साम्राज्यवादीहरूको ‘छद्म युद्ध’ अध्ययन – २६
- जेष्ठ १८, २०८३
विवाहित छोरीले अंश पाउने सर्वोच्चको पछिल्लो फैसला, हट्यो सबै अङ्कुश !
यस सम्बन्धमा पछिल्लो समय सर्वोच्च अदालत, बृहत् पूर्ण इजलासको मिति २०८२ असार ३१ गते राममणि मुडभरीविरुद्ध पुनम मुडभरी (अंश चलन मुद्दा ०७५–डिएफ–०००४) को मुद्दामा गरेको फैसलाले छोरीको अंश हकसम्बन्धी दायरालाई अझ फराकिलो बनाउँदै २०७४ असोज १४ गतेपछि विवाह गरेकी विवाहित छोरीले पनि अंश पाउने नजिर स्थापित भएको छ ।
२०५८ को संशोधनले ल्याएको विवाह गरेकी छोरीको अंशबन्डा गर्नु पर्दैन भन्ने कानुनी व्यवस्थालाई २०७२ सालमा खारेज गरेपछि अन्यौलमा रहेको विवाहित छोरीले अंश पाउने कि नपाउने भन्ने विवादलाई सर्वोच्च अदालतले २०८२ असार ३१ गते टुुङ्ग्याएको छ ।
सर्वोच्च अदालतले मिति २०७२ असोज १४ गते मुलुकी ऐन संशोधन भएको दिनभन्दा पछि विवाह गर्ने छोरीहरूले पनि आफ्ना आमाबाबुबाट छोरासरह अंश पाउने फैसला गरेको छ । उक्त फैसला सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. मनोकुमार शर्मा, शारङ्गा सुवेदी, अब्दुल अजीज मुसलमान र महेश शर्मा पौडेलले गरेका हुन् ।
फैसलामा महेश शर्मा पौडेल र सपना प्रधान मल्लले त संविधान र कानुनले प्रत्याभूत गरेको विवाहित छोरीको पैतृक सम्पत्तिमाथिको अंश हकलाई सङ्कुचन गर्ने गरी कुनै पनि किसिमको दृष्टिकोण राख्न हुँदैन भनी फरक मत राख्दै सबै विवाहित छोरीहरूले अंश पाउनुपर्ने राय प्रस्तुत गरेको बुझिन्छ ।
पत्नी वा बुहारीको अंश हकको प्रश्न
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १० मा अंशबन्डासम्बन्धी कानुनी व्यवस्था गरिएको पाइन्छ । परिच्छेद १० को दफा २०५ मा “सगोलको सम्पत्ति अंशबन्डा गर्ने प्रयोजनको लागि यस परिच्छेदको अन्य दफाको अधीनमा रही पति, पत्नी, बाबु, आमा, छोरा, छोरी अंशियार मानिनेछन् ।” भन्ने व्यवस्था रहेको छ ।
सोही परिच्छेदको दफा २०६ मा “प्रत्येक अंशियार अंशको समान हकदार हुनेछन् । अंशबन्डा गर्दाका बखत कुनै महिला अंशियार गर्भवती भएमा र निजले जन्माउने शिशु अंशियार हुने भएमा त्यसरी जन्मने शिशुलाई समेत समान अंशयार मानी निजको अंश भाग छुट्याएर मात्र अंशबन्डा गर्नुपर्नेछ ।” भन्ने कानुनी व्यवस्था रहेको छ ।
यसरी नेपालको अंशबन्डासम्बन्धी कानुनी व्यवस्था हेर्दा अंशियार भन्नाले “पति, पत्नी, बाबु, आमा र छोरा, छोरी” मात्रै समान अंशियार हुन् भन्ने प्रष्ट हुन्छ ।
त्यसो भए बुहारीको अंश हकको प्रश्न के हो त ?
बुहारीले के कति अंश हकबापतको सम्पत्ति पाउने हो त ? भन्दा सोही परिच्छेदको दफा २०९ मा सगोलमा बसेका दाजुभाइका छोराछोरी वा पत्नी (बुहारी) ले आफ्ना बाबु वा पतिको भागबाट मात्र अंश पाउनेछन् । अंश नहुँदै पति वा बाबु आमा मरेमा निजले पाउने अंश निजका पत्नी (बुहारी) वा छोरा, छोरीले पाउनेछन् । कुनै व्यक्तिको एकभन्दा बढी पत्नीहरू (बुहारीहरू) भएमा निजहरूले पतिको भागबाट मात्र अंश पाउनेछन् ।” भन्ने व्यवस्था गरिएको पाइन्छ ।
यो मानेमा बुहारीहरू अंशमा समान तहका अंशियार मानिएको देखिएन । बुहारीहरूले आ–आफ्ना पतिको अंशबाट आफ्नो हाँगातर्फ जे जतिजना समान तहका अंशियारहरू छन्, तिनीहरूबिच बराबर अंश हक पाउने व्यवस्था रहेको पाइन्छ ।
समान तहका अंशियार भन्नाले दफा २०५ बमोजिमका “पति, पत्नी, बाबु, आमा र छोरा, छोरी” मात्रै समान अंशियार हुन् ।
सम्बन्ध विच्छेद हुने पत्नी वा बुहारीको अंश हकको प्रश्न
सम्बन्ध विच्छेद गर्न चाहने बुहारीले को कससँग के कति सम्पत्ति पाउने होला त ? यस प्रस्तुतिमा आज हामी हिजोआज बढ्दो सम्बन्ध विच्छेदका मुद्दामा पत्नी अर्थात् बुहारीले कति अंश पाउने भन्ने विषयमा छलफल गर्न खोजेका छौँ ।
माथि छलफल गरिएबमोजिम पत्नी वा बुहारी (छोरा बुहारी) ले आफ्ना पतिको अंश हकबाट मात्रै अंश पाउने कानुनी व्यवस्था रहेको चर्चा भइसकेको छ । अर्थात छोरा बुहारीले छोराले पाउने अंश हकमध्येबाट सन्तान नभएको अवस्थामा छोरा र बुहारी मात्र अंशियार रहे भए आधा आधा, सन्तान जन्मेको हकमा छोरा र बुहारीबाट जन्मिएका सन्तानहरू र छोरा बुहारी (बाबु, आमा) को बराबर अंश गरी बुहारीले १ (एक) भाग अंश पाउने भएको छ ।
सामान्य अवस्थामा मिलेर सम्बन्ध विच्छेद गरे पनि, मुद्दा गरी अदालतबाट फैसला गराई सम्बन्ध विच्छेद भए पनि उल्लेखित अंश हक सम्बन्धी कानुनी व्यवस्था समान रूपमा लागु हुने देखिन्छ ।
खासमा सम्बन्ध विच्छेदसम्बन्धी कानुनी व्यवस्था मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद ३ मा गरिएको छ ।
उक्त परिच्छेदको दफा ९३ मा पति पत्नी दुवैले चाहेमा जहिलेसुकै पनि पति पत्नीको सम्बन्ध विच्छेद गर्न सक्ने व्यवस्था गरेको पाइन्छ । दफा ९४ मा पतिले सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू र दफा ९५ मा पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने आधारहरू तोकिएको पाइन्छ ।
मूलतः पतिले सम्बन्ध विच्छेद गर्न पाउने आधार कारणहरूमा १, तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, २, खान लाउन नदिई घरबाट निकाला गरेमा, ३, ठुलो शारीरिक वा मानसिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा र ४, परपुरुषसँग यौन सम्बन्ध राखेको ठहरेमा भन्ने छ ।
त्यस्तै पत्नीले सम्बन्ध विच्छेद गर्न सक्ने आधार कारणहरूमा १, तीन वर्ष वा सोभन्दा बढी समयदेखि अलग बसेमा, २, खान लाउन नदिई घरबाट निकाला गरेमा, ३, ठुलो शारीरिक वा मानसिक कष्ट हुने काम वा जाल प्रपञ्च गरेमा, ४, पतिले अर्को विवाह गरेमा, ५, पतिले अन्य महिलासँग यौन सम्बन्ध राखेको ठहरेमा, ६, पतिले पत्नीलाई जबरजस्ती करणी गरेको ठहरेमा । उल्लेख छन् ।
उल्लिखित कानुनी बन्दोबस्त हेर्दा पत्नी÷महिला÷बुहारी मानिसले सम्बन्ध विच्छेद गर्न पाउने थप २ आधार कारणहरूमा १, पतिले अर्को विवाह गरेमा र २, पत्नीलाई पतिले जबरजस्ती करणी गरेको ठहरेमा भन्ने दुई थप आधार रहेको देखिन्छ ।
आज सम्बन्ध विच्छेद गर्ने आधारतर्फ चर्चा नगरी सोही परिच्छेदको दफा ९९ ले सम्बन्ध विच्छेद गर्नुअघि अंशबन्डा गर्नुपर्ने भन्ने कानुनी व्यवस्थाको छलफल गरौँ ।
दफा ९९ मा “पतिको कारणबाट पति पत्नीको बिच सम्बन्ध विच्छेद हुने अवस्थामा पत्नीले माग गरेमा सम्बन्धित अदालतले सम्बन्ध विच्छेद गर्नुअघि पति पत्नीबिच अंशबन्डा गर्न लगाउनुपर्नेछ ।” भन्ने कानुनी व्यवस्था गरेको पाइन्छ । अर्थात् पतिले सम्बन्ध विच्छेद गर्न चाहेमा पत्नीलाई अंश हक छुट्याई दिनुपर्ने हुन्छ ।
सोही दफाको उपदफा (२) मा पत्नीले खान लाउन नदिई घरबाट निकालेको बाहेकका आधारमा सम्बन्ध विच्छेद गर्न लोग्ने मान्छ वा पतिले चाहेको खण्डमा पनि पतिको कारणबाट सम्बन्ध विच्छेद हुने अवस्था भएको मानिने कानुनी व्यवस्था गरिएको छ ।
उल्लिखित कानुनी व्यवस्थालाई हेर्दा पतिले वा पत्नीले जसले चाहे पनि लगभग सम्बन्ध विच्छेद हुनुअघि अंशबन्डा गर्नुपर्ने कानुनी व्यवस्था रहेको पाइन्छ ।
विवाह गरी एक दिन पनि पतिसँग नबस्ने बराबर अंश पाउने ?
अब प्रश्न उठ्छ कि विवाह भएको के कति समय पतिको घरमा पतिको घरपरिवारसँग समय व्यतीत गरेको बुहारी वा पत्नीले के कति अंश हकबापतको सम्पत्ति पाउने भन्नेबारे नेपालमा प्रचलित कानुनी व्यवस्थाको अध्ययन गर्दा जतिसुकै समय व्यतीत गरेको किन नहोस् अंशबन्डासम्बन्धी माथि चर्चा गरिएको कानुनी व्यवस्थाबमोजिम बुहारीले आफ्नो पतिको अंशबाट बराबर अर्थात् समान अंश हक पाउने देखिन्छ ।
अर्थात विवाह गरेको १ (एक) दिन बसेकी पत्नी÷बुहारीले पनि बराबर अंश हक पाउने देखिन्छ भने विवाह भएको जतिसुकै समय पति र पतिको परिवारसँग जीवन यापन गरेकी पत्नी÷बुहारीले पनि बराबर अंश हक पाउने देखिन्छ ।
विवाह गरेर सन्तान नजन्माएको अवस्थामा पनि वा एक वा एकभन्दा बढी सन्तान जन्मिएको अवस्थामा पनि बुहारीले अंशबन्डासम्बन्धी कानुनी व्यवस्थाबमोजिम समान वा बराबर अंश हक पाउने देखिन्छ ।
सम्बन्ध विच्छेद गर्नुअघि अंशबन्डा गर्नुपर्ने अवस्थामा समान वा बराबर अंश हक पाउने विद्यमान कानुनी व्यवस्था के उचित हो ? प्रश्न उठ्न थालेको छ ।
विवाह भएको ४ दिन पनि पतिको घरमा नबस्ने, पतिसँग एकछिन पनि सँगै नसुत्ने बुहारीले छोरा वा पति सरह समान अंश पाउने विद्यमान कानुनी व्यवस्था उचित होइन कि ? भन्ने प्रश्न उठ्न थालेको छ ।
कागजी रूपमा विदेश जाने प्रयोजनका लागि दर्ता विवाह गरी सम्बन्ध विच्छेद गर्ने क्रममा विवाद बढ्दै जाँदा अंशबन्डा गर्नुपर्ने कि नपर्ने भन्ने प्रश्न उठेका मुद्दामा चाहिँ सर्वोच्च अदालतबाट यसरी विदेश जाने प्रयोजनका लागि मात्र विवाह दर्ता गरेको र सँगै बसेको नदेखिएको हकमा अंशबन्डा गर्न नपर्ने फैसला भएको पाइन्छ ।
तर सामाजिक परम्पराबमोजिम विवाह भएको अवस्थामा चार दिन पनि नबसेकी बुहारीलाई र दशौँ वर्ष पति, पतिको परिवारको सेवा टहल चाकरी गरी बसेकी बुहारीले पनि समान अंश पाउने कानुनी व्यवस्थामा पुनरावलोकन गर्नुपर्ने हो कि ? भन्ने प्रश्न उठेको हो ।
अतः विवाह भएको के कति मितिसम्म सम्बन्ध विच्छेद हुने भएमा अंश हक दाबी गर्न नपाउने वा पाउने भएमा पनि समान वा बराबर अंश हक नपाउने के कति प्रतिशत पाउने भन्ने सीमा तोकिनुपर्ने आवश्यकता महसुस गरिएको छ ।
सम्बन्ध विच्छेद गर्दै गर्दा अंश हकको सम्पत्ति दिनु पर्ने वा पाउने देखिएमा विवाह भएको समयावधि, पति र पतिको परिवारसँग बसे, नबसेको अवस्था, पति वा पतिको परिवारको टहल चाकरी, हेरविचार गरे नगरेको अवस्था, सन्तान भएको वा नभएको अवस्था, सम्बन्ध विच्छेद हुने दफा ९४ र ९५ मा उल्लिखित के कुन आधार÷कारणबाट सम्बन्ध विच्छेद हुने हो सो आधार कारणको आधारमा पनि सम्बन्ध विच्छेद हुने बुहारी वा पत्नीले पाउने अंश हकको सम्पत्तिको सीमा फरक फरक हुनुपर्ने छलफल सुरु भएको छ ।
त्यस प्रकारको व्यवस्थाले बुहारी र आश्रित परिवारले उचित न्याय अथवा समन्याय पाएको अनुभूति गरिने देखिन्छ । अन्यथा विवाह गरेको एक दिन पनि पतिको घरमा नबसेकी बुहारीले पतिबाट बराबर अंश लाँदै गर्दा पतिको अंश घटदै जाने र पछिल्लो श्रीमती र सन्तानले नगन्य वा नाम मात्रैको अंश हकको सम्पत्ति प्राप्त गर्ने अवस्था आउने देखिन्छ । जुन न्यायको मान्य सिद्धान्त प्राकृतिक न्यायको सिद्धान्तबमोजिम समेत उचित होइन ।
अतः सम्बन्ध विच्छेद गर्दा सम्बन्ध विच्छेद गर्न चाहने पत्नी वा बुहारीले पाउने अंश हकको सम्पत्ति फरक फरक अवस्थामा फरक फरक मात्रामा मात्र दाबी गर्न वा प्राप्त गर्न सक्ने सीमा तोकिएको कानुनी व्यवस्था हुनु आवश्यक छ ।
Leave a Reply