भर्खरै :

माक्र्सवादले अझै संसार बदल्न सक्छ

  • चैत्र २३, २०८२
  • डेभिड हार्भे
  • विचार
माक्र्सवादले अझै संसार बदल्न सक्छ

विश्वव्यापी वित्तीय सङ्कट चरम उत्कर्षमा पुगेको बेला, सन् २००८ को नोभेम्बरमा महारानी एलिजावेथले ‘लन्डन स्कूल अफ इकोनोमिक्स’ को भ्रमण गरिन् । त्यस भ्रमणको क्रममा उनले त्यहाँ भेला भएका अर्थशास्त्रीहरूलाई एउटा प्रश्न सोधिन्, “यो वित्तीय सङ्कट आउँदै छ भन्ने कुरा तपाईँहरूले किन पहिल्यै देख्नुभएन ?”
तत्काल कुनै ठोस उत्तर नभएपछि अर्थशास्त्रीहरूले सरसल्लाह गरे र गोष्ठीहरू चलाए । ६ महिनापछि उनीहरूले महारानीलाई एउटा सामूहिक पत्र पठाउँदै आफ्नो असफलताको जडमा ‘अहङ्कार’ र ‘प्रणालीगत जोखिमहरू’
(Systemic Risks) लाई सामना गर्न नसक्नु रहेको स्वीकारोक्ति दिए । प्रणालीगत जोखिमहरूलाई बेवास्ता गर्नु विशेषगरी गम्भीर त्रुटि देखिन्छ । हामीमध्ये सायदै कसैले त्यस्तो विमानमा चढ्ने आँट गर्छौँ होला, जसको प्रणालीगत जोखिमहरूको पहिल्यै जाँच गरिएको हुँदैन ।
मेरो नयाँ पुस्तक, ‘द स्टोरी अफ क्यापिटल’ (The Story of Capital), पुँजीको उत्पादन पद्धतिभित्र रहेका आन्तरिक विचलन र प्रणालीगत जोखिमहरूको चिरफार गर्ने प्रयास हो । तर, यसले पुँजीको राजनीतिक अर्थतन्त्रमाथि माक्र्सले गरेका कामहरूबाट साभार गरिएका विशेष सैद्धान्तिक औजारहरूको सहायता लिन्छ ।
माक्र्सले गरेको एउटा निकै चर्चित घोषणा छ– हाम्रो उद्देश्य संसारलाई बुझ्नु मात्र नभई यसलाई बदल्नु हुनुपर्छ । यद्यपि, उनले जुन कुरालाई बदल्न चाहन्थे, त्यसलाई बुझ्नका लागि निकै ठुलो समय र प्रयास खर्च गरे । वास्तवमा, उनको अभ्यासले पुँजीलाई बदल्नका लागि पहिले यसलाई बुझ्नु अपरिहार्य छ भन्ने कुरामा उनी दृढ विश्वास गर्थे भन्ने सङ्केत गर्छ  ।
“पुँजीको अवधारणाको सटिक विकास अपरिहार्य छ,” उनले ‘ग्रुन्डरिसे’ (Grundrisse) मा लेखेका छन्, “किनकि यो आधुनिक अर्थतन्त्रको आधारभूत अवधारणा हो, जसरी पुँजी स्वयं… बुर्जुवा समाजको जग हो । ‘पुँजीगत’ सम्बन्धका पूर्वमान्यताहरूको स्पष्ट सूत्रबद्धताले बुर्जुवा उत्पादनका सबै अन्तर्विरोधहरूलाई उजागर गर्नुपर्दछ । साथै ती सीमाहरूलाई पनि देखाउनुपर्दछ जहाँ पुँजीले आफ्नै अस्तित्वभन्दा बाहिर जाने बाटो तय गर्छ ।”
यहाँ माक्र्सले प्रयोग गरेको ‘अन्तर्विरोध’ (Contradiction) शब्दमा ध्यान दिनुहोस् । उनको मान्यतामा ‘पुँजीभित्र अन्तर्विरोधहरू लुकेका हुन्छन्’ र “हाम्रो उद्देश्य ती अन्तर्विरोधहरूलाई पूर्ण रूपमा विकसित (उजागर) गर्नु हो ।” ‘अन्तर्विरोध’ यस्तो शब्द होइन जुन नव–शास्त्रीय (Neoclassical, रिकार्डियन वा किनेसियन अर्थशास्त्रका सिद्धान्तहरूमा भेटियोस् । तर, माक्र्सको पुँजीसम्बन्धी बुझाइका लागि यो एक जग हो । आखिर यो किन यति महत्वपूर्ण छ त ?
कुनै पनि धारको बुर्जुवा राजनीतिक अर्थशास्त्र ‘सूक्ष्म अर्थशास्त्र’
(Microeconomic) फर्मको सिद्धान्त) र ‘समष्टि अर्थशास्त्र’ (Macroeconomics) राष्ट्रिय र विश्वव्यापी अर्थतन्त्रको सिद्धान्त) मा विभाजित छ । धेरै प्रयासका बाबजुद सूक्ष्म सिद्धान्तबाट समष्टि सिद्धान्त निकाल्न वा यसको उल्टो गर्न असम्भव साबित भएको छ ।
तर, माक्र्सका लागि भने यो विभाजन वा अन्तर्विरोध बुझाइको मार्गमा अवरोध नभएर सिद्धान्त निर्माणको आधार हो । प्रतिस्पर्धाको बाध्यकारी नियमहरूबाट निर्देशित व्यक्तिगत पुँजीपतिहरूले यस्ता प्रविधिहरू अपनाउँछन् जसले उनीहरूले प्रयोग गर्ने श्रमको उत्पादकत्व बढाउँछ ।
तर, माक्र्सको सिद्धान्तमा, श्रम नै सबै मूल्यको स्रोत हो । बढ्दो श्रम उत्पादकत्वले आवश्यक श्रमिकहरूको सङ्ख्यालाई घटाउँदै लैजान्छ । फलस्वरूप, कम मूल्य (Value) पैदा हुन्छ । अन्य कुराहरू समान रहेमा, यसको अन्तिम परिणाम ‘नाफाको दरमा गिरावट’ (Falling profitability) को सङ्कट हुन पुग्छ ।
यो सैद्धान्तिक अन्तर्दृष्टि ‘समष्टि’ र ‘सूक्ष्म’ आवश्यकताबिचको अन्तर्विरोधबाट उत्पन्न हुन्छ । अर्को शब्दमा भन्नुपर्दा, व्यक्तिगत पुँजीपतिहरू आफ्नो पुँजीमा प्रतिफलको दर अधिकतम बनाउन खोज्छन् तर तिनीहरूको यो प्रयासले समग्रमा यस्तो नतिजा निकाल्छ, जुन पुँजी सञ्चयका लागि झन्झन् प्रतिकूल बन्दै जान्छ ।
त्यसपछि एउटा गम्भीर प्रश्न उठ्छ : स्वतन्त्र बजार प्रतिस्पर्धाको बाध्यकारी नियमहरूद्वारा अनुशासित ती व्यक्तिगत पुँजीपतिहरूको ‘तार्किक तर विनाशकारी’ व्यवहारबाट पुँजीलाई कसले बचाउने ?
यी प्रश्नहरूको उत्तर खोज्नका लागि विभिन्न अनुसन्धानका विधाहरू (जस्तै अर्थशास्त्र) र नीतिगत संस्थाहरू (जस्तै ‘इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स’ र ‘अन्तर्राष्ट्रिय मुद्रा कोष’) खडा गरिएका छन् । समस्याहरूको समाधान हुन्छ, तर अन्तर्विरोधहरूको हुँदैन । अन्तर्विरोधहरू त तनावका त्यस्ता स्थायी बिन्दुहरू हुन्, जसलाई जुन प्रणालीभित्र ती निहित छन्, त्यहीँभित्र मात्र व्यवस्थापन गर्न सकिन्छ ।
अन्तर्विरोधहरू तब मात्र हराउँछन् जब समग्र प्रणाली नै समाप्त हुन्छ । उदाहरणका लागि, म मेरो व्यावसायिक जीवनका आवश्यकताहरू र मेरा व्यक्तिगत चाहना तथा जिम्मेवारीहरूबिचको अन्तर्विरोधलाई निरन्तर व्यवस्थापन गरिरहेको हुन्छु । धेरैजसो समय यो अन्तर्विरोध सुषुप्त र शान्त रहन्छ तर मेरो विश्वविद्यालयमा अधिनायकवादीहरूले कब्जा जमाए भने (जसरी हङ्गेरीको सेन्ट्रल युरोपियन युनिभर्सिटीमा भयो), तब यो अन्तर्विरोध मेरो व्यक्तिगत सङ्कटको केन्द्र बन्न पुग्छ ।
त्यसैले, एक राजनीतिक अर्थशास्त्रीका लागि मुख्य चुनौती भनेको पुँजीका प्राथमिक अन्तर्विरोधहरूलाई (जस्तै पुँजी र श्रमबिचको विवादित सम्बन्ध) पहिचान गर्नु, तिनलाई परिभाषित गर्नु र यसका ‘गतिका नियमहरू’ (Laws of motion) को व्याख्या गर्नु हो ।
बजार विनिमय प्रणाली जति बढी व्यापक र व्यवस्थित हुँदै जान्छ, यसका सहभागीहरूले (फेरि ‘ग्रुन्डरिसे’ कै शब्दमा) पहिलेको ‘व्यक्तिगत निर्भरता’ को विपरीत ‘वस्तुगत निर्भरताका सम्बन्धहरू’ प्राप्त गर्छन् । माक्र्स
लेख्छन् :
“व्यक्तिहरू अब ‘अमूर्त धारणाहरू’ (Abstractions) द्वारा शासित छन्, जबकि पहिले उनीहरू एकअर्कामा निर्भर हुन्थे । यद्यपि, यो अमूर्तता वा विचार ती भौतिक सम्बन्धहरूको सैद्धान्तिक अभिव्यक्तिबाहेक अरू केही होइन, जो आज उनीहरूका मालिक र प्रभु बनेर खडा छन् ।”
शासक वर्गका विचारहरू नै ‘शासकीय विचार’ बन्न पुग्छन् र ती प्रबल राजकीय शक्ति (केही समय अघिसम्म अमेरिका) सँग जोडिएका हुन्छन् । यी “सम्बन्धहरूलाई अवश्य पनि विचारमा मात्र व्यक्त गर्न सकिन्छ र यसरी दार्शनिकहरूले ‘विचारको शासन’ लाई नै आधुनिक युगको विशेषता मानेका छन् । उनीहरूले यो भ्रम पालेका छन् कि वैचारिक रूपमा यस शासनलाई ढाल्नु नै स्वतन्त्र व्यक्तिगत पहिचानको सिर्जना हो ।”
माक्र्सका अनुसार, वैचारिक दृष्टिकोणबाट यो गल्ती गर्नु स्वाभाविक थियो किनकि यो शासन… व्यक्तिहरूको चेतनामा ‘विचारको शासन’ को रूपमा प्रकट हुन्छ । यी विचारहरू (अर्थात् वस्तुगत निर्भरताका सम्बन्धहरू) स्थायी छन् भन्ने विश्वासलाई शासकवर्गले उपलब्ध सबै माध्यम प्रयोग गरेर सुदृढ, पोषित र मस्तिष्कमा प्रत्यारोपित गर्ने गर्दछ ।
यही त त्यो प्रक्रिया थियो, जसलाई १९८० को दशकमा हायक, मिल्टन फ्रिडम्यान, किथ जोसेफ, ‘इन्स्टिच्युट अफ इकोनोमिक अफेयर्स’ र मार्गरेट थ्याचरले यति कुशलतापूर्वक सङ्गठित गरे र ‘नव–उदारवाद’ (Neoliberalism) तर्फको मोडलाई सफल बनाए । थ्याचरले “यसको कुनै विकल्प छैन”
(There is no alternative) भनी घोषणा गरिन् र धेरैले यस नारालाई अकाट्य सत्यका रूपमा स्वीकार गरे ।
यसरी, विचारहरू मानव इतिहासमा एक ‘भौतिक शक्ति“ (Material force) बन्न पुग्छन् । हामी यही वैचारिक क्षेत्रभित्र रहेर यी शासकीय विचारहरूबारे सचेत हुन्छौँ र वैचारिक सङ्घर्षमार्फत तिनको सामना गर्छौँ । १९८० को दशकमा, नयाँ लगानी प्राप्त नव–उदारवादी ‘थिङ्क–ट्याङ्क’ हरू फस्टाए, केनेसियनहरू पाखा लगाइए, अर्बपतिहरूको गुटको उदय सुरु भयो, श्रमजीवीवर्गका संस्थाहरू असफल भए र माक्र्सलाई उपहास गर्दै अस्तित्वहीन बनाइयो ।
‘द स्टोरी अफ क्यापिटल’ (The Story of Capital) मेरा पुस्तकहरूको शृङ्खलाको पछिल्लो (र सायद अन्तिम) कडी हो, जसलाई म अहिले फर्केर हेर्दा ‘द माक्र्स प्रोजेक्ट’ भन्न रुचाउँछु । मैले ‘फर्केर हेर्दा’ किन भनेको हुँ भने, केही समय अघिसम्म यस्तो कुनै परियोजना बनिरहेको छ भन्नेबारे म आफैँलाई पनि थाहा थिएन ।
आखिर यो ‘माक्र्स प्रोजेक्ट’ केका बारेमा थियो त ? लामो समयदेखि यो स्पष्ट थियो कि माक्र्सलाई राम्ररी बुझिएको छैन, सक्रिय रूपमा आत्मसात गरिने कुरा त टाढै रहोस् । उनको कामलाई थप सुलभ र बुझ्न सजिलो बनाउन निकै मेहनतको आवश्यकता थियो । यो केवल बेवास्ता र दक्षिणपन्थीहरूको भ्रामक व्याख्यामा आधारित ‘आम अनभिज्ञता’ का कारण मात्र होइन, बरु जडसूत्रवादी वामपन्थीहरूका केही कट्टर प्रस्तुतिहरूका कारणले पनि हो ।
यसैबिच, ‘प्राज्ञिक माक्र्सवाद’
(Academic Marxism) ले भने माक्र्सको विचारलाई पहिलेभन्दा झन् जटिल बनाउनमै आफ्नो सम्पूर्ण शक्ति खर्च गरिरहेको देखिन्थ्यो । मैले पनि सन् १९८२ मा ‘लिमिट्स टु क्यापिटल’ (Limits to Capital लेखेर यसमा केही हदसम्म योगदान दिएको थिएँ (त्यसबेला एक समीक्षकले यसलाई “भूगोलका लागि अर्को कोशेढुङ्गा तर स्नातक विद्यार्थीहरूको घाँटीको पासो” भनेर चित्रण गरेका थिए) ।
सन् १९७१ पछि मैले हरेक वर्ष कम्तीमा एकपटक माक्र्सको ‘पुँजी’
(Capital) को पहिलो खण्ड पढाउने अनुभव बटुलेको थिएँ । त्यस अनुभवलाई सही सदुपयोग गर्ने एउटा स्पष्ट ठाउँ मसँग थियो । १९७० को दशकका केही वर्षमा त मैले क्याम्पसभित्र र बाहिर गरी तीनपटक वा सोभन्दा बढी पनि पढाएको थिएँ (जब मैले विश्वविद्यालयमा यो पढाउँथेँ, सधैं आफ्नो तोकिएको कार्यभारभन्दा अतिरिक्त रूपमा पढाउँथेँ, ताकि कसैले पनि ‘राजनीतिको पक्षमा प्राज्ञिक कर्तव्यलाई बेवास्ता गरेको’ आरोप लगाउन नसकोस् ¤) ।
मेरो सम्पूर्ण प्रयास माक्र्सका तर्कहरूलाई तिनको गहिराइ नमारेरै सरल र स्पष्ट बनाउनुमा केन्द्रित रह्यो । मैले माक्र्सलाई बुझ्ने कुनै एउटा खास दृष्टिकोण कसैमाथि लाद्ने प्रयास गरिनँ, यद्यपि आफ्नै व्याख्यालाई आधार नबनाई पढाउनु त असम्भव नै हुन्छ (मेरो बुझाइ पनि धेरै सम्भावित व्याख्याहरूमध्ये एउटा मात्र हो) । म पाठकहरूका लागि माक्र्सको चिन्तनभित्र छिर्ने एउटा यस्तो ‘ढोका’ खोल्न चाहन्थेँ, जहाँबाट भित्र पसेर उनीहरू आफैँले आफ्नो बुझाइ निर्माण गर्न सकून् । मेरो भिडियो शृङ्खला र माक्र्सको ‘क्यापिटल’ तथा ‘ग्रुन्डरिसे’ का लिखित सहयोगी पुस्तकहरू (Written Companions) यही भावनाका साथ तयार गरिएका थिए ।
यसका साथै, आजको राजनीतिमा माक्र्सको चिन्तन कति सान्दर्भिक छ भनेर देखाउनुपर्ने तीव्र आवश्यकता पनि मैले महसुस गरेँ । यसले गर्दा हामीले माक्र्सबाट के सिक्न सक्छौँ भन्ने मात्र होइन, बरु उनले के कुराहरू अपूरा छोडे, केलाई स्वतःसिद्ध माने वा के कुरामा उनी चुके भन्ने कुरा पहिचान गर्ने दायित्व पनि ममाथि थपियो । उनको चिन्तनमा के पुराना भए र के अझै ताजा छन् भन्ने कुरा छुट्याउनु पनि उत्तिकै जरुरी थियो । मेरो मनमा खेलिरहेको प्रश्न थियो, “आज माक्र्स पढ्दा हामी के सिक्न सक्छौँ र हाम्रो वरिपरिको संसारलाई बुझ्न हामीले आफैँले गर्नुपर्ने कामहरू के–के हुन् ?”
मैले माक्र्सको पद्धति र उनका ठोस सिद्धान्तहरूको उपयोगितालाई समसामयिक घटना र मुद्दाहरूको विश्लेषणमा प्रयोग गरेर देखाउने जमर्को गरेँ । निकै ढिलो गरी मात्र मैले महसुस गरेँ कि मैले माक्र्सका दुईवटा महत्वपूर्ण राजनीतिक कृतिहरूबिचको खाडललाई पुर्ने काम गरिरहेको रहेछु । ‘द माक्र्स प्रोजेक्ट’ अन्तर्गतका मेरा हालैका पुस्तकहरूमध्ये ‘सेभेन्टिन कन्ट्राडिक्सन्स एन्ड द एन्ड अफ क्यापिटलिज्म’ (Seventeen Contradictions and the End of Capitalism) मा मैले ‘पुँजीवाद–विरोध’ को अर्थ के हुन सक्छ भनेर परिभाषित गरेको छु र वर्तमान स्थितिलाई हेर्दै पुँजीवादविरोधी बन्नु पछाडिका तर्कसङ्गत कारणहरू दिएको छु ।
त्यस्तै, ‘माक्र्स, क्यापिटल एन्ड द म्याडनेस अफ इकोनोमिक रिजन’ (Marx, Capital and the Madness of Economic Reason) मा मैले पुँजीको समसामयिक सङ्कटलाई बुझाउन माक्र्सका कामहरूको प्रणालीगत व्याख्या गर्ने प्रयास गरेको छु । मेरा प्रत्येक पुस्तकले कुनै न कुनै विशेष विषय वा परिस्थितिमा माक्र्सको विश्लेषणको एउटा पाटोलाई खोतल्ने काम गरेका छन् । मलाई आशा छ– यी सबैको सामूहिक प्रभावले अरूलाई पनि माक्र्सलाई ध्यानपूर्वक र खुला मनले पढ्न प्रेरित गर्नेछ, जसले गर्दा यस्ता व्यवहारिक अध्ययनहरूको बाटो खुल्नेछ ।
‘द स्टोरी अफ क्यापिटल’ (The Story of Capital) पुँजीको कथालाई यसरी व्यक्त गर्ने एउटा अर्को प्रयास हो, जसलाई मानिसहरूले व्यक्तिगत र राजनीतिक दुवै रूपमा बुझ्न र प्रयोग गर्न सकून् भन्ने मलाई आशा छ । सामूहिक रूपमा हामी वास्तवमै यो संसारलाई बदल्न सक्छौँ; यद्यपि माक्र्सले औंल्याएझैँ यो कहिल्यै पनि हाम्रो आफ्नै रोजाइको परिस्थितिमा भने हुँदैन । तर, ती परिस्थितिको सैद्धान्तिक चिरफार गर्नु नै तिनलाई बदल्ने दिशामा एक अनिवार्य पूर्वशर्त हो । यही आधारमा, म अझ बढी मानवीय र पारिस्थितिक रूपमा संवेदनशील विकल्प निर्माण गर्ने खोजीमा यो पाठ प्रस्तुत गर्दछु ।
यो पाठ ‘द स्टोरी अफ क्यापिटल’ (The Story of Capital) बाट सम्पादन गरिएको अंश हो ।
– न्युस्टेटम्यानमा प्रकाशित लेखबाट अनुदित

Leave a Reply

Your email address will not be published. Required fields are marked *