भर्खरै :

विदेशी सञ्चारलाई सरकारले सहयोग गर्न नहुने

विदेशी सञ्चारलाई सरकारले सहयोग गर्न नहुने

निजी सञ्चार क्षेत्रलाई विज्ञापन छापेबापत दिँदै आएको सरकारी विज्ञापन नदिने निर्णयको सर्वत्र विरोध गरे पनि सरकारले सो निर्णय फिर्ता लिएको छैन । उक्त निर्णय कार्यान्वयनमा आए देशका धेरै पत्रिकाहरू बन्द हुनेमा शङ्का छैन । धेरै श्रमजीवी पत्रकारहरू पेसाबाट वञ्चित हुनेछन् । सञ्चार क्षेत्रलाई दिँदै आएको सरकारी विज्ञापनमा कहीँ कतैबाट दुरूपयोग, चुहावत या अनियमितता भइरहेको छ भने त्यो नियन्त्रण गर्नुपर्छ; नियन्त्रण गर्न सरकारले पाइला चाल्नुपर्छ । विज्ञापनमा कुनै एजेन्सीले नक्कली काम गरेको छ भनेर देशका सबै निजी क्षेत्रलाई उहीँ आँखाले हेर्नु मनसिब हुँदैन । अनियमितता नियन्त्रण गर्ने नाउँमा देश र जनताको सेवा गर्ने, जनतालाई सचेत पार्ने, सरकारलाई खबरदारी गरेर सुधार्न प्रकाशित भइरहेको पत्रिकालाई सरकारी विज्ञापनमा रोक लगाउने निर्णय बुद्धिमानी होइन । यसकारण, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार सचिवस्तरीय निर्णय गर्दै सङ्घ, प्रदेश र स्थानीय तहका सबै निकायलाई सबै प्रकारका विज्ञापन तथा सूचना सरकारी सञ्चारमाध्यमलाई दिने परिपत्र फिर्ता लिनुपर्छ या सो निर्णय फिर्ता लिनुपर्छ ।
विज्ञापन एजेन्सी र कर्मचारी मिलेर विज्ञापन रकमको ठुलो हिस्सा आफै राख्ने या मिलेमतोमा नक्कली बिल बनाएर राज्यकोषलाई अरबौँको क्षति पु¥याएको साँचो हो भने त्यो नियन्त्रण गर्नुपर्छ । त्यसलाई नियन्त्रण गर्नुको सट्टा सबै सञ्चार क्षेत्रलाई मर्का पर्ने गरी विज्ञापन नदिने सरकारी निर्णय उचित होइन । राज्यकोषको रकम निश्चित पत्रिकालाई मात्र वितरण गर्नु न्यायसङ्गत देखिँदैन । निजी सञ्चार क्षेत्रले पनि सरकारको निर्णय, सरकारी क्रियाकलाप र सरकारले गर्नुपर्ने विभिन्न प्रचारात्मक कार्य गरिरहेको छ ।
विगतमा सरकारले उद्योग घाटा हुनुको कारण नखोजी सरकारी उद्योग तथा सङ्घ संस्थाहरू कति बन्द ग¥यो भने कति विदेशी कम्पनीहरूको हातमा दियो । उद्योग बन्द भएपछि देशमा आयात बढ्यो; स्वदेशी रकम बिदेसियो । यसले देशको अर्थतन्त्र कमजोर बनायो र देशलाई परनिर्भर बनायो । सञ्चार जगत्बाट राज्यले अरर्बौँ रकम कर उठाइरहेको छ† सञ्चार क्षेत्रले हजारौँलाई रोजगारीको अवसर दिइरहेको छ ।
स्वदेशमै रोजगारीको अवसर दिएर विदेस पलायन घटाउनुपर्ने समयमा देशमा बेरोजगारी सङ्ख्या बढाउने जाल सरकारले बुन्नु हुँदैन । विभिन्न रचनात्मक कार्यक्रम ल्याएर स्वदेशमै रोजीरोटीको व्यवस्था गर्ने काम सरकारले गर्नुपर्छ । सरकारले त व्यवसायिक क्षेत्र विस्तार गरेर, विस्तारको निम्ति आवश्यक सहयोग गरेर उत्साहित गर्नुपर्छ । सञ्चार क्षेत्रमा सरकारले गरिरहेको आर्थिक सहयोगको उद्देश्य र मर्म नै नबुझी सरकारी विज्ञापन हटाउने निर्णयलाई मान्न सकिँदैन । बरु, सरकारले विदेशबाट सञ्चालित सञ्चार क्षेत्र कहाँ कहाँ छन्; कुन कुन हुन् ? विदेशी कम्पनीको लगानीमा कुनै पत्रिका सञ्चालन भइरहेको छ भने त्यसको खोजीनिति गर्नुपर्छ; खोजीनीति गरेर पत्रपत्रिका प्रकाशन गर्न विदेशी कम्पनीको जरुरत छैन । विदेशी पत्रपत्रिका सञ्चालन गरेर विदेशी पुँजी खेलाउने† विदेशी चलखेल बढाउने कार्यमा सघाउने र विदेशी गतिविधि बढाउने काम रोक्नुपर्छ । विदेशी सञ्चार क्षेत्रलाई सरकारले सहयोग गर्नु हुँदैन† विदेशी कम्पनीलाई सञ्चार क्षेत्र सञ्चालन गर्न सरकारले सहमति जनाउनु हुँदैन । सरकारले स्वदेशमै चलेका सञ्चार क्षेत्रमा बाधा पार्ने काम रोक्नुपर्छ ।
सरकार गठन भएको महिना दिन बितेको छैन । सरकारले गरेको निर्णयबाट किसान, मजदुर, विद्यार्थी, युवा, महिलाहरू आन्दोलित हुन थालेका छन् । सहकारी पीडितहरूको रकम फिर्ता दिनेतर्फ सरकारको ध्यान पुगेको छैन । सञ्चारकर्मीहरू आन्दोलनमा आइसकेका छन् । सरकारी कार्यालय र शिक्षण संस्थानहरू बिहान ९ बजेदेखि चलाउन सम्भव होला कि नहोला ? त्यो निर्णय कार्यान्वयन होला कि नहोला ? त्यस निर्णयअनुसार कर्मचारीहरू समयमा पुग्छन् कि पुग्दैनन् ? लेखा पढी व्यवसायीहरू पनि आन्दोलित छन् । लेखपढी व्यवसायीलाई निषेध गरेपछि त्यो जिम्मेवारी कार्यालयका कर्मचारीहरूले सहज ढङ्गले गर्छन् कि गर्दैनन् ? कतै यो निर्णय कर्मचारीहरूलाई थप घुस्याहा बनाउने साबित हुँदैन ? के सरकारी बिदा भनेको इन्धन जोगाउन हो ? यसरी सरकारी निर्णय र कामबाट जनता अहिले नै असन्तुष्ट हुन थालेका छन् । यो शुभ सङ्केत होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *