छानबिन आयोगको जेनजी आन्दोलनबारे सम्बन्धित पदाधिकारीसँगको बयानको सार सङ्क्षेप – ३
- बैशाख ५, २०८३
भक्तपुर, २८ चैत । भक्तपुर नगरपालिका–२, यालाछेँस्थित शारदा माध्यमिक विद्यालयको आयोजनामा नयाँ शैक्षिक सत्रको सँघारमा विद्यालयसँग सम्बन्धित सरोकारवालाहरूको शनिबार बृहत् भेटघाट कार्यक्रम भयो ।
कार्यक्रममा विद्यालयको शैक्षिक अवस्था, भौतिक पूर्वाधार विकास, विद्यार्थीको अवस्था तथा राष्ट्रिय शिक्षा नीतिसम्मका विषयमा व्यापक छलफल गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सरकार मनोगतरूपमा सञ्चालन र जनताको हितभन्दा बाह्य शक्तिको प्रभावमा काम भइरहेको आरोप छ भन्नुभयो ।
उहाँले विश्व बैङ्क, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैङ्कजस्ता संस्थालाई अमेरिकी प्रभावका साधनका रूपमा व्याख्या गर्दै शिक्षा क्षेत्र निजीकरणतर्फ धकेलिने खतरा रहेको छ भन्नुभयो ।
“विदेशका लागि सस्तो श्रमशक्ति उत्पादन गर्ने नीति लागू हुँदै छ,” उहाँले थप्नुभयो ।
अध्यक्ष बिजुक्छेँले समाजवादी विचारलाई कमजोर बनाउने उद्देश्यले शिक्षा प्रणालीमै हस्तक्षेप भइरहेको उल्लेख गर्दै शिक्षालाई ध्वस्त बनाई देशलाई परनिर्भर बनाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “अहिलेको शिक्षा प्रणालीले क्षमताभन्दा प्रमाणपत्र मात्रै हेर्छ । नयाँ पुस्तालाई जिम्मेवार र व्यवहारिक बनाउन शिक्षामा सुधार आवश्यक छ ।”
विश्व राजनीतिक सन्दर्भ जोड्दै उहाँले एसियालाई सम्भावित द्वन्द्वको केन्द्र बनाउने दुस्प्रयास भइरहेको दाबी गर्दै इराक, लिबिया, प्यालेस्टिन र गाजाजस्ता उदाहरण प्रस्तुत गर्नुभयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले असन्तुलित विकास र तीव्र बसाइँसराइका कारण ग्रामीण क्षेत्रका विद्यालयहरू खाली हुँदै गएको बताउनुभयो ।
उहाँले शिक्षा, उद्योग र रोजगारीलाई एकीकृत रूपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले शिक्षा क्षेत्रमा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाउँदै चैत १५ देखि वैशाख १५ सम्म अघोषित शैक्षिक हडतालजस्तो अवस्था देखिएको धारणा राख्नुभयो ।
उहाँले आत्मनिर्भर र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विद्यालय मर्ज नीति गलत भएको भन्दै सामुदायिक विद्यालय जोगाउनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरपालिकाले सम्पदा संरक्षणसँगै शिक्षा सुधारका लागि काम गरिरहेको बताउँदै स्थानीय पहिचान र सीपसँग जोडिएको शिक्षाको आवश्यकतामाथि जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य हिमालयश्वरलाल मूलले विद्यार्थीकेन्द्रित र प्रयोगात्मक शिक्षण पद्धतिमा विद्यालय अघि बढिरहेको बताउनुभयो ।
विद्यालयका प्रधानाध्यापक रोशनराज तुईतुईले २०७२ सालको भूकम्पले क्षति पुगेको विद्यालय भवनलाई मौलिक शैलीमा पुनर्निर्माण गरी आधुनिक सुविधासहित तयार गरिएको रनयाँ शैक्षिक सत्रदेखि विद्यालयको नयाँ भवन उद्घाटन गरिने जानकारी दिनुभयो ।
कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दामोदर सुवालले पुनर्निर्माणपछि विद्यालयमा नयाँ उत्साह थपिएको उल्लेख गर्दै दीर्घकालीन विकासका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा शिक्षक विनयकिरण कोजुले पनि बोल्नुभएको थियो ।
Leave a Reply