भर्खरै :

अर्हत त्रैमासिकबारे सामाजिक शिक्षकहरूमाझ अन्तरक्रिया कार्यक्रम

अर्हत त्रैमासिकबारे सामाजिक शिक्षकहरूमाझ अन्तरक्रिया कार्यक्रम

भक्तपुर, २१ चैत । बौद्ध दर्शन अध्ययन समाज, भक्तपुरले आफ्नो प्रकाशन अर्हत त्रैमासिकबारे सामाजिक शिक्षकहरूमाझ अन्तरक्रिया कार्यक्रम शनिबार विद्यार्थी निकेतन मावि दरवार क्षेत्रमा सम्पन्न ग¥यो ।
कार्यक्रममा प्रमुख अतिथि बौद्ध दर्शन अध्येता एवं लेखक डा. रत्नसुन्दर शाक्यले बौद्ध दर्शन र बौद्ध धर्म निश्चित जातिको मात्र धर्म नभई सबै नेपालीको गौरवको विषय भएको बताउनुभयो  ।
बौद्ध शिक्षाले समाजमा शान्ति र प्रगति ल्याउने चर्चा गर्दै काठमाडौँ उपत्यका सुरुदेखि नै बौद्ध धर्म र शिक्षाको प्रभाव क्षेत्र रहेको र त्यसको प्रमाण जनजीवन र संस्कृतिमा देख्न सकिन्छ भन्नुभयो ।
उहाँले शिक्षकहरूले गौतम बुद्ध र बौद्ध धर्मलाई परीक्षाको विषयवस्तु मात्र नभई जीवनोपयोगी शिक्षाको रूपमा सिकाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवं समाजका अध्यक्ष जनकवि चन्द्रबहादुर उलकले गौतम बुद्ध र बौद्ध दर्शनबारे ब्यापक जनसमुदायलाई जानकारी दिने उद्देश्यले समाजको स्थापना र अर्हत त्रैमासिक पत्रिकाको प्रकाशन भइरहेको प्रस्ट पार्नुभयो ।
बौद्ध दर्शन अध्येता सुरेश परियारले गौतम बुद्ध जन्मेको र बाँचेको समयको स्थितिबारे विस्तृत चर्चा गर्दै बौद्ध दर्शन र बुद्धको शिक्षालाई आजको परिस्थितिअनुसार कसरी उपयोगी बनाउने भनी चिन्तन गर्न जरूरी रहेको बताउनुभयो ।
उहाँले हिजोका दिनमा सामन्ती निरङ्कुशता र जाति प्रथाले मानिसहरूलाई दुःख दिएको थियो भने आज पुँजीवाद र उपभोक्तावादी सोचाइले मानिसहरूलाई दुःखी बनाइरहेको हुनाले दुःखका कारणविरुद्ध सचेत सङ्घर्ष आवश्यक छ भन्नुभयो ।
सामाजिक शिक्षाका शिक्षकहरू हरिकृष्ण प्रजापति र मङ्गलेश्वर धोजूले सामाजिक शिक्षाको पाठ्यक्रममा बुद्धको शिक्षाको समावेशबारे चर्चा गर्दै आजको सामाजिक र नैतिक शिक्षाको आधार नै बौद्ध दर्शन रहेको बताउनुभयो ।
कार्यक्रममा बौद्ध दर्शन अध्ययन समाजका सदस्यहरू कृष्णप्रसाद धन्छा, उद्धव सुजखु र सुलोचना कोजू तथा मुनि विहार भक्तपुरका सचिव केदार धोजूले पनि बौद्ध दर्शनको उपयोगिताबारे बोल्नुभयो ।
कार्यक्रममा अर्हत पत्रिकाका निम्ति नियमित आर्थिक सहयोग दाताहरू संघरत्न शाक्य, विष्णुबहादुर मानन्धर र तुल्सीनारायण लाखेमरुलाई कदरपत्रका साथ प्रमुख अतिथिबाट सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *