद्धान्त अन्य देशमा सान्दर्भिक होला तर भारतमा सान्दर्भिक हुनैसक्दैन । किनभने यहाँ जातिप्रथा छ । र यो प्रथा माक्र्सको सिद्धान्तको दायराभित्र पर्दैन ।
यी दुई विचारहरू माक्र्सको सिद्धान्तको विपक्षमा छन् । यद्यपि यी दुवै विचार पूर्णतः गलत छन् । माक्र्सको सिद्धान्त ‘श्रम सम्बन्ध’ बारे बोल्छ । त्यसैले यो सिद्धान्त मानव समाजको प्रत्येक भागमा लागू हुन्छ । हरेक सम्बन्धमा यो लागू हुन्छ ।
कुनै देश वा कुनै अवधिको त्यहाँको समाज केवल ‘श्रम सम्बन्ध’ को आधारमा बाँच्छ । कुनै समाजको ढाँचा त्यसको श्रम सम्बन्धको ढाँचामा भरपर्छ ।
माक्र्सले ती श्रम सम्बन्धबारे बोल्नुभएको छ । उहाँले सयौँ, हजारौँ वर्षयता श्रम सम्बन्धहरूको दबुलीमा देखापरेको ‘श्रमशोषण’ बारे बोल्नुभएको छ । उहाँले श्रमशोषणका कारण उत्पन्न भएका विविध समस्याहरूबारे चर्चा गर्नुभएको छ । उहाँले ती समस्याहरूको समाधान खुट्याउनुभएको छ । त्यसैले, हाम्रा समस्याहरू बुझ्ने जिम्मा हाम्रो हो । पहिले त, भारतमा श्रमको शोषण छ÷छैन निधो गर्नुपर्छ । श्रम सम्बन्धको परिधिभित्र जातको कुरा पर्छ÷पर्दैन त्यो पनि निधो गर्नुपर्छ । हामीले जातपात र श्रमबीच सम्बन्ध छ भन्ने ठम्यायौँ भने हामी निःसन्देह माक्र्सको सिद्धान्त भारतमा पनि लागू हुन्छ भन्ने निष्कर्षमा पुग्छौँ ।
मानव समाजसित जोडिएको कुनैपनि समस्या श्रम सम्बन्धसितै जेलिएको हुन्छ । जातपातको कुरा मानव जातिसित गाँसिएको हुनाले यो विषय श्रम सम्बन्धबारे बोल्ने सिद्धान्तको परिधिभित्र पर्छ ।
श्रमशोषण र वर्गभेदमा आधारित भारतलगायत सबै देशमा माक्र्सको सिद्धान्त लागू हुन्छ । किनभने माक्र्सको सिद्धान्त श्रमको शोषण पहिल्याएर विवेचना गर्ने एकमात्र सही सिद्धान्त हो ।
साथसाथै, यस सिद्धान्तले किन उपयोग मूल्यको कोणबाट मानव सम्बन्धहरू स्थापित गरिनुपर्छ भनी व्याख्या गर्छ र यस्तो दृष्टिकोणको अभावमा कस्ता समस्या उत्पन्न हुन्छन् भनी व्याख्या गर्छ । अतः भविष्यमा श्रमको शोषण नहुने अवस्थामा पनि समाजलाई संगठित गर्ने मार्गदर्शक सिद्धान्तको रुपमा यो सिद्धान्त उपयोगी हुनेछ ।
जाति प्रथा भारतको विशिष्ट समस्या भएपनि हामीले श्रमसितको यसको सम्बन्ध बुझ्यौँ भने माक्र्सको सिद्धान्त यहाँ कसरी सान्दर्भिक छ भनी ठम्याउन सक्छौँ ।
छिप्छिपे हिसाबले भएपनि जातहरूलाई नियाल्यौँ भने यिनीहरूबीच खास एवं स्वाभाविक भिन्नता पाइन्छ । त्यो हो, केही जात माथिल्ला छन् र केही तल्ला । केको आधारमा यो ‘माथिल्लो–तल्लो’ मा विभेद पाइन्छ ? साधारणतया सबै माथिल्ला जातहरू तिनै हुन् जोसित जमिन, पूँजी र पैसा छ, जोसित प्रभुत्व (जभनझयलथ) छ र जो सामाजिक संगठन र प्रशासनमा संलग्न छन् । फेरि, साधारणतया सबै तल्ला जातहरू तिनै हुन् जोसित सम्पत्ति छैन, आजिविकाको साधनको रुपमा पनि सम्पत्ति छैन । उनीहरू श्रमिक र नोकर–चाकरको रुपमा बाँच्छन् । उनीहरू माथिल्ला जातका मानिसको प्रभुत्व र शासनमुनि बाँच्छन्, चरम गरिबी र सामाजिक हीनतामा बाँच्छन् ।
माथिल्ला जातका मानिसमा ‘कुनै श्रम नगर्ने’ खालको जीवनशैली पाइन्छ । श्रम गरेपनि मानसिक र सफा श्रममा संलग्न हुन्छन् । अर्कोतिर, तल्ला जातका मानिसको स्थिति ठीक उल्टो छ । तल्ला जातकाहरू कुनै श्रम नगरी बाँच्ने कुरा कल्पना नै गर्न सक्दैनन् । उनीहरूले गर्ने काम सबैभन्दा तल्लो स्तरको शारीरिक श्रम हो । सम्पूर्ण समाजलाई सफा गर्नलाई चाहिने सबै खालका फोहर श्रम ती जातको जिम्मेवारी हो ।
अर्थशास्त्रको नियमानुसार मानसिक श्रमको मूल्य बढी हुन्छ र शारीरिक श्रमको मूल्य कम हुन्छ । यो कुरा मूल्य सिर्जनाको प्राकृतिक नियममा भरपर्छ । कुनै खास श्रम सिक्नलाई लाग्ने स्रोतसाधनको आधारमा बेग्लाबेग्लै तवरले थरीथरीका श्रमको मूल्य सिर्जना हुन्छ । यसमा कुनै ‘खोट’ छैन । मानसिक श्रमको मूल्य बढी र शारीरिक श्रमको मूल्य कम हुनाले सधैँ मानसिक श्रम गर्ने व्यक्तिले धेरै आम्दानी गर्छ भने सधैँ शारीरिक श्रम गर्ने व्यक्तिले थोरै आम्दानी गर्छ । शोषणमा आधारित समाजले थरीथरीका श्रमको मूल्यबीच विद्यमान स्वाभाविक खाडललाई बढाइदिन्छन् । यसरी, त्यस्ता समाज र त्यहाँका रीतिरिवाजले मानसिक श्रमको मूल्य त्यसमा अन्तर्निहित मूल्यभन्दा बढी तिर्छन् र शारीरिक श्रमको मूल्य त्यसमा अन्तर्निहित मूल्यभन्दा कम तिर्छन् । श्रमशोषणमा आधारित समाजहरूले शारीरिक श्रमको चर्को शोषण गर्छन् खासगरी सबैभन्दा तल्लो खालका शारीरिक श्रमहरू । एकजना डाक्टर र एक कृषि मजदुरलाई नै लिउँ, शोषणमा आधारित समाजमा उनीहरूको आम्दानी र जीवनशैलीमा आकाश पातालको भिन्नता पाइन्छ जबकि दुवैले श्रम गर्छन् ।
यो व्यवस्था धेरै अघिदेखि चल्दै आएको छ । यो व्यवस्थामा उत्पादनका सारा साधनहरूलाई आफ्नै सम्पत्ति बनाएको एउटा वर्ग श्रमको शोषण गरेर बाँच्छ । सम्पत्तिको अधिकारको नाममा यस वर्गले जमिनबाट कुत कुम्लाएर, अथवा पूँजीबाट ब्याज र नाफा चुसेर अरु कुनै श्रम नगरी बाँच्छ ।
शोषणका यी सम्बन्धहरूबाट उत्पन्न हुने श्रमविभाजनले श्रमिक जनतालाई सधैँ एकै किसिमको श्रमसित मात्र बाँध्छ । शारीरिक श्रम गर्ने व्यक्तिले जिन्दगीभरि एकै किसिमको श्रम गरी खिइनुपर्छ । उसले कुनै किसिमको मानसिक श्रम गर्ने, त्यसको लागि चाहिने शिक्षा वा त्यसबाट पाइने आम्दानीको अपेक्षा राख्न संभव छैन । मानसिक श्रम गर्ने डाक्टर, इन्जिनियर र वैज्ञानिकहरूले कुनै शारीरिक श्रम गर्नुपर्ने आवश्यकता छैन । उनीहरूले आफ्नै फोहोरमैला सफा गर्ने जिम्मेवारी पनि पूरा गर्न जरुरी छैन ।
कुनै समाजको जनसंख्याको एउटा तप्का कुनै श्रम नगरी बसिरहेको तथ्यले के देखाउँछ भने जनसंख्याको बाँकी हिस्साले ती सबै श्रम गर्छ । यहीँ भइरहेको छ, भारतमा होस् वा अन्य कुनै देशमा । भारतका माथिल्ला जातहरू शारीरिक श्रम र फोहर श्रम नछोइकन बाँचिरहेको तथ्यले के देखाउँछ भने उनीहरूले त्यो बोझ तल्ला जातहरूलाई बोकाएका छन् ।
यी सबै विषय श्रमविभाजनसित जोडिएको छ । एउटा वर्गले काम गर्दैन र अर्काको श्रममा बाँच्छ भने त्यो श्रमविभाजनको विषय हो । साथसाथै, एउटा व्यक्ति जहिल्यै एकै किसिमकोे श्रममा बाँधिन्छ भनेपनि त्यो श्रमविभाजनकै विषय हो । श्रम र श्रम सम्बन्धसित नगाँसिएरै जातहरूको उत्पत्ति भएको होइन । दोषपूर्ण सामाजिक सम्बन्धका धेरै समस्याहरूमध्ये जातको विषय पनि एक हो । श्रम सम्बन्ध, त्यसको मूल्यसम्बन्धी नियम, श्रमविभाजन र सम्पत्तिको अधिकारहरूको शोषणपूर्ण बनोट यस समस्यासित जेलिएको छ ।
तसर्थ, माक्र्सवादले प्रयोग गर्ने आर्थिक अवधारणाका (उपयोग मूल्य, विनिमय मूल्य, मानसिक श्रम, शारीरिक श्रम, श्रमको मूल्य, श्रमशक्तिको मूल्य, सम्पत्ति सम्बन्धहरू, मालिकत्व र दासत्वजस्ता धेरै) तत्वहरूको अध्ययनबाट हामीले जातको विषयलाई बुझ्नुपर्छ ।
माक्र्स (र एंगेल्स) ले भारतको जातपातबारे पहिलोपल्ट ‘जर्मन विचारधारा’ (१८४५–६) मा बोल्नुभएको थियो । उहाँले ‘पूँजी’ (१८६७) मा छ वा सात ठाउँमा जातपातबारे अध्ययन र विवेचना गर्नुभयो । ती अध्ययन र माक्र्सको सिद्धान्तको सविस्तार व्याख्या गरिएको ‘पूँजी’ मार्फत हामीले जातको समस्यालाई बुझ्न र त्यसको समाधान पहिल्याउन सकिन्छ ।
माक्र्सको सिद्धान्तअनुसार मानव इतिहासको विकासक्रमको पछाडि भौतिक कारण हुनैपर्छ । यो जवाफ सत्य हो भने त्यो कारण श्रम सम्बन्धबाट उत्पन्न हुन्छ । तथापि धेरै समय अघिदेखि दार्शनिकहरूमाझ इतिहासको विकासक्रमबारे आदर्शवादी अवधारणा हावी छ । यस अवधारणाले मानव इतिहास देवता, देवताको अवतार मानिने राजा–महाराजाहरू, धार्मिक नेताहरू वा कुनै अलौकिक शक्तिको इच्छाअनुसार उत्पन्न एवं विकसित भएको मान्छ ।
जुनसुकै समस्याको फेँदमा कुनै भौतिक आधार देख्न नसक्ने विचार नै आदर्शवाद हो । ऐतिहासिक प्रक्रियासम्बन्धी गलत अवधारणालाई सामान्य रुपमा र जर्मनीमा हेगेलोत्तर आदर्शवादी अवधारणालाई विशिष्ट रुपमा आलोचना गर्ने क्रममा ‘जर्मन विचारधारा’ मा माक्र्सले जातको विषयमा निम्न विचार व्यक्त गर्नुभएको थियो ः
“भारतवासी र इजिप्टवासीहरूमा पाइने श्रमविभाजनको काँचो स्वरुपले तिनको राज्य र धर्ममा जातिप्रथा निम्ताउँदा इतिहासकार ढुक्क भई भन्छ – जातिप्रथा त्यो शक्ति हो जसले यो काँचो सामाजिक स्वरुपको सिर्जना गरेको हो ।” ( मस्को संस्करण १७६, पृ.६३ )
यो श्रमविभाजनले जातपात ल्याउँछ कि जातपातले श्रमविभाजन ल्याउँछ भन्ने विषय हो । माक्र्सको विचारमा श्रमविभाजन प्राथमिक हो । श्रमविभाजन नै कालान्तरमा जातिप्रथामा फेरियो । यस्तो हुनुपर्नेमा इतिहासकारहरूले जातपातलाई प्राथमिक माने र यसबाट श्रमविभाजन उत्पन्न हुने ठाने । तसर्थ, माक्र्सले त्यस्ता इतिहासकारको आलोचना गर्नुभयो ।
शुरुमा समाजमा जातपातको उदय कसरी भएको हुँदो हो ? त्यसरी हुनुको कुनै कारण हुनैपर्छ । कारण छ भने उक्त कारण नै आधारभूत बिन्दु हो ।
बाँच्नको निम्ति मानव जातिलाई थरीथरीका श्रमको खाँचोे पर्छ । थरीथरीका श्रमहरू जन्मिँदै अघि बढ्दै जाँदा तिनीहरूबीच केही विभाजन देखापर्छ । कुनैपनि श्रमविभाजन कसरी फेरिँदै जान्छ भन्ने प्रश्नलाई थाती राख्ने हो भने प्रारम्भिक जग भनेकै थरीथरीका श्रमहरूको अस्तित्व हो ।
जातहरूले के गर्छन् भनी नियाल्यौँ भने भिन्न जातले भिन्नभिन्न किसिमका श्रम गरेको फेला पर्छ । प्राचीन समयदेखि नै जातहरू र थरीथरीका श्रमबीच सम्बन्ध रहँदै आएको छ । हामीले तर्कपूर्ण ढंगले सोच्यौँ भने थरीथरीका श्रमको विभाजन आफै क्रमशः जातहरूमा फेरिएको फेला पार्न सक्छौँ । जेहोस्, थरीथरीका श्रम र श्रमविभाजन सबै देश र सबै समाजमा पाइन्छ । तैपनि, श्रमविभाजन भारतमा मात्रै जातहरूमा किन फेरियो ?
यस विषयमा उल्लेखनीय अनुसन्धान गरेकाहरूले पनि यस प्रश्नको जवाफ दिन सकेका छैनन् । कुनै अनुसन्धाताले योभन्दा अगाडि बोल्न सक्दैन – “जातहरू अन्त कतै छैनन् । खालि भारतमा भेटिएका छन् ।”
तसर्थ, हामीसामु प्रश्नको समाधान पहिल्याउने काम बाँकी छ । समाधान पहिल्याउनलाई यो विषय तय गर्नुपर्छ, “श्रमविभाजनले जातपात ल्याउँछ कि जातपातले श्रमविभाजन ल्याउँछ ।” यो विषयको छिनोफानो नगर्दासम्म हामी समाधानतर्फ एक पाइला पनि अघि सार्न सक्दैनौँ ।
हामीले देख्यौँ, माक्र्सको विचारमा श्रमविभाजन प्राथमिक हो । श्रमविभाजन नै जातिप्रथाको रुपमा थेग्रिएको थियो । त्यसैले समस्या सिर्जना गर्ने श्रमविभाजनलाई फेर्नु नै जातिप्रथाको समाधान हो । कुनैपनि श्रम नगर्ने तर शोषण गरी बाँच्ने वर्गलाई तानेर श्रम प्रक्रियामा ल्याएर पहिलो हेरफेर हुनुपर्छ । शोषणको मारमा परेको श्रम गर्ने अथवा कामदार वर्गले यो संघर्ष गर्नुपर्छ । यो वर्गसंघर्ष दास प्रथाताका थालिएको थियो ।
शारीरिक श्रम गर्ने तल्ला जातको समस्त जनसंख्या कामदार वर्गको हिस्सा हो । शोषणकारी श्रम सम्बन्धबाट मुक्ति नै आफ्नो उद्देश्य हो भनी यस वर्गले मनन गर्नैपर्छ । साथसाथै, यस वर्गले संघर्षको क्रममा श्रमविभाजनलाई उल्टाउनैपर्छ । सधैँ एकजना व्यक्तिले एक्लै शारीरिक श्रम र अर्कोले एक्लै मानसिक श्रम गर्नुपर्ने अवस्थाको ठाउँमा हरेक व्यक्तिले निश्चित किसिमको मानसिक श्रम र निश्चित किसिमको शारीरिक श्रम दुवै गर्नुपर्ने खालको हेरफेर हुनुपर्छ ।
प्रत्येकले श्रम गर्नैपर्छ ।
प्रत्येक व्यक्तिले थरीथरीको श्रम गर्नैपर्छ । क्रमशः हाम्रा अनुभवमार्फत हामीले यस्तो किसिमको नयाँ श्रम सम्बन्ध बसालेर व्यवस्थित गर्दै लानुपर्छ । हजारौँ वर्षदेखि शारीरिक श्रम र दासतामुनि खपिनसक्नु जीवन बिताउँदै आएको तल्ला जातको मुक्तिको यो नै एकमात्र मार्ग हो । वर्गसंघर्षबाट मात्रै यो मार्गमा लम्कन संभव छ ।
१८४६ डिसेम्बरमा एक रुसी विद्वान अन्नेन्कोभले प्रुधोँको पुस्तक ‘गरिबीको दर्शन’ बारे माक्र्सको विचार सोधेका थिए । अन्नेन्कोभलाई लेखेको जवाफी पत्रमा, श्रमविभाजनबारे प्रुधोँको बुझाई उपयुक्त नभएको र उनले श्रमविभाजन सधैँ एकै खालको हुन्छ भन्ने मान्यता राखेको भनी माक्र्सले टिप्पणी गर्नुहुन्छ । माक्र्सले निम्न कुरा लेख्नुभयो ः
“तर के जातीय शासन पनि एउटा विशिष्ट श्रमविभाजन थिएन ? के कर्पोरेशनहरूको शासन अर्को श्रमविभाजन थिएन ? र सत्रौँ शताब्दीको आधाआधीबाट शुरु भएर अठारौँ शताब्दीको अन्त्यसम्म देखापरेको बेलायतको कारखाना प्रणालीभित्रको श्रमविभाजन के आधुनिक विशालकाय उद्योग भित्रको श्रमविभाजनभन्दा नितान्त भिन्न छैन ?” (दर्शनको गरिबी, पृ. १५८, मस्को, १९६६)
सन् १८४७ मा प्रुधोँको पुस्तकको आलोचनामा माक्र्सले ‘दर्शनको गरिबी’ लेख्नुभयो । त्यसमा उहाँ भन्नुहुन्छ ः
“पितृसत्तात्मक व्यवस्थाभित्र, जातिप्रथाभित्र, सामन्तवादी र कर्पोरेट व्यवस्थाभित्र, केही निश्चित नियमअनुसार समाजैभरि श्रमविभाजन भयो । के यी नियम व्यवस्थापिकाले स्थापित गरेको हो ? होइन । शुरुमा भौतिक उत्पादनका परिस्थितिबाट जन्मिएका यी नियम भौतिक उत्पादनका परिस्थितिबाट उब्जिन्छन् । पछिमात्र यी नियम कानुनको तहमा उकासिन्छन् । यसप्रकार श्रमविभाजनका यी विभिन्न स्वरुपहरू सामाजिक संगठनका अत्याधिक आधार बने ।” (पृ. ११८)
१८५९ मा लेखिएको आफ्नो रचना ‘राजनीतिक अर्थशास्त्रको आलोचनामा योगदान’ मा ‘पूँजीवादी अर्थशास्त्रीहरूले कसरी उत्पादन र वितरणबीचको सम्बन्धलाई गलत बुझ्छन्’ भन्ने विषयमा टिप्पणी गर्दै माक्र्सले जातपातको सन्दर्भ उक्काउनुहुन्छ ः
“वा, कानुनले जमिनको स्वामित्वलाई निश्चित परिवारमा चिरस्थायी बनाएर, वा श्रमलाई पुस्तैनी अधिकारको रुपमा छुट्याएर, यसलाई जातिप्रथाको रुपमा सुदृढ पार्न सक्छ ।” (पृ. २०१, मस्को, १९७० संस्करण)
१८५३ को आफ्नो लेख ‘भारतमा बेलायती शासनको भावी परिणाम’ मा माक्र्सले जातपात र श्रमविभाजनबारे निश्चित विचार व्यक्त गर्नुभएको छ ः
“रेलमार्गको विस्तारबाट झाङ्गिएको आधुनिक उद्योगले भारतीय प्रगति र भारतीय शक्तिको निर्णायक बाधक अर्थात् भारतीय जातहरू अडिएको पुस्तैनी श्रमविभाजन नष्ट गर्नेछ ।” (उपनिवेशवादबारे, मस्को संस्करण १९४७, पृ. ८५)
“मलाई थाहा छ, अंग्रेज उद्योगतन्त्रले आफ्ना कारखानाको निम्ति कपास र अन्य कच्चा पदार्थहरू अति कम भाउमा दोहन गर्ने प्रष्ट विचारले भारतमा रेलमार्ग बिछ्याउन चाहेको हो ।” (पृ. ८४)
“बाध्य भए पनि सरा अंग्रेज बुर्जुवाहरूले जनताको एक हिस्सालाई मुक्त गर्नसक्दैनन् न त उनीहरूको सामाजिक स्थितिलाई भौतिक रुपमा सुधार्न गर्नसक्छन् । यो उत्पादक शक्तिमा मात्र भर पर्दैन, जनताले आत्मसात गर्ने विषयमा पनि भर पर्छ । तर दुवै कामको लागि भौतिक जग हाल्नमा भने उनीहरू विफल हुनेछैनन् ।” (पृ.८५)
माक्र्सको कथन (आधुनिक उद्योगले पुस्तैनी श्रमविभाजन नष्ट गर्नेछ) बाट हामीले के निक्र्याेल निकाल्न सक्छौँ भने आधुनिक उद्योगले श्रमविभाजनको परम्परागत पक्षलाई रुपान्तरण गर्नेछ । उहाँले यस्ता हेरफेरहरू कामदार वर्गलाई मुक्त गर्न पर्याप्त हुनेछैनन् भन्नुभएको छ । उहाँले कामदार वर्गले शुरुमा उत्पादनका साधनहरू हत्याउनका लागि मालिक वर्गविरुद्ध संघर्ष गर्नुपर्छ पनि भन्नुभएको छ । फलस्वरुप सम्पत्तिको अधिकारको नाममा शोषक वर्गलाई कामदार जनताबाट जमिनको कुत, ब्याज र पूँजी हडप्न सघाउने औजारहरू मेटाइनेछन् । त्यसको ठाउँमा यस्ता मालिकहरूको आवश्यकता पर्नेछ जो आफ्नै श्रममा बाँच्छन् । सबै मानिसले काम गरेपछि मालिक र कामदारको सम्बन्ध उत्पादकहरूबीचको सम्बन्धमा फेरिनेछ । यो सम्बन्ध एकअर्कासित बराबरको सम्बन्ध हुनेछ ।
हामीले जहाँजहाँ श्रम सम्बन्ध असमान देखिन्छ त्यसलाई फेर्नुपर्छ । श्रमविभाजन रुपान्तरण गर्नुपर्ने कुरा यी सबै अवस्थामा लागू हुन्छ । जातहरूबीचको श्रमविभाजनमा परिवर्तन, पुरुष र महिलाबीचको परम्परागत श्रमविभाजनमा परिवर्तन आदि सबै यसैभित्र पर्छन् ।
श्रमशोषणको विरोधमा साँचो दृष्टिकोणबाट उठाइएको वर्गसंघर्षको बाटो पछ्याएर कामदार वर्गले (माक्र्सको शब्दमा) ‘गलत सामाजिक सम्बन्धहरू’ का विविध स्वरुपहरू फेर्न र आफैलाई वर्ग मालिकहरूको दासताबाट मुक्त पार्न संभव छ ।
समाजमा सबै तल्ला जातहरू कामदार वर्गका हिस्सा हुन र उनीहरू शोषणमा टिकेको परम्परागत श्रमविभाजनभित्र बाँचिरहेका छन् भने गलत सामाजिक सम्बन्धहरूको उन्मूलन नै ती जातहरूको मुक्तिको एकमात्र सटिक समाधान हो ।
सन् १८६७ मा प्रकाशित ‘पूँजी’ को पहिलो भागमा जातपातसम्बन्धी माक्र्सको अध्ययन ः
“कारखाना (mबलगाबअतगचभ) ले वास्तवमा पुनरुत्पादन गर्दै र ( समाजमा व्यापक रुपमा पहिल्यैदेखि तयारी अवस्थामा यसले प्राप्त गर्ने धन्दाहरूको स्वाभाविक तवरले विकसित विविधता अर्थात् ) कार्यशालामा योजनाबद्ध हिसाबले चरमोत्कर्षमा पु¥याउँदै तपसिलका मजदुरका मसिना शिल्पहरू उत्पन्न गर्छ । अर्कोतिर, आंशिक कामलाई व्यक्तिको आजीवन कर्ममा फेरेर अर्थात् धन्दालाई पुस्तैनी बनाएर त्यसलाई जातको रुपमा कडा बनाउनु अथवा निश्चित ऐतिहासिक अवस्थाहरूले गर्दा व्यक्तिमा जातीय स्वरुपसित तादात्म्यता नराख्ने स्वाभाव ल्याएमा त्यसलाई शिल्पसंघको रुपमा कायम गर्नु प्रारम्भिक समाजहरूको स्वाभावसित मेल खान्छ । वनस्पति र जीवजन्तुलाई प्रजाति र प्रकारमा अलग्याउन नियमन गर्ने प्राकृतिक कानुनले नै जात र शिल्पसंघलाई जन्म दिन्छ । फरक यत्ति हो, विकासको निश्चित चरणमा पुगेपछि जातहरूको पुस्तैनीपना र शिल्पसंघहरूको एकात्मकता सामाजिक कानुनको रुपमा कायम रहन्छन् ।” (पृ. ३२१ मस्को संस्करण १९७४)
यहाँ यी शब्दहरूको पुछारमा माक्र्सले अर्का एक लेखकका शब्दहरू टिप्पणीको रुपमा उद्धृत गर्नुभएको छ ः
“शिल्पको पनि…. मिश्रमा आवश्यक तहसम्म विकास भएको छ । किनकि यो मात्र एक यस्तो देश हो जहाँ कारिगरहरू नागरिकभित्रको कुनै अर्को वर्गको काममा भाँजो हाल्दैनन् । अरु देशमा व्यापारीहरूले अति धेरै वस्तुमा आफ्नो ध्यान बाँडेकोे पाइन्छ । एक समयमा उनीहरूले कृषिमा, अर्कोमा व्यापार, झन् अर्कोमा दुई तीन व्यवसायमा एकैपटक आफैलाई व्यस्त राख्छन् । स्वाधीन देशहरूमा त उनीहरू प्रायः मानिसहरूको जमघटमा धाइरहन्छन् ।…….. यसको उल्टो मिश्रमा, कारिगरले राज्यका मामिलाहरूमा भाँजो हाल्यो भने वा धेरै प्रकारका धन्दामा एकैपटक हात हाल्यो भने कारिगरलाई कठोर सजायसमेत दिइन्छ । तसर्थ त्यहाँ उनीहरूको काम बिथोल्ने कोही हुँदैन । साथै, आफ्नो पुर्खाबाट असंख्य नियमहरू पुस्तैनी रुपमा प्राप्त गरेकोले उनीहरू नयाँनयाँ फाइदाहरू खोज्न उत्सुक हुन्छन् । (पृ. ३२१–२२)
मिश्रमा हस्तकलाको त्यो हदसम्मको विकास हुनुको कारण उनीहरू एउटै पेशामा कायम रहनुपर्ने नियम थियो । उनीहरूलाई अरु पेशामा पनि हात हाल्न अनुमति थिएन । त्यसो गरेमा सजाय दिइन्थ्यो । यसकारण, त्यहाँ सबै धन्दाहरू विशिष्ट पेशाको चरणमा उकासिए ।
यो विषय श्रमविभाजनसित जोडिन्छ । भारतमा मात्रै जातहरू किन देखापरे भन्ने हामीलाई थाहा नभएजस्तै पेशाको हदबन्दी र कठोर सजाय मिश्रमा मात्रै किन देखापरे अज्ञात छ । त्यहाँ श्रमविभाजनले त्यस्तो खालको स्वरुप लियो भन्ने मान्यताभन्दा बढ्ता कुरा हामीले हात पर्न सक्दैनौँ ।
पूँजीवादको विकासको परिणामस्वरुप श्रमविभाजनका स्वरुपहरू केही हदसम्म विश्वभरि नै फेरिइरहेका छन् । यी हेरफेरहरू भारतमै पनि भइरहेका छन् । पुख्र्यौली पेशासम्बन्धी नियमहरू फेरिइरहेका छन् । तैपनि यी हेरफेरहरू आफैले जातिप्रथालाई हटाउन भने सक्नेछैनन् । जातमा आधारित पेशाहरू अधिकांश तल्लो जातका मानिसहरूमा अझै पनि पाइन्छ । किनभने उनीहरूको आर्थिक अवस्था त्यस्तो छैन जसले उनीहरूलाई जातीय पेशा त्यागेर मानसिक श्रममा पुग्न सक्षम बनाओस् ।
माक्र्सका यी सबै अध्ययनमा टेकेर हामीले यो तथ्य बुझ्नुपर्छ, पुरानो श्रमविभाजन नै जाति प्रश्नको आधार हो । यद्यपि, यो प्रथा भारतमा मात्रै देखापर्नुको कारण व्याख्या गर्ने कुनै प्रमाण भेटिएको छैन ।
जातिप्रथा श्रमविभाजनकै एउटा रुप हो । जातीय भेदभावको पैरवी गर्ने कानुनहरू नभएतापनि विद्यमान सबै सामाजिक परिस्थितिहरूले जातहरूलाई ज्यूँकात्यूँ राख्छन् ।
माक्र्सका दोहोरिएका अध्ययनलाई पछ्याउँदै हामीले भारतका वर्गहरू केलायौँ भने सबै तल्ला जातहरू कामदार वर्गको हिस्सा हुन् । अझै, यी यस्ता हिस्सा हुन् जो धेरै हदसम्म श्रमशोषणको मारमा छन् । उनीहरूले आफूलाई शोषणबाट मुक्त गर्नुपर्छ । उनीहरूले शोषणकारी समाजहरूले सिर्जना गरेको श्रमविभाजनलाई फेर्नुपर्छ । यसका लागि उनीहरूको केवल वर्गसंघर्षको बाटोमा लम्कनुपर्छ । उनीहरूले त्यो बाटो नठम्याए वा त्यस दिशामा नहिँडे यस समस्याबाट निस्कने बाटो रहनेछैन । साथै, हजारौँ वर्षयता जातिप्रथाभित्र पिल्सिँदै आएजस्तो भविष्यमा पनि यहीँ अवस्थाले निरन्तरता पाउनेछ । यसबाट उम्कने कुनै चोरबाटाहरू छैनन् ।
तैपनि, तल्ला जातका विद्वानहरूले अझैपनि आफ्ना आँखा उघारेका छैनन् । उनीहरूले अझै पनि (शोषक वर्गले दाउपेचमा फाल्ने) आरक्षणको भिख र साँचो मुक्ति बीचको भिन्नता बुझेका छैनन् । आरक्षणको रुपमा केही मुठ्ठिभर मानिसहरूलाई उपलब्ध हात्तीको मुखमा जिरा सरहका अवसरहरूबाट सन्तुष्ट भएर उनीहरूले आफ्नो तल्लो जातीय अवस्थालाई दीर्घकालसम्म सुरक्षाको रुपमा कायम गर्छन् । शोषक वर्गको वर्तमान सरकारमा छिर्नु नै आफ्नो उद्देश्य ठान्छन् ।
कल्पना गरौँ भारतमा सूचीकृत जात, सूचीकृत आदिवासी र पिछडा जातका प्रतिनिधिहरूको बहुमत पुग्ने सरकार बन्यो ! जातपातलाई उन्मूलन गर्न त्यो सरकारले के गर्न सक्ला ? यस सम्बन्धमा उनीहरूको कार्यक्रम के रहला ? त्यसले कसरी शोषणकारी सम्पत्ति सम्बन्धहरूलाई नष्ट गर्ला ? हरेक किसिमका फोहर श्रम गरी बाँचिरहेका तल्ला जातका मानिसहरूको आर्थिक दुरावस्था कस्तो कार्यक्रमले फेर्ला ?
बढी गरे, त्यसले ‘जातीय भेदभाव नमानौँ !’ जस्ता लटरपटर भनाइसहितका केही कानुनहरू बनाउला । यस्ता कानुनहरू पालन गर्न कसलाई कर गर्ने ? के त्यो सरकारले कानुनको उर्दी लगाएर एउटी बाहुनी केटी र चमार केटाबीच बिहेबारी गरिदिन सक्ला ? के त्यसले दुई व्यक्तिहरूलाई कुनै पनि बेला नजिक्याउन सक्ला ? आर्थिक अवस्थाहरू नफेरिकन त्यसले अन्तर्जातीय बिहेबारीको ढोका खोल्न सक्ला ? के त्यसले सामाजिक सम्बन्धहरूको एउटा पनि पक्षलाई प्रशासन लगाएर फेर्न सक्ला ? उसोभए राज्य शक्तिको बागडोर लिएर तल्ला जातको सरकारले के पाउला ?
यत्ति हो त्यस सरकारले श्रमशोषणको प्रक्रियामा आफ्नो भागको हिस्सा हात पार्नसक्छ । त्यसले माथिल्ला जातका बुर्जुवाहरूछेउ तल्ला जातका बुर्जुवा भई उभ्भिने ठाउँ पाउनेछ ।
हामीले तल्ला जातका मानिसको सरकार पनि देखिरहेकै छौँ । उनीहरूको उद्देश्य भनेकै दलित बहुजन बुर्जुवा सिर्जना गर्नु हो । थाहा छ, यसको अर्थ के हो ? यत्ति हो, तल्ला जातका साधारण जनतालाई तल्ला जातकै बुर्जुवाहरूबाट शोषण ! तल्ला जातका सरकारहरूले यो सफलता सजिलै पाउनेछन् ।
(फ्रन्टियर, जनवरी १८–२४, २००४)
अनुवादःसुरेश
Leave a Reply