भर्खरै :

पतनको मार्गमा अमेरिकी साम्राज्य – २

  • चैत्र २७, २०८२
  • प्रोफेसर रिचर्ड वुल्फ
  • विचार
पतनको मार्गमा अमेरिकी साम्राज्य – २

(विश्व चर्चित अर्थशास्त्री प्रोफेसर रिचर्ड वुल्फसँग अलजजिराले लिएको यो अन्तर्वार्ताले वर्तमान भू–राजनीतिक द्वन्द्व र यसले विश्व अर्थतन्त्रमा पारेको गहिरो प्रभावलाई सूक्ष्म रूपमा केलाएको छ । विशेष गरी अमेरिका, इजरायल र इरानबिचको तनावले कसरी इन्धनको मूल्य वृद्धि, मलको अभाव र खाद्यान्न सङ्कट निम्त्याउँदै सामान्य मानिसको भान्छासम्म असर पु¥याउँछ भन्ने तथ्यलाई यसले उजागर गर्दछ । विगत सात दशकदेखि विश्व राजनीति र अर्थतन्त्रमा हाबी रहेको अमेरिकी साम्राज्य अहिले आन्तरिक ऋण र वित्तीय असन्तुलनका कारण पतनको मार्गमा रहेको वस्तुपरक विश्लेषण यस अन्तर्वार्तामा अर्थशास्त्री वुल्फले गरेका छन् । यसै सन्दर्भमा, अमेरिकाको एकछत्र प्रभाव घट्दै जाँदा चीन, रुस र भारतजस्ता उदीयमान शक्तिहरू र ‘ब्रिक्स’ (BRICS) को बढ्दो सान्दर्भिकताले नयाँ विश्व व्यवस्थाको सङ्केत गरेको छ । सैन्य औद्योगिक कम्प्लेक्सको मुनाफाको खेल र राजनीतिक नेतृत्वले जनताको ध्यान मोड्न प्रयोग गर्ने युद्धको रणनीतिका बिच यो सामग्रीले ‘बाँच र बाँच्न देऊ’ को सिद्धान्तमा आधारित बहुध्रुवीय विश्वको आवश्यकतालाई जोड दिन्छ भन्ने कुराको बोध अन्तर्वार्ता पढ्दा हुन्छ । विश्व राजनीतिका जटिल रणनीति र तिनले नागरिक जीवनमा पार्ने प्रभाव बुझ्न चाहनेका लागि यो अन्तर्वार्ता एक पठनीय दस्ताबेज हो ।)
फेरि पनि अन्तिम कुरा अर्थतन्त्र हो ।
म संयुक्त राज्य अमेरिकामा अर्थशास्त्रको प्राध्यापक हुँ । म यहाँ जन्मेको हुँ र जीवनभर यहीँ बसेको छु । हामी अहिले मेरो जीवनकालकै सबैभन्दा असमान अर्थतन्त्रमा छौँ । धनी र सर्वसाधारण बिचको खाडलको स्तर अब थेग्न नसकिने छ । विशेषगरी हाम्रो जस्तो देशमा, जसले पहिले सबैजना मध्यमवर्गमा छन् भनेर गर्व गथ्र्यो । अहिले त्यो मध्यमवर्ग हराएको छ । उनीहरूको ठुलो हिस्सा तल्लो तहमा झरेको छ । उनीहरू आफ्नो आर्थिक अवस्था र आफ्ना बच्चाहरूको आर्थिक भविष्यलाई लिएर धेरै चिन्तित छन् । यो यथास्थितिको विरुद्धमा गइरहेको छ । उदाहरणका लागि, यो एउटा यस्तो कुरा हो जसबाट ट्रम्पले जनताको ध्यान भड्काउनैपर्छ अन्यथा उनी नोभेम्बरको चुनावमा ऐतिहासिक रेकर्ड तोड्ने गरी पराजित हुनेछन् ।
अलजजिरा ः त्यसोभए हामीले यस युद्धको यहाँ अमेरिका र संसारभरका सर्वसाधारण मानिसहरूमा पर्ने प्रतिकूल प्रभावहरूको बारेमा कुरा ग¥यौँ । मलाई के जान्न मन छ भने द्वन्द्वबाट पैसा कमाउने मानिसहरू अझ धेरै छन् । युद्धले संसारभरका केही मानिसहरूलाई धनी बनाउँछ । हामीलाई यो बिन्दुमा पु¥याउन सैन्य औद्योगिक कम्प्लेक्सले कस्तो भूमिका खेल्छ ?
बुल्फ : उनीहरूले आफ्नो लागि सधैँको जस्तै भूमिका खेले र तपाईं एकदम सही हुनुहुन्छ । उनीहरूका लागि यो बैङ्कमा जम्मा हुने पैसाजस्तै हो । उदाहरणका लागि, संयुक्त राज्य अमेरिकाको यो एउटा धेरै शास्त्रीय कथा हो । तपाईंले इतिहासमा यस्तो धेरै पटक देख्न सक्नुहुन्छ । कृपया मलाई याद दिलाउन दिनुहोस्, संयुक्त राज्य अमेरिका सन् २०२२ को सुरुदेखि नै युक्रेन युद्धमा गहिरो रूपमा संलग्न छ । चार वर्ष भइसक्यो र यो अझै जारी छ, जसमा युक्रेनी पक्षले प्रयोग गरेका हातहतियारहरूको ठुलो हिस्सा अमेरिकी नै हो । अहिले हामी इरानमा एउटा ठुलो लडाइँलडिरहेका छौँ ।
पहिले हाम्रा जहाजहरू र हाम्रो नौसेना क्यारिबियनमा भेनेजुयला र क्युवालाई धम्काउन तैनाथ हुनुभन्दाअघि नै बन्दुक, गोली, पनडुब्बी, मिसाइल र ड्रोनहरूको भण्डार सबै सकिँदैछ । र तपाईंलाई थाहा छ यसको अर्थ के हो ? यी चीजहरू उत्पादन गर्ने कम्पनीहरूलाई ठुलो ठेक्का मिल्नु हो ताकि पछिल्लो साढे चार वर्षमा र पहिलेको तुलनामा अहिले अझ तीव्रगतिमा प्रयोग भएका सामग्रीहरू पुनः भर्न सकियोस्, किनकि हामी अहिले पनि युक्रेनमा र इरानमा अमेरिकी हतियारहरूसँगै लडिरहेका छौँ । हातहतियारको भण्डार असीमित छैन र संयुक्त राज्य अमेरिकामा यसलाई पुनः भर्ने क्षमता धेरै घटेको छ । किनभने, अमेरिकी पुँजीपतिहरूले आफ्नो उत्पादन ब्राजिल, भारत र चीनमा सारेका छन् जहाँ श्रम सस्तो छ र नाफा बढी छ ।
विडम्बना यही छ । जुन नाफा प्रणालीले संयुक्त राज्य अमेरिकालाई नम्बर एक बनायो, त्यही नाफा प्रणालीले अहिले त्यो फाइदा अन्यत्र हस्तान्तरण गरिरहेको छ । यो संयुक्त राज्य अमेरिकाको समस्या हो ।
ट्रम्पलाई ध्यान भड्काउनु आवश्यक छ । त्यसैले उनी किन सधैँ टेलिभिजनमा हुन्छन्, किन उनी रातभर ट्वीट लेख्छन्, किन उनी सधैँ चर्चाको केन्द्रमा रहन चाहन्छन् भन्ने सोच्नु हुन्छ भने कारण यही हो । उनले आफूलाई असाधारण देखाउनुपर्छ किनभने उनले आफूले विरासतमा पाएको भन्दा पनि खराब समस्याहरू आफ्नै लागि सिर्जना गरेका छन् ।
अलजजिरा : तपार्इँंले विश्वमा अमेरिकाको घट्दो भूमिका र कदको बारेमा कुरा गर्नुभयो । मलाई लाग्छ कि हामी यसको बारेमा केही बेर कुरा गर्न सक्छौँ । उनले, अर्थात् ट्रम्पले, इरान युद्धका कारण बढेको मूल्य नियन्त्रण गर्न रुसी तेलमाथिको प्रतिबन्ध अस्थायी रूपमा खुकुलो पारेका छन् । तपाईंले यसलाई साम्राज्य पतनको एउटा साझा विशेषता भन्नुभएको छ, जहाँ एउटा समस्या सुल्झाउन अर्कोलाई झन् खराब बनाइन्छ । के तपाईं यसलाई विस्तृत रूपमा व्याख्या गर्न सक्नुहुन्छ ? अहिले अमेरिकाले कस्तो समस्या सिर्जना गरिरहेको छ ?
बुल्फ ः खैर, यहाँ समस्या यस्तो छ । यो मेरो लागि एक प्राध्यापकको रूपमा सुनाउन एउटा अद्भूत कथा हो । यो सिकाउने एउटा तरिका हो । ठीक छ, उनीसँग एउटा युद्ध छ । उनले या त बुझेनन् वा राम्ररी बुझ्न सकेनन् कि इरानमाथि त्यसरी नै आक्रमण भयो भने, इरानले गर्न सक्ने केही कुराहरूमध्ये एउटा स्ट्रेट अफ हर्मुज बन्द गर्नु हुनेछ । त्यसले त्यही बाटो भएर जाने संसारको २० प्रतिशत तेलको ढुवानी रोक्नेछ । इरानले त्यसो ग¥यो भने तेलको मूल्य बढ्नेछ र त्यसले अमेरिकीहरूलाई असर गर्नेछ । अमेरिकीहरू संसारकै सबैभन्दा बढी सवारी साधन प्रयोग गर्ने संस्कृति भएका मानिस हुन् । हरेक अमेरिकासँग एक, दुई वा तीनवटा कार हुन्छन् । हाम्रा सहरहरू कार हुनैपर्ने गरी बनाइएका छन् । हाम्रो सार्वजनिक यातायातमा कम लगानी गरिएको छ । त्यसैले कारले धेरै तेल र ग्यास खपत गर्छ र यसको अर्थ अमेरिकीहरू तेल र ग्यासको मूल्यप्रति धेरै संवेदनशील छन् किनभने यसले उनीहरूसँग कति पैसा रहन्छ भन्ने कुरामा असर पार्छ ।
अचानक उनले पत्ता लगाए कि युद्धमा जाने उनको नीतिले स्ट्रेट अफ हर्मुज बन्द गरिदियो, जसले तेलको मूल्य बढायो, ग्यासको मूल्य बढायो र डिजेलको मूल्य पनि बढायो, जसले गर्दा अब अन्य सबै कुराको मूल्य बढ्छ । उनले आफ्ना जनतालाई मुद्रास्फीति दिइरहेका छन्, जबकि उनले चुनाव लड्दा त्यसो नगर्ने र मूल्य घटाउने बाचा गरेका थिए । उनले त्यो गरेका छैनन् र अहिले मूल्य झन् बढ्न लागेको छ । अब उनले के गर्नेछन् ?
अब यहाँ साम्राज्यको विडम्बना आउँछ । उनले आफूलाई वा उनका सल्लाहकारहरूले सोध्छन् कि तेल र ग्यासको मूल्य घटाउन हामी के गर्न सक्छौँ ? रुस संसारकै सबैभन्दा ठुलो तेल निर्यातकर्ता हो । तपाईंले उनीहरूलाई वर्षौंदेखि प्रतिबन्ध लगाएर तेल बेच्न धेरै गा¥हो र महँगो बनाइरहनुभएको थियो । अहिले उनीहरूले भारत र विशेषगरी चीनमा तेल बेचेर आफूलाई अनुकूल बनाइसकेका छन् किनभने संयुक्त राज्य अमेरिकाले त्यसलाई राम्रोसँग नियन्त्रण गर्न सक्दैन । तर, यहाँका ट्रेजरी सेक्रेटरी बेसेन्टले ट्रम्पलाई भने कि रुसीहरूलाई केही समयका लागि प्रतिबन्ध खुकुलो किन नपारिदिने ?
अहिले रुसमाथि प्रतिबन्धहरू यसकारण लगाइएका थिए किनभने सैन्य रूपमा युक्रेनीहरूले रुसीहरूलाई हराउन सक्दैनन् । यी दुई सेनाको बारेमा अलिकति मात्र जानकारी राख्ने जोकोहीलाई पनि यो थाहा छ । त्यसैले जब उनीहरूले सैन्य रूपमा जित्न सकेनन्, उनीहरूले रुसमाथि र खासगरी तेल र ग्यासमा प्रतिबन्ध लगाए । त्यसैले ट्रम्पले इरानको युद्धलाई सम्बोधन गर्न रुसीहरूलाई कुनै रोकतोकबिना तेल बेच्न दिए । यसले के गर्छ त ? तेलको मूल्य निकै माथि छ । यो अझ माथि जान सक्थ्यो, तर अहिले रुसीहरूले जताततै बेचिरहेका छन् । यसले के गर्छ ? यसले रुसीहरूलाई पहिलेभन्दा धेरै पैसा कमाउन सक्षम बनाउँछ, जसले गर्दा उनीहरूले युक्रेनमा युद्ध अझ सुलभ रूपमा जारी राख्न सक्छन् । तर, यो अझ खराब छ । उनले अहिले इरानमाथिको प्रतिबन्ध पनि हटाएका छन् । संयुक्त राज्य अमेरिकाले इरानलाई प्रतिबन्ध लगाएर विश्वका धेरै भागमा तेल बेच्न रोकेको थियो । अहिले त्यो पनि कम गरिएको छ ।
म तपाईंलाई यो कुरा स्पष्ट पार्न चाहन्छु । संयुक्त राज्य अमेरिका इरानसँग युद्धमा छ र त्यो युद्धलाई अगाडि बढाउन उनीहरूले भर्खरै इरानमाथिको प्रतिबन्ध हटाएका छन् ताकि उसले आफ्नो तेल अझ सजिलै बेच्न सकोस् । अहिले तेलको मूल्य उच्च भएकोले इरानीहरूले ठुलो अतिरिक्त राजस्वको आनन्द लिइरहेका छन् । अर्को शब्दमा भन्नुपर्दा, ट्रम्पले आफूप्रतिको इरानको विरोधलाई नै आर्थिक सहयोग गर्न मद्दत गरिरहनुभएको छ । जब तपाईं यस्ता विरोधाभासहरूमा फस्नुहुन्छ, तब तपाईंको दिमागले तपाईंलाई भन्नुपर्छ कि अब खेल खत्तम भयो । हामीले अहिले जे गरिरहेका छौँ, त्यो आफ्नै खुट्टामा बन्चरो हानेर आफैलाई मद्दत गर्न खोज्नुजस्तै हो र यसले काम गर्दैन ।
अलजजिरा : तपाईंले भर्खरै केही देशहरूको उल्लेख गर्नुभयो, विशेषगरी ‘ग्लोबल साउथ’ का ती देशहरू जसले संयुक्त राज्य अमेरिकालाई उछिनिरहेका छन् । चीन अर्को एउटा प्रमुख शक्ति हो जुन यस युद्धबाट प्रभावित भएको छ । स्ट्रेट अफ हर्मुज भएर जाने तेलको यो सबैभन्दा ठुलो उपभोक्ता हो । यस युद्धको चीनमा के प्रभाव पर्नेछ ? पेइचिङले के गर्नेछ ?
बुल्फ : पेइचिङ एउटा फरक प्रकृतिको शक्ति हो । पेइचिङले दशकौँदेखि यो सबै कहाँ जाँदै छ भन्ने कुरा बुझेको छ, छलफल गरेको छ र त्यसको पूर्वानुमान गर्दै कदमहरू चालेको छ । चिनियाँहरूलाई हामी बाँकी मानिसहरूलाई भन्दा पहिले नै यो थाहा थियो । हामीलाई बुझ्न केही समय लाग्यो । उनीहरूले आफ्नो अर्थतन्त्रलाई कसरी छिटो बढाउने भन्ने कुरा पत्ता लगाइसकेका छन् । म तपाईंलाई एउटा तथ्याङ्क दिन्छु । पछिल्लो ३५ वर्षदेखि जनवादी गणतन्त्र चीनको कुल गार्हस्थय उत्पादन (जीडीपी) प्रतिवर्ष औसत ६ देखि ९ प्रतिशतले बढेको छ । पछिल्ला दुई वर्षबाहेक, जब यो ५ प्रतिशतको स्तरमा झरेको थियो, यो वर्षौंदेखि निरन्तर बढिरहेको छ ।
त्यही ३५ वर्षको अवधिमा संयुक्त राज्य अमेरिकाको जीडीपी प्रतिवर्ष २ देखि २.५ प्रतिशतको बिचमा मात्र बढ्यो । तपाईंले बुझ्नुभयो ? चीन तीन गुणा छिटो बढ्यो । अब यदि तपाईंले यो केही वर्षसम्म गर्न सक्नुभयो भने त्यो असाधारण हुन्छ । तपाईंले ३५ वर्षसम्म यसो गर्न सक्नुभयो भने यो नसुनेको स्तरमा पुग्छ । चिनियाँहरूलाई थाहा थियो कि उनीहरूले के पत्ता लगाएका छन् । उनीहरूको राज्यको संयोजन, जहाँ आधा सरकार राज्यको स्वामित्वमा रहेका र सञ्चालित उद्यमहरू हुन् भने अर्थतन्त्रको आधा हिस्सा पश्चिममा जस्तै निजी पुँजीवादी उद्यमहरू हुन् । एक शक्तिशाली राज्यद्वारा नियन्त्रित त्यो संयोजन यसरी बढ्न सक्षम छ । संयुक्त राज्य अमेरिका र संयुक्त अधिराज्य त्यसो गर्न सक्षम छैनन् । चिनियाँहरूलाई यो थाहा थियो र उनीहरूलाई यो पनि थाहा थियो कि उनीहरूले संयुक्त राज्य अमेरिकालाई भेट्टाउन र प्रतिस्थापन गर्न सक्छन् । यो कुरा यसै दशकमा हुन लागेको छ ।
त्यसैले उनीहरू यो बुझ्न पर्याप्त चतुर थिए कि संयुक्त राज्य अमेरिकालाई आफ्नो प्रभुत्वशाली स्थिति छोड्न धेरै कठिन समय हुनेछ । चिनियाँहरूलाई यो कसरी थाहा भयो ? खैर, उनीहरूका आफ्नै साम्राज्यहरू थिए जसले उनीहरूलाई यो सिकाए । उनीहरूले अरू हरेक साम्राज्यलाई हेरेका छन्, चाहे त्यो बेलायती होस्, फ्रान्सेली होस्, फारसी होस्, ग्रीक होस् वा रोमन, यसले केही फरक पार्दैन । यस सन्दर्भमा ती सबै उस्तै छन् । त्यसैले विश्व अर्थतन्त्रमा भइरहेको ठुलो परिवर्तनलाई समायोजन गर्न पश्चिम र विशेषगरी अमेरिकीहरूलाई हुने कठिनाइबाट आफूहरू नष्ट नहुने कुरा सुनिश्चित गर्न उनीहरूले कदम चालेका छन् । उदाहरणका लागि, उनीहरू सौर्य प्रविधिमा विश्वका नेता हुन् । त्यसै कारणले गर्दा उनीहरू तेलमा धेरै कम निर्भर छन् ।
यसले के सम्भव बनाउँछ भन्ने एउटा उदाहरण दिन्छु । संयुक्त राज्य अमेरिकाले क्युवालाई बिजुली उत्पादन गर्न आवश्यक पर्ने तेल खोसेर उसलाई भोकमरीमा पार्ने प्रयास गरिरहेको छ । चिनियाँहरूले के गरे त ? चिनियाँहरूले, प्रसङ्गवश म बोलिरहँदा क्युवा जाँदै गरेको चिनियाँ मालवाहक जहाजहरूको एउटा समूहले क्युवामा सोलार प्यानलहरू लैजाँदै छ । किन ? किनभने क्युवा क्यारिबियनको बिचमा छ । त्यहाँ लगभग सधैँ घाम लाग्छ र उनीहरूलाई त्यही चाहिएको हो ताकि उनीहरू तेलमा निर्भर हुनु नपरोस् जुन त्यस टापुसँग छैन । खैर, चीनले जे गर्न सिकेको छ र जे गर्नमा लगानी गरेको छ, त्यही गरिरहेको छ । उसँग जमिनमुनि तेलको सबैभन्दा ठुलो भण्डारहरूमध्ये एक पनि छ, त्यसैले उनीहरू निर्भर छैनन् । त्यसपछि उनीहरूले रुससँगको गठबन्धनलाई धेरै सावधानीपूर्वक विकसित गरेका छन् । रुस विश्वमा तेल र ग्यासको सबैभन्दा ठुलो भण्डार हो । चिनियाँहरू सुसज्जित छन् । पश्चिमले गर्न सक्ने केही छैन ।
संयुक्त राज्य अमेरिकाका नेताहरूबिचको छटपटी ठ्याक्कै त्यही समस्या हो । उनीहरूलाई त्यसरी नै माथ दिइँदै छ जसरी १९ औँ शताब्दीमा लन्डनमा बेलायतीहरूले आफ्नो टाउको चिलाउँदै सोचेका थिए कि कसरी संयुक्त राज्य अमेरिकाको यो सानो भूतपूर्व उपनिवेशले महान् बेलायती साम्राज्यलाई माथ दियो र अन्ततः त्यसलाई प्रतिस्थापन ग¥यो । म एकदम पक्का छु कि पेइचिङमा पनि यस्तै प्रकारको सोचाइ चलिरहेको छ ।
समाप्त
– ‘लजजिरा / दायित्वबोधबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *