भर्खरै :

आफ्नो पिताबारे छोरीको संस्मरण

इलेनियोर माक्र्स
जेनीसँग विवाह गर्ने पक्कापक्की गर्दा कार्ल भर्खर सत्र वर्षका युवक थिए । उनीहरुको लागि पनि सच्चा प्रेमको बाटो त्यत्ति सुगम थिएन । कम उमेरका युवकको विवाहबारे कार्लका आमाबुवाको आपत्ति जनाउनु बुझ्न सजिलो कुरो हो । केही ठाक्कठुक्क भए तापनि जेनीप्रति आफ्नो गहिरो प्रेमबारे कार्लले आफ्नो पितालाई कस्तो गम्भीरताका साथ सुनाएका थिए भने कुरा उनीहरु(कार्ल र जेनी)बीचको सम्बन्धलाई लिएर कार्लको परिवारमा निम्त्याएको तनावबाट बुझ्न सकिन्छ । मेरा बुवा आफू उत्तिबेला वास्तवमै रिसले पागल भएको भन्नुहुन्थ्यो । तर यो समस्या चाँडै नै समाधान भयो । कार्ल अठार वर्ष हुन केही समयअघि उनी र जेनीको सम्बन्धलाई औपचारिक रुपमा स्वीकारियो । कार्लले आफ्नी सुन्दरी जेनीको लागि सात वर्ष कुर्नु प¥यो तर ‘ती वर्ष पनि कार्लको लागि धेरै लामो समय लाग्यो किनभने उनी जेनीलाई निकै प्रेम गथ्र्यो ।’
सन् १८४३ को जुन १९ मा उनीहरुबीच विवाह भयो । केटाकेटी छँदै सँगसँगै खेल्दै र युवक युवतीको रुपमा विवाह गरेको यो प्रेम जोडी जीवन सङ्घर्षमा सधैं सधैं सँगै रहे ।
त्यो सङ्घर्ष के थियो ¤ वर्षौ वर्षका तीता अभावपूर्ण दिनहरु, अझ त्यो भन्दा पनि खराब कुरा त निर्ममभन्दा निर्मम सन्देह, कुख्यात बद्ख्याई र चिसा मतभेदहरु । तर यी सबै– सबै दुःख र सुखमा दुई जीवनभरिका साथीहरु र प्रेमी कति पनि गलेनन् । कहिल्यै गुनासो गरेनन् । जीवनको अन्तिम घडीसम्म पनि उनीहरु एक अर्कोप्रति इमानदार रहे । अनि मृत्युले पनि उनीहरुलाई अलग गर्न सकेन ।
जीवनभर माक्र्सले आफ्नी श्रीमतीलाई प्रेम मात्र गरेनन्, बरु उनी जीवनभर जेनीसँग प्रेममा परे । मेरो अघि भावनाले ओतप्रोत र युवावयका प्रेम पत्रहरु छन् । यी पत्रहरु कार्लले अठार वर्षको हुँदा लेखेका हुन् । केही पत्रहरु कार्लले सन् १८५६ मा लेखेका छन्, जेनीले त्यत्तिबेलासम्म कार्लको छैटौं सन्तान जन्माइसकेकी थिइन् । सन् १८६३ मा कार्लकी आमाको निधन भयो । उनी आफ्नो जन्मथलो ट्रायर पुगे । त्यहाँबाट उनले जेनीको नाममा पत्र लेखे,‘मैले हरेक दिन वेस्टफालेन्स (रोइमास्ट्रास्सेमा) को तीर्थ यात्रा गर्ने गरेको छु् । अरु सिंगो रोमन सम्पदाहरुभन्दा मलाई त्यसमा बढी ासो लागेको छ किनभने वेस्टफालेन्समा पुग्दा हरेक पटक म आफ्नो सुखद् युवा दिनहरु र मेलै पाएको सबैभन्दा प्रिय खजाना सम्झन पुग्छु । अनि दिनहुँ त्यहाँ जाँदा मलाई हरेक दिन सबैतिरबाट ‘कुनै बेला ट्रायरकी सबभन्दा सुन्दर केटी’ र ‘रोधीघरकी राजकुमारी’ को बारेमा सोधिन्छ ।’ ‘सिंगो शहरकै सबभन्दा चित्कार्षक राजकुमारीलाई आफ्नो श्रीमतीको रुपमा जीवन बिताइरहेको कल्पना मात्र पनि कति सुखद् कुरो हो ।’
आफ्नो बुवासँग माक्र्स गहिरो गरी जोडिएका थिए । आफ्नो बुवासँग कुरा गर्न कार्ल कहिल्यै पनि थाक्दैन्थे । अनि उनी आफ्नो बुवाको एउटा पुरानो श्यामश्वेत तस्वीर सधैं आफूसँगै बोकेरै हिड्थे । तर कोही पनि अरु अपरिचितलाई त्यो तस्वीर देखाउँदैन्थे किनभने त्यो तस्वीरमा आफ्नो बुवाको रुप उनको वास्तविक रुपभन्दा भिन्न भएको उनको भनाई थियो । मेरो विचारमा उन(कार्लका बुवा)को मुहार ज्यादै राम्रो थियो, उनका आँखा र आँखीभौ छोराकै जस्ता थिए । मुख र चिउँडो भने कार्लको बुवाको नरम देखिन्थ्यो । सामान्यतः हेर्दा त्यो एकप्रकारको सुन्दर यहुदी रुप थियो । आफ्नो श्रीमतीको निधनपश्चात माक्र्सले शारीरिक अस्वस्थतासँग लड्न लामो र दुःखदायी यात्रा गर्नुप¥यो । उनी सकेसम्म चाँडो आफ्ना अधुरा काम पुरा गर्न चाहन्थे । ती दिनहरुमा पनि माक्र्ससँग आफ्नो पिताको तस्वीर, काँचको सानो फ्रेममा राखिएको मेरी आमाको पुरानो तस्वीर र मेरी बहिनी जेनीको तस्वीर कहिल्यै खाली भएन । उनको निधनपछि हामीले ती तस्वीरहरु उनको कोटको गोजीमा भेटाएका थियौं । एंगेल्सले ती सबै तस्वीरहरु कफिन बाकसभित्रै राखिदिए ।
(यो संस्मरणको इलेनियोर माक्र्सले जर्मनी भाषामा लेखेकी थिइन् । सन् १८९७–९८ मा प्रकाशित कार्ल माक्र्सले आफ्नो पितालाई लेखेका पत्रहरु सम्मिलित पुस्तकको लागि यो लेख तयार गरिएको हो ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *