क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
गत वर्ष जुलाई महिनामा, अमेरिका र इजरायलले बा¥ह दिनसम्म इरानका आणविक ऊर्जा र आणविक अनुसन्धान केन्द्रहरूमा बमबारी गरे । केही दिनपछि, यी दुई युद्धकारी शक्तिहरू (जसले यस आक्रामक युद्धका लागि संयुक्त राष्ट्र सङ्घबाट कुनै अनुमति लिएका थिएनन् ) युद्धविरामका लागि ढोका खोले । त्यस समयमा, यो पूर्ण वार्ताको आधार हुन सक्छ भन्ने विश्वास गर्दै सर्वोच्च नेता अली हुसेनी खामेनीको नेतृत्वमा रहेको इरानी सरकारले तोकिएका सर्तहरूमा सहमति जनायो : आक्रमणको तत्काल अन्त्य र तनाव नबढाउने । मिसाइल लन्चरहरू शान्त भए, तर त्यो सम्झौता अत्यन्तै नाजुक थियो । त्यहाँ कुनै दीर्घकालीन शान्ति सम्झौता, कुनै बाध्यकारी प्रवर्तन वा अनुगमन संयन्त्र, आणविक मुद्दाहरूमा कुनै समाधान, र इरानमाथि हुने अमेरिकी र इजरायली तोडफोड र आक्रमणहरू रोक्ने कुनै सहमति थिएन । यो अमेरिका र इजरायलले इरानमाथि थोपरेको युद्धको अन्त्य थिएन, बरू एउटा लडाई रोक्ने सहमति मात्र थियो । खामेनीले अमेरिकी र इजरायली आक्रामकतालाई निरर्थक भन्दै उनीहरूले ‘केही पनि हासिल नगरेको’ बताए । इरानले युद्धविरामका लागि बाध्य पारेको र ‘कहिल्यै आत्मसमर्पण नगर्ने’ कुरामा जोड दियो ।
ओमानको इरान र अमेरिका (पृष्ठभूमिमा इजरायल रहेको) बिच एक तटस्थ मध्यस्थकर्ताको रूपमा दशकौँ लामो प्रतिष्ठा छ । सन् २०१२ र २०१३ को बिचमा, ओमानले नै अमेरिका–इरान वार्ताको आयोजना गरेको थियो, जसको परिणामस्वरूप इरान र ए ५+१ (अमेरिका, बेलायत, फ्रान्स, चीन, रूस + जर्मनी) र युरोपेली सङ्घबिच सन् २०१५ को “संयुक्त बृहत् कार्ययोजना’ (JCPOA) सम्भव भएको थियो । जसमा आणविक संवर्धनका केही वाचाहरूको बदलामा प्रतिबन्धहरू कम गरिएको थियो । मस्कटमार्फत तेहरान र वाशिङ्गटनको लागि एक सुरक्षित र गोप्य माध्यम अस्तित्वमा थियो र यो सञ्चार माध्यम जुलाईपछि अन्तिम सीमा स्पष्ट पार्न र गलत आकलनको जोखिम कम गर्न उचित वार्ताका लागि सक्रिय भयो । वास्तवमा, कुराकानी फराकिलो भयो र इरान आफ्नो युरेनियम संवर्धनलाई सीमित गर्न, आफ्नो उच्च संवर्धित मौज्दातलाई शक्तिलाई फिक्का बनाउन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले अनुगमन र निरीक्षणलाई पुनः विस्तार गर्न सक्ने बिन्दुमा पुग्यो ।
यो कुनै अन्तिम सम्झौता थिएन, तर यो ससर्त आणविक संयम र तनाव कम गर्ने निरन्तर अभ्याससहितको एक वार्ताको खाका थियो । सर्वोच्च नेता खामेनी र राष्ट्रपति मसुद पेजेस्कियान दुवैमा सम्झौताका लागि राजनीतिक इच्छाशक्ति थियो, जुन निकट भविष्यमै सम्भव देखिन्थ्यो । इरानका विदेशमन्त्री अब्बास अराक्चीले अमेरिकी र इजरायली आक्रमणको एक दिनभन्दा पनि कम समयअघि भनेका थिए, “कूटनीतिलाई प्राथमिकता दिइयो भने सम्झौता पहुँचभित्र छ ।”
वास्तवमा, अमेरिका र इजरायलले अर्को बाटो रोजेः संयुक्त राष्ट्र सङ्घको बडापत्र (धारा २) को उल्लङ्घन गर्ने एक आक्रामक युद्ध । फेब्रुअरी २८ को पहिलो दिनमै, अमेरिका र इजरायलले सर्वोच्च नेता खामेनीको हत्या गरे र मिनाबको शजरेह तय्येबेह प्राथमिक विद्यालयका १८० जना बालिकाहरूको ज्यान लिए । राजनीतिक नेताहरू, प्रमुख पूर्वाधार र सर्वसाधारणमाथिको यो प्रहारले तत्कालै जनविद्रोह निम्त्याउने र इस्लामिक गणतन्त्रलाई ढाल्ने विश्वास अमेरिका र इजरायलले राखेका थिए । अमेरिकी र इजरायली गुप्तचर निकायहरूले सन् २०२५ डिसेम्बरमा ‘रियाल’को अवमूल्यन र बढ्दो मुद्रास्फीतिका कारण सुरू भएको विरोध प्रदर्शनलाई अतिरञ्जित रूपमा आकलन गरेका थिए । तर, आर्थिक मुद्दाहरूविरूद्धको विरोध प्रदर्शन र एउटा सिङ्गो व्यवस्थालाई नै उखेलेर फाल्ने चाहनाबिच निकै ठुलो अन्तर हुन्छ । जब क्षेप्यास्त्र प्रहारबाट सर्वोच्च नेता– जसको छवि उनका आलोचकहरूमाझ धार्मिक निष्ठावान् व्यक्तिको रूपमा थियो (सन् १९९४ मा कोमका सेमिनरी शिक्षकहरूको समाजले उनलाई ‘मर्जा–ए–तकलिद’ वा अनुकरणको स्रोतका रूपमा पदोन्नति गरेको थियो) र स्कूले बालबालिका मारिए, तब जनमानसमा राष्ट्रभक्तिको लहर चल्यो । यस्तो परिस्थितिमा निर्दोष बालबालिकाविरूद्धको साम्राज्यवादी युद्धको पक्ष लिन असम्भव थियो । अमेरिकी र इजरायली आक्रमणको प्रकृति र इरानले इजरायली लक्ष्यहरूका साथै खाडी अरब राष्ट्रहरूमा रहेका अमेरिकी सैन्य अखडाहरूमा प्रहार गर्न सफल भएको तथ्यले इरानी जनतालाई आफ्नो अस्तित्व रक्षा र प्रतिरक्षा क्षमतामा केन्द्रित गरिदियो । अहिले धेरैजसो इरानीहरूको भावना यही नै छ ।
सन् २००१ को अफगानिस्तान र २००३ को इराक युद्धदेखि नै, अमेरिकी युद्ध योजनाकारहरूले ‘एस्केलेसन ल्याडर’ (तनाव वृद्धिको खुड्किलो) को अवधारणालाई त्यागेका छैनन् र ‘रैपिड डोमिनेन्स’ (शीर्ष नेतृत्वको अन्त्य, कमान्डको पक्षाघात र शत्रुको सेनामाथि पूर्ण प्रभुत्वमार्फत गरिने द्रुत नियन्त्रण) को अवधारणा प्रयोग गर्दै आएका छन् । यसले अफगानिस्तान र इराकमा काम ग¥यो, जहाँ अमेरिकी हिंसाको मापनले प्रतिशोधको क्षमतालाई नै ध्वस्त पारिदिएको थियो । त्यो वास्तवमै स्तब्ध र भत्ीत पार्ने रणनीति थियो । तर यस्तो सैन्य ढाँचाले इरानको हकमा काम गरेन । इरानीहरूले दशकौँदेखि अमेरिका र इजरायलको पूर्ण–स्तरको आक्रमणको तयारी गरेका थिए । उनीहरूको राजनीतिक नेतृत्वले शीर्ष नेताहरूको हत्या (decapitation strikes) बाट हुन सक्ने जोखिम बुझेको थियो, त्यसैले उनीहरूले अधिकांश शीर्ष र अत्यावश्यक नेताहरूका लागि आठ तहसम्मका विकल्पहरू तयार गरेका थिए । सेनाले द्रुतगतिमा विभिन्न प्रकारका हतियार प्रणालीहरू तयार ग¥यो, वायु रक्षा प्रणालीलाई समेत माथ दिनसक्ने ‘हाइपरसोनिक क्लस्टर मिसाइल’ देखि खाडीको पानीमा ‘स्वार्म ट्याक्टिक्स’ (झुण्डमा आक्रमण गर्ने रणनीति) प्रयोग गर्ने तीव्रगतिका तटीय आक्रमणकारी जहाजहरूसम्म । लेबनानदेखि इराकसम्मका इरान समर्थक मिलिसियाहरूसँगै यिनै संयन्त्रहरू इरानीहरूले निर्माण गरेका रक्षाका अनेकौँ घेराहरू हुन् । यसको अर्थ के हो भने, अमेरिकाले ‘रैपिड डोमिनेन्स’ बाट युद्ध सुरू गर्दा ऊसँग तनाव वृद्धिको कुनै क्रमिक योजना (Escalation ladder) छैन, तर अमेरिका र इजरायलविरूद्ध इरानको प्रतिक्रिया भने रणनीतिक रूपमा सबैभन्दा सरल क्षेप्यास्त्रबाट सुरू गरी अत्याधुनिक क्लस्टर मिसाइलतर्फ अघि बढ्ने गरी बनाइएको छ– जबकि उसले आफ्ना साना डुङ्गाहरू र मिलिसियाहरूलाई अझै रोकेर राखेको छ । इरान अझै पनि आफ्ना क्षेप्यास्त्रहरू र ‘स्ट्रेट अफ हर्मुज’ (हर्मुज जलडमरूमध्य, जुन अहिले निश्चित देशका जहाजहरूका लागि मात्र खुला छ) माथिको आफ्नो पकडमा निर्भर रहेकाले यिनलाई परिचालन गरिएको छैन ।
इरानको बौद्धिक प्रतिक्रियाले संयुक्त राज्य अमेरिका र इजरायललाई यसरी घेराबन्दीमा पारेको छ कि उनीहरूसँग युद्धविरामका लागि याचना गर्नुको विकल्प बाँकी छैन । इरानी नेतृत्व भन्छ कि उनीहरूलाई सन् २०२५ जुलाईको जस्तो आंशिक युद्धविराममा कुनै रूचि छैन, जसले इजरायल र अमेरिकालाई पुनः सशस्त्र हुन र अर्को चरणको हिंसाका साथ फर्कन मौका मात्र दिनेछ । इरान एउटा ‘ग्रान्ड बार्गेन’ (बृहत् सम्झौता) चाहन्छ, जसमा इरान मात्र नभई इराक र लेबनान पनि समावेश हुन् र उसले पूर्ण प्रतिबन्ध फुकुवा, प्यालेस्टिनीहरूको नरसंहारको अन्त्य र इरानलाई घेर्ने अमेरिकी धम्कीपूर्ण सैन्य अखडाहरू हटाउनुपर्ने जस्ता मागहरू राखेको छ । यदि अमेरिका र इजरायल यी मागहरूमा सहमत भए भने, इजरायल र अमेरिकाको क्रूर आक्रमणबाट भएको दुःखद मानवीय क्षतिका बावजुदयो इरानका लागि पूर्ण विजय हुनेछ ।
सन् २०२५ जुलाईमा युद्धविरामका लागि उत्सुक रहेका सर्वोच्च नेता अली खामेनीको हत्या गरेर, अमेरिका र इजरायलले सायद फेरि युद्धविरामको पक्षमा तर्क गर्न सक्ने व्यक्तिलाई गुमाएका छन् । नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीसहितको वर्तमान नेतृत्वले यो सही आकलन गरेको छ कि बृहत् सम्झौताबिनाको युद्धविराम समय बिताउने मेलो मात्र हो, शान्ति होइन । इरानीहरू यस क्षेत्रमा शान्ति चाहन्छन्, युद्ध–युद्धविराम–युद्धको त्यो अनन्त शृङ्खला होइन जसले केवल अभाव र पीडा निम्त्याउँछ ।
इजरायलीहरूले इरानसँगको युद्धको बारेमा धेरै बोलेका छैनन्; उनीहरू आफ्ना क्षेप्यास्त्रहरू प्रहार गर्न र इजरायलमा भएका इरानी क्षेप्यास्त्र प्रहारका समाचारहरूलाई रोक्न बढी केन्द्रित छन् । के उनीहरू ट्रम्पले गर्ने कुनै शान्ति सम्झौताबाट निर्देशित होलान् त ? त्यो सम्भावना कम छ । इजरायलीहरूको मध्यपूर्वप्रति एक ‘एस्केटोलोजिकल’ (धार्मिक अन्त्यवादी) दृष्टिकोण छ । उनीहरू नील नदीदेखि युफ्रेटिससम्मको भूमि कब्जा गर्न उत्सुक छन्, जसका लागि उनीहरूले यस क्षेत्रको आफ्नो सबैभन्दा ठुलो र प्रभावशाली आलोचक इरानलाई शान्त पार्नु पर्ने हुन्छ । इजरायलका लागि यो अन्तिम लडाइँ हो । उनीहरूले अमेरिकालाई यस युद्धमा तानेका छन्, जबकि इस्लामिक गणतन्त्रको अस्तित्व वा अन्त्यबाट अमेरिकालाई कुनै वास्तविक लाभ छैन (जसले अमेरिकालाई कहिल्यै कुनै खतरा दिएको छैन) । इजरायल इस्लामिक गणतन्त्रलाई जरैदेखि उखेल्न चाहन्छ, तर इरानी समाजमा यसको गहिरो जरा हेर्दा त्यो असम्भव देखिन्छ । अर्कोतर्फ, अमेरिका भने एक आज्ञाकारी नेतृत्वमार्फत इस्लामिक गणतन्त्रको व्यवस्थापनमै सन्तुष्ट हुने थियो । तर, अहिले यी दुवै विकल्पहरू सम्भव छैनन् । अब सैन्य तनाव बढाउने एउटै विकल्प भनेको अमेरिका वा इजरायलले इरानमाथि आणविक आक्रमण गर्नु मात्र हो । जसले इरानी नागरिकहरूको जीवनमा पार्ने भयावह प्रभावपछि, विश्वव्यापी जनमतबाट पूर्ण रूपमा नकारात्मक प्रतिक्रिया निम्त्याउनेछ ।
अमेरिका र इजरायलका लागि अब कुनै पनि राम्रा विकल्पहरू बाँकी छैनन् । उनीहरूले आफ्नो बमबारी जारी राख्न त सक्छन्, तर त्यसको बदलामा इरानले गर्ने प्रतिकारको तीव्रताले इजरायल र यस क्षेत्रमा रहेका अमेरिकी हितहरूलाई निरन्तर क्षति पु¥याइरहनेछ । इन्धन र खाद्यान्नको मूल्य आकासिँदै जाँदा अमेरिका र इजरायलले विश्वव्यापी दबाबको सामना गर्नुपर्नेछ । यो संयुक्त राज्य अमेरिका र इजरायलको एक ठूलो गलत गणना थियो ।
इरान यति सजिलै झुक्ने छैन । यहाँ सयौँ वर्ष पुरानो एक गौरवशाली सभ्यता दाउमा छ, र इरानी नेताहरूलाई यो राम्ररी थाहा छ । उनीहरू ‘इस्लामिक गणतन्त्र’ वा सन् १९७९ को ‘इरानी क्रान्ति’ का लागि मात्र उभिएका छैनन्, बरू स्वयम् इरान राष्ट्रको अस्तित्वका लागि लडिरहेका छन् । उनीहरू पछि हट्ने छैनन् ।
Leave a Reply