भर्खरै :

विदेशी शक्तिसामु झुक्न नहुने

विदेशी शक्तिसामु झुक्न नहुने

देशको निर्माण र रक्षामा सरकार र सत्तासीन दलका नेताहरूको भूमिका निर्णायक हुने गर्छ । शासकहरू त्यागी, निःस्वार्थी, कर्मशील, देशभक्त भएमा देश बन्छ, देश बलियो हुन्छ र देशको रक्षा पनि हुन्छ । उनीहरू कुनै विदेशी शक्तिसँग झुक्दैनन् बरु लड्छन् । देश आफ्नै खुट्टामा उभिएमा साँच्चैको देशलाई स्वतन्त्र, बलियो बनाउन गर्न सक्छ र विकास गर्छ । चीन, रुस, उत्तर कोरिया, क्युवा, भियतनाम, इरान यसका उदाहरण हुन् । दलका नेता र जनप्रतिनिधिहरू गलत भएमा, देशघाती काम गरेमा देशमा कठिन समस्या आउने छ । अतः देशभक्ति भावना र श्रमप्रति माया गर्ने संस्कृति आवश्यक छ ।
सरकारको एक महत्वपूर्ण अङ्ग लोकसेवा आयोग पनि हो । त्यहाँबाट राष्ट्रसेवक कर्मचारीहरू पास भएर आउँछन् । उनीहरू खालि सेवा, सुविधा, पदोन्नतिको कुरामा मात्र बढी केन्द्रित भए । कार्यालय समय छोडेर व्यक्तिगत स्वार्थमा लागेको कारण सरकारको काम कहिले जाला घाम भएको छ । कार्यालयको काम पनि समाज, देशको विकास, निर्माण र रक्षामा हुनु आवश्यक छ ।
बौद्धिक श्रमअन्तर्गत भूगोल, राजनीति, अर्थतन्त्र, शिक्षा, कूटनीति, सुरक्षा, कानुन, भाषा, कला, संस्कृति, इतिहास आदि विषयको लेख, पुस्तक आदि पेस गर्नुपर्छ । अवकाशपछि पनि आफ्ना महत्वपूर्ण अनुभवहरूको सँगालो लेख, पुस्तक पेस गर्नुपर्ने प्रावधान राख्नु जरुरी छ । यो देशको ठुलो सम्पत्ति हुनेछ । त्यस्तै शारीरिक श्रमअन्तर्गत आफ्नै गाउँ ठाउँको विकास निर्माणमा श्रमदान गरेको फोटो र वडाको सिफारिससहितको विवरण पेस गर्नुपर्ने व्यवस्था गर्नु आवश्यक छ । यसले सबैमा श्रमप्रति सम्मान, श्रमदान गर्ने भावना र श्रम संस्कृति बढ्ने छ । यसले देशको हित गर्ने छ ।
लोकसेवाको परीक्षा उत्तीर्ण भएर स्थायी सरकारमा आएपछि श्रम र देशप्रति सम्मान गर्न, देशको विकास निर्माण अनि रक्षामा योगदान पु¥याउन कार्यालय र संस्थाहरूले अनुकूल समयमा कम्तीमा महिनाको एक पटक श्रमदान गराउनुपर्ने व्यवस्था आवश्यक छ । त्यो श्रमदान सरसफाइ, वृक्षरोपण, मठ मन्दिर, शक्ति पिठ , खोला, नदी, पोखरी, धारा, बाटो, पुल आदिको जीर्णोद्धार गर्न र गराउन सकिन्छ । त्यस्तै विपद् र सङ्कटको बेला सहयोग गर्न सकिन्छ । त्यस्तै आफूले सेवा गर्दै आएको कार्यालय, संस्था जोगाउनुपर्ने कर्तव्यमा राख्नु आवश्यक छ । भदौ २४ गते भएको उपद्रोवबाट देशकै महत्वपूर्ण राष्ट्रिय अभिलेखालय त्यहाँ कार्यरत देशभक्त कर्मचारीहरूले जोगाए । श्रमदानको सोचले उनीहरूमा देशप्रतिको अपनत्व र माया बढ्ने छ ।
विगतको वाग्मती बचाउ सफाइ अभियानलाई यही आँखाबाट हेर्न सकिन्छ । तर, यो सोच खुट्टामा उभेर गरेको नभई विदेशीको सोच र सहयोगमा चलाएको हुँदा त्यसले निरन्तरता नपाएको, प्रभावकारी र अपनत्व नभएको चर्चा छ । अर्बौँ विदेशी सहयोग बालुवामा पानी भएको खबर सञ्चारमा आयो । विदेशीले भनेपछि मात्र काम गर्ने सोच दास मानसिकता हो । देशभक्ति भावना, निःस्वार्थी कर्म भावनाले नगरेको हुँदा प्रभावकारी र निरन्तरता दिन नसकेको हो ।
भक्तपुर नगरपालिकाले ४/५ दशक अगाडि देखि सम्पदा निर्माण, शिक्षा, स्वास्थ्य र सरसफाइमा श्रमदान गरेर अभियानै चलाउँदै आएको जगजाहेर छ । यसैको परिणाम आजको भक्तपुर हो । जुन शिक्षक, अभिभावक, अग्रजहरूले कथा र उपन्यासको घटना क्रमजस्तै सुनाउनु आवश्यक छ ।
भक्तपुर नगरपालिकाले यही भावना र विचारअनुसार पाक्षिक रूपमा महिनाको १ गते र १५ गते सरसफाइ अभियान गर्दै आएको छ । भक्तपुरको सांस्कृतिक धरोहर निर्माण, पुनः निर्माण र अन्य विकास निर्माणमा पनि नगर प्रमुखको नेतृत्वमा जनप्रतिनिधि, कर्मचारी र स्थानीय जनताको साथ र सहयोगमा यो काम हुँदै आएको छ । यस्तै श्रमदान पाँचतले मन्दिर, भैरव मन्दिर, सिद्धिनरसिंह मन्दिर, बेताल भैरव मन्दिर ढोका, इन्द्रायणी द्योछँे आदिमा श्रमदान भएको छ । यसले जनता, विद्यार्थी भाइ बहिनी, युवाहरूमा देश बनाउन श्रमदान गर्नुपर्ने, सेवाको भावना विकास गर्न मद्दत गर्ने छ । यसले जनतामा देशभक्ति भावना अझ बढ्न मद्दत गर्ने छ ।
घरको धुरी बलियो भएसम्म घर बलियो हुने हो । सामान्य जनता, कर्मचारी, जनप्रतिनिधिले देशको ठुलो नेक्सान गर्न सक्दैन । राष्ट्रपति प्रधानमन्त्रीदेखि वडा सदस्यसम्म, मुख्य सचिवदेखि कार्यालय सहयोगीसम्म, प्रधानसेनापतिदेखि सामान्य सिपाहीँसम्म आदि जनशक्तिलाई सेवामा आउनुअघि र सेवामा आइसकेपछि श्रमदान वा श्रम संस्कृति बढाउन, देशभक्ति भावना बढाउन लोकसेवाको पाठ्यक्रममा पाक्षिक र मासिकरूपमा श्रमदान गर्नुपर्ने प्रावधान राख्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *