भर्खरै :

‘हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ’

‘हुटिट्याउँको खुट्टैदेखि चाल पाइन्छ’

‘नयाँ पुस्ता’ को नाउँमा १० महिनाअगाडि विद्यार्थीहरूको आन्दोलनको नाममा गरिएको राजनैतिक उपद्रो संयुक्त राज्य अमेरिका र भारतका ‘सीआईए’ र ‘रअ’ बाट गरिएको षड्यन्त्रमूलक आन्दोलन नेपाली सेनाको अगुवाइमा गर्न दिइएको एक राजनीतिक ‘प्रतिक्रान्ति’ संसारमा पहिलो भने किमार्थ होइन । संयुक्त राज्य अमेरिकाको गुप्तचर विभाग ‘सीआईए’ को पूरा अर्थ हो – केन्द्रीय गुप्तचर विभाग । त्यो संस्थाले सन् १९६० को दशकमा संसारका देशहरूमध्ये कहीँ न कहीँ तीन महिनामा एउटा सैन्य विद्रोहबाट सरकार हेरफेर गर्ने गथ्र्याे ।
नेपालको सन्दर्भमा वर्तमान ‘भारतीय विस्तारवाद’ बेलायतबाट स्वतन्त्र भएदेखि नै उसको उपनिवेशवादको काम–काज (भारी बोकाइ) दक्षिण एसियामा भारतले बोक्न लगायो । त्यसैलाई केही महिनाअगाडि वर्तमान सरकारको अर्थमन्त्रीले संयुक्त राज्य अमेरिकी राष्ट्रपति मुनुरोले दक्षिण अमेरिकाका देशहरूमा थिचोमिचो गरेजस्तै दक्षिण एसियाली देशहरूमा भारत आफ्नो विस्तारवादी नीति लागू गर्नु स्वाभाविक हो भनेका थिए ।
भन्ने गरिन्छ – ‘छोरा के हेर्नु छोराको साथ हेर्नु’ र ‘तेल के हेर्नु तेलको धारो हेर्नु ।’ वर्तमान अर्थमन्त्रीको विचार के हेर्नु ? उनले पढेको संयुक्त राज्य अमेरिकी ‘विश्व बैङ्क’, ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’ र ‘एसियाली विकास बैङ्क’ जस्ता अमेरिकी नङ्ग्राहरू हेरे पुग्छ । उनी तीमध्येकै एक संस्थामा कर्मचारी भई काम गरेका थिए । कालो खाएपछि कालै बिस्टा फाल्ने जस्तै खाएको वस्तुको विचार र बुद्धिमा त्यही विषयको काम गर्ने नै भयो । त्यसमा कुनै शङ्का छैन ।
वर्तमान अर्थमन्त्रीले पनि विदेशी लगानी र विदेशी ऋणलाई प्राथमिकता दिएका छन् । हिजोका सरकार र आजको सरकारमा के फरक रह्यो भन्ने प्रश्न व्यापक छ ।
अर्काे महत्वपूर्ण कुरा ‘मानिस’ र ‘कुकुर’ को बारेमा समाजका अनेक धारणा र भनाइहरू छन्† नेपाली समाजका आफ्नै अनुभवहरू छन् । लेखनाथको ‘पिँजडाको सुगा’ ले भन्छ – ‘गुणका बैरी मानस जाती’ भनी ‘मानिस इमानदार हुनन्’ भन्ने पनि कहावत छ । त्यस्तै ‘मानिसभन्दा कुकुरलाई इमानदार’ भन्ने कहावतहरू थुप्रै छन् । सन्दर्भ नेपालीहरू आफ्ना देशलाई प्राथमिकता दिन्छन् कि विदेशीलाई दिन्छन् भन्ने हो । तर, हरेक देशभक्तहरूले आफ्नै मातृभूमिको सेवा गर्ने गर्छन्, विश्वासघात गर्नेहरूलाई सबैले घृणा गर्छन् ।
नेपाली जनताले गएको निर्वाचनमा राजनीतिक दलहरूलाई बेइमान भएकाले साह्रै सरापे । तर, अन्तमा सबैले राजनीतिक दलहरूलाई नै मतदान गर्न बाध्य भए । परिणामले नयाँ दललाई झन्डै दुईतिहाइ दियो भने ‘जनतालाई वर्षाैसम्म ठगिरहने पुराना शासक दलहरूलाई भन्दा नयाँ दललाई बढी मन पराएको देखायो । तर, यस भनाइमा अनेक प्रकारका विमतिहरू पनि देखा नपरेका होइनन् ।
केहीले भने, अतिवाद वा उग्र चिन्तन सबै ठाउँमा छन् । नयाँ र पुराना चोरमध्ये नयाँलाई दिएको मान्ने मतदाताहरूको मत पनि छ ¤ फेरि त्यसलाई मान्ने हो भने मतदाता स्वयं चोखो नभएको पनि देखिएको छ ।
मानिस एक बौद्धिक प्राणी हो । उसले सोचविचार गरेर एउटा दल रोज्छ र त्यसप्रति ‘समर्पित’ हुन्छन् । निर्वाचनमा ‘घोषणापत्र’ लाई जनताको अगाडि राख्छ । आफ्नो पार्टीले निर्वाचन जितेमा त्यस घोषणापत्रलाई लागू गर्ने प्रतिज्ञा गर्छ । त्यही विश्वासले कुनै एउटा दललाई मतदान गर्छन् – मतदाताहरूले । निर्वाचनको यही महत्वलाई सबैले शिरोपर गर्छन् ।
तर, कुनै व्यक्तिप्रति त्यसबेला शङ्का गर्न जनता विवश हुन्छन् जब त्यस व्यक्तिले आफैंले लेखेको ‘घोषणापत्र’ प्रति ‘समर्पित’ हुनुभन्दा अर्कै राजनीतिक दलमा गई निर्वाचनमा भाग लिन्छन् । के त्यो ‘विश्वासघात’ होइन ? त्यस्ता व्यक्ति जुनसुकै पदमा रहे पनि जनता सधैँ सचेत हुने भयो, उक्त व्यक्तिले कहिले केबारे विश्वास गर्ने ठेगान हुँदैन ¤
त्यस्तै व्यक्तिले प्रस्तुत गरेको देशको बजेटको के दशा हुने भयो भने चिन्ता स्वाभाविक छ । अहिलेको अर्थमन्त्रीले प्रस्तुत गरेका बजेटको वैदेशिक अनुदान ६१ अर्ब ७४ करोड बताइएको छ भने वैदेशिक ऋण २ खर्ब ४७ अर्ब २८ करोड छ । पुरानो ऋण २९ खर्ब त छँदै छ ।
के नेपालको आम्दानी ऋणको ब्याज तिर्न पुग्छ ? विदेशी पुँजीको अर्थमन्त्रीहरू स्वागत गर्छन् । तर, के ती पुँजी पूरा ऋणमा फेर्न ऋणदाताहरू तयार हुन्छन् ? लगानीमा अनेक कठिनाइ आइप¥यो भने – यसरी अर्थमन्त्रीहरूलाई विदेशी पुँजीको ऋणको निम्ति ‘स्याबासी’ दिनु र ‘कमिसन’ दिनु भ्रष्टाचार सम्झिन्न । त्यसकारण, नेपालमा विदेशी पुँजीलाई स्वागत गर्नुको अर्थ नेपाली जनताले बुझ्नैपर्छ र हुटिट्याउको खुट्टैबाट जनताले उसको सामथ्र्य बुझे जस्तै नेपाली जनताले अर्थमन्त्रीको विदेशी पुँजीको अर्थलाई बढी महत्व दिनुका कारण जनताले बुझ्दै जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *