भर्खरै :

देश आत्मनिर्भर बनाउन विदेशीको भर पर्न नहुने

देश आत्मनिर्भर बनाउन विदेशीको भर पर्न नहुने

केही वर्षअगाडि हालका प्रधानमन्त्री बालेन साहले एक सञ्चारकर्मीसँग नेपालका दलहरूमध्ये सबभन्दा राम्रो दलको रूपमा छान्नुपर्दा कुन दललाई छान्नुहुन्छ भनी सोधिएको प्रश्नको जवाफमा नेपाल मजदुर किसान पार्टीलाई छान्छु भनेको सञ्चारमाध्यममा आएकै हो । उनले भने, अरु दलभन्दा यसको काम गर्ने शैली फरक छ । विकास निर्माणमा स्थानीय स्रोतलाई प्राथमिकतामा राखेर काम गर्ने शैली राम्रो लाग्यो । उसले स्थानीय जनताकै सक्रिय सहभागितामा उपभोक्ता समिति गठन गरेर काम गरेको अनुकरणीय छ । त्यहाँ सरसफाइ, सम्पदालगायतका विकास निर्माणमा स्थानीय जनताको सक्रिय साथ र सहयोग मिलेको छ । यसले गर्दा त्यहाँको विकास निर्माण राम्रो, गुणस्तरीय र बलियो तथा कम खर्चमा सम्पन्न हुन्छ । यहाँको विकास, निर्माण स्थानीय जनताको साथ र सहयोगमा हुने हुँदा भ्रष्टाचार हुँदैन । बरु, श्रमदान र अन्य सहयोग हुन्छ । यसले आफ्नै खुट्टामा उभेर विकास निर्माण गर्नुको साथै जनतालाई सांस्कृतिक र राजनीतिक चेतना दिनुपर्ने सन्देश देशलाई दिएको छ ।
आज देशमा बालेन्द्र साहको नेतृत्वमा झण्डै दुईतिहाइको सरकार बनेको छ । विगतको सरकारको कमी कमजोरीको कारण रास्वपाले सोचेभन्दा धेरै सीट जित्न सफल भएकोमा दुई मत नहोला । देश परनिर्भर छ । देशमा भ्रष्टाचार व्याप्त छ । भ्रष्टाचारले देश खोक्रो बनाएको छ । देशको शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, रोजगारी, व्यापार चौपट छ । सुस्ता, कालापानी, लिपुलेक, लिम्पियाधुरालगायतको नेपाली भूमि भारतबाट मिचिएको छ । विगतका सरकारहरूले महाकाली, एमसीसीलगायतका असमान र देशघाती सन्धि, सम्झौता गरे । शासकहरू विदेशीको लोभ र धम्कीको अगाडि झुके ।
भ्रष्टाचारको धमिराले देश खोक्रो पारिसकेको छ । देश बनाउन निरन्तर अगाडि बढेका केही देशभक्त दल र नेताबाहेक शासक दलका नेताहरूको निधारमा कालो दाग लागिसकेको जनताले अनुभव गरेकै हुन् । देशलाई यो दलदलबाट उँभो लगाउन भ्रष्टाचारमुक्त र सुशासन ल्याउन दूरदूष्टि राखेर वर्तमान सरकार अघि बढ्नुको विकल्प छैन । छानबिन आयोग र अदालतले दोषी ठह¥याएका व्यक्तिहरूको सम्पत्ति जफत गरेर राष्ट्रियकरण गर्नु जरुरी छ । भ्रष्टाचार घट्नुको सट्टा बढेको छ । भ्रष्टाचारीहरूलाई जेल कोच्नु आवश्यक छ ।
शिक्षा देश निर्माणको पूर्वाधारको पनि पूर्वाधार भनिन्छ । देशलाई कतातिर लैजाने भन्ने कुरा शिक्षाले अनि दूरदर्शी विचारले निर्धारण गर्छ । देशलाई आत्मनिर्भर बनाउने कि परनिर्भर बनाउने भन्ने कुरा विचार र शिक्षाले तय गर्दछ । शिक्षा विदेशको लागि होइन† आफ्नै देशको लागि हुनुपर्ने हो । तर, परिणामले त्यस्तो देखाएको छैन । विदेश बनाउने शिक्षा नीति या प्रणाली व्यर्थ छ । देश यस्तै शिक्षा नीतिबाट घाइते छ । देश बनाउन आफ्नै खुट्टामा उभिने देशको आवश्यकताअनुसारको शिक्षा नीति र प्रणाली हुनुपर्यो । विदेशी सहयोगमा भर पर्नुपर्दा देशको शैक्षिक अवस्था दिशाहीन छ । देशका झण्डै सयौँ क्याम्पसहरूमा विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा छ । विदेशी सम्बन्धन प्राप्त कलेजहरू भने मोटा घाटा भएका छन् । त्यहाँ देशको होइन विदेशको सपना देखाइन्छ । त्यहाँबाट उत्पादिन विद्यार्थीहरू विदेश जान्छन् । उनीहरू विदेशीका सस्ता ज्यामी र नोकर हुन बाध्य हुन्छन् । हाम्रा युवा, विद्यार्थीहरूको रगत पसिनाबाट कतार संयुक्त अरब इमिरेटसलगायतका खाडी देशहरू, मलेसिया, अमेरिका आदि बने तर आफूलाई जन्म दिएको, हुर्काएको देश नेपाल बनेन । यसका दोषी शासकहरू हुन् ।
नेपाल मजदुर किसान पार्टीले आफ्नै खुट्टामा उभेर जनताको साथ र सहयोगमा भक्तपुर नगरपालिकामार्फत इन्जिनियरिङ कलेजलगायतका कलेजहरू सञ्चालन गरिरहेको छ । जनताका छोराछोरीलाई रु.१५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालयको माग गरिरहेको हो । देशको शैक्षिक विकास चाहने हो भने शिक्षा ऐनमा संशोधन गरेर स्थानीय पालिकालाई पनि उनीहरूको आवश्यकता, क्षमताअनुसार विद्यालय, कलेज, विश्वविद्यालय र अस्पतालहरू खोल्न दिनु आवश्यक छ । यसले देशको सन्तुलित विकास गर्न ठुलो मद्दत गर्ने छ ।
देशको कृषि अवस्था बेहाल छ । खेत बाँझा छन् । देश कृषिमा परनिर्भर छ । चामल, गहुँ, मकै, तरकारीलगायत सबै विदेशबाट आयात गर्नुपरेको छ । हाम्रा युवाहरू रगत पसिनाबाट खाडीको मरुभूमि हराभरा भएको छ ।
देशलाई विदेशमा अन्न निर्यात गर्ने हराभरा भूमि बनाउनु आवश्यक छ । यसको लागि सरकारले यही मल कारखाना खोल्नु आवश्यक छ । सिँचाइ, बीउ बिजन, तालिम, औजार, मेसिन आदिको व्यवस्था र सरकारले बजारीकरणमा सहयोग गर्नु आवश्यक छ । यसले बिचौलियाको नियन्त्रण भई किसानले पसिनाको उचित मूल्य पाउने छ । खेत बाँझो नराखी भूमिहीन गरिब किसानलाई कमाउन दिनुपर्छ । यसले देशमा युवाहरूले रोजगारी पाउने छन् । देश कृषिमा आत्मनिर्भर हुनेछ ।
देशमा औद्योगिक अवस्था पनि राम्रो छैन । मित्र राष्ट्रले आफ्नै खुट्टामा उभिन बनाइदिएको उद्योग, कारखानाहरू विगतका शासक दलले कौडीको मूल्यमा बेच्यो । हजारौँ मजदुरहरूको रोजगारी खोसियो । हिजो आफ्नै बलबुट्टामा चलेको बुटवल धागो कारखाना, हेटौडा कपडा कारखाना, भृकुटी कागज कारखाना, गोरखकाली टायर कारखाना, बाँसबारी छाला जुत्ता, विराटनगर जुट, वीरगञ्ज कृषिऔजार कारखाना आदि डुबाइयो । यी उद्योगहरू मर्मत सम्भार गरेर सञ्चालन गर्नु आवश्यक छ । हिजो बुटवल धागो, कारखाना, हेटौडा कपडा कारखानाले सुति कपडा उत्पादन गरेको थियो । त्यहाँ उत्पादन हुने कपडा नेपाल सरकारका कर्मचारी, सुरक्षाकर्मी, विद्यालय, कलेज, उद्योग, कलकारखाना, नेता, जनप्रतिनिधि सबैले प्रयोग गर्न प्रोत्साहित गरौँ, आवश्यक ऐन नियम बनाऔँ । हिजो पदम कन्या क्याम्पसमा विद्यालय पोसाकको रूपमा प्रयोग गरिएको थियो । यसले लाखौँ युवाहरूले रोजगारी पाउने छन् । कपडाको लागि बिदेसिरहेको अर्बौँ रूपैयाँ जोगिने छ । नेपाली उत्पादन भएसम्म नेपाली उत्पादन नै प्रयोग गर्नुपर्ने नियम बनाइदेऔँ । विदेशी सामानमा कर बढाएर नेपाली सामान सस्तो बनाउनु आवश्यक छ । यसले औद्योगिक विकास र रोजगारीमा देश आत्मनिर्भर हुनेछ । देश विकास र आत्मनिर्भर बनाउन सरकार विदेशीसामु झुक्नुहुँदैन । देशभक्त, निःस्वार्थी भएर नेपाल र नेपाली जनताको इच्छा, भावना शिरमा राखेर नेपाली जनताको साथ र सहयोग लिएर अगाडि बढेमा असम्भव छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *