व्यङ्ग्यचित्र कुनो
- बैशाख ४, २०८३
टोकियोको सडकमा हिँड्दा मास्क लगाउनु बाध्यता होइन, रहर हो । सिङ्गापुरको खोला किनारमा बसेर मान्छे ढुक्कले कफी पिउँछन् भने कोपेनहेगनका बच्चा खुला पार्कमा दौडिन्छन्, जहाँ धुलोले खोकेको आवाज सुन्न पाइँदैन । तर, विडम्बना ¤ हाम्रा सहरका बिहानहरू झ्याल खोल्दा खोलाको दुर्गन्धले नाक थुन्नुपर्ने बाध्यताबाट सुरु हुन्छ । स्कूल जाँदा धुलोले नानीहरूको आँखा रातो हुन्छ भने साँझ परेपछि प्लास्टिक जलाएको विषालु धुवाँले पूरै टोल निसासिन्छ । वास्तवमा विकास भनेको ठुला घर र पिच बाटो मात्र होइन, बरु सास फेर्न लायक हावा, पिउन लायक पानी र बस्न लायक वातावरण पनि हो । खोलाबाट आउने दुर्गन्ध, सडकको धुलो र अव्यवस्थित फोहोरले हाम्रो दैनिकी मात्र होइन, हाम्रो आयुसमेत छोट्याइरहेको छ ।
भक्तपुर नगरपालिकाले सम्पदा संरक्षण र सरसफाइमा गरेको प्रयास विश्वकै लागि अनुकरणीय छ । पुरानो सहरका गल्ली र विश्वप्रसिद्ध मन्दिर क्षेत्रहरू जुन रूपमा सफा र सुन्दर राखिएका छन्, त्यसको मुख्य जग स्थानीय नागरिकको पाक्षिक जनसहभागिता र नगरपालिकाको दृढ इच्छाशक्ति नै हो । समुदाय आफैँ जुटेर गरिने सम्पदा र टोल सरसफाइले भक्तपुरको मौलिक पहिचानलाई विश्वमाझ चम्काएको छ । तर, यो सुन्दरता पुरानो सहरको निश्चित घेराभित्र मात्र छ । नयाँ विस्तार भएका बस्तीहरूमा पनि पूर्वाधारको व्यवस्था गर्नुपर्छ ।
मापदण्ड नपु¥याई बनाइएका चिम्नीहरूबाट निस्कने कालो धुवाँले भक्तपुरको आकाश सधैँ धुमिल बनाइरहेको छ । गाडी गुड्दा उड्ने धुलो र माटोका कणहरूले हाम्रा प्राचीन सम्पदाका कलाकृतिहरूलाई बिस्तारै क्षय गराइरहेका छन् । विश्व स्वास्थ्य सङ्गठन (WHO) का वातावरणीय स्वास्थ्य निर्देशक डा. मारिया नेइराका अनुसार प्रदूषित हावामा सास फेर्नु भनेको हरेक दिन थोरै–थोरै विष पिउनुजस्तै हो, जसको मूल्य हाम्रो फोक्सो र मुटुले वर्षौँपछि चुकाउनुपर्ने हुन्छ । क्यालिफोर्निया विश्वविद्यालयका वैज्ञानिक प्रो. माइकल ब्राउनले प्लास्टिक र भट्टाको धुवाँले क्यान्सरको जोखिम ३० प्रतिशतसम्म बढाउने चेतावनी दिइसकेका छन् ।
जापानले सन् १९७० को दशकमा उद्योगमा फिल्टर अनिवार्य गरेर टोकियोलाई सफा बनायो । रुवान्डाले प्लास्टिक झोला पूर्ण प्रतिबन्ध लगाउँदै ‘उमुगान्डा’ नामको मासिक सरसफाइ अभियानलाई संस्कृति नै बनायो । दक्षिण कोरियाले त ढल बनिसकेको चेओङ्ग्येचेओन खोलालाई पुनर्जीवित गरेर सहरको बिचमा पार्क खडा गरिदियो । भक्तपुरले पनि पुरानो सहरमा देखाएको त्यो सरसफाइको जाँगर र जनसहभागितालाई अब नयाँ बस्ती र खोला किनारसम्म विस्तार गर्नुपर्छ । नासा (NASA) को अध्ययनअनुसार एउटा रुखले वर्षमा २२ किलोसम्म कार्बन डाइअक्साइड सोस्ने भएकाले नयाँ बस्तीका खाली ठाउँ र खोला किनारमा व्यापक वृक्षरोपण गर्नुको विकल्प छैन ।
वातावरणविद् वन्दना शिवा भन्छिन्, “प्रकृतिले हामीलाई निःशुल्क दिएको उपहारलाई फोहोर बनाएर फर्काउँदा प्रकृतिले त्यसलाई रोगको ब्याजसहित फिर्ता दिन्छ ।” तसर्थ, स्वच्छ वातावरण हाम्रा सन्तानको बाँच्न पाउने अधिकार हो । नगरपालिकाले नयाँ बस्तीको पूर्वाधार र इँटा भट्टाको मापदण्डमा कडाइ गरोस् भने नागरिकले पनि पुरानो सहरको जस्तै जागरुकता देखाउनुपर्छ । आज हामीले रोपेको एउटा रुखले भोलि हाम्रा सन्तानलाई सास दिनेछ । जापान र रुवान्डाले सकेको काम हामीले किन नसक्ने ? सुरुवात आजैबाट र आफैँबाट गरौँ ।
– सत्य सुवाल
Leave a Reply