ट्रम्पको इरान युद्ध : साम्राज्यहरू पतन गराउने सैन्य दुस्साहस – २
- जेष्ठ १९, २०८३
सन् २०२० मा, क्युवाको शिक्षा प्रणालीको ‘पटक–पटक’ प्रशंसा गरेको इतिहासलाई लिएर डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार सिनेटर बर्नी स्यान्डर्समाथि मिडियाले कडा प्रश्न प्रहार गरेको थियो । साउथ क्यारोलिनाको चाल्र्सटनमा आयोजित प्राइमरी बहसमा जब क्युवाको प्रसङ्ग उठ्यो, तब भिडका केही मानिसहरूले स्यान्डर्सको हुटिङ गरेर विरोध गरे, “साँच्चै हो ? साँच्चै ?” स्यान्डर्सले दर्शकहरूलाई सोधे, “के साक्षरता कार्यक्रमहरू नराम्रा हुन्छन् ?”
आज क्युवामा समाजवाद एकदमै नाजुक अवस्थामा छ । विगत दुई वर्षमा मात्रै यस टापु राष्ट्रले पर्यटनमा तीव्र गिरावट, बारम्बारको लोडसेडिङ र ऊर्जा सङ्कट, अनियन्त्रित मुद्रास्फीति, तथा कुल गार्हस्थ उत्पादनमा भयानक सङ्कुचन बेहोरेको छ । परिस्थितिलाई थप बिगार्नका लागि, क्युवाली मूलका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोलाई पदच्युत गर्ने वासिङटनको सफल अभियानपछि क्युवामा पनि सत्ता परिवर्तन गराउने आफ्नो योजनालाई लुकाएका छैनन् ।
तर, क्युवाली क्रान्तिका तमाम परीक्षाहरूका बाबजुद, यसका विजयहरूलाई बिर्सनु हुँदैन । अनन्तजस्तो देखिने आर्थिक सङ्कटका बाबजुद, क्युवाको जनसङ्ख्या अझै पनि विश्वमै सबैभन्दा बढी शिक्षितमध्ये एक हो । यसको सम्पूर्ण श्रेय क्युवाको सन् १९६१ को साक्षरता अभियानलाई जान्छ, जुन बीसौँ शताब्दीका सबैभन्दा कम चर्चा गरिएका (वा ओझेलमा परेका) उपलब्धिहरूमध्ये एक हो ।
आठ महिनाको अवधिमा, १० देखि १९ वर्ष उमेरका एक लाख युवाहरूले एउटा यस्तो कार्यक्रमको हिस्साका रूपमा ग्रामीण इलाकामा बसेर काम गर्ने स्वेच्छिक निर्णय लिए, जसले देशभरका कुल सात लाख मानिसहरूलाई प्राथमिक तहको लेखपढ गर्न सिकाउनेवाला थियो । यस अभियानले सहरी क्षेत्रमा पढाउनका लागि साना सङ्ख्यामा युवाहरूलाई पनि खटाएको थियो, जसले टापु राष्ट्रबाट निरक्षरतालाई पूर्ण रूपमा उन्मूलन गरिदियो ।
यस अभियानको ४० वर्षभन्दा बढी समयपछि स्मरण गर्दै, मध्यमवर्गीय १७ वर्षको उमेरमा ग्रामीण क्षेत्रका वयस्कहरूलाई पढाउन हवानास्थित आफ्नो घर छोडेकी ग्लाडिस बर्मेलो लास्त्राले यसलाई ‘मानवताको विजय’ भनिन् । यो एउटा नव–समाजवादी समाजको निर्माणमा बहुजातीय, सहरी–ग्रामीण र लैङ्गिक ऐक्यबद्धता कस्तो हुन्छ भन्ने कुराको प्रदर्शन थियो । एउटा यस्तो समाज, जसले अमेरिकी समर्थन प्राप्त शक्तिहरूका तर्फबाट हुने हिंसात्मक आक्रमणविरुद्ध एकैसाथ रक्षासमेत गर्नु परेको थियो ।
ती (प्रतिक्रान्तिकारी) शक्तिहरूले कैयौँ युवा स्वयम्सेवकहरूको हत्या गर्न सफल भए, जसलाई ग्रामीण क्षेत्रमा अक्सर ‘कोनराडो बेनिटेज ब्रिगेड’ भनेर चिनिन्थ्यो । यो नाम जसको स्मृतिमा राखिएको थियो, ती बेनिटेज एस्कामब्रे पर्वतमालामा साक्षरता अभियानमा काम गरिरहेका थिए, जब सन् १९६१ मा मात्र अठार वर्षको उमेरमा उनको हत्या गरियो ।
प्रतिक्रान्तिकारीहरूको त्यो खतरा र त्यसका साथै घरमा पानीको आपूर्ति वा बिजुली नभएका र खाद्य सामग्रीको चरम अभाव भएका ठाउँहरूमा काम गर्ने चुनौतीहरूले युवाहरूलाई झन् बलियो र दृढ बनाउने काम ग¥यो । वयस्क भइसकेपछि, धेरै सहभागीहरूले यस अनुभवलाई आफ्नो जीवनको पूर्ण रूपान्तरणको क्षणका रूपमा स्मरण गरे ।
यस अभियानमा भाग लिने महिलाहरूको कथालाई उजागर गर्ने डकुमेन्ट्री फिल्म ‘मेस्त्रा’ (Maestra) का लागि अन्तर्वार्ता दिने सय जना पूर्वसहभागीहरूमध्येकी एक फ्लेरिडा स्टुअर्टले भनिन्, “मैले मेरो जीवनमा गरेको सबैभन्दा राम्रो काम नै यही साक्षरता अभियान थियो ।” त्यसै समूहकी अर्की एक स्वयम्सेवकले भनिन्, “म बा¥ह वर्षकी थिएँ र त्यतिबेला मलाई यो कुरा इतिहास बन्नेछ भन्ने अलिकति पनि हेक्का थिएन । मलाई त केवल म केही राम्रो काम गर्दै छु र अरूका लागि केही योगदान दिँदै छु भन्ने मात्र महसुस भएको थियो । केही मानिसहरूले हाम्रो रक्षा र समर्थन गर्नका लागि आफ्नो ज्यान जोखिममा हालेका थिए भन्ने कुरा म कहिल्यै बिर्सने छैन, किनकि त्यो समय खतरनाक थियो । आफूसँग भएको कुरा अरू सँग बाँड्नुले तपाईँलाई एक असल मानिस बनाउँछ ।”
अन्तर्वार्ता दिने अर्की सहभागी, एस्तर पेरेजले भनिन्, “हाम्रो देश हाम्रो आँखा अगाडि बदलिँदै थियो । अब युवाहरूलाई एउटा यस्तो रूपान्तरणमा सहभागी हुन आह्वान गरिँदै थियो जुन दूरगामी र ऐतिहासिक थियो भन्ने हामीलाई थाहा थियो ः त्यो थियो दीर्घकालिन निरक्षरता उन्मूलन गर्नु । यो आफैँमा एउटा ठुलो लक्ष्य त थियो नै, तर यसका साथै यो हामीले आफ्नै प्रयासबाट देशलाई दिन सक्ने नयाँ दिशाको प्रतीक पनि थियो । यो भूतकालसँगको एक आमूल विच्छेद थियो र त्योभन्दा पनि धेरै केही थियो ।”
अर्की एक पूर्वसहभागीले भनिन्, “त्यो उमेरमा, कोसँग दिनका लागि एक वर्ष हुँदैन र ? यो एउटा उत्कृष्ट विचार थियो र यसले वीरतापूर्ण एवं परोपकारी कार्यहरूमा भाग लिन उत्सुक युवाहरूको मनमा गहिरो जरा गाड्यो । क्रान्तिले हामी प्रत्येकलाई एक सच्चा व्यक्तिको रूपमा उभिने र परिपक्व पुरुष तथा महिला बन्ने अवसर दियो । युवाहरूलाई ठुला कार्यहरू र महान् कामहरूको आवश्यकता पर्दछ जसले उनीहरूको व्यक्तित्व विकास गरोस् ।”
साक्षरता अभियानकै वर्ष, क्युवाले आफ्ना निजी विद्यालयहरूलाई राष्ट्रियकरण ग¥यो र पूर्ण रूपमा सरकारी लगानी भएको, उच्च गुणस्तरको सर्वव्यापी शिक्षा प्रणालीको विकास ग¥यो, जसका लागि आज यो विश्वभर चिनिन्छ । लामो समयदेखि शिक्षा क्षेत्रमा कलम चलाउँदै आएका लेखक एवं अभियन्ता जोनाथन कोजोलले सन् १९७८ मा प्रकाशित आफ्नो पुस्तक ‘चिल्ड्रेन अफ द रिभोल्युसन : ए याङ्की टिचर इन द क्युवन स्कुल्स’ मा क्युवाको विद्यालय प्रणालीको प्रशंसा गरेका थिए । यो पुस्तक उनले सन् १९७० को दशकमा त्यहाँका शिक्षक र विद्यार्थीहरूसँग अन्तर्वार्ता लिन टापुको गरेको दुईवटा भ्रमणमा आधारित थियो । उनले लेखेका थिए, “क्युवाली विद्यालयहरू भित्र, आफू कुनै उद्देश्यका लागि काम गरिरहेको छ भन्ने भावना पाइन्छ । त्यो उद्देश्य व्यक्तिगत पुरस्कारको स्वार्थी आनन्दभन्दा धेरै गहिरो र धेरै महत्वपूर्ण छ ।”
सन् १९६० मा फिडेल क्यास्ट्रोले संयुक्त राष्ट्रसङ्घको भाषणमा घोषणा गरेको यो साक्षरता अभियान क्यास्ट्रो र चे ग्वेभाराको नेतृत्वमा रहेको क्रान्तिकारी सेनाको शैक्षिक प्रयासहरूको एक स्वाभाविक प्रतिफल थियो । यी दुवै नेता मध्यमवर्गीय पृष्ठभूमिबाट आएका थिए र उनीहरूले क्रमशः कानुन र चिकित्सा शास्त्र (डाक्टर) को अध्ययन गरेका थिए । फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गर्ने लडाइँका क्रममा, उनीहरूले किसान योद्धाहरूलाई लेखपढ गर्न सिकाउनका लागि विद्यालयहरू स्थापना गरेका थिए । एक पूर्वब्रिगादिस्ता (स्वयम्सेवक) ले झन्डै ५० वर्षपछि स्मरण गर्दै भनिन्, “म १६ वर्षकी थिएँ । फिडेलले एक भाषणमा भनेका थिए कि युद्धको समयमा सिएरा मायस्त्रा पर्वतमालामा जे गरिएको थियो, त्यसैको निरन्तरता स्वरूप साक्षरता अभियान सञ्चालन गरिनेछ । उनले त्यो कामका लागि स्वयम्सेवक शिक्षकहरूको आवश्यकता रहेको र यो मिनास डेल फ्रिओबाट सुरु हुने बताएका थिए । म घरमै थिएँ । त्यहीँ, त्यतिबेलै मैले भनेँ, जतिसक्दो चाँडो नाम दर्ता गर्न पाइन्छ, म यसमा सामेल हुन्छु ।”
बा¥ह वर्षको उमेरमा ब्रिगादिस्ता बनेका र पछि शिक्षाशास्त्रका प्राध्यापक भएका सर्जियो बालेस्तर पेद्रोले पनि यस्तै उत्साह स्मरण गरे, “यदि मैले हतियार उठाएर क्रान्तिको रक्षा गर्न सक्दिनँ थिएँ भने, म पेन्सिल लिएर जाँदै थिएँ । म अभियानमा ढिलो गरी जोडिएँ । आमाको सहमति नभए पनि, मेरो बुबाले मेरो सहमति पत्रमा हस्ताक्षर गरिदिनुभएको थियो ।”
साक्षरता अभियानका क्रममा विकास गरिएको शिक्षण विधिलाई पछि दर्जनभन्दा बढी अन्य देशहरूमा पनि पु¥याइयो । तर, क्युवाको साक्षरता विस्तार यसको प्रभावशाली अन्तर्राष्ट्रवादको एउटा हिस्सा मात्र हो । सन् १९६३ देखि, क्युवाले नियमित रूपमा विश्वभरका खाँचोमा परेका देशहरूमा चिकित्सकहरू पठाउँदै आएको छ । चिकित्सा क्षेत्रको यस अन्तर्राष्ट्रवादअन्तर्गत आपत्कालीन प्रतिक्रिया चिकित्सा ब्रिगेडहरू, टापुमा विदेशी बिरामीहरूलाई स्वास्थ्य सेवाको व्यवस्था र क्युवा तथा विदेशमा चिकित्सा जनशक्तिको प्रशिक्षणसमेत पर्दछन् । विशेष गरी, हवानास्थित ल्याटिन अमेरिकन स्कूल अफ मेडिसिनले, जसले न्यून आय भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दछ, सन् १९७४ देखि क्युवामा अध्ययन गर्न गएका १,५०० प्यालेस्टिनी विद्यार्थीमध्ये केहीलाई शिक्षित बनाएको छ । सन् २०२४ मा, क्युवाका राष्ट्रपति मिगुएल डियाज–कानेलले प्यालेस्टिनी विद्यार्थीहरूलाई दुई सय नयाँ मेडिकल स्कूल छात्रवृत्ति प्रदान गरे, जुन नरसंहारद्वारा चिकित्सा पूर्वाधार ध्वस्त पारिएको समाजप्रति ऐक्यबद्धताको एक दुर्लभ प्रदर्शन थियो ।
मार्ता प्लासेरेस हर्नान्डेज, जो विद्यालय नभएको ग्रामीण क्षेत्रमा हुर्किएकी थिइन् र सन् १९६१ पूर्वको अभियानको परीक्षण चरणमा ११ वर्षको उमेरमा लेखपढ गर्न सिकेकी थिइन्, उनले देशको यो जारी अन्तर्राष्ट्रवादका बारेमा भनिन्, “मलाई विश्वास छ कि यहाँको अभियान कहिल्यै समाप्त भएको छैन ।”
यद्यपि, शिक्षकहरूको यो युवा फौज जम्मा गर्नु कुनै सजिलो काम थिएन । लाखौँको सङ्ख्यामा रहेका विद्यार्थीलाई सिकाउनका लागि लाखौँकै सङ्ख्यामा शिक्षकहरूको आवश्यकता पर्दथ्यो । पेसाकर्मीहरूले ती युवा विद्यार्थी–शिक्षकहरूलाई साक्षरता शिक्षण विधिको सघन तालिमका साथै स्वास्थ्यसम्बन्धी मामिला र पढ्न हिच्किचाउने वयस्क सिकारुहरूलाई कसरी बुझाउने भन्नेबारे निर्देशन दिनुपरेको थियो । देशले सबै प्रकारका पेसाकर्मीहरूको ठुलो पलायन बेहोरिरहेको समयमा पनि शिक्षण पेसामा आबद्ध अधिकांश व्यक्तिहरूले यसमा भाग लिए । ते¥ह हजार मजदुरले पनि स्वेच्छिक साक्षरता शिक्षक बन्नका लागि नाम दर्ता गराए । तर, अध्यापनबाहेक यस अभियानलाई पुलहरू निर्माण गर्न, स्वयम्सेवकहरूलाई ग्रामीण इलाकामा ओसार्ने ट्रकहरू चलाउन, रेडियो, टेलिभिजन, पत्रपत्रिका र होर्डिङ बोर्डहरूमार्फत प्रचारप्रसार गर्न र सकेसम्म धेरै निरक्षर व्यक्तिहरू पहिचान गर्न जनगणनासमेत गर्न मानिसहरूको आवश्यकता थियो । रिचर्ड आर. फेगनले क्रान्तिकारी क्युवाका बारेमा लेखेको आफ्नो सन् १९६९ को पुस्तकमा अनुमान गरेअनुसार, भाग लिनका लागि धेरै साना उमेरका २० लाख मानिसहरूबाहेक ‘प्रत्येक चार जना मानिसमध्ये एक जना’ ले यस अभियानमा प्रत्यक्ष रूपमा भाग लिएका थिए ।
विशेषगरी महिलाहरूले यस अभियानमा सहभागी हुनका लागि आफ्ना मातापिता र आफ्नो संस्कृतिको लैङ्गिक अपेक्षा दुवैलाई कसरी चुनौती दिनुपरेको थियो भन्ने कुरा स्मरण गरे । एक महिलाले स्पष्ट पारिन्, “मेरो परिवारसँग मेरो ठुलो सङ्घर्ष भयो† म केटी भएकै कारण उनीहरू मलाई पठाउन चाहँदैनथे । तर, मेरी आमा विद्रोही सेनाको लडाकु हुनुहुन्थ्यो । म निकै सानो उमेरमै त्यो इतिहासको हिस्सा बनेँ ।” अर्की एक महिलाले भनिन्, “म दृढ सङ्कल्पित थिएँ र मेरी आमाले कुनै आपत्ति जनाउनुभएन । तर, मेरा बुबाले भन्नुभयो, “ठीक छ, उसलाई जान देऊ । उनी दुई हप्तामै फर्किनेछिन् ।” १४ वर्षको उमेरसम्म म कहिल्यै आफ्नी हजुरआमाको घरमा समेत रात बिताउन बसेकी थिइनँ । म कहिल्यै घरबाट टाढा भएकी थिइनँ ।”
अर्की एक सहभागीले यो अभियानले महिलाहरूलाई लैङ्गिक समानतातर्फ अघि बढ्न कसरी मद्दत ग¥यो भन्ने कुरा स्मरण गरिन्, “म भन्छु कि यस अभियानले क्युवाका महिलाहरूमा ठुलो प्रभाव पा¥यो, किनकि त्यसपछि उनीहरूले पुरुष सरहकै गतिविधिहरू सम्हाल्न सके । पहिले, महिलाहरू केवल घरपरिवार र परिवारको हेरचाह गर्न मात्र जान्दथे । पहिले, महिलाहरू पुरुषको अधीनमा थिए ¤ त्यसपछि भने, महिलाहरू समाजमा अझ पूर्ण रूपमा सहभागी हुन सके ।”
एक महिलाले अभियानको सुरुआततिर, सन् १९६१ को अप्रिलमा परिस्थिति कति खतरनाक बनेको थियो भन्ने कुरा सुनाइन्, “वे अफ पिग्स आक्रमणको बेला म त्यहीँ थिएँ । मेरा तीन बच्चाहरूसहित मेरा श्रीमान् पनि त्यहीँ हुनुहुन्थ्यो । दिउँसो एक जना मिलिसियाका सदस्य म कहाँ आएर हामी युद्ध क्षेत्रमा रहेको र मैले त्यहाँ बस्ने वा नबस्ने निर्णय गर्नुपर्ने कुरा बताए । म त्यहीँ रोकिएँ र मिलिसियाका सदस्यहरूले मलाई शत्रु सेना आइहालेमा सबमेसिन गन कसरी चलाउने भनेर सिकाए, तर तिनीहरू आएनन् ।”
बा¥ह वर्षको उमेरमा ब्रिगादिस्ता बनेका र १६ वर्षको उमेरमा उनका दाजु एस्कामब्रे पर्वतमालामा प्रतिक्रान्तिकारी शक्तिहरूविरुद्ध सक्रिय रहेका रेने जे. मुजिकाले यो अभियान आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण अनुभव भएको बताए । यसले उनलाई पहिले कहिल्यै नदेखेको गरिबी देख्न र समाजले गरिबीको समाधान गर्नु कति महत्वपूर्ण छ भन्ने कुरा बुझ्न मद्दत गरेर उनमा गहिरो प्रभाव पारेको थियो । अर्का एक ब्रिगादिस्ताले अर्को प्रकारको महत्वपूर्ण व्यक्तिगत रूपान्तरणको बारेमा कुरा गर्दै भने, “म निकै लज्जालु थिएँ । मलाई मानिसहरूलाई अभिवादन गर्नसमेत लाज लाग्थ्यो । साक्षरता अभियानले मलाई एउटा फरक मानिस बनाइदियो, किनकि मैले आफू उपयोगी भएको र आफ्नो आवश्यकता रहेको महसुस गरेँ । आफूलाई पत्तै नपाई तपाईँ बदलिनुहुन्छ, किनकि तपाईँलाई थाहा हुन्छ कि तपाईँले कुनै महत्वपूर्ण काम गर्नुभएको छ ।”
अन्य सहभागीहरूले अध्यापनका चुनौती र सुखद पक्षहरूका बारेमा आफ्ना संस्मरणहरू साटे । एक जनाले भने, “केही मानिसहरूले एक हप्तामै पढ्न सिके, जबकि अरूका लागि भने स्वरवर्ण चिन्नु नै उनीहरूको जीवनको सबैभन्दा गा¥हो काम बन्यो ।” अर्का एक जनाले भने, “जब उनीहरूले पहिलोपटक आफ्नो नाम लेख्न सिके, त्यो क्षण अद्भूत थियो । यो यस्तो थियो मानौँ उनीहरूले स्वयम् आफूलाई फेला पारे ।”
यस अभियानको अर्को एउटा प्रभावशाली कार्य के थियो भने यसले आवश्यकता भएकाहरूका लागि चस्माको व्यवस्थासमेत गरेको थियो । आँखाका डाक्टरहरू सिकारुहरूको परीक्षण गर्न गाउँ–गाउँ गए र अभियानले १,७७,००० थान चस्मा उत्पादन गर्नका लागि स्रोतसाधनहरू परिचालन ग¥यो ।
“हुआन नाम गरेका एक जना वृद्ध हजुरबुबा हुनुहुन्थ्यो जो लेखपढ गर्न चाहनुहुन्थ्यो । कसैले हामीलाई उहाँ निकै वृद्ध भइसक्नुभएको कुरा भन्यो, तर हामीले भन्यौँ, “यदि उहाँ सिक्न चाहनुहुन्छ भने, हामी यहाँ यसैका लागि आएका हौँ, होइन र ?” पछि उहाँले राम्रोसँग देख्न सक्नुहुन्न भन्ने कुरा प्रस्ट भयो । हामीले हुआनलाई आँखा रोग विशेषज्ञकहाँ लग्यौँ, उनीहरूले उहाँको आँखा परीक्षण गरेर चस्मा थमाइदिए । उहाँको अनुहारको त्यो खुसीको भाव म कहिल्यै बिर्सने छैन ।”
क्युवाका युवाहरूले क्रान्तिलाई कसरी आकार दिए भन्ने कथा समाजवादको इतिहासका लागि मात्र महत्वपूर्ण छैन । यसले हाम्रो समाजले युवाहरूतर्फ कसरी फरक र अझ बढी सहयोगी ढङ्गले आफ्नो ध्यान केन्द्रित गर्न सक्छ भन्ने कुरामा पनि प्रकाश पार्छ । यो साक्षरता अभियान एउटा यस्तो मोड र मानवताको एउटा यस्तो आन्दोलन थियो, जसलाई युवाहरूसँगको ऐक्यबद्धताको दिशामा चालिएको कदम मान्न सकिन्छ । क्युवाका युवाहरूलाई समाजको आफ्नै पहिचान र अधिकार भएका मूल्यवान् सदस्यका रूपमा हेरियो । क्रान्तिकारी क्युवाले आफ्नो देशभित्रकै सम्पत्तिको एउटा ठुलो स्रोत, आफ्ना युवाहरूको प्रतिभालाई पहिचान र परिचालन ग¥यो र त्यसलाई सम्पूर्ण राष्ट्रको हितका लागि सही सदुपयोग ग¥यो ।
स्रोत : ज्याकोबिन
दायित्वबोध डटकमबाट
Leave a Reply