भर्खरै :

टुङ्गियो इरान–अमेरिका वार्ता

  • चैत्र २९, २०८२
  • इमरान मुल्ला
  • विचार
टुङ्गियो इरान–अमेरिका वार्ता

संसारको आँखा इस्लामावादमा थियो । झन्डै २१ घण्टासम्म म्याराथन गतिमा अमेरिका र इरानबिच वार्ता चल्यो ।
५० वर्षपछि पहिलोपल्ट वासिङटन र तेहरानबिच उच्चस्तरीय वार्ता भयो । अमेरिकाको तर्फबाट वार्तामा उपराष्ट्रपति जेडी भान्स, स्टिभ विटकफ र ज्यारेड कुश्नर थिए । इरानको तर्फबाट इरानी सभामुख मोहम्मद बागेर गालिबाफ र विदेशमन्त्री अब्बास अरागची थिए ।
तर, आइतबार बिहान जेडी भान्स वार्ताबाट बाहिरिए र सम्झौता नगरी अमेरिका फर्किने घोषणा गरे ।
भान्सले वार्ता स्थगित हुनु ‘अमेरिकाको लागि भन्दा पनि इरानको लागि खराब समाचार हो’ भने । उनले भने, “हाम्रो अन्तिम, उत्तम र अति सरल प्रस्तावसहित हामी बाहिरिन्छौँ । इरानीहरूले मान्छन्–मान्दैनन्, हेरौँला ।”
वार्ताको क्रममा झन्डै २० घण्टा आफ्नो टोली राष्ट्रपति डोनाल्ड ट्रम्पसँग निरन्तर वार्तामा रहेको भान्सले बताए ।
ट्रम्पले यसअघि नै बेफिक्री रवैया अपनाएका थिए । उनले इरानसँग सम्झौता हुनु नहुनुले आफूलाई ‘फरक नपर्ने’ बताएका थिए । पत्रकारहरूसँग यति भनेर उनी मायामी सहरमा हुने खेलकुद कार्यक्रममा सहभागी भएका थिए । भान्सले इस्लामावादमा बोलिरहँदा राष्ट्रपति ट्रम्पले खेल हेर्दै थिए ।
वार्तामा इरानले हर्मुज जल–नाकाको नियन्त्रण लिने र आफ्नो युरेनियम भण्डारण नहटाउने अडान लिएको थियो । यिनै विषयमा अमेरिकाले विमति जनाएको थियो । यही मुद्दामा वार्ताभरि रस्साकस्सी चल्यो ।
इरानले आणविक हतियार नराखोस् वा त्यसको तीव्र विकासका लागि कुनै उपाय नखोजोस् भन्ने चाहेको भान्सले बताए । वासिङटनले इरानबाट यही ‘सकारात्मक प्रतिबद्धता’ चाहेको उनले जोड दिए । उनले यसैलाई सम्झौता वार्ताको मूल उद्देश्य बताए ।
पत्रकारहरूसँग उनले भने, “उनीहरूको आणविक कार्यक्रम वा पहिले जस्तो उनीहरूका भण्डारण केन्द्रहरू नष्ट भइसकेका छन् । तर, सिधा प्रश्न के हो भने इरानीहरूले आणविक हतियार विकास गर्नेछैनौँ भनी आधारभूत प्रतिबद्धता जनाउँछन् कि जनाउँदैनन् ? अहिलेलाई मात्र होइन, दुई वर्षपछि वा भविष्यमा उनीहरूले यो काम गर्नेछैन भनी वाचा गर्ने कि नगर्ने ? अहिलेसम्म हामीले त्यो कुरा सुनेनौँ । सुन्न पाउने आशा लिएका छौँ हामीले ।”
‘कूटनीति कहिल्यै टुङ्गिन्न’
यसबिच इरानले ‘जवाफ दिने पालो अमेरिकाको हो’ भनेको छ ।
तास्मिन समाचारअनुसार तेहरानले वार्तामा ‘उपयुक्त प्रस्ताव’ अघि सारेको थियो ।
हर्मुज जल–नाका अहिले इरानको नियन्त्रणमा छ । तेहरानले ‘उपयुक्त’ भनेको प्रस्तावमा वासिङटन सहमत नभएसम्म यो अवस्था बदलिने देखिन्न । इरानी पक्षको जोड यसैमा छ ।
अर्को चरणको वार्ताको स्थान र समय तोकिएको छैन ।
सामाजिक सञ्जाल ‘एक्स’ मा गालिबाफले लेखे, “हामीसँग आवश्यक असल नियत र मनोबल छ । तर, विगतका दुई युद्धको अनुभवका कारण विपक्षीमाथि हाम्रो भरोसा छैन ।” उनले लेखे, “यो चरणको वार्तामा विपक्षीहरूले अन्ततः इरानी वार्ता टोलीको विश्वास जित्न सकेनन् ।”
इरानी विदेशमन्त्रीका प्रवक्ता इस्माइल बागाइले अमेरिकासँग एकै चरणमा सम्झौताको अपेक्षा गर्नु अव्यवहारिक भएको बताए । दुई हप्ता लामो द्वन्द्व र त्यसबिच गहिरिएको अविश्वासको वातावरणबिच सम्झौता वार्ता भएकोमा उनले जोड दिए ।
बागाइले केही मुद्दामा दुई पक्षबिच समझदारी बनेको तर ‘दुई–तीन महत्वपूर्ण’ मुद्दामा विमति रहेको बताए । अमेरिकाको ‘गम्भीरता र असल नियत’ तथा इरानका ‘वैध अधिकार र हित’ प्रति उसको सम्मानले वार्तामा थप प्रगति हुने उनले बताए ।
बागाइले कूटनीति ‘कहिल्यै नटुङ्गिने’ बताए । पाकिस्तानलगायत विभिन्न छिमेकी तथा मित्र देशसँग निरन्तर सरसल्लाह जारी रहनेमा उनले जोड दिए ।

थप वार्तामा साझेदारहरूको जोड
पाकिस्तानी उपप्रधानमन्त्री इशक दारले अमेरिका र इरानसँग युद्धविरामप्रति प्रतिबद्ध रहन र ‘सकारात्मक भाव’ ले संवाद जारी राख्न अनुरोध गरे । यस क्षेत्रमा ‘दिगो शान्ति र समृद्धि’ बहाल गर्न दुवै पक्षले संवाद गर्न आवश्यक रहेको उनको तर्क थियो । दुई पक्षबिच हुने संवादमा पाकिस्तानले सहजीकरण गर्ने दारले बताए ।
यसबिच अमेरिकामा प्रमुख साझेदार देशले वार्ता स्थगित भएकोमा दुखेसो व्यक्त गरेका छन् ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वङले अमेरिका र इरानसँग युद्धविराम जारी राख्न र वार्तामा फर्किन आग्रह गरे ।
बेलायती स्वास्थ्यमन्त्री वेस स्ट्रिटिङले भने, “वार्तामा भएको प्रगति र इरान युद्धको दिगो अन्त्य हेर्न नपाउँदै वार्ता टुङ्गिनु निश्चय नै दुःखद छ ।” उनले भने, “कूटनीतिमा सधैँ यस्तो हुन्छ । सफल नहुँदासम्म असफल भइराखिन्छ । यी वार्ताहरू सफलतामा नटुङ्गिए पनि कोसिस जारी राख्नुमा बेफाइदा हुन्छ भन्ने छैन ।”
(स्रोत : मिडल इस्ट आइ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *